शालिनताभित्र मजगैयाको महानता    

bbbbहरेक साहित्यिक मनहरुलाई महान नाटककार विलियम शेक्सपियरको जन्मस्थल स्ट्रयाटफोर्ड अपन एभनले तानेकै हुन्छ । नेपालमा  कुनै साहित्यकारको जन्मघरलाई यो रुपले यसरी संरक्षण गरिएको खासै कुनै नमुना छैन । नेपाली साहित्यकारको स्मृतिमा नेपालमा यसरी नै साहित्यिक तीर्थस्थलको रुपमा बिकास हुन सकेको छैन । यद्यपि केहि गरौं भन्ने योजना चाहि धेरै भएको छदैछ ।

करिव चार बर्षपछि फेरी शेक्सपियरको जन्मस्थलमा घुम्न जाने तारतम्ब बन्यो । साहित्यिक उर्बरताको भूमिमा पुगी अरु थुप्रै साहित्यकारसंगको साथमा शेक्सपियरको जन्मस्थानको माधुर्यमा रमाउनको लागि मनले हतार गरिहाल्यो ।

नेपालबाट आएका पत्रकार राजकुमार दिक्पाललाई लिएर म आइतबार एक बिहानै हिंडे । नर्थहोल्टमा जया राई र राजनीतिज्ञ तथा साहित्यकार बलदेव मजगैयालाई मैले संगै लैजानुपर्ने योजना अनुरुप गाडी त्यता तर्फ अघि बढाएं । सारा चराचर जगत आनन्द मस्त निन्द्रामा सुतेको जस्तो लाग्ने शान्त बाटोमा बेलाबेलामा गफगाफ गर्दै करिब ४५ मिनेटमा नै हामी नर्थहोल्ट पुगीहाल्यौ । दुवैजनासंग समयमा भेट भएपछि करिब १०५ माइलको यात्राको लागि राजमार्गतिर गाडी अगाडी बढ्यो ।

एक रफ्तारमा गाडी गुडिरहेको छ, घामको लाली पनि हामीसंग रमाउदै एकै तालमामा हिंडिरहेको भान लाग्छ । प्रकृतिको माधुर्यतामा सारा बन जंगल खुब प्रफुल्ल हुदै सडकमा ओहर दोहर गर्ने सबैलाई एक एक नियालिरहेका जस्तो लागिरहेछ । गाडी भित्रको शान्त बाताबरणलाई भंग गर्दै मैले आजको मौसमबारे फिराद गरें ।

शान्त र सरल स्वभावका पूर्वमन्त्री मजगैयासंग गफगाफ शुरु भयो । हाम्रा जिज्ञासाहरुको बढो राम्रो र सटिक तरिकाले दिन थाले पछि झन बढी प्रश्नहरु आइहाले । उनको राजनैतिक तथा साहित्यिक इतिहास, मन्त्रि हुदाको अनुभव, अहिलेको देशको परिवेशको बिबिध पक्षमा प्रशस्त चर्चा परिचर्चा भए । छोटो समय जलश्रोत ममन्त्री हुंदा आफूले गरेका र भोगेका कामहरुको लामो बर्णन गर्दै उर्जा सम्बन्धि भएका धेरै लुपहोलको जानकारी गराए । बिस्तारै बोल्ने उनको स्वभाब हुनाले तल बस्ने जयाजी र दिक्पालजीले बेलाबेलामा कान उचा गर्नु परेको छ ।

“अहिले चर्चामा आएको जातीय राज्यबारे कुरा चाहि के होला ?” भन्ने प्रश्न राखें मैले । पानी पिएर बाहिर घामको कुरा गर्दै उनले भने  यो त राजनीतिज्ञको अदूरदर्शी कुरा हो । अहिलेको परिवेशमा संसारमा कहिपनि सम्भव हुने कुरा नै होइन । माओवादीले विद्रोहको बेलामा सजिलै मानिसलाई भड्काउन गरेका हुन् । उनीहरुलाई के बिचार गरे होलान भन्दा सत्ता हाम्रो हातमा आयो भने त बन्दुक पनि हामी संगै हुन्छ, बन्दुक भएपछि अहिले जे बोलेपनि त्यसबेलामा हामी संग कसले के माग्न तागत राख्न  सक्छन र ? भन्ने तर्कना माओवादी नेताको अपरिपक्कताको परिणाम हो । हरेक जात जातिको पहिचानको साथै सम्मान त गर्नुपर्छ तर जातीय राज्य भएर हुन सक्दैन ।

बिपी कोइरालाले भनेको कुरा स्मरण गर्दै अलि भाबुक हुदै भने :  बन्दुकको शक्तिबाट जनतालाई दुख दिएर आएको परिबर्तनमा प्रजातन्त्र संस्थागत हुन गाह्रो हुन्छ । बन्दुक बिसाए पछि जनतामा भोट माग्न जादा पर्दैन ? त्यो बेलामा कसरी सामना गर्ने ? शसस्त्र आन्दोर्लन गर्ने भएको खेल होइन, यसले निरंकुस बनाउन सहज बनाउछ ।

कुराकानी गर्दा गर्दै अक्सफोर्ड नजिकको राजमार्गस्थित आराम गर्ने ठाउमा हामी रोकियौ । चिया कफी पिउने कुरामा पूर्वमन्त्री मज्गैयाले भने:  राजनीति गर्ने मानिस जहाँ गएपनि चिया पिउनु पर्ने, कहिले काही १८, २० कप सम्म पनि पिएं । त्यसपछि विचार गरें कि यति धेरै त स्वास्थ्यको लागि राम्रो होइन । यस्तो सोच आउन थाले पछि चिया कफी पिउनै छोडिदिएं ।

तपाइले किन मन्त्रिबाट राजीनामा दिनुभएको ? आफनै पार्टीको प्रधानमन्त्री हुंदा पनि के कारणले मन्त्रि पद छोड्नुपर्ने अवस्था आयो भनेर मैले एकाएक प्रश्न गरें ।

हात चिउड़ोमा लगेर अलि गम्भीर भएर भन्न थाले कि ; गिरिजाबाबु र मेरो सम्बन्ध सधै राम्रो थियो । कार्यशैलीमा कहिलेकाहि मतभेद त जो कोहि संग पनि भईहाल्छ । वहाले गर्नु भएको केहि कुरा मलाइ मन परेन, मैले गएर सबै कारण भनें, वहाले केहि होइन यो सचिन्छ अब भन्नु भयो तर त्यसो हुन सकेन अनि मैले राजिनामा गरें ।

कुटनीति र राजनीतिको अवस्थाबारे चर्चा गर्दै गिरिजाप्रसाद भन्ने गरेका “ग्राइन्ड डिजाइन” बारे निकै नै समय व्यथित भयो ।

प्राकृतिक शौन्दर्यताको अनुपम आनन्दमा आंखाले देखेजति हरियालीमा सबै वनस्पतिहरु खुशी भइ समग्र मानबजातिको बुद्दि र चेतनाबारे बिचार विमर्श गरेको आभास लागिरहेछ । उषाकालिन शान्तको रसोस्वदन गरी सबैको उत्थानको लागि अरु लागिपर्नु पर्ने टड्कारो भएको कहानीहरु उकुसमुकुस भएर बताइरहेका जस्तो भान भइरहेको छ ।

नेपालबाट भ्रमणमा आएका दिक्पालजी घरि बाहिर, त कहिले फोन हेर्दै त कहिले गफमा प्रतिप्रश्न गर्दै बसेका छन् । जयाजीले पानी या खानेकुराको बारम्बार आग्रह गरिरहेकी छिन् ।

हामी सरासर सोचेको भन्दा चाडै नै शेक्सपियरको जन्मघरमा पुगीहाल्यौं । बैरागी काईला लगायत अरु साहित्यकारहरुको आगमन अलि ढिलो हुने थाह भएपछि हामीहरु एभन नदीको तटको चउरमा बस्यौं । जयाजीले खाना फिजाउन थालिहालिन । एभन नदीका रजहाँसहरु सबै पर्यटकलाई नियाल्दैमा व्यस्त छन् । घाम ताप्न तथा नदीको अबलोकन गर्ने निकै नै मानिसहरु देखिन्छन् ।

शेक्सपियरको कुराको प्रसंगसंगै उनकै बेलाको रानी एलिजावेथ प्रथमको समयका सम्भ्रान्तहरूको कुरा हुदै उनीहरुको शक्तिको बारेको कुरा गर्दा नेपालको  भूमिसुधार र बिर्ताको प्रसंग उठ्यो । मजगैयाले नेपाली कांगेसले ०१५ सालमा बिर्ता उन्मूलन गरेको कुरा गर्दै आफना पुर्खाहरु मजगाउँ भन्ने ठाउँको बिर्ता पाएकोले मजगैया भन्ने थर राखिएको एतिहासिक पृष्टभूमिको रोचक तबरले उजागर गरे ।

हामीहरुले गरेको हरेक प्रश्न कतिपनि झन्झट नमानी यिनीले भन्दै गए । माओवादी युद्दको बेलामा भएको जनधनको क्षतिप्रति आक्रोस हुदै अदूरदर्शी लडाइ र राजनैतिक अदूरदर्शीले गर्दा देशले यसरी भोग्नुपरेको तर्क सारे । माओवादीका बैचारिक गुरु मानिने मोहन बैद्य संग पंचायतीसमयको जेलमा आफ्नो सामिप्यको कुरा गर्दै आफ्ना धारणाहरु राखे ।

अक्टोबर महिना भएपनि घामको न्यानोपनले हाम्रो आत्मियता झन् बढायो । पत्रकार मित्र भगिरथ योगीले परिचय गराएका यिनीसंग एक पटक मात्र पहिला भेटेका हौ । तर पनि यिनीबाट यति धेरै बिश्वाश र ज्ञान पाइरहेकोमा हामीहरु सबैलाई अपार आनन्द आइरहेछ । कुनै कुरा सोध्न संकोच लागेको छैन, साच्चै नै नेताहरु भन्ने सबै खराब हुन त भन्ने प्रश्नले दिमाग खैलाबैला पनि गरिरह्यो ।

राजनीति भनेको प्रत्यक्ष जनतासँगको सरोकारको बिषय हो, नेपालमा राजनैतिक पार्टीहरु कमी कमजोरी आन्दोलन गर्न सफल शासन गर्न उति सफल नभएकोमा हामीले लामो समय बहस जारी राख्यौं । दांगको स्कुलमा त्यसबेला आफूले भोगेको र देखेको कारणले सानै उमेर देखि राजनीतिमा लाग्न प्रसय भएको कुरा राखे ।

बिपी कोइरालासंगको बसउठ बारेको कुरा र उनको व्यक्तित्वको बारे पनि प्रकाश पारे । राजनीतिमा बीपीले भनेको जस्तो सफलता नपाए पनि उनको व्यक्तिगत के कस्तो थियो भन्ने प्रश्नमा परिवेश जे जस्तो भएपनि व्यक्तिगत जीबनमा उनी सन्तोष भएको कुरा गरे ।

बैरागी काइँला, राजन मुकारुङ तथा अरु साहित्यकारहरुको टोली आइपुगेको खबर पाएपछि हामीहरु शेक्सपियरको जन्मघर हेर्न भित्र गयौं । शेक्सपियरको इतिहास देखि लिएर उनको बस्ने कोठा, भान्छा, सुत्ने कोठा लगायत त्यस बेलाको इतिहासलाई जीवन्त बनाएर राखिएको सबै अबलोकन गरियो । बाहिर पटांगिनीमा शेक्सपियरको नाटकहरुको डाइलग पनि सुनियो । रविन्द्रनाथ ठाकुरको मुर्तिमा फोटा खिचेर हामी सबै साहित्यिक गफगाफ गर्यौं । बैरागी काइँला प्रफुल्ल हुदै साहित्यकारको इतिहास सम्बर्धन गरिएको देख्न पाएकोमा अत्यन्त प्रसन्न आएको चर्चा गरे ।

कला, साहित्य, तथा संस्कृतिको संरक्षण कसरी गर्ने तथा यसले कस्तो  शिक्षा दिनेरहेछ, शेक्सपियरको जन्म घरले बताइरहेको छ ।  उचित रुपमा ब्यबस्थापन गरे कसरी ब्यबसायिक रुपपा साहित्यिक तिर्थ स्थलको रुपमा बिकास गर्न सम्भब हुदो रहेछ भनेर ज्वलन्त रुपमा यहाँ देख्न सकिन्छ ।

साहित्यकार तथा राजनीतिज्ञ प्रदिप नेपालले महाकबि लक्ष्मीप्रसाद देवकोटाको यसरी नै उनको जन्मघरमा उनको संग्रालय तथा स्मृतिकेन्द्रको रुपमा बिकास गर्न निकै नै प्रयत्न गर्नु गरेका थिए । यसै शिलशिलामा उनलाई लिएर हामी शेक्सपियरको संग्राहलय हेर्न २०११  गएका थियौ । त्यो दिन हामी सबैको लागि अविस्मरणीय भइ नै रहेको छ ।

आफ्ना बाबुआमाको इज्यत र चाहनाको खातिर छोराछोरीहरुले धेरैले धर्म कर्म सहित कर्तव्यका कयौ नमुनाहरुका दस्तावेज हाम्रा सामु छदैछ । छोराछोरीको कारणले आफूले गरेको असल कार्यको मूल्यांकन भइ चिरकाल समय सम्म बाचिरहनेहरु थुप्रै छन् । तर थोरै कोही आफना बाबुआमाको सम्पत्ति र कार्यबाट संक्रिण भइ लोभ लालसमा रही उनीहरुकै नाम भजाई खाने पल्केका पनि छन् । यिनै जस्ताका कार्यले समग्र साहित्यिक प्रतिभाहरुको संरक्षण र सम्बर्धन गर्न गाह्रो भएको छ नेपालमा भन्दा फरक नपर्ला । यस्तै सानो सोचको कारणले महाकविको जन्मघरको संरक्षण गरी उनको प्रतिभालाई अरु उजागर गर्न सामर्थ भएनन् प्रदीप नेपालको टिमले । यसका लामा कहानिहरु कुनै दिन अरु प्रष्ट हुने नै छ ।

निकै नै समय व्यथित गरेपछि हामी फर्कन लाग्यौं । दिक्पालजी वेल्स् जाने भए । हाम्रो गफ राजनीतिबाट साहित्यमा आयो । मजगैया दाइलाई आफ्नो साहित्यिक रुची, अनुभव, लेखाइ, नेपाली साहित्यको बर्तमान परिवेश जस्ता अनेक बिषयमा सोध्ने मौका मिल्यो । आफ्नो लेख्ने बानि, उपन्यास तथा लेखहरुबारे रोमान्चकारी तबरले बताए । यिनको बहुमायामिक व्यक्तित्वबारे धेरै कुरा थाह भयो । एघार घण्टा भन्दा बढी समयमा अधिकांश समय यिनले हाम्रो जिज्ञासाको जवाफमा नै समय व्यतित गरे । पछि फेरी यस्तै यात्रा अर्को ठाउमा गर्ने हामी राजी भयौं र आ-आफ्ना गन्तव्यतिर लाग्यौं ।

कामको धुनमा लागियो सम्पर्क पनि यी मजगैया दाइसंग उति भएन । साउथ ह्याम्टन जाने योजना बनिरहेको थियो । एक दिन अकास्मात दिउसोको फोनमा “ म त हिथ्रोमा छु भाइ, तपाईलाई हिजो फोन गरेको उठेन, म जरुरी कामले नेपाल फर्कन लागेको, अब नेपालमा नै भेटौला “ भनेर मजगैया दाइले भनेको  सुन्दा मनले बिश्वास नै गरेन । फेरी भेटेर उनको ज्ञानको सागरमा डुबुल्की मारौंला भनेको हाललाई नमिल्ने भयो । छोटो कुराकानीमा धेरै कुरा सुनें, यिनको आत्मीयताले मन गदगद भएपनि उनको झझल्को खुब आइरह्यो । उनीसंग गरेको बसउठ, कुराकानी, अनेक प्रश्नहरुकोको बारम्बार सम्झना आइरह्यो । हाम्रो फेरी भेट्ने तमन्नालाई भविष्यको लागि थाति राख्न नै बाध्य हुनै पर्यो ।

जीबनमा धेरै मानिसहरुसंग भेट भएपनि सामिप्य कमैसंग हुन्छ । हाम्रो दोश्रो पटकको भेटमा नै यस्तो अमिट छाप छोड्न सक्ने यी बलदेव मजगैयाको व्यक्तित्वले जीबन दर्शनका अनेक कुराहरु सिकायो । सरल र शान्त व्यक्ति भित्र रहेको बिशाल ज्ञानको भण्डारले मलाई बिभोर बनायो । मानिसको गहना भनेको शालिनता नै हो, आफूभित्र भएको ज्ञान बाड्नु नै महानता हो,जीबनको भोगाइका उकाली ओरालिबाट नै परिपक्क आउने रहेछ भन्ने जस्ता अनेक किसिमको माधुर्य छर्न सफल भए ।

अनि उही प्रदीप नेपाल दाइले भनेको सम्झिए मैले : “ भाइ ! मन मिल्न त केमेस्ट्री मिल्नु पर्छ, त्यसै हुदैन “

प्रतिक्रिया

सम्बन्धित सामाग्री