बीबीसी नेपालीबाट अब सुनिने छैन् एउटा सुमधुर स्वर । उनले नियमित समाचार वाचन गर्ने छैनन् अब, न कसैको अन्तर्वार्ता । लाखौं श्रोतालाई खिन्न पार्दैै बीबीसी नेपाली सेवाका लन्डन डेस्क एडिटर सुमन खरेलले विश्राम लिएका छन् । सन् १९९२, जनवरी २३ देखि बीबीसीमा शुरु भएको उनको यात्रा गत शुक्रबारबाट पूर्णविराम भएको छ । ‘लामो समय काम गरेको संस्थाबाट छुिट्टनु पर्दा दुःख त लागिहाल्छ’, सप्ताहन्त आफ्नै निवासमा कान्तिपुरसंग गफिंदै थिए उनी, ‘तर बढि सन्तुष्ट छु । सिक्नुपर्ने ज्ञान, सीप, दक्षता, तालिम र अनुभव आफैंसंग लिएर जांदैछु आफ्नै देशमा ।’
खरेलले बीबीसीमा काम गर्दा तीतो अनुभव कहिल्यै भोगेनन् । ‘धेरै रमाइलो संग काम गरें’, उनले अनुभव बांडे, ‘काम गर्दा कसैको दवावमा बांधिनु परेन । मन लागेको कार्यक्रम गर्न पाएं । वास्तवमा स्वतन्त्र छाडिदिएपछि मानिसको सृजना बढेर जाने रहेछ ।’
समय अर्कै थियो खरेलले बीबीसी शुरु गर्दा । नेपालमा केदारमान सिंह एक्लै थिए । उनले नेपालको रिपोर्ट अंग्रेजीमा लेखेर फ्याक्स गरिदिन्थे, खरेलसहित चार जनाको टिमले लन्डनमा अनुवाद गरेर समाचार वाचन हुन्थ्यो । ऊ बेला अहिले जस्तो समाचार टाइप गर्ने प्रचलन थिएन, पठाउने सहज प्रविधि पनि थिएनन् ।
बीबीसीमा अवसरले खरेलको जीवनमा नयां मोड ल्याइदियो । लन्डन आउनुअघि उनले रेडियो नेपालमा ७ वर्ष काम गरिसकेका थिए । रेडियो कर्ममै लागिरहंदा बेलायतबाट बीबीसीका लागि जनशक्ति खोज्न गएको थियो एउटा समूह । त्यतिबेला ‘हेड हन्टिङ’ (मान्छे छान्ने) सिस्टम थियो, तिनैबाट छानिएका थिए उनी ।
उनले धेरै समाचार पढे, उनका असंख्य कार्यक्रम प्रसारण भए करिब अढाइ दशक अवधिमा । त्यसमध्ये उनका द्वन्द्वको दशक, प्रचण्डलाई प्रश्न, संगीत यात्रा, अपरिचित पात्र, एउटा कथा जिन्दगीको (गीति कथामा आधारित), अनौठो व्यथा जस्ता कार्यक्रम बढि लोकप्रिय रहे । सुमधुर स्वरसहित दमदार प्रस्तुति र परिकल्पना कार्यक्रम लोकप्रिय हुनुका कारक थिए ।
अहिले उनलाई धेरै सोधिने प्रश्नमध्ये प्रमुख एउटा छ, ‘लामो समय लन्डन बसेको मान्छे किन नेपाल फर्कंदै हुनुहुन्छ ? नेपालमा त अभावै अभाव छ ।’ यसमा उनको बेग्लै सोच छ । ‘आफूले जीवनमा सिके जानेको कुरा स्वदेश गएर भावी पुस्तालाई बांड्नुपर्छ भन्ने हो’, खरेल फर्कनुका कारण सुनाउंछन्, ‘यूकेमा सबै सेवा सुविधा छ, रमाइलो छ जीवन तर अपनत्व कहिल्यै अनुभूति गर्न पाइन । नेपाल गएर मात्र मैले यो पाउनेछु ।’ वृद्धवृद्धा आमा बुबा, सासु ससुरालाई आफ्नो उपस्थितिले ढाडस दिने भएकाले पनि खरेल स्वदेश फर्कन बढि प्रेरित भएका रहेछन् । ‘लन्डनमा परिवारको साथ र सहयोग नभएको भए म एक्लै फर्कन सम्भव थिएन’, उनले सुनाए, ‘कतिपय मानिस देशमा सबै सुविधा भएपछिमात्र फर्कने कुरा गर्छन्, त्यो मलाई उस्तो व्यवहारिक लाग्दैन ।’
खरेलले बीबीसी छाडेको खवरले लाखौं श्रोता मर्माहत भएका छन् जुन फेसबुकको कमेन्टमा छरपष्ट देखिन्छ । खरेलका एकजना शुभचिन्तक उमाकान्त पाण्डेले प्रश्न गरेका छन्, ‘बीबीसीमा आवाज सुन्न नपाउंदा कता कता खल्लो हो कि खै कस्तो कस्तो महशुस भइरहेको छ । अब तपाईंको ध्वनी तरंग कहांबाट सुन्ने ?’
‘हामी निक्कै ‘मिस’ गर्नेछौं सुमन सरलाई’, अर्का फ्यान वुद्धि भुषालले लेखेका छन् ।
सालिग्राम अर्याल, सन्दीप रसाइली, कुमार गिरी, राजन खरेल लगायतले पनि खरेलको स्वर ‘मिस’ गरिरहको उल्लेख गरेका छन् । प्रवेश आचार्य इन्डियाबाट लेख्छन्, ‘५ देखि १० कक्षासम्म पुग्दा सायदै कम सांझ होला मैले बीबीसी नसुनेको । संयोग, एकपल्ट बीबीसीको नयां नेपालको वहस कार्यक्रममा दिल्ली स्टुडियोबाट बोल्ने मेरो वालसपना त पुरा भयो तर सुमन खरेलहरुसंग भेट्ने सपना सधैं अधुरो रह्यो । रेडियो पत्रकारितामा मैले सबैभन्दा सम्मान गरेको र स्वरमा सधैं नक्कल गर्न खोज्ने सञ्चारकर्मी सुमन खरेल बीबीसीबाट अवकास लिन लागेको खवर
पाएं । पृथ्वी गोलो छ भन्छन्, घुम्दै गर्दा कुनै दिन गोलार्धको कुनै रेखामा कुहिनो ठोकिएला र औंला समातेर आफ्नो परिचय दिने प्रयास गरुंला ।’
खरेलले रेडियो पेशा संघर्षशिल र चुनौतिपूर्ण भएकाले नयां पुस्तालाई आर्थिक, सामाजिक र पार्टीगत हिसावले विवादरहित भएर अगाडि बढ्न सुझाए । ‘यस पेशामा सिक्ने उत्सुकता सधैं राखिराख्नुपर्छ,’ खरेल भन्छन्, ‘कतिपय मानिसहरु म सबै कुरामा पूर्ण छु भनेर झुटो आत्मविश्वास देखाउंछन् तर मानिस कहिल्यै पूर्ण हुंदैन ।’
बीबीसी छाडेपनि यो होइन कि सञ्चार क्षेत्रबाट सदाका लागि टाढिए उनी । नयां जिम्मेवारी, नयां भिजनका साथ उनको यात्रा अब बिएफबिएस् गोर्खा रेडियोतिर प्रारम्भ हुंदैछ यसै महिनाको तेश्रो साता देखि । सेवारत गोर्खा, भूपू गोर्खा र तिनका परिवारलाई लक्षित उक्त रेडियोको सम्पादकमा रुपमा खरेलमाथि नयां जिम्मेवारी थपिनेछ । बेलायती रक्षा मन्त्रालय (एमओडि) को बजेटमा चल्ने उक्त रेडियोका ट्रान्समिटिङ सेन्टर काठमाण्डौं, ब्रुनाइ र यूकेमा छन् भने गोर्खा तैनाथ भएका ठाउंभर रेडियो स्टेशन छन् ताकि गोर्खाहरुले तैनाथ भइन्जेल देशको समाचार र मनोरन्जन लिउन् । टेलिभिजनमा साप्ताहिक एउटा कार्यक्रम गर्ने सोच पनि उनको छ ।
गीतकार बुवा किरण खरेल र आमा उषाका सुपुत्र उनी आफैं गीत समेत लेख्छन् । उनकी जीवनसंगिनी सितु खरेल गायिका हुन् । बेलायतमा सम्भव भएसम्म हरेक कार्यक्रममा सहभागी भएर उत्साह प्रदान गरिदिने उनी यहांस्थित नेपाली पत्रकारहरुका लागि अभिभावक झैं थिए ।
एनआरएनए–एसएसएफ सहकार्य : नयाँ एमओयु र सहकार्य विस्तार गर्ने
नेपालका श्रममन्त्री दीपककुमार साह पदमुक्त
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक रिहा
एनआरएनए पदाधिकारी र नेपाल पत्रकार महासंघबीच भेट, गैरआवासीय नेपालीका मुद्दालाई प्राथमिकता दिइने
मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने
नेपालका परराष्ट्रमन्त्री खनालसँग एनआरएनए प्रतिनिधिमण्डलको भेट, नागरिकता निरन्तरताको माग
एनआरएनएमा जिम्मेवारी बाँडफाँड, कसलाई कुन विभाग ? [सूचीसहित]
प्रतिनिधिसभाको सभामुखमा रास्वपा उपसभापति डोलप्रसाद अर्यालको उम्मेदवारी दर्ता
पर्वत समाज यूकेको च्यारिटी डिनर कार्यक्रम सम्पन्न, झण्डै १४ हजार पाउन्ड संकलन