वासिङटन, २९ कात्तिक । फ्रान्सको राजधानी पेरिसमा शुक्रबार राति भएको आतङ्ककारी हमलामा इस्लामिक अतिवादी समूह आईएसले आक्रमण गरेको भन्ने सूचनामा कुनै विरोधाभास नदेखिएको पाइएको छ ।
अमेरिकी राष्ट्रपतिको कार्यालय, ह्वाइट हाउसले शनिबार जनाएअनुसार सो सूचनामा कुनै विरोधाभास नदेखिएको हो ।
अमेरिकाको राष्ट्रिय सुरक्षा परिषदको समूहले गरेको अनुगमनबाट यो अवस्था देखिएको बताइएको हो । सो समूहले गरेको मूल्यांकन र अनुगमनबाट उक्त आईएस समूहले नै आक्रमण गरेको हुनसक्ने प्रमाणहरु भेटिएका हुन् ।
शुक्रबारको सो आक्रमणमा उक्त अतिवादी समूहको हात रहेको जानकारी फ्रान्सेली राष्ट्रपति फासाँ अल्याण्डले नै सार्वजनिक गर्नुभएको हो ।
शुक्रबार भएका शृंखलाबद्ध यी आतङ्ककारी हमलाहरुमा परी कम्तीमा पनि १२९ जनाको ज्यान गइसकेको छ भने अरु ३५२ जना घाइते भएका छन् । घाइतेहरुमा पनि करिब ८० जनाको अवस्था चिन्ताजनक रहेको जनाइएको छ ।
ह्वाइट हाउसले शनिबार एक विज्ञप्ति प्रकाशन गरी त्यस विषयमा यो धारणा सार्वजनिक गरेको हो ।
अमेरिकी राष्ट्रपति बाराक ओबामा जि२० सम्मेलनका लागि टर्की जादै हुनुहुन्छ । त्यस अगावै राष्ट्रपति ओबामाले पेरिस हमलाका बारेमा जानकारी लिनुभएको थियो ।
विदेशी भूमिबाट आएका सात जनाको सो आक्रमणमा प्रत्यक्ष संलग्नता देखिएको फ्रान्सेली सुरक्षा निकायले पनि जनाएका छन् ।
यसबारेमा फ्रान्सेली सुरक्षा निकायले इस्लामिक लडाकूको संलग्नताका प्रमाणहरु भेटेको जनाएको छ । फ्रान्सेली सुरक्षा निकायले आक्रमणमा संलग्न छ जना मारिएको पनि जनाएको छ ।
आक्रमणमा संलग्न एकजनाको साथबाट सिरियाली पासपोर्ट पनि भेटिएको जनाइएको छ । तर सुरक्षाका हिसाबले उसको पहिचान भने खुलाइएको छैन ।