ओलीले फेरि थपे मन्त्री

new ministers sworn-in

काठमाडौैँ ९ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल विस्तार गरी केही मन्त्रालयको जिम्मेवारीमा हेरफेर समेत गरेका छन् ।

नयाँ नियुक्त भएका चार मन्त्रीमा दीपक बोहरा (श्रम तथा रोजगार), प्रेमबहादुर सिंह(खानेपानी तथा सरसफाइ), एकनाथ ढकाल (बिना विभागीय) र शिवलाल थापा (विज्ञान तथा प्रविधि) छन् । आजै राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा उहाँहरुलाई पद तथा गोपनीयताको शपथ गराए ।

बोहरा राप्रपा, सिंह समाजवादी जनता पार्टी, ढकाल नेपाल परिवार दल र थापा जनमुक्ति पार्टी(लोकतान्त्रिक)बाट प्रतिनिधित्व गर्छन् ।

त्यस्तै कार्यभार पछि तोकिने गरी नेकपा(एमाले)बाट दिनेशचन्द्र यादव, दामोदर भण्डारी, बलबहादुर महत, नरदेवी पुन मगर, मञ्जुकुमारी चौधरी र दीपनारायण साहलाई राज्यमन्त्रीमा नियुक्त गरिएको छ ।

प्रधानमन्त्रीले सहरी विकास मन्त्रालय आफूसँगै राखेका छन् । त्यस्तै रामजनम चौधरी स्वास्थ्य, शेरधन राई सूचना तथा सञ्चार, शान्ता मानवी शान्ति तथा पुनःनिर्माण र विश्वेन्द्र पासवान जनसङ्ख्या तथा वातावरणमन्त्रीमा रहेका छन् । स्वास्थ्य, सूचना तथा सञ्चार र जनसङ्ख्या तथा वातावरण मन्त्रालयको नाम परिवर्तित भएको छ ।

गत असोज २५ मा गठन भएको सो मन्त्रिमण्डलमा कात्तिक १, १९ र २३ गते जिम्मेवारीमा हेरफेर तथा थप भएकामा आज पुनः विस्तार र हेरफेर भई मन्त्रिमण्डलमा ४० सदस्य पुगेका छन् । सो अनुसार उपप्रधानमन्त्री छ, मन्त्री २१, राज्यमन्त्री १० र सहायकमन्त्री दुई जना छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री