लण्डन । रामकाजी कोने । व्यवसायले पर्यटन व्यवसायी । २७ वर्षदेखि गण्डकी ट्राभल्स एण्ड टूर्स चलाइरहेका कोनेको परिचय त्यतिले अपूरो हुन्छ ।
नेपालका ट्राभल्स एण्ड टूर्स अपरेटरहरुको संस्था नेपाल एसोसिएसन अफ ट्राभल्स एण्ड टूर्स अपरेटर्स एजेन्टस्(नाट्टा)को अध्यक्ष रहिसकेका कोने अहिले बिल्कुल पृथक जिम्मेवारीमा छन् –नेपाल मुक्तक प्रतिष्ठानको अध्यक्षमा ।
पर्यटनका कोने
जलविद्युत, आवास, बैँकिङ आदि क्षेत्रमा कोनेको लगानी छ तथापि उनी आफूलाई पर्यटन व्यवसायीका रुपमा चिनाउन चाहन्छन् । नेपाललाई प्रकृतिले अनुपम उपहार दिएकाले पर्यटनमा अथाह सम्भावना देखेर उनी पर्यटन व्यवसायमा होमिएका हुन् । ‘अग्लोमा सगरमाथादेखि चारकोसे झाडीसम्म, ट्रेकिङ, राफि्टङ, माउण्टेनियरिङ यति सानो देशमा हुनु हाम्रो सम्पत्ति हो’ उनले भने ।
भुकम्पपछि नेपालको पर्यटन क्षेत्र सुस्ताएको सन्दर्भ कोट्याउँदा उनले भने, ‘राजनीतिक द्वन्द्वपछि फस्टाउँदै गरेको पर्यटन क्षेत्र फेरि प्राकृतिक प्रकोपको मारमा परेको छ ।’ राज्य र निजी क्षेत्रको संयुक्त प्रयासले पर्यटन क्षेत्र पुनः तंग्रिनसक्ने उनको ठम्याइ छ ।
नयाँ संविधानका कारण उत्पन्न बन्द, हडतालले पर्यटन क्षेत्रमा प्रभाव पार्नसक्ने उनको आशंका छ । नेपालको पर्यटन क्षेत्रले यस्तो संकट ५/६ महिनाभन्दा बढी धान्न नसक्ने उनको ठहर छ ।
पर्यटन क्षेत्रको प्रबर्धनको जिम्मा पाएको निकाय नेपाल पर्यटन बोर्ड लामो समयदेखि नेतृत्वविहीन हुनु सरकारको नालायकीपन भएको उनको निस्कर्ष छ । ‘बजेट पनि भएको र संशाधन पनि भएको निकाय दलगत स्वार्थका कारण पदाधिकारीविहीन हुनु दुःखको कुरा हो’ उनले भने ।
‘नेपाललाई माया गर्छौँ भने नेपाल जाउ’ भन्ने नाराका साथ अहिले पर्यटन व्यवसायीहरुले पर्यटक भित्र्याउन कोसिस गरिरहेको उनले जानकारी दिए ।
मुक्तककार कोने
विद्यार्थीकालदेखि नै कोनेको साहित्यमा थियो रुचि । घरको जेठो छोरो भएकाले ‘अक्षरको खेति छोडेर अंकको खेतिमा लाग्नु’ उनको बाध्यता ।
अंकको खेतिमा अगाडि बढिसकेपछि उनले सिंहावलोकन गरेर हेरे–मैले के पाएँ के गुमाएँ ? समग्रमा सन्तोषजनक निस्कर्ष निकाले पनि उनले निर्णय लिए–साहित्यमा बढी समय दिने । साहित्यका सहस्र विधामध्ये गीत र मुक्तकलाई उनले रोजे । मुक्तक संग्रह (२०६६), मुक्तक मेला (२०६९) पछि मुक्तक मोहनी (२०७२) को तयारीमा छन् उनी । उता गीतको सिडी निकाल्ने तयारी पनि सँगसँगै चल्दै छ ।
मुक्तकमै किन लाग्नु भो भन्ने जिज्ञासामा उनले सफाइ दिए ‘ब्यस्त मानिसलाई छोटो समयमा लेख्न, पढ्न, सुन्न र सुनाउन सकिने भएकाले मुक्तक नै सुहाउँदो जस्तो लाग्यो ।’
मुक्तककारहरुको संस्था नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष रहेका कोनेको जिम्मेवारी छ मुक्तकको श्रीवृद्धि र उन्ययन । प्रवेश शुल्क तिराएर मुक्तक सुनाएर प्रतिष्ठानले दार्चुलाका बाढी पीडितलाई सहयोग गरिसकेको छ भने सुनकोशीको बाढीमा परेको वनसाँघु माध्यमिक विद्यालयका लागि चार लाख रुपियाँको अक्षयकोष स्थापना गरेको छ । जसमा इजरायल र मलेसिया शाखाको सहयोग उल्लेख गर्न उनी छुटाउँदैनन् ।
हाल मलेसिया, इजरायल, कोरिया र युकेमा प्रतिष्ठानको शाखा स्थापना भइसकेका छन् ।
जसले जे लेखे पनि मुक्तक हुन्छ भन्ने गलत बुझाइलाई सच्याउने जिम्मा उनको काँधमा छ यतिखेर । हातमा लाठो लिएको पहरेदारले झैँ उनी भन्छन्–अब मुक्तकलाई बेरुप बनाउन पाइँदैन । प्रतिष्ठानले मुक्तक लेखनमा एकरुपता ल्याउन कार्यशाला गरेर चार पंक्तिको मात्र मुक्तक हुनसक्ने निचोड पेश गरेको छ ।
मुक्तकमा के छ र त्यस्तो ? यही आइतबार लण्डनको वाटफोर्डमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) र मुक्तक प्रतिष्ठान युकेको आयोजनामा हुने गजल तथा मुक्तक वाचनमा आमन्त्रण गर्दै उनले भने, ‘मुक्तकमा कस्तो शक्ति छ भन्ने सुन्न कार्यक्रममै आउनुस् न ।’ तैपनि उनले थपे, ‘गागरमा सागर, विन्दूमा सिंगो सिन्धु, चार पंक्तिमा महाकाव्य अटाउने क्षमता छ मुक्तकमा ।’
मुक्तकको परिभाषा यतिमा मात्र सीमित रहेन । मुक्तककार न परे कोने । त्यसैले मुक्तकमै उनले भने :
अर्थमा पूर्ण छ चारै छ पंक्ति
सिंगो दर्शन अटाउन सक्ने छ शक्ति
शब्द सिकारीले साधेपछि निशाना
खुत्रुक्कै पार्छन् यी मुक्तकमय अभिव्यक्ति
।।।।।।
सामाजिक सेवा कोनेको अर्को परिचय हो । बालमन्दिरको महासचिव र कोषाध्यक्ष भएर उनले सेवा दिइसकेका छन् भने समाज कल्याण परिषद्को नेतृत्व पनि लिइसकेको छन् । अहिले दाङ र बर्दियाका कम्लहरीहरुको उत्थानका लागि कियटिङ पोसिबिलिटज नामक संस्थामार्फत उनी लागिरहेछन् । कोने कल्याण कोष स्थापना गरेका उनी यसै वर्षदेखि उत्कृष्ट साहित्यिक पुरस्कार स्थापना गर्ने ध्याउन्नमा पनि छन् ।
समाजसेवा होस् वा व्यापार कोनेलाई मुक्तक कोर्ने विषय फुरिहाल्छ । सातवर्ष बालमन्दिरमा बिताउँदाको क्षणलाई उनले मुक्तकमा यसरी कोरेका छन् :
फूलप्रसाद हातमा लिएँ भगवान भक्ति गाढा लाग्यो
बाटामा अनाथ देख्दा पूजापाठ नै आधा लाग्यो
प्रत्येक मुहार ईश्वरजस्तो सारा प्रसाद बाँडी दिएँ
फर्किएँ घर त्यहीँबाट मन्दिर मलाई टाढा लाग्यो । (मुक्तक मेला २०६६)
कोनेलाई सधैँ सोधिन्छ तपाई व्यापारी कि साहित्यकर्मी ? जवाफ पनि उनी मुक्तकमै फर्काउँछन् :
व्यापार व्यवसायमा कमाउनुको मजा बेग्लै
समाजसेवामा दिनु दिलाउनुको मजै बेग्लै
आफैँलाई अनुवाद गरेर अक्षरहरुमा
साहित्य संसारमा रमाउनुको मजै बेग्लै ।
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाल एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलद्वारा अध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने घोषणा
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
बेलायती पोर्न कम्पनी एभिएस ग्रुपलाई १० लाख पाउन्ड जरिवाना
लन्डनमा नेपाली बैंक सिटिजन्सलाई दोस्रो पटक ‘बैंक अफ द इयर अवार्ड’
मधेस प्रदेशका मुख्यमन्त्री पदमा कृष्णप्रसाद यादव नियुक्त
नागरिकता र मताधिकारबारे गृहमन्त्री अर्याललाई सीएनसीबीजी युके र भूपूसैकस नेपालको ज्ञापनपत्र
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी