काठमाडौँ, २६ भदौ । प्रदेश सीमाङ्कनको विषयलाई लिएर आन्दोलनरत् थरुहट थारुवान संयुक्त सङ्घर्ष समितिले सरकारसँग वार्ता गर्नका लागि तीन सदस्यीय वार्ता टोली गठन गरेको छ ।
समिति सचिवालयको शनिवार बसेको बैठकले सरकारसँग वार्ताको वातावरण बनाउन तीन सदस्यीय वार्ता टोली गठन गरेको सभासद् एवम् समितिका प्रवक्ता अमनलाल मोदीले जानकारी दिए ।
तीन सदस्यीय वार्ता टोलीमा थारु नेताहरु अमनलाल मोदी, राजकुमार लेखी र मीनराज चौधरी छन् ।
“प्रमुख तीन दलले संविधान लेखनको प्रक्रिया रोकेर वार्ताको लागि आह्वान गर्नुलाई सकारात्मक लिँदै वार्ताको सकारात्मक वातावरण बनाउन वार्ता टोली गठन गरेका छौँ । हाम्रा सात बुँदे मागलाई कार्यान्वयनको थप प्रतिबद्धता आए वार्ता प्रक्रिया अघि बढ्छ,”–रासससँगको कुराकानीमा उनले भने ।
प्रमुख तीन दलका शीर्ष नेताहरुले आन्दोलनरत् थारु, मधेसीलगायतका समुदायलाई वार्तामा आउन आग्रह गर्दै शुक्रबार संविधानसभामा प्रस्तुत संशोधन प्रस्तावमाथिको छलफललाई दुई दिनका लागि रोक्ने निर्णय गरेका थिए ।
प्रमुख दलको उक्त निर्णयलाई सकारात्मक लिँदै थारु सङ्घर्ष समितिले वार्ताको वातावरणका लागि वार्ता टोली गठन गरेको छ, भने संयुक्त मधेसी मोर्चाका केही घटकहरुले सकारात्मक सम्पर्क बढाएका छन् ।
मोर्चाका शीर्ष नेताहरु काठमाडौँ आएका छन् । सङ्घीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव काठमाडौँ आए पनि आजै पार्टीको कार्यक्रमले भोजपुर गए । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो काठमाडौँ आएका छैनन् । उनीहरु दुवै आइतबार काठमाडौँ आउने बुझिएको छ । मोर्चाका अन्य नेताहरु भने राजधानी आइसकेका छन् ।
यसैबीच संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको एक घटक तराई–मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) का प्रवक्ता सर्वेन्द्रनाथ शुक्लाले रासससँग कुराकानी गर्दै वार्ताको वातावरणका लागि अनौपचारिक कुराकानी भइरहेको बताएका छन् ।
उनले भने– “सरकारसँग औपचारिक कुराकानी भएको छैन, तर अनौपचारिक कुराकानी भइरहेको छ । हाम्रो तर्फबाट तराईमा भइरहेको पछिल्ला अराजक घटनाक्रमको समीक्षा गर्दै देशलाई कसरी सामान्य अवस्थामा फर्काउने भन्नेबारे छलफल भइरहेको छ । उपेन्द्र यादव र राजेन्द्र महतो आइतबार राजधानी फर्किएपछि मोर्चाको तर्फबाट औपचारिक धारणा बनाएर अघि बढ्छौं ।”
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा