काँग्रेस पार्टी नेतृत्वलाई तराई मधेस समस्या तत्काल सम्बोधन गर्न दबाब

nepali-congress-flag-565x400

काठमाडौँ, ५ मङ्सिर । तराई मधेसबाट व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गर्ने नेपाली काँग्रेसका सांसदले तराई मधेसमा देखिएको समस्या समाधान गर्न पार्टी नेतृत्वसँग आग्रह गरेका छन् ।

नेपाली काँग्रेसको संसदीय दलको कार्यालय सिंहदरबारमा आज भएको छलफलमा लामो समयदेखि तराई मधेसमा आन्दोलन हुँदा समस्या थपिएको, नेपाल–भारत सीमा देखिएको अवरोधका कारण दैनिक उपभोग्य वस्तुको आयातमा उल्झन पैदा भएको भन्दै वार्ता र संवादको माध्यमबाट अगाडि बढ्न नेतृत्वलाई सुझाएको हो ।

मधेसको समस्या समाधान गर्न काँग्रेसले पहल गर्ने भन्ने सोही पार्टीका नेताको धारणा सार्वजनिक भइरहेको बेला सो पार्टीले तराई मधेसका सांसदलाई बोलाएर आवश्यक सुझाव लिएको हो ।

वार्ता र संवादको विकल्प नभएपनि तीन महिनासम्म ठोस र प्रभावकारी वार्ता हुन नसकेको भन्दै बैठकमा सहभागी सांसदले व्यवस्थापिका–संसद्मा दर्ता भएको संविधान संशोधन विधेयकलाई तत्काल पारित गर्नुपर्नेमा जोड दिएका थिए ।

काँग्रेस पदाधिकारी बैठकले तराई मधेसको समस्या समाधान गर्न आफैले पहल गर्ने निर्णय शुक्रबार गरेको थियो । तर बैठकमा सहभागी सांसदले भने नाम मात्रको वार्ताले केही नहुने भन्दै ठोस र सार्थक वार्ताका लागि काँग्रेसले नै पहल गर्नुपर्ने बताएका थिए ।

गत असोज २० गते नेपालको संविधानको संशोधन प्रस्ताव दर्ता भएको थियो । समानुपातिक, तथा समावेशी प्रतिनिधित्वका लागि आवश्यक व्यवस्था गर्ने उद्देश्यका साथ सो प्रस्ताव दर्ता भए पनि हालसम्म पारित हुन सकेको छैन ।

बैठकले संविधान संशोधन प्रक्रिया तत्काल अगाडि बढाउन दबाब दिने र त्यसका लागि सदनमा प्रभावकारी भूमिका निर्वाह गर्ने निर्णय भएको छ ।

मधेसी, दलित, जनजातिलाई अधिकार दिनुपर्छ भन्नेमा कोही कसैको दुईमत नभएपनि सत्तारुढ दल समस्या समाधानमा गम्भीर नभएको आरोप लगाउँदै प्रवक्ता दीलेन्द्रप्रसाद बडूले संसदमा रहेका र संसदभन्दा बाहिर रहेका दलसँग पनि छलफल गरिने बताए ।

संविधान संशोधन भए तराई मधेस केन्द्रित दलले उठाएको आधा माग पूरा हुने र बाँकी रहेको सीमाङ्कनलगायत विषयमा भने सम्बद्ध पक्षसँग छलफल गरेर टुङ्गो लगाउन सकिने प्रवक्ता बडूको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री