मंगलबार, असोज १३ २०७७ | Tue, September 29, 2020
नेपालको समय: २०:५५ | UK Time: 16:10

नेपालको पहिलो विद्युतीय शवदाह गृह असोज १ देखि सञ्चालन मा

वीनेपाली
२०७२ भदौ १३ गते ९:५९

gasifier-based-crematorium-500x500

काठमाडौँ, १३ भदौ । नेपाल सरकारको अनुदान सहयोगमा पशुपति क्षेत्र विकास कोषले निर्माण गरेको नेपालकै पहिलो विद्युतीय शवदाह गृह असोज १ देखि सञ्चालनमा आउने भएको छ ।

विसं २०६८ मङ्सिरमा सुरु भएको शवदाह गृह निर्माणको काम २०७० असार मसान्तमै सकिनुपर्ने थियो । बीचमा पटक पटक समय थपिए पनि काम सकिएन । यसै वर्षको भदौ अन्तिम साता निर्माण सम्पन्न हुने भएपछि असोज १ देखि शवदाह गृह सञ्चालन गर्न लागिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । शवदाह गृह निर्माणमा निर्माण सामग्रीको अभाव र ठेकेदार कम्पनीको लापर्बाहीका कारण यसको सञ्चालनमा ढिलाइ भएको हो ।

अवधि सकिएको दुई वर्षपछि शवदाह गृह निर्माण सकिएको कोषका सदस्य सचिव डा गोविन्द टण्डनले जानकारी दिनुभयो ।

पहिलो पटक एक वर्षको समय थप गरी २०७१ असारसम्मका लागि अवधि थपियो । त्यस अवधिमा काम नसकिएपछि भदौ मसान्तको समय दिइयो । पटक पटक निर्माण कार्यमा ढिलाइ गरेकाले ठेकेदार कम्पनीलाई नै कारबाहीका लागि पत्र लेख्नुपर्र्ने अवस्था आएको कोषका कोषाध्यक्ष तारानाथ सुवेदी बताउनुहुन्छ ।

विद्युतीय शवदाह गृहको निर्माणका लागि च्याङ्मिला साल्पा जे भीलाई रु ११ करोडको लागतमा जिम्मेवारी दिइएको कोषका वरिष्ठ निर्देशक श्यामशेखर झाले जानकारी दिनुभयो । धेरै काम सकिएर पनि शवदाह गृह निर्माणको काम पूर्ण हुन लामो समय लागेको उहाँले बताउनुभयो ।

यस सम्बन्धमा ठेकेदार कम्पनीका मालिक पेम्बा लामासँग प्रतिक्रियाका लागि सम्पर्क गर्न खोज्दा उहाँ सम्पर्कमा आउन चाहनुभएन ।

पशुपति गौशालास्थित पिङ्गलस्थान पुल नजिक बाग्मती नदी किनारमा निर्माण भएको विद्युतीय शवदाह गृहमा दुईवटा शवदाह यन्त्र जडान गरिसकिएको छ भने अर्को यन्त्र जडानका लागि पूर्वाधार निर्माण भइसकेको छ । हाल दुईवटा विद्युतीय शवदाह यन्त्र सञ्चालन गरी पछि अर्को यन्त्र जडान गर्ने तयारी गरिएको कोषका सदस्य सचिव डा टण्डन बताउनुहुन्छ । “तेस्रो यन्त्र पनि सञ्चालन गर्नुपरेमा दुई महिनाभित्रमा जडान गर्न सकिने गरी भौतिक संरचना तयार गरिएको छ” – उहाँले भन्नुभयो ।

भारतको कलकत्तास्थित इन्डोमेन इन्जिनियरिङ कम्पनीबाट ल्याइएको दुईवटा विद्युतीय शवदाह यन्त्रको रु दुई करोड ५९ लाख परेको छ । हाल दाउराबाट चितामा शवदाह गर्दा सरदर एउटा शवदाह गर्न तीन घन्टा समय लाग्ने गरेकामा विद्युतीय शवदाह गृहबाट ४५ मिनेटमै एउटा शवदाह गर्न सकिने भएको छ ।

चिताबाट शवदाह गर्दा एउटा घाटमा दैनिक आठदेखि नौवटा शवदाह गर्ने गरिएकामा विद्युतीय शवदाह गृहबाट शवदाह गर्दा एक दिनमा एउटै यन्त्रबाट २४ देखि ३० वटासम्म शवदाह गर्न सकिने छ । अहिले कम्तीमा पनि पशुपति आर्यघाटमा दैनिक ३० वटा शव आउने गरेका छन् । बढीमा ७० वटासम्म शव आर्यघाटमा ल्याइने गरिएको पाइन्छ । अहिले दैनिक कम्तीमा पनि पाँचवटा शव विदेशमा रोजगारीमा गएकाहरुको आउने गरेको अभिलेख रहेको घाटको व्यवस्थापन हेर्नुहुने कोषका सीताराम रिसाल बताउनुहुन्छ ।

हाल आर्यश्वरेश्वरघाट र भष्मेश्वरघाटमा गरी १४ वटा घाट सञ्चालनमा रहेका छन् ।

काठमाडौँ उपत्यकाको जनसङ्ख्या वृद्धि, अस्पतालको सङ्ख्या वृद्धि र आर्यघाटमा उपत्यकाका अन्य घाटमा भन्दा सुविधा बढी भएकाले पनि ल्याइने शवको सङ्ख्या बढेको रिसाल बताउनुहुन्छ ।

आर्यघाटमा २६ जना शवदाहकलाई सूचीकृत गरिएको छ । त्यसैगरी क्रियाकर्म गरिदिने १३ जना क्रियापुत्रीको पनि सूचीकृत गरी सुविधा दिइएको छ । क्रियापुत्री ब्राह्मण, क्षेत्री र नेवार जातका सूचीकृत गरिएको पनि उहाँले जानकारी दिनुभयो ।

वायुमण्डलीय दृष्टिले पनि विद्युतीय शवदाह गृहबाट शवदाह गर्दा प्रदूषण नहुने, मलामीको आँखा पोल्ने तथा टाउको दुख्ने समस्या नहुने र बाग्मतीमा जलाइएका दाउरालगायतका फोहर नजाने भएकाले बाग्मतीको सफाइमा पनि राम्रो हुने कोषको दाबी छ ।

साथै दाउराबाट भन्दा विद्युतीय शवदाह गृहबाट शवदाह गर्दा खर्च घट्नेछ । हाल दाउराबाट शवदाह गर्दा सरदर रु १५ हजार लाग्ने गरेकामा विद्युतीय शवदाह गृहबाट शवदाह गर्दा रु नौ हजारमै कार्य सम्पन्न हुनेछ । वातावरणीय शुद्धताका लागि विद्युतीय शवदाह गृहको निर्माणपछि चिताबाट गरिने शवदाहको प्रक्रियामा केही शुल्क बढाइने तयारी गरिएको कोषाध्यक्ष सुवेदी बताउनुहुन्छ ।

शवदाह गर्ने धार्मिक विधिमा पनि त्यस्तो फरक नपर्ने कोषका कार्यकारी निर्देशक कोषप्रसाद आचार्य बताउनुहुन्छ । “शवदाह संस्कार अघि र पछि गरिने सबै विधि विद्युतीय शवदाह गृहमा पनि व्यवस्था गरिएकाले धार्मिक विधिमा कुनै फरक पर्ने छैन” – उहाँले भन्नुभयो ।

बर्नरमा पठाउनु अगाडि शवलाई दागबत्ती दिई दागबत्ती दिने व्यक्तिले नै विद्युतीय प्रणालीको ‘स्विच अन’ गर्ने व्यवस्था मिलाइएको छ । अरु धार्मिक विधि पनि धेरै फरक नपर्ने कोषको ठहर छ ।

धर्मशास्त्रविद् एवम् नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतम भने शवदाह गर्नुअघि र पछाडिका क्रियाकलापमा केही फरक नपरे पनि शवदाहका बीचमा गरिने कृत्यमा केही फरक पर्नसक्ने देखिएकाले शास्त्रसम्मत शवदाह विद्युतीय शवदाह गृहबाट हुन नसक्ने बताउनुहुन्छ । “शवदाहका बीचमा गरिने घृतधारा र सातवटा समिधा लिएर घुमी चितामा विधिअनुसार हवन गर्ने विधि प्रभावित हुनेछ” – उहाँले भन्नुभयो ।

शवदाह गरिसकेपछि चिता पखाली छवटा पिण्ड दिनुपर्ने विधि पनि विद्युतीय शवदाह गृहमा प्रभावित हुन सक्ने देखिएको पनि उहाँले औँल्याउनुभयो ।

कोषका सदस्य सचिव डा टण्डन भने हिन्दू संस्कार पद्धति वैदिक मन्त्रोच्चारणबाट नै हुने भएकाले विद्युतीय शवदाह गृहमा धार्मिक विधि प्रभावित नहुने बताउनुहुन्छ ।

भारतका वैदिक सनातन हिन्दू धर्मावलम्बीले विद्युतीय शवदाह गृहलाई प्रयोगमा ल्याइसकेकाले धार्मिक विधिकै कारण समस्या नपर्ने कोषका कार्यकारी निर्देशक आचार्य बताउनुहुन्छ । हाल भारतको राजधानी नयाँदिल्ली, कलकत्ता र मुम्बई सहरमा विद्युतीय शवदाह गृह सञ्चालनमा रहेका छन् ।

नेपालमा २०४० सालतिर काठमाडौँ नगर पञ्चायतले विद्युतीय शवदाह गृह निर्माणको पहल गरे पनि सम्भव हुन सकेको थिएन । कमल चित्रकार नगर पञ्चायत प्रमुख भएका बेलामा ल्याइएको सानो आकारको यन्त्र हाल टेकुमा अलपत्र अवस्थामा रहेको नगर पञ्चायतको कार्यकारी प्रमुख भई काम गरी सक्नुभएका कोषका कोषाध्यक्ष सुवेदीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक