काठमाडौँ, ५ असोज । परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डेले संयुक्त राष्ट्रसङ्घको ७०औँ महासभामार्फत अन्तर्राष्ट्रिय जगत्लाई ऐतिहासिक संविधानसभाबाट नयाँ संविधान जारी भएको र शान्ति प्रक्रियालाई निष्कर्षमा पुरयाइएको विषय प्रमुखताका साथ जानकारी गराउने बताएका छन् ।
यस पटकको महासभामा नेपालको सहभागिताबारे रासससँग कुरा गर्दै मन्त्री पाण्डेले नयाँ संविधान जारीपछि मुलुक नयाँ युगमा प्रवेश गरेको र नेपाल शान्ति, स्थायित्व र विकासको बाटोमा अघि बढ्ने विश्वासका साथ राष्ट्रसङ्घसँग एकाकार भई सहकार्य गर्ने विषयलाई प्राथमिकताका साथ महासभामा उठाउने बताएका हुन् ।
परराष्ट्रमन्त्री पाण्डेले भने – “नयाँ संविधानको घोषणा, शासन व्यवस्थाको स्वरुप, राजनीतिक प्रणाली, जनताले आन्दोलनमार्फत हासिल गरेका उपलब्धि र शान्ति प्रक्रियालाई निष्कर्षमा पुरयाएर देशको समृद्धिका लागि कोरिएको मार्गचित्रबारे महासभामार्फत अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराइनेछ ।”
विकासको निम्ति शान्तिको बाटोमा हिँड्ने तथा विकासका लागि क्रियाशील हुन संविधानले सुनिश्चितता गरेको सन्दर्भ मन्त्री पाण्डेले उल्लेख गरे । यो वर्ष संयुक्त राष्ट्रसङ्घ स्थापनाको ७०आँै वर्षगाँठ र नेपाल राष्ट्र सङ्घको सदस्य भएको ६० वर्ष पुगेको छ । “यो अवसरमा नेपाली जनताले अब शान्ति, संविधान र विकासमा समेटिन चाहेको कुरा अन्तर्राष्ट्रिय समुदायबीचमा पुरयाउन आवश्यक छ” – उनले भने ।
नेपालले जनवायु परिवर्तन, आतङ्कवाद र अल्पविकसित तथा भूपरिवेष्टित मुलुकका मुद्दालाई प्राथमिकताका साथ उठाउँदै आएकोमा त्यसलाई निरन्तरता दिइने बताउँदै मन्त्री पाण्डेले मानवता विरोधी कार्यका रुपमा रहेको आतङ्कवाद मानव सभ्यताकै कलङ्क भएकाले यस्तो गतिविधिलाई निर्मूल तुल्याउनुपर्छ भन्ने मान्यतामा नेपाल अडिग रहँदै आएको स्पष्ट गरेका छन् ।
भूकम्पपछिको नेपालको पुनःनिर्माण र नवनिर्माणमा सघाउन मित्र राष्ट्र र साझेदार निकायबाट सहयोग प्राप्त गर्ने परिस्थिति निर्माण गरिने बताउँदै मन्त्री पाण्डेले भने – “नेपालको विकास, शान्ति र स्रोत साधनको परिचालनका लागि सहयोग प्राप्त हुने विश्वास लिएका छौँ ।”
महासभाकै क्रममा अमेरिकी राष्ट्रपति बाराक ओवामा र संयुक्त राष्ट्रसङ्घका महासचिव वान कि—मुनले आयोजना गर्नुहुने विश्वमा द्वन्द्वरत मुलुकमा शान्ति स्थापनार्थ सेना खटाउने मुलुकका राष्ट्र प्रमुख तथा सरकार प्रमुख सम्मिलित उच्चस्तरीय शान्ति सम्मेलन हुने र त्यसमा महत्वका साथ नेपालले भाग लिने मन्त्री पाण्डेले जानकारी दिए ।
नेपाल शान्ति सैनिक खटाउने मुलुकको कोटीमा छैटाँै स्थानमा छ । नेपालले हालसम्म शान्ति स्थापनार्थ एक लाखभन्दा बढी सैनिक खटाई संयुक्त राष्ट्र सङ्घको शान्ति कार्यमा योगदान पु¥याइसकेको छ ।
विश्व शान्ति स्थापना कार्यमा नेपालले महत्वपूर्ण योगदान दिएकाले जिम्मेवारी र योगदानअनुरुप नीति निर्माण र कार्यान्वयन तहमा सहभागिता हुन पाउनुपर्छ भनेर कुरा उठाइने मन्त्री पाण्डेले जानकारी दिए ।
परराष्ट्र मन्त्रालयका निमित्त सचिव शङ्करदास बैरागीले प्रधानमन्त्री सुशील कोइरालाले नेतृत्व गर्नुहुने १८ सदस्यीय नेपाली प्रतिनिधिमण्डलले संयुक्त राष्ट्रसङ्घको ७०औँ महासभामा भाग लिन बुधबार न्युयोर्क प्रस्थान गर्ने कार्यक्रम रहेको जानकारी दिए ।
प्रधानमन्त्री कोइरालाले महासभालाई यही असोज १४ गते सम्बोधन गर्नुहुने तथा अरु बैठकहरुमा विषयवस्तुको गाम्भीर्यता र समयको तालमेल मिलाएर प्रधानमन्त्री र परराष्ट्रमन्त्रीले सम्बोधन एवम् छलफल गर्ने उनले बताए ।
महासभाका क्रममा प्रधानमन्त्री कोइराला चीनका राष्ट्रपति सी जिनपिङ र युएन वुमनले आयोजना गर्ने ‘लैङ्गिक समानता तथा महिला सशक्तीकरण ः कार्यान्वयनमा प्रतिबद्धता’ सम्बन्धी विश्वका नेतासँगको बैठकमा पनि सहभागी हुनुहुनेछ । प्रधानमन्त्री कोइराला चीनका राष्ट्रपति सी जिनपिङ र महासचिव वानले ‘सन् २०१५ पछिको विकास रूपरेखासम्बन्धी दक्षिण–दक्षिण सहयोगसम्बन्धि उच्चस्तरीय गोलमेच’ सम्मेलनमा पनि भाग लिनेछन् ।
एक सय ९२ सदस्य भएको विश्वको सर्वाेच्च संस्था संयुक्त राष्ट्रसङ्घ सबै मुलुकको साझा मञ्चका रुपमा रहेको छ । न्युयोर्कमा दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) सदस्य राष्ट्रका परराष्ट्र मन्त्रीको बैठक पनि आयोजना हुनेछ । नेपालले १८औँ शिखर सम्मेलनपछि सार्कको अध्यक्षता गरिरहेको छ ।
महासभामा भाग लिने क्रममा कूटनीतिक माध्यमबाट समयको व्यवस्थापन गरेर छिमेकी मुलुकका सरकार प्रमुखसँग भेटवार्ताको चाँजोपाँजो मिलाउने प्रयास भइरहेको मन्त्री पाण्डेले बताए ।
महासभामा आयोजना हुने छवटा गोलमेच बैठकमा नेपाली प्रतिनिधिमण्डलले भाग लिनेछ । असोज १५ गते प्रधानमन्त्री सुशील कोइरालाले महासचिव वान की—मुनसँग औपचारिक भेटवार्ता गर्ने निमित्त सचिव बैरागीले जानकारी दिए ।
बेलायतमै मतदानको व्यवस्था गराउन सीएनसीबीजीको माग, दूतावासमार्फत पठाइयो प्रधानमन्त्रीलाई ज्ञापनपत्र
यतिखेर नेपाललाई डायस्पोराको झन् बढी खाँचो : कार्यवाहक राजदूत दुवाडी
गायक राजु लामाको मंगोलियन हर्टले आगामी १३ डिसेम्बरमा बेलायतमा प्रस्तुति दिने
नेपालको राजधानीमा एमालेको प्रदर्शन
बेलायतको पूर्व सांसदलाई जेल सजाय, रुसबाट घुस लिएको अभियोग
कामदार भिसामा बेलायत पठाउने भन्दै ४२ लाख ठगी गरेको अभियोगमा दुई जना पक्राउ
बेलायतमा कार दुर्घटनामा मृत्यु भएका तामाङका परिवारलाई एनआरएनए यूकेद्वारा झन्डै ५ लाख सहयोग हस्तान्तरण
बेलायतमा मृत्यु भएका नेपालीको नाममा फेक एकाउन्टबाट सहयोग संकलन, बन्द गर्न ‘गो फन्डमी’मा रिपोर्ट
दक्षिणपश्चिमी जापानमा भीषण आगलागी : १७० घर नष्ट, सयौँ विस्थापित
नेपाली महिला फुटबल कप्तान एन्जिला तुम्बापोलाई बेलायतमा सम्मान