प्रमुख प्रतिपक्षको अवरोधका कारण बैठक स्थगित

sambidhan sabha

काठमाडौँ, २४ मङ्सिर । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसको अवरोधका कारण व्यवस्थापिका–संसद्को आजको बैठक कार्यसूचीमा प्रवेश नै नगरी स्थगन भएको छ ।

सभामुख ओनसरी घर्तीले बेलुका ७ बजेर ३५ मिनेट जाँदा बैठक सुरु भएको घोषणा गर्नासाथ काँग्रेस र नेपाल मजदुर किसान पार्टीका सांसदले आआफ्नो स्थानबाट उठेर विरोध जनाउनुभएको थियो । दुवै दलबाट विरोध भइरहँदा सभामुखले नियमापत्ति गर्ने काँग्रेसका रमेश लेखकलाई बोल्न समय प्रदान गर्नुभएको थियो ।

लेखकले मुलुक अत्यन्त अप्ठ्यारो परिस्थितिमा रहेको र मधेस लामो समयदेखि आन्दोलनमा रहेका अवस्थामा अघिल्लो बैठकका लागि नै तय भइसकेको संविधान संशोधनको कार्यसूची किन हटाइयो भनी प्रश्न गर्नुभयो । संविधान संशोधनसम्बन्धी विषय कार्यसूचीबाट हटाइनुपर्नाका कारण सरकारबाट स्पष्ट जानकारी नआएसम्म बैठक चल्न नदिने घोषणा उहाँले गर्नुभयो ।

समानुपातिक समावेशी प्रतिनिधित्व र जनसङ्ख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण सम्बन्धमा काँग्रेसको नेतृत्वमा रहेको सरकारले संविधान संशोधनका लागि दर्ता गराएको विधेयक परिमार्जन गरेर अघि बढाउने सम्बन्धमा प्रमुख तीन दलबीच केही दिनअघि सहमति भएको थियो ।

लामो समयदेखिको राजनीतिक गतिरोध अन्त्य गर्न संसद्लाई सञ्चालन गरेर सहयोग गर्न आग्रह गर्दै सभामुखले प्रमुख प्रतिपक्षले भने अनुसार आगामी बैठकमा संविधान संशोधनसम्बन्धी विधेयकलाई कार्यसूचीमा राख्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

सभामुखको आग्रहलाई प्रमुख प्रतिपक्ष दलका नेताले अटेर गर्दै आआफ्नो स्थानबाट उठेर लगातार विरोध जनाउनुभएपछि सभामुख घर्तीले प्रमुख प्रतिपक्ष दलले संसद्को बैठक अवरोध गरेका अवस्थामा बैठक चलाउन कठिन हुने भएको जनाउँदै शुक्रबार अपराह्न ३ बजे अर्काे बैठक बस्ने घोषणाका साथ बैठक स्थगन गर्नुभएको थियोे ।

विधायन समितिका सभापति गङ्गा चौधरी सत्गौवाले भूकम्पबाट प्रभावित संरचनाको पुनःनिर्माणसम्बन्धी विधेयकको प्रतिवेदन व्यवस्थापिका–संसद्मा आज पेस गर्ने कार्यसूची थियो । नाराबाजी झन्डै १५ मिनेट चलेको थियो । यसअघि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको लगातारको सदनको अवरोधका कारण ४० दिनदेखि सदनको बैठक प्रभावित हँुदै आएको थियो ।

मधेसी मोर्चाको आज बसेको बैठकले भूकम्प प्रभावित क्षेत्रमा पुनःनिर्माणको काम अघि बढ्न नसक्दा पीडित जनताले भोग्नुपरेको समस्या र मानवीय पक्षलाई दृष्टिगत गरेर पुनःनिर्माणसम्बन्धी विधेयकलाई संसद्मा प्रवेशमा रोक नलगाउने निर्णय गरेको थियो ।

प्रधानमन्त्री, सभामुख र सङ्घीय समावेशी मधेसी गठबन्धनसँग आबद्ध दलका नेताबीच भएको छलफलपछि गठबन्धनले समेत सदन सञ्चालनमा सहयोग पु¥याउने प्रतिबद्धता जनाएको थियो ।

भूकम्पबाट प्रभावित संरचनाको पुनःनिर्माण विधेयक बैठकमा प्रस्तुत गरिने भएकाले त्यसलाई अघि बढाउन प्रधानमन्त्रीले सहयोग पु¥याउन आग्रह गर्नुभएको हँुदा बैठक सञ्चालनमा सहयोग गर्ने प्रतिबद्धता जनाएको राष्ट्रिय मधेस समाजवादी पार्टीका सचेतक धर्मेन्द्रकुमार साहले जानकारी दिनुभयो ।

उक्त गठबन्धनमा नेपाल सद्भावना पार्टी, राष्ट्रिय मधेस समाजवादी पार्टी र मधेसी जनअधिकार फोरम नेपाल(गणतान्त्रिक) आबद्ध छन् ।

यसअघि काँग्रेसले संविधान संशोधन र पुनःनिर्माणसम्बन्धी विधेयक एकैसाथ अघि बढाउनुपर्ने अडान लिएका कारण संसद्को बैठक निर्धारित समयमा सुरु हुन सकेको थिएन ।

मधेसी मोर्चाले भने पुनःनिर्माण विधेयक पेस गर्ने बाहेक बैठकमा अरु गतिविधिलाई अघि बढ्न नदिने भनाइ सार्वजनिक गरिसकेको छ । संसद् सञ्चालन गर्ने सम्बन्धमा प्रमुख प्रतिपक्ष दल र मोर्चाबीच देखिएको बेमेललाई मिलाउन सभामुखले साँझ ७ बजेपछि सचेतकसँग पुनः बैठक गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री