वीरगन्जमा गोली लागेर चार जनाको मृत्यु

सरकारी सम्पत्तीको क्षती ः वीरगन्जको मातपोत चौकमा मङ्गलबार प्रदर्शनकारीले जलाएको नापी कार्यालयको वाहन । तस्बिर ः बिजय कुमार महतो रासस

सरकारी सम्पत्तीको क्षती ः वीरगन्जको मातपोत चौकमा मङ्गलबार प्रदर्शनकारीले जलाएको नापी कार्यालयको वाहन । तस्बिर ः बिजय कुमार महतो रासस

वीरगन्ज, १५ भदौ । वीरगन्जका विभिन्न स्थानमा आज प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप हुदा प्रहरीले प्रहार गरेको गोली लागेर चार जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पर्सा मनियारी गाविस भवानीपुरका ३० बर्षीय धर्मराज सिंह, वीरगन्ज नगवाका २४ वर्षीय भोला साह, बहुअरी नौतनका २७ वर्षीय दिनानाथ साह रहेको र अर्का एक जनाको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

निषेधाज्ञाका समयमा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच भएको झडपमा स्थितिलाई नियन्त्रणमा लिन वीरगन्जको राधेमाई चोकमा प्रहरीले चलाएको गोलीबाट सिंहको र नगवामा भोला साहको घटनास्थलमै मृत्यु भएको छ भने दिनानाथ साहको नेशनल मेडिकल कलेज शिक्षण अस्पताल वीरगन्जमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

निषेधाज्ञाका समयमा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच भएको झडपमा स्थितिलाई नियन्त्रणमा लिन वीरगन्जको राधेमाईचोकमा सुरक्षाकर्मीले चलाएको गोलीबाट घाइते भएका दिलिप चौरसियाको सोमबार नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जमा उपचारको क्रममा मृत्यु भएको थियो ।

त्यस्तै प्रदर्शनकारी र प्रहरीबीचको झडपपछि स्थितिलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले प्रहार गरेको गोली लागेर १२ जनाभन्दा बढी घाइते भएको सुरक्षा स्रोतले जनाएको छ । उनीहरुको नारायणी उपक्षेत्रीय अस्पताल र नेसनल मेडिकल कलेज वीरगन्जमा उपचार भइरहेको सो अस्पतालले जनाएको छ ।

गोली लागेर उपचार गराइरहेका मधेसी जन अधिकार फोरमका केन्द्रीय सदस्य अमिरीलाल पालसहित वीरगन्ज राधेमाई टोलका प्रज्ज्वल तिवारी र मनियारी गाविसका उपेन्द्र यादवको स्वास्थ्य स्थिति गम्भीर रहेकाले उनीहरुलाई थप उपचारका लागि काठमाडाँैँ लैजान अस्पतालले सिफारिस गरेको जनाएको छ ।

केन्द्रीय सदस्य पाल नगवामा भएको झडपमा आज दिउसो प्रहरीको गोली लागेर गम्भीर घाइते भएको र उहा“लाई उपचारका लागि काठमाडाँै लाने तयारी भइरहेको सो पार्टीका जिल्ला अध्यक्ष शशीकपुर मियाले बताए ।

यस्तै नारायणी उपक्षेत्रीय अस्पतालमा ढुङ्गामुढा गर्न आएका प्रदर्शनकारीमाथि प्रहरीले मंगलबार दिउ“सो प्रहार गरेको रबरको गोली लागेर एक जना प्रहरी जवानसहित तीन जना घाइते भएको पर्साका प्रहरी उपरीक्षक दिवेश लोहनीले जानकारी दिए ।

उनका अनुसार, निषेधाज्ञाको अवज्ञा गरी प्रदर्शनकारीको एक समूहले अस्पतालमाथि ढुङ्गामुढा गरेपछि अस्पतालको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीले रबरको गोली प्रहार गर्दा प्रहरी जवान नरेन्द्र चौधरी, अस्पतालका स्वास्थ्यकर्मी विनोद महतो र उपचार गराउन आएकी अतवरीया देवी घाइते भएकी छिन् ।

उनीहरुको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।

आज बिहानैदेखि नै वीरगन्जको नगवा, बिर्ता, घन्टाघर, बसपार्क, मुर्लीचोक, राधेमाईचोक र रानीघाटलगायत बजार क्षेत्रका विभिन्न भागमा प्रदर्शनकारी र सरक्षाकर्मीबीच भएको पटकपटकको झडपपछि तनाबग्रस्त बनेको छ ।

स्थितिलाई नियन्त्रणमा लिन स्थानीय प्रशासनले सोमबार ४ः०० बजेदेखि अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा आदेश जारी गरेको छ । तरपनि प्रदर्शनकारीले निषेधाज्ञाको अबज्ञा गर्दै वीरगन्जका विभिन्न क्षेत्रमा तोडफोड, आगजनी र प्रदर्शन गरेका छन् ।

प्रदर्शनकारीले वीरगन्जको रानीघाटस्थित कृषि औजार अनुसन्धान कार्यालय, वीरगन्जको घडिअर्वास्थित आन्तरिक राजस्व कार्यालयसहित सिक्टा, बन्जाडी र भिस्वामा रहेका प्रहरी बिट र चौकीमा तोड्फोड र आगजनी गरेका छन् भने चारवटा मोटरसाइकलमा समेत आगजनी गरेको स्थानीयवासीले बताएका छन् ।

प्रदर्शनकारीले सरक्षाकर्मीमाथि ढुङ्गामुढा गरिरहेका छन् । स्थितिलाई नियन्त्रणमा लिन व्यापक मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी केशवराज धिमिरेले बताए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री