काठमाडौँ, १६ असोज । एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले पार्टीमा विभिन्न खालको टुटफुट भए पनि आगामी दुई वर्षभित्र एक नम्बरको पार्टी बनाउने विश्वास व्यक्त गरेका छन् ।
एमाओवादी केन्द्रीय समितिले आज यहाँ आयोजना गरेको पार्टी कार्यकर्ता प्रशिक्षणलाई सम्बोधन गर्दै दाहालले पार्टीभित्र देखिएका समस्या र टुटफुटबाट बाहिर निस्केर नेपाली जनताको चाहना र भावना बमोजिम अगाडि बढ्ने र एक नम्बरको पार्टी बनाउने बताए ।
विभिन्न टुक्रामा विभक्त माओवादी आन्दोलनलाई एकताबद्ध बनाउन आफूहरुले हदैसम्मको प्रयत्न गर्ने बताउँदै केही दिन पहिले मात्रै पार्टी परित्याग गरेका डा बाबुराम भट्टराईलाई समेत जिम्मेवारीमा फर्कन आग्रह गरे ।
अध्यक्ष दाहालले भने – “पार्टी परित्याग गर्नेबित्तिकै सत्तोसराप गर्नुपर्छ भन्ने छैन, उहाँलाई कोही कसैले पनि गाली नगरौँ । उहाँले उठाएका विषयलाई पार्टीले आत्मसात् गर्छ र पार्टीलाई रुपान्तरित गरेर अगाडि बढाइन्छ ।” पार्टी केन्द्रीय समितिले डा भट्टराईलाई पुनः पार्टीमा फर्कन आग्रह गरिसकेको सन्दर्भमा उत्तेजनामा आएर गालीगलौज नगर्नसमेत उनले आग्रह गरे ।
उनले नयाँ संविधान कार्यान्वयनका लागि राष्ट्रिय सहमतिको सरकार आवश्यक रहेको भन्दै सत्ताको खेलमा लागेर बहुमतीय सरकार बनाउन नहुने धारणा राखे । प्रमुख तीन दलको बीचमा संविधान कार्यान्वयन गर्ने चरणसम्म मिलेर जाने सहमति भएकाले त्यसलाई पालना गर्न सबैलाई आग्रह गरे । विगतमा १६ बुँदे सहमति हुँदा तीन दलको बीचमा सहमतिका आधारमा अगाडि बढ्नेमा सबै एकमत भएकाले त्यसलाई अगाडि बढाउन सबैको साथ र सहयोग जरुरी रहेको अध्यक्ष दाहालको कथन थियो ।
एमाओवादीले मुलुकलाई सङ्कट परेको बेला महत्वपूर्ण निर्णय गरेको उल्लेख गर्दै उनले संविधान निर्माण गर्न पनि त्यो खालको निर्णय गरेको बताए ।
संविधानसभाबाट संविधान निर्माण गर्ने जनताको चाहना पूरा भएकाले संविधानका सकारात्मक विषयलाई जनतामाझ लैजान पार्टी कार्यकर्तालाई निर्देशन दिए ।
नेपाल र भारतबीच विगत लामो समयदेखि सुमधुर सम्बन्ध रहेको भए पनि पछिल्लो समयमा आएर गलत निर्णय गरेको भन्दै अध्यक्ष दाहालले भने – “नेपालका लागि निर्णय गर्न नेपाली जनता र राजनीतिक दल स्वतन्त्र छन् । त्यसलाई कोही कसैले पनि आपत्ति गर्नु आवश्यक छैन ।”
राष्ट्रियताको पक्षमा प्रतिबद्ध भएर उभिन कार्यकर्तालाई निर्देशन दिँदै अध्यक्ष दाहालले नेपालको हित र चाहना विपरीत गएर कोही कसैले पनि गलत गतिविधि सञ्चालन गर्न नसक्ने धारणा राखे ।
एमाओवादीका सचिव एवम् संसदीय दलका उपनेता टोपबहादुर रायमाझीले पार्टीलाई एकताबद्ध बनाएर लैजानुपर्ने समयमा डा भट्टराईले पार्टी परित्याग गरेर गलत गरेको बताए । उनले विभिन्न टुक्रामा विभक्त भएको माओवादी आन्दोलनलाई एकताबद्ध बनाएर अगाडि लैजान पहल र प्रयत्न गर्नुपर्नेमा पार्टी छोड्ने कुरा कुनै पनि हालतमा जायज मान्न नसकिने धारणा राखे ।
रायमाझीले भने – “डा भट्टराईले गलत काम गर्नुभयो, उहाँको पछि लाग्न सकिँदैन, पार्टीमा नै रहेर सङ्घर्ष गरिन्छ, परित्याग गरिँदैन । एकताबद्ध भएर जनताको बीचमा जान म सबैलाई आग्रह गर्दछु ।”
प्रशिक्षणमा काठमाडौँ, भक्तपुर, ललितपुर, धादिङ, नुवाकोट, रसुवा, सिन्धुपाल्चोक, काभ्रेलाञ्चोक, दोलखा, रामेछाप, सिन्धुलीका अगुवा कार्यकर्ताको सहभागिता थियो ।
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने