पपुवान्यूगिनीसँग नेपालको दोस्रो हार

Nepal-PNG

काठमाडौँ, २ मङ्सिर । आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत आज भएको दोस्रो चरणको अन्तिम खेलमा नेपाल पपुवान्युगिनीसँग दोस्रो पटक तीन विकेटले पराजित भएको छ ।

यसअघि गएको सोमबार भएको पहिलो खेलमा नेपाल पपुवान्युगिनीसँग दुई विकेटले पराजित भएको थियो ।

यूएइको अबुधाबीमा नेपालले प्रस्तुत गरेको २२५ रनको लक्ष्य पपुवान्यूगिनीले दुई बल बाँकी छँदा सात विकेट गुमाएर पूरा ग¥यो । पपुवान्युगिनीको जितमा ज्याक भारे र जोन रेभाले अविजित ८४ रनको साझेदारी गर्दै आफ्नो टोलीलाई जित दिलाए ।

नेपालका सोमपाल कामीले तीन, वसन्त रेग्मीले दुई, सागर पुन र शक्ति गौचनले एक एक विकेट लिए ।

टस जितेर ब्याटिङ रोजेको नेपालले ५० ओभरमा आठ विकेट गुमाएर २२४ रन बनाएको थियो ।

नेपालको सुरुवात भने राम्रो हुन सकेन । नेपालले एक रन जोड्दा दुई विकेट गुमाइसकेको थियो । पहिलो विकेटको रुपमा ओपनर अनिल मण्डल र दोस्रो विकेटको रुपमा सुवास खकुरेल बाहिरिसकेका थिए । उनीहरूले एक रन पनि नजोडी आउट भएका थिए ।

कप्तान पारस खड्काले सर्वाधिक ५८ रनको योगदान दिए । ८१ बल खेलेका कप्तान खड्काले पाँच चौकाको मद्वतमा ५८ रन जोडेका हुन् । त्यसैगरी सागर पुनले ४७, शरद भेषावकर ४२, उपकप्तान ज्ञानेन्द्र मल्ल ३६, मेहबुब आलम १५, सोमपाल कामी नौ तथा बसन्त रेग्मीले सात रन जोडे भने शक्ति गौचन दुई रनमा अविजित रहे ।
प्रतियोगितामा उत्कृष्ट बलिङ प्रस्तुत गरेका पपुवान्युगिनीका भानुवा र भालाले समान तीन÷तीन विकेट लिए भने सेसे बउले दुई विकेट लिए ।

प्रतियोगितामा नेपालसहित स्कटल्यान्ड, युएइ, हङकङ, नामिबिया, पपुवान्युगिनी, केन्या र नेदरल्यान्ड्स गरी आठ टोली सहभागी छन् । सबै सहभागी टोलीले एकअर्कासँग दुई दुई खेल खेल्नेछन् । त्यस्तै सबै खेल सम्पन्न भएपछि शीर्ष छभित्र पर्ने टोलीले सन् २०१९ मा हुने आइसिसी विश्वकप छनोट प्रतियोगिता खेल्न पाउनेछ । प्रतियोगितामा नेपाल अहिलेसम्म अङ्कविहीन छ । सबै खेल हारेको नेपाल आठ टोली सहभागी प्रतियोगिताको पुछारमा रहेको छ । आजै युएइलाई १३६ रनले हराएको हङकङ ४ खेलमा ३ जीत हात पार्दै छ अङ्कसहित शीर्ष स्थानमा उक्लिएको छ । समान छ छ अङ्क भएका केन्या, नेदरल्यान्ड्स र स्कटल्यान्ड क्रमशः दोस्रो, तेस्रो र चौथो स्थानमा छन् । एक जित हात पारेको युएइ सातौँ स्थानमा छ । अर्को खेलमा नेपालले अब हङ्कङको सामना गर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री