निगमले दुई वाइडबडी विमान खरिद गर्ने, जितु ब्राण्ड एम्बेस्डर

नेपाल वायुसेवा निगमको तीन वर्षे सुधार कार्य योजना सार्वजनिक कार्यक्रममा हाँस्यकलाकार जितु नेपाललाई प्रचारप्रसार गर्ने प्रबर्द्धन दूतको पत्र प्रदान गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेल । तस्बिरः कालिका खड्का, रासस

नेपाल वायुसेवा निगमको तीन वर्षे सुधार कार्य योजना सार्वजनिक कार्यक्रममा हाँस्यकलाकार जितु नेपाललाई प्रचारप्रसार गर्ने प्रबर्द्धन दूतको पत्र प्रदान गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेल । तस्बिरः कालिका खड्का, रासस

काठमाडौँ, ११ माघ । नेपाल वायुसेवा निगमले दुई वाइडबडी विमान खरिद गर्नेसहित आफ्ना सेवा सुधारका तीनवर्षे कार्ययोजना ल्याएको छ ।

आगामी २०७३ साल मङ्सिरमा पहिलो वाइडबडी र माघमा दोस्रो वाइडबडी विमान खरिद गर्ने लक्ष्यसहित तीनवर्षे सुधार कार्ययोजना आज सार्वजनिक गरिएको हो ।

निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले आगामी वर्ष वाइडबडीका दुई विमान, २०७४ साल वैशाखमा एक न्यारोबडी विमान र असारमा अर्को गरी दुई न्यारोबडी विमान खरिद गर्ने योजना सार्वजनिक गर्नुभयो ।

सो कार्ययोजनाअनुसार २०७४ साल असारसम्म अन्तर्राष्ट्रिय उडानतर्फ निगममा दुईवटा वाइडबडी र पुरानो दुई वटा बोइङसमेत गरी छवटा जेटबडी विमानले सेवा दिने र हवाई नीतिअनुसार सुरक्षित र भरपर्दो हेलिकप्टर सेवा दिइनेछ ।

निगमले थप नयाँ गन्तव्यमा उडान सञ्चालन गर्न २०७३ साल असारसम्म चीनको ग्वाङ्गजाओ र कुनमिङ्ग तथा भातको कलकत्तालगायत स्थानमा सेवा सञ्चालन गर्ने र दिल्लीमा थप उडान राख्ने लक्ष्य लिएको छ ।

निगमले पहिलो वाइडबडी २०७३ साल मङ्सिरमा उपलब्ध भएसँगै अस्ट्रेलिया, जापान र कोरियामा दोस्रो वाइडबडी ल्याएपछि साउदी अरेयिबा तथा दमाममा सेवा सुरु गर्नेछ । साथै थप दुई न्यारोबडी आइसकेपछि कोलम्बो, याङ्गुनगायत स्थानमा सेवा सञ्चालन गर्ने लक्ष्य लिएको छ ।

त्यसैगरी, आन्तरिक उडानतर्फ अहिले भएको तीन ट्वीन–अट्टर, एकवटा एम ए ६० र एक वाई १२ ई को अलावा अन्य विमान थपेर यसका अतिरिक्त हेलिकप्टर सेवासमेत सञ्चालनमा ल्याउने योजना छ ।

निगमको तीनवर्षे सुधार कार्ययोजनामा आगामी छ महिनाभित्र विश्वभरिका २०० राष्ट्रमा इ–टिकेट लागू गर्ने योजना छ । निगमको हाल अन्तर्राष्ट्रिय उडानतर्फ चार, आन्तरिक उडानतर्फ पाँच वटा विमान सञ्चालन गरिरहेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलले नेपाल– चीन सरकारबीच विमान ल्याउने सम्झौताअनुसार चीनमा भएको दुई विमान ल्याउनुको विकल्प नभएकाले त्यसलाई जतिसक्दो छिटो ल्याउने बताउनुभयो ।

“निगमका सञ्चालनको ५७ वर्षको इतिहासबाट अहिलेसम्म आइपुग्दा अन्तर्राष्ट्रिय र आन्तारिक गरी नौवटा विमानमात्र सञ्चालन गरिरहेको छ, त्यो पनि दिनमा एक उडान हुन्छ, जबकि बुद्ध र यतिले दिनमा तीनपटक उडान गरिरहेका छन्, सरकारी ध्वजाबाहक विमानले पनि दिनमा कम्तीमा तीनपटक उडान भर्ने योजना बनाउनुपर्छ” – मन्त्री पोखरेलले थप्नुभयो ।

विमान खरिद योजनालगायत निगमको सुधार योजना कार्यान्वयन भएनभएको प्रत्येक तीन तीन महिनामा प्रगति अनुगमन गर्न आफू बेला बेलामा निगम आउने भन्दै उहाँले अन्तर्राष्ट्रिय मात्र नभएर वैशाख १ गतेदेखि आन्तरिकतर्फ १७ स्थानमा विमान उडानका तयारीसमेत तीव्ररुपमा गर्न निर्देशन दिनुभयो ।

“तीनवर्षे योजनामा नेपालको कुनकुन स्थानमा विमानस्थलको गन्तव्य हुन सक्छ ?, त्यो पनि आउनुपर्छ”– मन्त्री पोखरेलले भन्नुभयो– “लुम्बिनी विमानस्थलको काम निकै अगाडि बढिसकेको छ, पोखरा विमानस्थलको फागुन १३ सम्म शिलान्यास हुन्छ र निजगढ विमानस्थल नेपाल नागरिक उड्डयन प्राधिकरणमार्फत बनाइनेछ ।” उहाँले भन्नुभयो ।

नेपालले ३८ मुलुकसँग हवाई सम्झौता गरिसकेको भए तापनि अहिलेसम्म निगमले जम्मा पाँच मुलुकका सात सहरमा मात्र सेवा सञ्चालन गरेको छ ।

प्रबर्द्धक दूतमा हास्य कलाकार  
सरकारले वायु सेवाको प्रचारप्रसारका लागि हास्य कलाकार जितु नेपाललाई प्रबर्द्धक दूत बनाएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयमन्त्री पोखरेलले हास्य कलाकार नेपाललाई आज प्रबर्द्धक दूतको पत्र प्रदान गर्नुभयो ।
हास्यकलाकार नेपालले मुलुकको ध्वजाबाहक विमानमा चढ्दा छुट्टै आनन्द महसुस हुने र आगामी दिनमा सम्पूर्ण कलाकार तथा कला प्रस्तुतिमार्फत आफूले प्रबर्द्धनका लागि महत्वपूर्ण भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री