मन्त्रिपरिषद निर्णयमा के के भयो ?

Office-of-he-Prime-Minister-of-Nepal

काठमाडौँ, २९ पुस । सरकारले नेपाल–भारत सम्बन्धका समग्र पक्षमा विचार विमर्श गरी दुई देशबीचको बहुआयामिक सम्बन्धलाई थप विस्तार गर्न नेपालका तर्फबाट विशिष्ट व्यक्ति सम्मिलित समिति गठन गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ भएको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको सकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री शेरधन राईले जानकारी दिनुभयो ।

विसं. २०५१ साउनमा काठमाडौँमा सम्पन्न नेपाल–भारत परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको बैठकले दुई देशबीच रहीआएको सम्बन्धलाई थप विस्तार एवम् गहन तुल्याउनका लागि सुझाव दिन दुई वर्षको कार्यकाल रहनेगरी सो समिति गठन गर्ने निर्णय गरेको थियो ।

सोही निर्णयअनुसार पूर्वपरराष्ट्रमन्त्री डा भेषबहादुर थापा, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त सूर्यनाथ उपाध्याय, संयुक्त राष्ट्रसङ्घका पूर्व उपमहासचिव कुलचन्द्र गौतम र सांसद डा राजन भट्टराईलाई नेपालका तर्फबाट मनोनयन गर्ने सम्बन्धमा आजको बैठकमा छलफल भएको सञ्चारमन्त्री राईले बताउनुभयो । ती नामका सम्बन्धमा मन्त्रिपरिषद्को अर्को बैठकमा निर्णय हुने बताइएको छ ।

बैठकले निजामती कर्मचारी युनियनहरूको आधिकारिक ट्रेड युनियनको निर्वाचनका लागि आगामी चैत २८ गतेको मिति तोकेको छ ।
बैठकले गोरखाको लाप्राक गाविस–६ र ७ का भूकम्पपीडितलाई सोही गाविसको गुप्सीपाखामा रहेको भूमेमुन्टली सार्वजनिक वन क्षेत्र र सोही वन क्षेत्रसँग जोडिएको राष्ट्रिय वनको करिब १८.३२ हेक्टर क्षेत्रफलमा योजनाबद्ध वस्ती विकास गरी स्थानान्तरण गर्न राष्ट्रिय पुनःनिर्माण प्राधिकरणसँग आवश्यक प्रक्रिया अगाडि बढाउन सहरी विकास मन्त्रालयलाई स्वीकृत दिने निर्णय गरेको छ ।

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको चरणबद्ध विकास र स्तरोन्नतिका लागि त्यसको चारकिल्लाबमोजिमका १४० बिघा जग्गा र सो जग्गामा रहेका घरटहरा कानुनबमोजिम अधिग्रहण गरी प्राप्त गर्नका लागि स्वीकृति दिने निर्णय गरेको छ ।
बैठकले सहरी विकास मन्त्रालयको त्रिपाल खरिद प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कारबाहीका लागि परिपत्र गरेका मन्त्रालयका तत्कालीन सचिव अर्जुनबहादुर कार्कीलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । त्यस्तै आयुर्वेद विभागमा कार्यरत महानिर्देशक डा देवकला भण्डारीले दिएको राजीनामा बैठकले स्वीकृत गरेको छ ।

बैठकले डा प्रेम दङ्गाललाई युवा तथा साना स्वरोजगार कोषको उपाध्यक्षमा नियुक्त गरेको छ । साथै १२ औँ दक्षिण एरियाली खेलकुदका लागि रु छ करोड आठ लाख निकासा दिने निर्णय गरेको सञ्चारमन्त्री राईले जानकारी दिनुभयो ।
बैठकले नेपाली सेनाको रिक्त प्राविधिक सहायकरथीमा डा भरतप्रसाद सिंहलाई पदोन्नति गरी सैनिक पुनःस्थापना केन्द्रमा पदस्थापन गरेको छ । साथै रिक्त उपरथी दर्जामा सहायकरथी शमशेर ठकुराठीलाई पदोन्नति गरी सैनिक समाचार निर्देशनालयको महानिर्देशकमा पदस्थापन गरेको छ ।

सरकारले आजै २७ सैनिक अधिकृत र १४ जना सहसचिवको सरुवासमेत गरेको छ । बैठकले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम र निर्वाचन क्षेत्र विकास कार्यक्रमअन्र्गतको बजेटको चौमासिक कार्यक्रम पेस गर्न आगामी माघ मसान्तसम्मका लागि समय थप गर्ने निर्णय गरेको छ ।
बैठकले विद्यालय क्षेत्र सुधार कार्यक्रममा शिक्षाका लागि विशेष साझेदारी कोष र रिच एमडिटिएफबाट प्राप्त हुने रु छ अर्ब ७० करोड ४७ लाख बराबरको सहायता स्वीकार गर्ने निर्णय गरेको छ । साथै दिगो तथा प्रोत्साहनमुखी रोजगारीका लागि सीप अभिवृद्धि आयोजना कार्यान्वयन गर्न स्वीस सरकारबाट प्राप्त हुने करिब रु एक अर्ब ४० करोड आठ लाख बराबरको सहयोग रकम स्वीकार गर्ने निर्णय गरेको प्रवक्ता राईले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री