संविधान घोषणाको व्यग्र प्रतीक्षा, सडकदेखि सदनसम्म उत्साह

12048539_10153632758171197_2026163619_n

सिंगारिएको संविधानसभा भवन

काठमाडौँ, ३ असोज । संविधान घोषणा हुने दिन आज बन्दको आयोजना गरे पनि काठमाडौँ उपत्यकाको जनजीवन सामान्य रहेको छ ।

संविधान घोषणाको व्यग्र प्रतीक्षामा रहेका जनताको बन्दको कुनै प्रवाह नगरी नयाँ संविधानको स्वागतका लागि सडक, गल्ली, चोकहरू र चिया चौतारीमा निकै उत्साहका साथ जमघट भएको देखिन्छ ।

उपत्यकाका सडकमा सवारी साधन चलेका छन् । सडक गल्लीका पसल खुलेका छन् । नयाँ बानेश्वरस्थित संविधानसभा भवन आसपासमा मानिसको बाक्लो उपस्थिति रहेको छ । बन्द भनिए पनि सडकमा बन्दकर्ता नदेखिएपछि सवारी साधन चल्न थालेका छन् । उपत्यकाको जनजीवन सामान्य रहेको प्रहरीले जनाएको छ ।

बेहुलीझैँ सिँगारिएको संविधानसभा भवन र बानेश्वर क्षेत्रको सडक आसपास गरिएको साज सजावटले सर्वसाधारणलाई आकर्षित गरेको छ ।
काठमाडौँ उपत्यकाका सडक र मुख्य चोकहरुमा सुरक्षाकर्मीको बाक्लो उपस्थितिले पनि सर्वसाधारणमा मनोबल बढाएको छ ।

इमाडोलबाट निजी गाडीमा अनामनगर आइपुग्नुभएका कलाकार करण श्रेष्ठले बाटोमा कुनै अवरोध नभएको र आफू पनि संविधान घोषणाको उत्सवमा सहभागिता जनाउन आएको बताउनुभयो ।

सर्वसाधारण मात्र हैन व्यवसायीमा पनि उत्तिकै उत्साह छ । स्वयम्भूमा व्यवसाय गर्दै आउनुभएका सवीन ठकुराठी पनि सहज रुपमा बानेश्वर आएको बताउनुहुन्छ ।

अनामनगरका चिया पसले सुमन पोखरेलले अघिल्लो दिनको तुलनामा आज निकै सर्वसाधारणको भीडभाड बढेको बताउनुभयो ।

नयाँ बानेश्वरमा भेटिएका मानबहादुर थापाले संविधान घोषणाको उत्साहमा सहभागिता जनाउन आफूहरु जम्मा भएको बताउनुभयो ।

मध्यबानेश्वरमा ग्यास व्यवसाय सञ्चालन गर्दै आउनुभएका नवराज गौतमले पसल निर्वाध रुपमा सञ्चालन भएको र आसपासका व्यवसायी मिलेर सामूहिक रुपमा संविधानको खुसियाली साटासाट गरेको बताउनुभयो ।

संविधान घोषणा हुने भएपछि के घर के डेरा, सडकदेखि सदनसम्म जनलहर र उत्साह देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री