काठमाडौँ, १ कात्तिक । दसैँको मुख्य दिन नजिकिँदै जाँदा सार्वजनिक यातायातमा मनपरी भाडा असुल्ने क्रम बढ्न थालेको यात्रुले गुनासो गरेका छन् ।
विभिन्न नाकाबाट उपत्यका बाहिरिने यात्रुसँग मात्र होइन भित्रै पनि सरकारले तोकेभन्दा तेब्बर÷चौबर बढी भाडा लिएर यातायात सञ्चालन हुन थालेको उनीहरुले गुनासो गरेका छन् ।
सार्वजनिक यातायातमा यात्रा गर्दा कुनै नियम नै नभएको स्थानमा जस्तो गरी भाडा असुलेको भेटिने गरेको यातायात व्यवस्था विभागले जनाएको छ ।
असोज ३ गते संविधान जारी भएपछि भारतले अघोषित रुपमा नाकाबन्दी लगाएकाले सहज रुपमा इन्धन भित्रिन सकेको छैन । यसैले सरकारले निजीलाई भन्दा सार्वजनिक सवारी साधनलाई इन्धन उपलब्ध गराउँदै आएको छ । जसका कारण सार्वजनिक यातायातको दादागिरी बढी मनपरी भाडा उठाएको आफूले अनुभव गरेको यात्रु प्रतीक्षा दुलालले बताइन् ।
“स्कुटरमा तेल हाल्न गए पाइँदैन पम्पले सार्वजनिक सवारी साधनलाई मात्र इन्धन दिने अनुमति छ भन्छ, सहुलियत पाएका सार्वजनिक सवारी साधनले सरकारले तोकेको भाडादरमा यातायात सञ्चालन गर्नुपर्नेमा आफूखुसी असुली रहेका छन्, सम्बन्धित सरकारी निकाय सक्रिय नहुँदा हामी मारमा परेका छौँ”– उनले भनिन् ।
पाँच दिन लाइनमा बसेर इन्धन हालेको भन्दै सवारी साधनका चालक र सहयोगीले मान्छे गुन्द्रुक झैँ खाँद्ने भाडा भने चौबरसम्म बढी असुल्ने गरेको पीडित यात्रुको गुनासो छ । भदौ २५ गते विभागले न्यूनतम् रु १३ को भाडादर लागू गरेपछि केही दिन अनुगमन गरी केही सवारी साधनलाई कारबाहीको प्रक्रिया अगाडि बढाउँदा सार्वजनिक सवारी साधनमा मनपरी भाडा असुल्ने काम रोकिएको थियो । इन्धनको अभावसँगै फेरि मनपरी भाडा असुल्ने क्रम बढेको उपभोक्ता अधिकारवादी रोशन पोखरेल बताउंछन् ।
“अहिले कारबाही पनि भएको छैन जसले गर्दा सवारी साधनका चालक र सहयोगीमा हामीले जे गरे पनि हुन्छ, दसैँ भनेकै मनपरी भाडा उठाउने समय हो जस्तो भएको छ, अधिकांश गाडीमा विद्यार्थी,ज्येष्ठ नागरिकलाई सहुलियतसमेत दिइएको छैन्”– उनले भने ।
अर्का यात्रु नरेन्द्र बस्नेत उपत्यकाका सवारी साधनमा नयाँ मान्छे आएको देख्नेबित्तिकै बढी भाडा लिने प्रचलन बढ्दै गएको बताउंछन् । “नवरात्रको समय भएकाले सुन्दरीजलमाथि सुन्दरीमाई मन्दिरमा दर्शन गरेर चाबहिल ओर्लदा बा २ ख ५१७० नं को बसले रु ३५ भाडा असुल्यो, विभागले तोकेको रत्नपार्कसम्मको भाडा मात्र रु २३ भएको चुच्चेपाटीस्थित त्यो रुटमा चल्ने सिटी यातायात सेवा समितिको कार्यालयमा जाँदा थाहा पाएको थिएँ, बढी भाडा लियौ भन्दा तेल हाल्न लाइनमा बस्नुपर्छ भन्दै गाडी कुदायो”– आफूले भोगेको घटना सुनाउँदै उनले भने ।
विभागका प्रवक्ता वसन्त अधिकारी भने पाँच दिन लाइन बसेर इन्धन हालेको, बढी पैसा तिरेर किनेको जस्ता बहानामा बढी भाडा लिन नपाइने र विद्यार्थी सहुलियत सधैँभरिका लागि भएको बताउंछन् ।
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा