काठमाडौँ, ३ असोज । संविधान घोषणा हुने दिन आज बन्दको आयोजना गरे पनि काठमाडौँ उपत्यकाको जनजीवन सामान्य रहेको छ ।
संविधान घोषणाको व्यग्र प्रतीक्षामा रहेका जनताको बन्दको कुनै प्रवाह नगरी नयाँ संविधानको स्वागतका लागि सडक, गल्ली, चोकहरू र चिया चौतारीमा निकै उत्साहका साथ जमघट भएको देखिन्छ ।
उपत्यकाका सडकमा सवारी साधन चलेका छन् । सडक गल्लीका पसल खुलेका छन् । नयाँ बानेश्वरस्थित संविधानसभा भवन आसपासमा मानिसको बाक्लो उपस्थिति रहेको छ । बन्द भनिए पनि सडकमा बन्दकर्ता नदेखिएपछि सवारी साधन चल्न थालेका छन् । उपत्यकाको जनजीवन सामान्य रहेको प्रहरीले जनाएको छ ।
बेहुलीझैँ सिँगारिएको संविधानसभा भवन र बानेश्वर क्षेत्रको सडक आसपास गरिएको साज सजावटले सर्वसाधारणलाई आकर्षित गरेको छ ।
काठमाडौँ उपत्यकाका सडक र मुख्य चोकहरुमा सुरक्षाकर्मीको बाक्लो उपस्थितिले पनि सर्वसाधारणमा मनोबल बढाएको छ ।
इमाडोलबाट निजी गाडीमा अनामनगर आइपुग्नुभएका कलाकार करण श्रेष्ठले बाटोमा कुनै अवरोध नभएको र आफू पनि संविधान घोषणाको उत्सवमा सहभागिता जनाउन आएको बताउनुभयो ।
सर्वसाधारण मात्र हैन व्यवसायीमा पनि उत्तिकै उत्साह छ । स्वयम्भूमा व्यवसाय गर्दै आउनुभएका सवीन ठकुराठी पनि सहज रुपमा बानेश्वर आएको बताउनुहुन्छ ।
अनामनगरका चिया पसले सुमन पोखरेलले अघिल्लो दिनको तुलनामा आज निकै सर्वसाधारणको भीडभाड बढेको बताउनुभयो ।
नयाँ बानेश्वरमा भेटिएका मानबहादुर थापाले संविधान घोषणाको उत्साहमा सहभागिता जनाउन आफूहरु जम्मा भएको बताउनुभयो ।
मध्यबानेश्वरमा ग्यास व्यवसाय सञ्चालन गर्दै आउनुभएका नवराज गौतमले पसल निर्वाध रुपमा सञ्चालन भएको र आसपासका व्यवसायी मिलेर सामूहिक रुपमा संविधानको खुसियाली साटासाट गरेको बताउनुभयो ।
संविधान घोषणा हुने भएपछि के घर के डेरा, सडकदेखि सदनसम्म जनलहर र उत्साह देखिएको छ ।
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
नेपाल सरकारको नीति तथा कार्यक्रमले खोजेको समृद्धि
ध्यान शिविरहरु संचालन गर्न स्वामी आनन्द अर्हत लन्डनमा
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
डुङ्गाको सहारामा बेलायत प्रवेश गर्ने आप्रवासीहरूको सङ्ख्या दुईलाखभन्दा बढी : तथ्यांक
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी