बिहीबार, असोज १५ २०७७ | Thu, October 01, 2020
नेपालको समय: १७:२६ | UK Time: 12:41

नेपाल एकीकरण – राष्ट्र निर्माण कि युद्ध अपराध ?

वीनेपाली
२०७२ पुष २१ गते १:०४

hemanta jii

विश्व इतिहास र समाजलाई गहन र विश्लेषनात्मक तवरले खोज र अनुसन्धान गर्ने हो भने विचार र समयले मानव सभ्यतालाई, यसको भूगोललाई, रितिरिवाज र परम्पराहरुलाई अचम्मलाग्दो गरि बदलिदिएको छ । थाहा छैन् विचारले समयलाई वा समयले विचारलाई डोर्याउंछ । तर, पालै पालो डोर्याउने क्रम भने जारी नै छ । इतिहासमा योद्धाहरुले, विचारकहरुले समयको बेगलाई परिवर्तन गरेका छन् र सभ्यतालाई ठूलो र चुनौतिपूर्ण गुण र अभिभारा दुवै बोकाएर गएका छन् । तिनै छाडि गएका विचारका समर्थन र विरोधमा सृजना र ध्वंस जारी छ ।

यही समाजशास्त्रको क्रुर सिद्धान्तले नेपाल एकीकरणका नायक श्री पृथ्वीनारायण शाहलाई पनि अछुतो रहन दिएन । कुनै एकदिन विश्व सामु तपार्इं हाम्रो परिचय बनाइदिने नायक आज आफ्नै परिचय जोगाउन उद्दत हुनुपरेको छ । यो कठोर समयको चक्रमा यी योद्धाले फेरि एकपटक खरो उत्रनु पर्ने तितो सत्य देखा परेको छ भने आजको दिनमा उनी विरुद्ध चालिएका तिर र छल बढि शक्तिशाली देखिएका छन् र वचाऊ गर्नेहरु निरिह । उनलाई राष्ट्र निर्माताको रुपमा होइन, युद्ध अपराधीको रुपमा चित्रण गर्ने कुचेस्टा गरिएको छ जुन असान्दर्भिक, अलोकप्रिय र अकल्पनीय छ ।
आधुनिक नेपालका निर्माता पृथ्वीनारायण शाहलाई युद्ध अपराधी घोषणा गर्न नेपालको इतिहासमा लामै संघर्ष देखिन्छ । उनको कदलाई होचो देखाउन जानेर वा नजानेर विभिन्न दिसाबाट आक्रमणका तिर चलाइएका छन् । इतिहासकारका मतलाई मान्ने हो भने किरांत र मल्ल शासनको पतनपछि नेपाल एकपटक फेरि ५३ टुक्रामा विभाजित भएर एउटा छिन्न भिन्नको अवस्थामा पुग्यो र यसलाई एकीकरण गरेर एउटा सिंगो राष्ट्रमा बदलिदिए राजा पृथ्वीनारायण शाहले ।

व्यक्ति त्यही समाजको उपज हो र उसले त्यही बेलाको समयलाई प्रतिनिधित्व गर्छ । त्यसमा राजा पृथ्वीनारायण पनि अपवाद रहन सक्दैनन् । त्यो बेलाको महानायकलाई एउटा सामन्तीको नाइकेको बिल्ला भिराइदिएर महान राष्ट्र एकीकरणको नाममा गरिएका युद्धलाई जातीवादका रंग लगाएर, नेपाल एकीकरण शुद्ध एउटा व्यक्ति को सनक भन्दा केहि हैन भनेर अपराधीको रुपमा चित्रण गर्ने काम  नेपालका महाविद्वान ले गरिरहेका छन् जुन कुरा समाज विकास सिद्धान्त ले स्वीकार्दैन । एउटा मानवमा हुनुपर्ने कमजोरी, साहस, प्रेम, घृणा, लोभ, मोह, लाज आदिबाट सजिएका पृथ्वीनारायण भगवान त अवस्य हुन सक्दैनन् तर यसो भनिरहंदा उनको व्यक्तित्वलाई, विचारलाई, महत्वाकांक्षालाई, युद्ध कौशलतालाई, वहादुरीपनलाई, कुटनीतिलाई, विशेषगरि उनको कुशल नेतृत्व क्षमतालाई ललकार्न् सक्ने ठाउं कहिं भेटिंदैन् ।

आज राष्ट्रिय एकता, अखण्डता, सार्वभौमिकता, कुटनीति, अर्थनीति धरापमा परेर एउटा राष्ट्र नायकको खोजी हुंदा मानिसहरुले राजा  पृथ्वीनारायण शाहलाई सम्झनु, श्रद्दा गर्नु र उनीबाट अलिकति भएपनि केहि सिक्न खोज्नु वर्तमानमा सान्दर्भिक, साहसिक र उपयोगी छ ।

नेपालको इतिहास र वर्तमानमा पृथ्वीनारायण शाहलाई तीन धारबाट पालै पालो आक्रमण गरेर निस्तेज बनाउने काम गरिएको छ ।

ती धारहरु हुन् ः माक्र्सवादी धार, शैक्षिक पद्दति र भूमन्डलीकरण  ।

पहिलो माक्र्सवादी धारः
जर्मनमा जन्मिएर, हिटलरबाट बेलायतका शरणार्थी बनाइएका र त्यहांका पुस्तकालयमा ४० वर्ष जीवन गुजारेर विश्व राजनीतिलाई समाजमा द्वन्द्धात्मक भौतिकवादको पाठ पढाउने यी समाजशास्त्री कार्ल माक्र्स भन्दा पृथ्वीनारायण शाह झन्डै एक शताब्दी जेठा रहेछन् । कार्ल माक्र्स को जन्म युरोपमा हुंदा नेपालमा पृथ्वीनारायण शाहले नेपाल एकीकरण सकेर दुई चार पुस्ता बितिसकेको थियो । तर, संयोग कस्तो छ भने तिनै माक्र्सका अनुयायीहरु नेपालमा पृथ्वीनारायण शाहका १२ औं पुस्ता को शासन अन्त्यका लागि सुत्रधारका रुपमा उभिए र एउटा लामो शासन पद्दतिको अवसानको शंख फुक्न भ्याए । प्रजातन्त्रवादीहरुले मलामी बनेर साथ दिए, त्यो ठिक या बेठिक समयले छिनोफानो गर्ला ।

तर, एउटा कुरो बुझिनसक्नु छ, पश्चिमा समाजको चरित्रलाई आधार बनाएर गरिएको एउटा त्यो समयको माक्र्सको युगान्तकारी समाज विश्लेषणकर्ताका नेपाली अनुयायीहरु आफ्नैं देशका नेतालाई चिन्न कसरी चुके र सात दशकदेखि उनीविरुद्ध किन विष बमन गरिरहे । सायद राजनीतिले कहिलेकाहीं बाटो बिराउंदो हो । पृथ्वीनारायणशाहलाई उनका सन्तान दरसन्तानले गरेका पाप र पूण्यसंग जोडेर हेर्ने जडसुत्रवाद, टाढा र नजिकका वस्तुलाई एउटै यन्त्रले देख्न सकिदैन भन्ने ब्यवहारिक भेद थाहा नपाउंदा यसो भएको हुनसक्छ । वर्ग संघर्षको सिद्धान्त र राष्ट्रिय एकीकरणको सिद्धान्त नितान्त फरक धारहरु हुन् भन्ने भेद नपाउनु नै यसको मुल कारण हो । विज्ञानले आकाशका तारा हेर्न टेलिस्कोप र ब्याक्टेरिया हेर्न माइक्रोस्कोप चाहिन्छ भन्छ तर समाजशास्त्रले पनि यो तथ्यलाई नकार्छ जस्तो लाग्दैन । नेपाली समाजलाई राजनैतिक रुपमा सचेत गराउने काममा नेपालका माक्र्सवादीहरूको गुण बिर्सनु हुदैन । तर, संगसंगै के कुरा पनि सम्झनु पर्छु भने उनीहरुले भित्र्याएको एकलकाटे विचार पद्धति, वर्ग संघर्षका नामको व्यक्ति हत्या र निषेधको राजनीति, वा भनौं सिद्धान्तको लफ्हाजी । यस्तै एकलकाटे सोचाई पद्दतिले पृथ्वीनारायण शाह जस्ता 
राष्ट्रिय एकीकरणका अभियन्ताको छवी धमिल्याइदिने काम गरेको छ । समाजलाई द्वन्दात्मक भौतिकवाद कसीमा माझ्नु पर्छ भन्ने माक्र्सवादीहरू ढर्रावादमा परिणत भएपछिको परिणाम हो यो ।

नेपालमा तीन भागमा विभाजित छन् माक्र्सवादीहरू (उग्र, मध्यम र नरम ) । उग्रको कुरै गर्न परेन उसको विचार भन्दा फरक कुनै कुरो हुने सक्दैन । देख्नै सक्दैन, समाज विज्ञान उसले बाहेक अरुले बुझेकै छैन भन्छन् र पृथ्वीनारायण शाहलाई सामन्ती सत्ताको नाइके घोषणा गरिदिन्छन् र उनको तस्विर हटाएर स्टालिनको राखिदिन्छन् । नकारको राजनीति गर्छ यो समूह र विभिन्न चरणमा आफ्नै देशका राष्ट्रिय विभुतिहरुलाई यसले मानमर्दन गरेको छ र राजा पृथ्वीनारायण पहिलो निसाना बनाइएका छन् ।
मध्यम कहिले विरोध कहिले समर्थन, कहिले देब्रे कहिले दाहिने, न सारो न गिलो, न घरको न घाटको जस्तो छ । यी दुवै भन्दा फरक नरमपन्थी हरु चाहिं पुरै लम्पसार परेर राजाको खुट्टाको पानी नै खानु पर्छ भन्नेहरु हुन् । यिनीहरुको क्रियाकलापले पनि नायकलाई खलनायक बनाउने काम सिवाय केहि गरेको छैन् । यी तीन थरी विचारहरुले नै विष बमन गरिरहेछन् पृथ्वीनारायण शाहका विरुद्धमा । यो भ्रम नपरोस् कि यो विचार या बहस नेपालको राजसंस्थाको विरोध वा समर्थनमा हैन् । यो विशुद्ध राष्ट्रिय एकीकरणका नायक विरुद्ध कसरी युद्ध घोषणा गरिएको छ र तिनका प्रमुख कारणहरु के हुन् भन्नेमा नै केन्द्रित छ ।

यिनीहरुकै बीचबाट केहि कमजोर स्वरहरु समर्थनमा नसुनिएका हैनन्, जुन स्वागतयोग्य पनि छ । तर, जुन रुपमा आउनुपर्ने हो त्यो क्षितिजपारी नै छ । सायद अझै दुइ चार दशक पर्खनै पर्ला माक्र्सवादीहरुले आफ्ना बैठकहरुमा पृथ्वीनारायण शाहलाई बहसको विषय बनाएर विश्लेषण गर्नलाई । माक्र्सवादले वहसलाई, छलफललाई, विरोधलाई र कुनै पनि कुराको प्रगतिशीलतालाई वा भनौं कुनै पनि बस्तुको, वादको उत्पति, विकास र विनासको अपरिहार्यता घोषणा गर्दै आफ्नै मृत्युको समेत ऐलान गरेको छ । तर, हाम्रा अनुयायीहरु त हरेक कुरालाई अजम्बरी बनाइ दिन्छन् र जडताको भरमा आफ्नै नायकहरुलाई आफ्नै परिचय माथि धावा बोलिरहेछन् जुन बिडम्बनापूर्ण छ ।
मस्को प्रगति पुस्तक प्रकाशन सोभियतसंघ मार्फत ठूलो परिमाणमा नेपाल भित्रिएका बामपन्थी राजनीति, साहित्य र दर्शनका कृतिहरुलाई नेपालका बामपन्थीहरुले भूमिगत तवरले नेपालका शहर देखि ग्रामीण भेगका कुना कुना सम्म पुर्याए र त्यसैमा आधारित प्रशिक्षण कार्यक्रम धेरै दशक सम्म चलाइरहे । स्कुल, कलेज र विश्वविद्यालय जानबाट बन्चित पिछडिएको तल्लो र मध्यम बर्गको, रुढिवादी परम्परा, अन्धविश्वास, जातिभेद, धामी झांक्री, अशिक्षाको जरामा नै प्रहार गर्न र मानिसहरु समान हुन् र तिनीहरुका हक र अधिकार पनि समान हुनुपर्छ भन्ने कुरालाई स्थापित गराउन ठूलो योगदान गरेको छ । तर, संग संगै के कुरा पनि बिर्सनु हुदैन भने यिनै रितिहरुको हाम्रा मौलिक कृतिहरुलाई धरासायी मात्र बनाइदिएन, अधिकांश कृतिहरु विस्थापित नै भएर गए जसले गर्दा सिंगो एउटा पुस्ता नै एकै खाले दर्शन, साहित्य र कलाबाट प्रशिक्षित भयो । अर्को पाटोको साहित्य, दर्शन र कलाबाट टाडा रह्यो र एउटा सुन्दर पाटो को अनुभव नै गर्न पाएन । देशले एउटा अपुरणीय क्षति भोग्नुपर्यो । आफ्नै कला, साहित्य, संस्कृति, दर्शन, आध्यात्म, चिकित्साप्रति अनभिज्ञ रहनु पर्यो । आजको दिनमा पूर्वीय साहित्य, दर्शन, कला, चिकित्सा, अनेकौ बिद्याहरू, संसारका उत्कृष्ट विश्वविद्यालयमा अध्ययन अध्यापन हुने गर्छन् । तर, हाम्रो एउटा ठूलो पुस्ता एउटै मात्रै वादबाट संसार हेर्न र बुझ्न वाध्य भयो । धेरै किसिमका रंगहरुका फुल फुलेपछि मात्र फुलबारी हुन्छ । एकै किसिमको रंग त खेती पो हुन्छ । सबै वाद, विचार, संस्कार, रितिरिवाज संग संगै लैजांदा मात्रै जीवन सुन्दर हुन्छ । पृथ्वीनारायण शाहको अस्तित्वलाई स्वीकार गर्न नसक्नाका पछाडि माथि उल्लेखित कारणहरु नजानिंदो तरिकाले असिमित रुपमा प्रयोग भएका छन् ।

तर, आजको दिन बदलिएको छ । विज्ञानले सबै निषेधहरुलाई झापड हान्दै वेव मार्फत संसार मानिसको खल्तीमा ल्याइदिएको छ । सामान्य मानिसको पहुंच एकपटक मानव इतिहासमा पहिलो पटक ग्लोबल भएको छ । अबको नयां पुस्ताले निषेधको विचार र राजनीतिलाई पर राख्दै हरेक गौडामा आफ्नो परिचय दिनका लागि खबरदारीका साथ उभिनेछ ।

दोस्रो ः शैक्षिक पद्दति 

नेपालको शिक्षा प्रणाली मुलतः बाहिरबाट आयातित हो । हामी जो शिक्षावीदहरु भनेर नाक ठड्याउने काम गर्छौ, तिनीहरु पश्चिमा विश्वविद्यालयबाट प्रशिक्षित भइसकेपछि नेपाल फर्किएर बनाइएका पाठ्यक्रम हुन् जसका जरा नै छैनन् । तर, फुल र फल फल्ने कल्पना गर्न सिकाइएको छ । आफ्नो नेपालीपन, आधारभूत सिद्दान्त विना बनाइएको यो शिक्षा पद्दति यस्तो हावाको महल हो जसले दुनियाको बारेमा आध्यापन गराउंछ र आफ्ना कुराहरुलाई पूर्ण रुपले बिर्साइदिन्छ । तपार्इं को हो, तपार्इंको परिचय के हो, देश कुन हो, त्यस देशका राष्ट्र निर्माता को हुन्  भन्ने कुराको अध्यापन नगराइकन अथवा भनौं, आफूले आफूलाई नबुझिकनै संसार बुझ्न पठाउने कस्तो पद्धति हो ? कस्तो शिक्षा प्रणाली हो यो, लट्टाई बिनाको चंगा उडाउन खोज्ने ? बिस्तारै सुधारको दिसातिर जान्छ होला भन्ने आस गर्नु बाहेक आज कुनै दोस्रो ओखति देखिएको छैन् । शिक्षा र संगत उस्तै उस्तै हुन् । महाभारतमा सकुनीको संगतले दुर्योधनको जन्म हुन्छ र बंशको नास । अर्कोतिर कृष्णको संगतले अर्जुनको जन्म हुन्छ । धर्मको रक्षा र नेपालका तिनै थरि विद्धानहरु पृथ्वीनारायण शाहका बारेमा चुकेका छन् ।

इतिहासकारहरु पृथ्वीनारायण शाहलाई भगवान बनाउन उद्दत छन् र व्यक्ति पूजानै अन्तिम अस्त्र हो झैं गरि लम्पसार परेको देखिन्छ ।  इतिहास लेखिनु मात्रै ठूलो कुरा हैन, त्यसलाई मानिसका मन मस्तिस्कसम्म पुर्याउने गरि जिम्मेवारी बोध गराउन सक्नु पर्छ । 
राजनीतिज्ञले त्यसलाई तदारुपताका साथ कार्यान्वयनमा लैजान सक्नु पर्छ । इतिहास भनेको माकुराले जालो लगाएर अध्यांरो कुनामा  थन्क्याइदिने शास्त्र होइन । यो त हाम्रो परिचय हो, यसले हाम्रो जराकहां छ भनेर देखाउने र बितिसकेका घट्नाहरुबाट भविष्यका लागि पाठ सिक्ने हो ।

शिक्षावीदहरुले पनि पृथ्वीनारायण शाहलाई व्यक्तिको रुपमा मात्रै स्थापित गरिरहेछन् । उनको विचारको सुन्दर पाटोलाई बिर्सिदिएका छन् । यिनी एक व्यक्ति मात्रै हैनन्, उनले एउटा सशक्त विचारको प्रतिनिधित्व गर्छन् । यो एउटा अलिखित, बिर्सिएको वा बेवास्ता गरिएको अथवा सिकार बनाइएको उ बेलाको उत्कृष्टवाद हो । यो युद्धकलाले भरिएको बाद हो । यो कुटनीतिको रंगले रंगिएको बाद हो । रणकौसल ले सजिएको बाद हो, यो मितेरी र दुष्मनी दुबैको बाद हो । राज्यसत्ता सञ्चालनको बाद हो । यो उत्तम व्यवस्थापनको बाद हो र यी सुन्दर बिषयहरुमा स्कूल, कलेज, विश्वविद्यालयहरुमा वहस चलाउन पर्दैन ? पाठ्यक्रममा अनिवार्य उपस्थिति जनाउन पर्दैन ? के यी विषयहरु, अध्ययन अध्यापनका लागि साना छन् ? के यिनीबाट शिक्षा लिने कुनै आधार छैनन् ? जर्ज वासिंगटन, विस्मार्क, पिटर द ग्रेट भन्दा के कुरामा कम छन् पृथ्वीनारायण शाह ? छन् त खाली हाम्रो दुषित मानसपटलमा । हैन भने एकाइसौ शताब्दी नियम र बादसंग १७ औं शताब्दीका सामाजिक संरचना, सिद्धान्त, विचार मिल्नै पर्छ भनेर ढिपी गर्ने राजनीति, इतिहास वा समाजशास्त्रका विद्यार्थी वा विद्वानले के कुरा बुझ्न जरुरी छ भने बिज्ञान, विचार र सिद्धान्त समय अनुसार परिमार्जित हुदै समाजका आवश्यकतालाई ध्यानमा राख्दै परिमार्जित हुने प्रक्रिया चलिरहन्छ ।

राजनीतिज्ञहरु नेपालमा गैर माक्र्सवादी राजनीतिज्ञहरु विशेष गरि विश्वेश्वर प्रसाद कोइराला र एकाध अपवाद बाहेक पृथ्वीनारायण  शाहलाई राष्ट्र नायक वा राष्ट्र निर्माता भन्न वा उनका समर्थनमा माक्र्सवादीहरुसंग वैचारिक बहसमा कहिले पनि उत्रने हिम्मतै गरेनन् वा उनीहरुसंग बहस चलाउन नै सकेनन । त्यस पछाडि धेरै कारण छन् तर मूल र गहिरो कारण भनेको अध्ययनकै कमी हो । लेख्ने, पढ्ने र बहस गर्ने बानी नेपालका प्रजातन्त्रवादीहरुमा र तिनका कार्यकर्ताहरुमा एकदमै कम छ । यो तितो यथार्थ हो र देशका लागि बिडम्बना पनि । राजनीति गर्नेहरु सैद्धान्तिक रुपमा कला, दर्शन, इतिहास, विज्ञान र बादहरुले सुसज्जित हुनु पर्छ हैन भने आफ्नै देशका राष्ट्रिय एकीकरणकाका  नायकलाई संरक्षण गर्न नसक्ने राजनीति र राजनीतिज्ञहरु अनि तिनीहरुका सिद्धान्तले भविष्यको शुन्दर नेपाल कसरी कल्पना गर्न सक्छ ? दाजु, जय नेपाल र कामरेड लाल सलाम भनेर हात उठाएकै भरमा राजनीति गर्ने र गणेश मन्त्री परम्परा कायमै राख्ने धुपौरेहरु, जो सधै नेतृत्वको अघिपछि गुलामी गर्न आतुर छ । आफ्नै घरको आंगनमा देखेको भिडलाई नै संसार मान्ने र बुझ्ने आजको फितलो नेतृत्व लाई न देशको इतिहाससंग सरोकार छ न त विश्व इतिहासको ।  यिनीहरुलाई विश्व राजनीति, तिनीहरुका सिद्धान्त, विज्ञानका विकाससंग कुनै सरोकार छैन । पृथ्वीनारायणसंग उसको कुनै साइनो छैन् किनकि त्यो साइनोले त उसलाई ठेक्का पट्टा मिलाइदिने छैन् । कमिसन दिलाइदिने छैन् । नेताका अगाडि र पछाडि उभिने लाइसेन्स दिलाउन सक्दैन र न त नेताहरुलाई भुस्तिग्रे हनुमानहरुको भिड नै जम्मा गराइदिने छ र रोम जलिरहंदा बासुरी बजाइरहने शासक निरोसंग मित लगाइदिंदा सान्दर्भिक हुने थियो ।

तेस्रोः भूमण्डलीकरण  

आजको ग्लोबल समाजमा मानिसले, देशले, कम्पनीले, तिनीहरुका उत्पादनले, कमजोर धर्मले, लुरो विचारले आफ्नो परिचय जोगाई राख्न निकै हम्मे हम्मे छ । बलियाले कमजोरलाई, जान्नेले नजान्नेलाई, अग्लोले होचोलाई, गोरोले कालोलाई, ठूलोले सानोलाई सजिलै हराइदिन  सक्छ र यो भेल एउटा खतरनाक तरबार हो जसले कसैको पनि अस्तित्व नामेट गरिदिनसक्छ । तर, यो एउटा सुन्दर मौका पनि हो फेरि जहां हामी संसारलाई आफ्नो बारेमा, हाम्रा विभूतिहरुका बारेमा, आफ्नो परिचयलाई चिनाउन पनि सक्छौं यहि भूमण्डलीकरण मार्फत ।

मानिसको परिचय बन्दागोभी जस्तो पत्र पत्रबाट बनेको हुन्छ । हाम्रो परिचयको पहिलो पत्र नेपाल हो । दोस्रो नेपाली हो, भूगोल हो । त्यसपछि जात, रंग, लिङ्ग आदि । जसरी एउटा पत्रले बन्दगोभी बन्दैन त्यसैगरी देश बन्न पनि यी सबै आधारहरु चाहिन्छन् । यो भूमण्डलीकरणीय समाज मा हामीलाई हाम्रो परिचय दिलइदिने यी महानायकको परिचयलाई जोगाइराख्न्न आज हामीलाई झन् धेरै चुनौती थपिएको छ ।

र, अन्त्यमा नयां पुस्ताको चुनौती र भविष्य
माथि ब्याख्या गरिएजस्तो के हामी सबै गलत बाटोतिर मात्रै हिडिंरहेका छौ त ? त्यसो हुंदै हैन । यिनै अप्ठ्याराहरुका बिचमा आजको नयां पुस्ताबाट आशा गर्न सक्ने प्रशस्त उदाहरणहरु छन् । अब समय आएको छ, नयां पुस्ताले अब पुरानो पुस्ताबाट नेतृत्व खोस्नु पर्छ । उनीहरुका ज्ञान र सीपलाई  संगै लिएर हिंड्नु पर्छ । अब यहि पुस्ताले अभिभारा लिनेछ र यो नयां पुस्ताले म को हुं, कहांबाट आएको हुं, मेरो परिचय के हो, मेरो इतिहास के हो भनेर उत्सुकताका साथ खोजी खोजी निकाल्दैछ । पर्दामा विद्रोह, क्रान्ति वा संघर्ष जोडदार रोमाञ्चकारी लाग्छ तर बास्तविकता त्यो भन्दा पर छ । पीडा र हिंसा, आंशु, शोक, बारुद, बन्दुक, जेल, नेल, षड्यन्त्र आदिले भरिपूर्ण, दुष्साहसी र चुनौतीले चुलिएको हुन्छ । तर, पनि वीर योद्धाहरु यी चिजहरुमाथि विजय प्राप्त गर्छन् र पर्दामा अभिनेताले गरेको क्रान्ति जस्तो, नेताले मन्चमा गरेको भाषण जस्तो, चौतारीको चियापसलमा गरिएको गफ जस्तो, पांचतारे होटेलमा गरिएको सेमिनार जस्तो मात्र हैन पृथ्वीनारायण शाहले गरेको नेपाल एकीकरण । त्यो एउटा महाअभियान थियो र नेपाल एकीकरणमा उनका कमान्डरहरुको पसिना बगेको थियो । सिपाहीको रगत, घाइतेहरुको पीडा, विधवा आमा, श्रीमतीहरुको चित्कार, जनताको श्रम, पसिना, अर्थ र संगसंगै विजयको शंख पनि र र युद्धमा सबैभन्दा आगाडि पृथ्वीनारायण शाह आफैं हुन्थे । आधुनिक कालखण्डको गृहमन्त्री जस्तो हुदैनथ्यो त्यति बेलाको युद्ध कमान्डर ।

त्यसरी बनाइएको यो देश नेपाल र यसमा गाडिएको झन्डा र त्यसका नायक पृथ्वीनारायण शाहलाई एकपटक सम्झने, बुझ्ने र जिवितै राख्नु पर्ने आवश्कता टड्कारो रुपमा आएको छ । आज एउटा राष्ट्र नायकलाई परिचयको खांचो परेको छ । उनको परिचय तपाईको र मेरो परिचय संग जोडिएको छ ।

यहि पुस २७ गते, २९४ पृथ्वी जयन्ति मनाएर, फुट र दासताका विरुद्धमा र जुट र स्वतन्त्रताको पक्षमा एकपटक शंखनाद गरौं र एउटा सिंगो र स्वतन्त्र राष्ट्रको, राष्ट्र निर्माताको सम्मानमा गर्भका साथ जय पृथ्वी, जय नेपाल भनौं ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक