काठमाडौँ, १४ असोज । तीनदलीय वार्ता टोली र आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच भएको वार्ता सकारात्मक दिशातर्फ जाँदैछ ।
तराई–मधेस लोकतान्त्रिक पार्टी केन्द्रीय कार्यालयमा आज भएको वार्ता सकारात्मक भएको र परिणाममुखी हुने बाटातर्फ अघि बढेको तीनदलीय वार्ता टोलीका सदस्य एवम् वन तथा भूसंरक्षणमन्त्री महेश आचार्यले बताए ।
वार्तामा तराईमा आन्दोलनका क्रममा भएका घाइतेको उपचार, गिरफ्तार भएकाको रिहाइ, मृतकका परिवारलाई राहत दिने कार्य अघि बढाइने, दङ्गा क्षेत्र हटाई सुरक्षाकर्मी सामान्य जिम्मेवारीमा फर्कनुपर्ने लगायत विषयमा सकारात्मक छलफल भएको नेपाली काँग्रेसका नेता आचार्यले जानकारी दिए ।
छलफल हुन बाँकी विषयमा शुक्रबार फेरि वार्तामा बस्ने बताउँदै मन्त्री आचार्यले भने,“हामीले मुलुकमा अत्यावश्यक वस्तुको आपूर्तिमा देखिएको असहज परिस्थितिको बारेमा उहाँहरूको ध्यानाकर्षण गरायौँ ।”
सौहार्द वातावरणमा वार्ता सकारात्मक भएको तीनदलीय वार्ता टोलीका अर्का सदस्य एवम् नेकपा (एमाले) का प्रमुख सचेतक अग्नि खरेलले बताए । वार्ताले सकारात्मक परिणाम ल्याउने अपेक्षा गर्दै प्रमुख सचेतक खरेलले मोर्चाका तर्फबाट सरकारले वार्ताको उपयुक्त वातावरण बनाउन केही काम गरोस् भन्ने धारणामा आफूहरू सकारात्मक रहेको जानकारी दिए ।
वार्तामा राजनीतिक विषयमा समेत छलफल भएको बताउँदै उनले भने, “हामीले उहाँहरूलाई सके आन्दोलन फिर्ता लिनुस्, नभए सीमामा देखिएको नाकाबन्दीको समस्यालाई हल गर्नेतर्फ विचार गर्न आग्रह गरयौँ ।”
सरकार–मोर्चा वार्ता शुक्रबार
वार्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै तमलोपाका महामन्त्री सर्वेन्द्रनाथ शुक्लले मोर्चाले पहिलेदेखि नै वार्ताको उचित वातावरण बनाउनका लागि आग्रह गरेको र सरकारले अझै केही काम गर्न बाँकी रहेको जानकारी दिए । उनले भने, “हाम्रो राजनीतिक मुद्दाको बारेमा सरकारले आज स्पष्ट दृष्टिकोण दिइ नसकेकाले भोलि (शुक्रबार) फेरि वार्तामा बस्छौँ ।”
महामन्त्री शुक्लले सञ्चारमाध्यममा सरकार वार्ताका लागि लचिलो भएको सुने पनि वार्तामा अझै त्यस्तो नपाइएको गुनासो गर्दै अन्तरिम संविधान, २०६३ अनुसार नागरिकता, समानुपातिक समावेशी, जनसङ्ख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारणलगायत माग मोर्चाको रहेको अवगत गराए ।
वार्तामा मन्त्री आचार्य, प्रमुख सचेतक खरेल, महामन्त्री शुक्ललगायत तमलोपाका अध्यक्ष महन्थ ठाकुर र एकीकृत नेकपा (माओवादी) का उपाध्यक्ष नारायणकाजी श्रेष्ठको सहभागिता थियो ।
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा