शुक्रबार, असोज २ २०७७ | Fri, September 18, 2020
नेपालको समय: १५:४२ | UK Time: 10:57

के मानव जाति युद्धबिना बाँच्न सक्तैन ?

वीनेपाली
२०७२ पुष १० गते १२:४६
Shashi Poudel

शशी पाैडेल

 

बिसौं शताब्दीको अन्तिम दशकताका राजनीतिज्ञहरु, कुटनीतिज्ञहरु र गृहयुद्ध, युद्ध एवं आतंक अन्वेशकहरुले अब शीतयुद्धको अन्त भएपछि विश्वमा शान्ति छाउने कुराहरु गरिरहेका थिए । हातहतियारको युग सकिएको, सर्वसाधारण जनताबीचको दुस्मनी (कन्ल्फिक्ट)को अन्त भएको, अब काटमारको बदला स्वेच्छाको सरसल्लाह, समझदारी र सम्झौता हुने भनेर बहस गर्दथे । तर त्यसको ठीक विपरित अब बिस्तारै मानव जातिको मन धर्मराउन थालेको छ । इन्टरनेशनल इन्स्टिच्युट फर स्ट्राटजीको एक अध्ययन अनुसार विश्वभर अहिले ४१ हातहतियार सहितका युद्धहरु भैरहेका छन् । र, अहिले लाग्छ हरेक हप्ता नयाँ युद्धको शुरुवात हुँदैछ । युक्रेन, सिरिया, इराक, यमन, लिबिया, नाइजेरिया, इजरायल र प्यालेस्टाइन यसका केही उदाहरण मात्र हुन् । के यो विश्व साँच्चै छलकपट, युद्ध, आतंक र काटमारको विश्व बन्ने हो त ? के मानव जाति युद्धबिना बाँच्न सक्तैन ?
अहँ ! युद्धबिना मानव जाति बाँच्न सक्तैन भनी दाबी गर्छन् बेलायती इतिहासकार इआन मोरिस । उनको केही समयअघि प्रकाशित उत्तेजित शीर्षक “युद्ध केका लागि राम्रो हो” नामक पुस्तकमा उनी लेख्छन् —युद्धहरु ठूला मुलुकहरुले आ—आफ्नो शक्ति प्रदर्शन गर्न र आफ्ना राज्यहरु अझ शक्तिशाली बनाउन गरिएका छन् । र, संसारमा जति जति ठूला सामाजिक संघ, संस्थाहरु बन्छन् त्यति नै ब्यक्तिवादी हत्या र अपराधहरु कम हुँदै जान्छन् । त्यतिखेर आफूलाइ ठूलो शक्ति मान्ने मुलुकले आफूमाथि आएको धम्की सम्झिन्छ र हतियारसहितको युद्ध शुरु गर्छ ।
इआन मोरिसका उक्त पंक्तिहरुले बेलायती अर्का दार्शनिक थोमस होब्सको सिद्धान्त राज्यशक्तिको एकाधिकार (मोनोपोली अफ स्टेट)को ताजा सम्झना गराउँछ । थोमस होब्सका अनुसार सर्वसाधारण जनता आफ्नो भए भरको सम्पत्ति, इज्जत, मूल्य र मान्यता सुरक्षाका निम्ति राज्यविरुद्ध आन्दोलित हुन्छन् । आन्दोलनबाटै आफ्ना मूल्य, मान्यता, सम्पत्ति र इज्जतको सुरक्षा होस् भन्ने चाहन्छन् । तर आन्दोलित हुँदै जाँदा सुरक्षाको सम्भावना झन् भन्दा झन् तुहिंदै जान्छ । किनभने या त राज्यशक्तिले आन्दोलनलाई तितरबितर पार्छ या त त्योभन्दा ठूलो शक्तिले आन्दोलनलाई हाँक्न थाल्छ र अर्को ठूलो राज्यशक्तिबीच युद्ध सुरु हुन्छ । ठीक यस्तै भैरहेको छ विश्वका विभिन्न मुलुकहरुमा ।
इआन मोरिसले यसप्रकारका युद्धलाई “उत्पादनमुलक युद्ध (प्रोडक्टिभ वार)” भनेर नामाकरण गरेका छन् । उनका अनुसार युद्ध नै नयाँ समाज र नयाँ सामाजिक मान्यता निर्माणको एउटा सही उपाय हो । उनले यसलाई पाक्स रोमनको उदाहरण दिएका छन् । उनका तर्कलाई सरसर्ती हेर्दा अहिलेको फ्रान्सको विद्यमान समाज एउटा ठूलो विश्व प्रसिद्ध युद्धबाट विकसित समाज हो भन्ने बलियो तर्क दिन्छ ।
इआन मोरिसको तर्कहरु जतिसुकै बलियो तर्क भएपनि उनको तर्कमा खोटहरु भने सहजै देख्न सकिन्छ । युद्ध परिस्थितिको अनायास विकास भैरहेको बेला एउटा ब्यक्ति वा एउटा समुदायले त्यसलाई नियन्त्रणमा लिन वा तत्कालिक ब्याख्या गर्न सक्तैन । उत्तेजित मानवद्धारा परिचालित हातहतियार पनि नियन्त्रण हुन सक्तैन । यो लथालिंग र भताभुंग नोक्सानदायी हुन्छ । अघिल्ला शताब्दीहरुमा र २१सौं शताब्दीको सुरुमै भएका युद्धहरु उत्पादनमुलक थिए भन्न सक्ने बलियो आधार पनि छैन । शान्ति भनेको सामान्य अवस्था हो तर शान्तिलाई एक पछि अर्को युद्ध अपराधहरुले दख्खल दिइरहेको छ । यस अर्थमा युद्ध प्रोडक्टिभ हुन्छ भन्न सकिन्न । बरु यसलाई समाजको नोक्सानदायी कारकभन्दा उपयुक्त हुने छ । अपराधीहरुको दम्भ, रिस, राग, द्वेस र बदला लिन चाहनेहरुको घमण्डभन्दा अनुपयुक्त हुने छैन । जसले मानव समाजलाई छिन्नभिन्न पारिरहेको छ ।
युद्ध जसले यसै पनि विश्व तहसनहस पारिरहेको बेला पश्चिमाहरु रुसका विरुद्ध जाइलाग्ने तयारी गरिरहेका छन् । युक्रेन युद्धको एकमात्र जिम्मेवार रुसलाई ठहर्याएका छन् । युद्ध अपवाद नभएर महाशक्तिहरुको आफ्नो शक्ति परीक्षण गर्ने एउटा नियम जस्तो बनिसकेको छ अहिले । १९९१ देखि वशुरु भएको सोमालियाको जनयुद्ध (सिभिल वार) ले मुलुक क्षतविक्षत बनाएको छ जहाँ कुनै सरकारी संयन्त्र संचालन हुन सकिरहेका छैनन् । विगत तीन वर्षदेखि निरन्तर भैरहेको सिरियाको युद्धले त्यहाँका लाखौं सर्वसाधारण जनतालाई तितरबितर मात्र पारेको छैन कि दैनिक सयौंको संख्यामा टाउको गिंडिएको छ । सत्ता र शक्तिको दम्भ र तेलको लोभमा अमेरिकाले इराकमा छेंडेको युद्धले अहिले आएर स्थानीय सर्वसाधारण जनता इस्लामिक स्टेटको नाममा धार्मिक युद्धमा फंसिरहेका छन् । संसारको कान्छो राज्य दक्षिणी सुडान अहिले दुई भिन्न भिन्न समुदायबीच शक्ति युद्धमा फसेको छ । हाम्रै नेपालमा माओवादीका नाममा गरेको दश वर्षे जनयुद्धले मुलुक खोक्रो मात्र भएको छैन कि ठूला तीन शक्तिशाली राज्यहरु (भारत, अमेरिका र युरोपियन)ले क्षेत्रीयता, जातीयता, धार्मिकता र सम्प्रदायको खिचलो पारेर सिभिल वारमा धकेल्ने प्रयास गरिरहेका छन् । समय बित्दै जाँदा नेपालमा भएको माओवादी जनयुद्ध पनि नेपाल र नेपाली भूमिबाट मात्र परिकल्पित, उत्पादित र परिचालित रहेनछ भन्ने प्रमाणित भएको छ । जहाँ जहाँ आर्थिक स्थिति कमजोर हुन्छ, जहाँका जनता गरिब छन्, त्यहाँ त्यहाँ शक्तिशाली राज्यहरुले आगो सल्काउने र आफ्नो स्वार्थ र शक्ति प्रदर्शन गर्ने गरेको कुरा दिनको घाम जत्तिकै छर्लंग छ । उदाहरण खोज्न टाढा जानु पर्दैन । अमेरिकाले २००४ सालदेखि सिआइएको स्पेशल एक्टीभिटी डिभिजनको नेतृत्वमा उत्तर पूर्व पाकिस्थानमा रिमुट कन्ट्रोलद्धारा CREECH AIR FORCE BASE AMERIKA बाट युद्ध गरिरहेको छ । उक्त रिमुट कन्ट्रोल युद्ध लडाकु (UAV) (अन म्यान्ड एरियल भिएकल्स) मान्छे नभएको लडाकु विमान २००४ को तुलनामा बाराक ओबामाको पालादेखि अरु बढ्दै गैरहेको छ । अमेरिकीहरुले खासगरि “वार अन टेरोर” घोषणा गरेदेखि यसप्रकारको स्ट्राटजी प्लान गरेका हो ।

U.S. Marine holds Iraqi child after crossfire ripped apart family in central Iraq

इराककाे मनछुने तस्वीर /राेयटर्स

अचम्मको कुरा त के भने सत्ताधारीहरुले आफू सत्तामा बसिरहन र नितान्त ब्यक्तिगत स्वार्थ पूर्तिका निम्ति दोहरो चरित्र देखाउने गर्दछन् । एकातिर पाकिस्तानी सरकारले आफ्ना जनतासमक्ष पाकिस्तानमाथि भैरहहेको अमेरिकी आक्रमणको विरोध गरेको देखाएको छ भने अर्कोतिर पाकिस्तान सरकारले अमेरिकालाई साम्जी एयर फिल्ड पाकिस्तानबाट मान्छे नभएको लडाकु विमान अर्थात रोबोट चलाउन अनुमति दिइरहेको छ । अमेरिकाले लगभग एक दशकदेखि पाकिस्तानी गुरिल्ला एबं स्वतन्त्रता सेनानी विरुद्ध आक्रमण गरिरहेको छ र सिआइएले यसको प्रतिफल लिंदै आइरहेको छ । एक पत्रकार सम्मेलनमा तत्कालिन अमेरिकी विदेश मन्त्री हिलरी क्लिन्टन समक्ष पत्रकारहरुले सोधेको प्रश्नको जवाफमा उनले अमेरिकाको युद्ध स्ट्राटजी प्लान र टेक्नोलजी बारे कुनै कमेन्ट गर्न चाहन्न भनिन् । यस प्रकारको युद्ध लडाकु विमानहरु २००१ मा अफगानिस्तानमाथि आक्रमण गरेदेखि पाकिस्तानमाथिको आकाशमा उडिरहेका छन् । यी मान्छे विहिन युद्ध विमानहरु अमेरिकी पाइलटहरुले CREECH AIR FORCE BASE AMERIKA बाट उडाइ रहेका छन् र उनीहरुले खिचेका भिडियोहरु पाकिस्तानी सरकारलाई उपलब्ध गराउंदै आइरहेका छन् । ती मान्छे विहिन युद्ध विमानहरु अफगानिस्तानको जलालाबाद र कुनै कुनै पाकिस्तानबाटै उड्दछन् । न्यूयोर्क टाइम्सको एक रिपोर्ट अनुसार ती मान्छे विहिन युद्ध विमानहरु सिआइएको हेड क्वाटर लाङ्गली, भर्जिनियाबाट कन्ट्रोल गरिएका छन् । उता सिआइएले भने अफगानिस्तानमा गरिएका हवाइ आक्रमणबाट थोरै संख्यामा मानिस हताहत हुने गरी डिजाइन गरेको दाबी गरेको छ । तर न्यू अमेरिका फाउण्डेशनको पब्लिक रिपोर्ट अनुसार ८२ वटा मान्छे विहिन युद्ध विमानहरुले २००६ सालदेखि अहिले सम्ममा पाकिस्तानमा मात्र तीनहजार भन्दा बढी मानव हत्या गरेको बताइएको छ । जसमध्ये आधीभन्दा बढी सर्वसाधारण एवं बालबच्चा भएको बताइन्छ ।
त्यति मात्र नभएर पाकिस्तान सरकारले, जुन जुन ठाउँहरुमा मान्छे विहिन युद्ध विमानहरु मार्फत आक्रमण भएको छ, त्यहाँ त्यहाँ पत्रकारहरुलाइ पुग्न र यसबारे रिपोर्ट गर्न प्रतिबन्ध लगाएको छ । त्यसैले यथार्थमा के कति मान्छेहरु, पाकिस्थानमा मान्छे विहिन युद्ध विमानहरुको आक्रमणद्धारा मारिएका छन् भन्ने थाहा लाग्न सकेको छैन । यस्तैगरी अमेरिकाले २००८ साल ताका यस्तै प्रकारको आक्रमण प्यालेस्टिनी मार्ने योजना बनाएको थियो । जुन आक्रमणद्धारा निर्धारित रुपमा “टेरोरिष्ट”हरुलाई मात्र मार्ने योजना भन्दै आइरहेको हो । अमेरिकाका अनुसार यदि उनीहरुले यी मान्छे विहिन युद्ध विमानहरु प्यालेस्टिनीमाथि पनि चलाएमा आफ्ना सैनिकहरु मर्ने छैनन् । अमेरिकाको यो तर्कबारे अमेरिका भित्रै निकै विरोध भएको थियो । जर्ज टाउन युनिभर्सिटी, कानून बिभागका प्रोफेसर ग्यरी सोलीसले न्यू योर्कर पत्रिकासंग यो अमेरिकी योजनाको तीब्र आलोचना गरेका थिए ।
गतवर्ष इजरायलले प्यालेस्टिनामाथि ठूलो संख्यामा बम वर्षा गर्यो । जसबाट हजारौं मानिसहरुको इहलीला समाप्त भयो । त्यस बेलामा आफूलाई संसारको प्रहरी भन्न मन पराउने अमेरिकाले इजरायललाई बम बर्साउन बन्द गर्ने आदेश दिन चाहेन । एकातिर शान्तिवार्ता, हतियार बिसाउने वार्ता भन्दै विश्व जनसमुदायलाई भुलाइरह्यो भने अर्कोतिर इजरायललाई बम बर्साउन स्वतन्त्र छोडिरहेको छ । के यस्तो अवस्थामा एकले अर्कोलाई विश्वास गर्न सक्ला ? के एकतर्फी चाहनाले मात्र युद्ध बन्द होला ? यद्यपि २१सौं शताब्दी लागेपछि न्युक्लियर र एटम युद्ध भएको छैन र यी हतियारहरु मिलिट्री रणनीतिमा मात्र सीमित छ तथापि न्युक्लियर र एटम युद्ध नहोला कि भनेर ढुक्क हुने अवस्था भने अब रहेन । किनभने संसारभर १६ हजार ३०० एटमबम स्टेशनहरु बनाइएका छन् भने ४००० एटम बम पड्काउन तैयारी अवस्थामा राखिएका छन् ।
केही महिनाअघि मैले एकजना भारतीय सैनिक र युद्ध विशेषज्ञ (दुर्भाग्य मैले उनको नाम बिर्सें) ले हिरोसिमाको यात्रा गरेपछि दिएको प्रतिकृया नवभारत टाइम्समा पढेको थिएँ । उनको प्रतिकृया थियो केही ह्ृदयविहिनहरुको घमण्डका कारण चकनाचुर भएको भए पनि आज हिरोसिमा कलकलाउँदो र संसारका लागि उदाहरण बनेको छ । जापानी जनताप्रति म गौरव गर्दछु । हुन पनि हो एउटा न्युक्लियर एटम युद्धले दशौं लाख निमुखा जनताको हत्या हुन्छ भने हज्जारौं बिगाहा जमिन ध्वस्त पार्छ । तर पनि यो विश्वको अन्त भने हुने छैन ।
आफूलाई संसारका शक्तिशाली भन्ने मुलुकहरुले आफ्नो सुरक्षाका लगि भनेर न्युक्लियर र एटमबम स्टेशनहरु बनाएका छन् तर त्यो युद्ध रोक्ने कुनै समाधान होइन बरु यो त युद्ध छेडिने ठूलो समस्या हो जसले संसारका दशौं लाख मानिसहरुको एउटै चिहान बनाउने छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक