बेलायतमा कार दुर्घटनामा मृत्यु भएका तामाङका परिवारलाई एनआरएनए यूकेद्वारा झन्डै ५ लाख सहयोग हस्तान्तरण

लन्डन । बेलायतमा कार दुर्घटनामा ज्यान गुमाएका २० वर्षीय नेपाली विद्यार्थी युविन तामाङका परिवारलाई प्रेम गाहामगर नेतृत्वको एनआरएनए यूकेले झन्डै ५ लाख रुपैयाँ हस्तान्तरण गरेको छ ।

लल्डरसटस्थित एनआरएनएको कार्यालयमा एक कार्यक्रमबीच २ हजार ६६६.२५ पाउन्ड (४ लाख ९७ हजार नेपाली रुपैयाँबराबर) युविनका बुबाआमा विकास तामाङ र शर्मिला मगर तामाङलाई एनआरएनए यूकेका कार्यवाहक अध्यक्ष अनिल मल्ल र महासचिव जुरेन्द्र खजुमले हस्तान्तरण गर्नुभएको हो । शव नेपाल पठाउने र अन्तिम संस्कारका खर्चमा सहयोग पुर्‍याउन समुदायले एकजुट भएर उक्त रकम संकलन गरेको थियो।

कार्यक्रममा उनीहरुले बेलायतमा रहेका नेपालीहरुद्वारा देखाइएको साथ र एकताप्रति आभार व्यक्त गर्नुभयो । उहाँहरुको भनाइ थियो, ‘सबैको सानो-ठूलो सहयोगले परिवारलाई ठोस राहत पुगेको छ । यो समुदायको मानवीय भावनाको स्पष्ट उदाहरण हो ।’

रकम ग्रहण गर्दै युविनका बुबाआमाले समुदाय र एनआरएनए यूकेको तर्फबाट प्राप्त साथ र मायाप्रति गहिरो कृतज्ञता व्यक्त गर्नुभयो । ‘कठिन घडीमा साथ दिएको सबैलाई हार्दिक धन्यवाद,’ उहाँहरुले भन्नुभयो ।

एनआरएनए यूकेले घटनासँग सम्बन्धित कानुनी प्रक्रिया निष्पक्ष रुपमा अघि बढोस् भन्ने अपेक्षा व्यक्त गर्दै युविन तामाङको आत्माको शान्तिको कामना गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री