२४ नोभेम्बरपछि लन्डनबाट एमआरपी जारी नहुने

सोमबार दूतावासमा एमआरपी आवेदन दिनेको भिड बढि नै देखिन्थ्यो

सोमबार दूतावासमा एमआरपी आवेदन दिनेको भिड बढि नै देखिन्थ्यो

लन्डन । एमआरपी (मेसिन रिडेबल पासपोर्ट) बनाइ नसकेका नेपाली राहदानी वाहकहरुलाई अलिकति चिन्ताको समाचार छ । लन्डनस्थित नेपाली दूतावासले यही २४ नोभेम्बरपछि लन्डनबाट एमआरपी जारी गर्न नसक्ने भएको छ । अन्तर्राष्ट्रिय नागरिक उड्ययन प्राधिकरणको प्रावधान बमोजिम हस्त लिखित राहदानीको वहाल अवधि २४ नोभेम्बर, २०१५ पछि दूतावासले लन्डनबाट एमआरपी जारी गर्न नसक्ने भएको हो । तत्काल यात्रा गर्न 
नपर्नेले विस्तारै बनाउंदै गरौंला भन्ने सोचेको भए त्यो सम्भव नहुने दूतावासले स्पष्ट पारेको छ ।

दूतावासले हालसम्म एमआरपी आवेदन नदिएका राहदानीवाहकले अब कि त नेपाल गएरै बनाउनु पर्ने कि त अवैध बस्नुपर्ने बताएको छ । ‘२४ नोभेम्बरपछि हामीलाई लन्डनबाट एमआरपी जारी गर्ने अधिकार रहने छैन्’, कार्यवहाक राजदूत तेजबहादुर क्षेत्रीले सोमबार वीनेपालीसंग भने, ‘अबको एकमात्र विकल्प वान वे ट्राभल डकुमेन्ट लिइ नेपाल गएर मात्र एमआरपी बनाउन सकिन्छ ।’ दूतावासले एमआरपीको समयसीमाबारे पटक पटक स्मरण गराएको उल्लेख गर्दै कार्यवहाक राजदूत क्षेत्रीले गत ५ नोभेम्बरमा पनि एक सूचना मार्फत नोभेम्बर २४ भित्र राहदानी विभागले एमआरपी जारी गरिसक्नुपर्ने भएकाले १६ नोभेम्बरभित्र लन्डन दूतावासमा फर्म पठाउन वा आवेदन दिन अनुरोध गरिएको बताए ।

दूतावासका थर्ड सेक्रेटरी बाबुकाजी डंगोल राहदानी बनाउन सधैं व्यस्त रहे

दूतावासका थर्ड सेक्रेटरी बाबुकाजी डंगोल राहदानी बनाउन सधैं व्यस्त रहे

तत्काल नेपाल गएर बनाउंदा अनावश्यक खर्च बाहेक भइरहेको रोजगारी गुम्ने र आफू कार्यरत मुलुकमा पुनः नयां प्रक्रिया पुरा गरि आउनुपर्ने अवस्था 
सृजना हुन सक्नेतर्फ दूतावास चिन्तित छ ।

नेपाल सरकारले एमआरपीको समयसीमा बढाउन अन्तर्राष्ट्रिय नागरिक उड्ययन प्राधिकरणलाई पटक पटक आग्रह गरेपनि सदस्य राष्ट्रहरुले नमानेपछि २४ नोभेम्बरपछि हस्त लिखित राहदानी अवैध हुनेछ । हस्त लिखित राहदानी हुंदा आतंकवाद तथा मानव तस्करी बढ्ने चिन्ताबीच अन्तर्राष्ट्रिय नागरिक उड्ययन प्राधिकरणका सदस्य राष्ट्रहरुले समय सीमा बढाउन नचाहेको श्रोतको विश्वास छ ।

दूतावासले बेलायत तथा यस दूतावासको सहप्रमाणिकरण मुलुक आयरल्याण्डका साथै लन्डन दूतावासले हेर्ने मुलुकहरु आइसल्याण्ड र माल्टामा रहेका नेपाली नागरिकले राहदानीकै कारण यात्रा लगायत अन्य कुनै असहज परिस्थिति सामना गर्नु नपरोस् भन्ने अभिप्रायले एमआरपी बनाउने कार्यमा विभिन्न सञ्चार माध्यम लगायत यूकेस्थित नेपाली समुदाय समेतको संलग्नतामा एक अभियान नै अघि बढाइएको समेत स्मरण गरेको छ ।

लन्डनस्थित नेपाली दूतावासले हालसम्म करिव ३५ हजार एमआरपी जारी गरिसकेको छ । नेपालको विदेशभर २९ दूतावास, न्यूयोर्क र जेनेभामा दुई स्थायी मिसन एवं कलकत्ता, हङकङ, ल्हासा, न्यूयोर्क र साउदी अरेवियाको जेड्डामा गरि ५ कन्सुलेट जनरल कार्यालय छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री