टीकापुर घटनामा ज्यान गुमाउने सुरक्षा कर्मचारीको एक तह पदोन्नति

कैलालीको टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेको पार्थिव शरीरलाइ गौशलास्थित महानगरीय प्रहरी वृत्तमा ल्याएपछि श्रद्वान्जली दिन गौशाला पुगेका नेपाली सेनाका कामु प्रधानसेनापति राजेन्द्र क्षत्रीलगायत । तस्बिर ः प्रदीपराज वन्त, रासस

कैलालीको टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेको पार्थिव शरीरलाइ गौशलास्थित महानगरीय प्रहरी वृत्तमा ल्याएपछि श्रद्वान्जली दिन गौशाला पुगेका नेपाली सेनाका कामु प्रधानसेनापति राजेन्द्र क्षत्रीलगायत । तस्बिर ः प्रदीपराज वन्त, रासस

काठमाडौँ, ८ भदौ । सरकारले टीकापुरमा भएको घटनामा कर्तव्य निर्वाहका क्रममा ज्यान गुमाएका सुरक्षा कर्मचारीको सम्मानमा मरणोपरान्त एक तह पदोन्नति गर्ने निर्णय गरेको छ ।

सरकारका प्रवक्ता डा मीनेन्द्र रिजालले नेपाल प्रहरी र सशस्त्र प्रहरीका अधिकृत तथा जवानले कर्तव्य पालनाका क्रममा देखाएको दृढता र अनुशासन सबैका लागि अनुकरणीय र अत्यन्त सम्मानयोग्य भएका कारण कायम रहेकोभन्दा एक तह बढुवा सम्मानार्थ गर्ने निर्णय गरिएको जानकारी गराए ।

सरकारले टीकापुर घटनाको अध्ययन तथा छानबिन गर्न राष्ट्रिय अनुसन्धान विभागका पूर्व मुख्य निर्देशक देवीराम शर्माको अध्यक्षतामा अतिरिक्त प्रहरी महानिरीक्षकद्वय प्रतापसिंह थापा र जीवन थापा, अतिरिक्त मुख्य अनुसन्धान निर्देशक गणेश अधिकारी र सहसचिव विनोद केसी रहेको समिति गठन गरेको छ ।

सरकारले टीकापुर घटना आपराधिक, अमानवीय र निन्दनीय भएको जनाउँदै त्यसको भत्र्सना गरेको छ  । शान्ति सुरक्षाको स्थिति कायम गर्न सरकारले कुनै कसर बाँकी नराख्ने जानकारी गराउँदै प्रवक्ता डा रिजालले समाजमा शान्ति स्थापनाका लागि सबै नागरिकसँग आग्रह गरे ।

टीकापुर घटनापछि केन्द्रीय सुरक्षा समितिको निर्णयानुसार दङ्गाग्रस्त क्षेत्र घोषणा गरिएको र ती क्षेत्रमा स्थानीय रुपमा सुरक्षा निकाय परिचालन गरिएको उनले जानकारी गराए  । “हिंसा मुलुकले थेग्न सक्दैन, मुलुक संविधान निर्माणका चरणमा छ”– डा रिजालले भने, “ राजनीतिक असन्तोषलाई सम्बोधन गर्ने ठाउँ सिर्जना हिंसाबाट मुक्त भएमा नै गर्न सकिन्छ, यो सबैले बुझ्नु आवश्यक छ ।”

संवेदनशील समयमा सम्प्रेषित समाचार थप सत्यतथ्यमा आधारित हुन आवश्यक हुने बताउँदै सूचना तथा सञ्चारमन्त्री डा रिजालले सबै सञ्चारगृहलाई त्यसतर्फ गम्भीर बन्न आग्रह गरे । सामाजिक सञ्जालबाट व्यक्त गरिने कुरामा वस्तुनिष्ठता होस् भन्दै उनले प्रामाणिकताअनुसार सूचना सम्प्रेषण गर्न आग्रह गरे ।

सरकारले आवश्यक सेवा ऐनअनुसार अत्यावश्यकीय वस्तुको प्राथमिकताका साथ सहज आपूर्ति गराउने बताउँदै मन्त्री डा रिजालले जनताका लागि देशभरिका राजमार्गमा आपूर्ति ढुवानीमा बाधा व्यवधान नगर्न आग्रह गरेको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री सुशील कोइरालाबीच आज भएको टेलिफोन वार्ताबारे जानकारी दिँदै मन्त्री डा रिजालले भन्नुभयो “सकेसम्म फराकिलो सहमतिबाट संविधान बनाउने काममा नेपाललाई सफलता प्राप्त सफल होस् भन्ने उनको सन्देश रह्यो । नेपाल सरकार र राजनीतिक दललाई हिंसाको अन्त्य र सामाजिक सद्भाव कायमका लागि गम्भीर हुन अनुरोध गरे ।”

भारतले जहिले पनि शान्तिपूर्ण, सुरक्षित, स्थिर, लोकतान्त्रिक र समृद्ध नेपाल चाहेको भारतीय प्रधानमन्त्रीले प्रधानमन्त्री कोइरालालाई बताएको जानकारी दिँदै प्रधानमन्त्रीद्वयको वार्तालाई उद्धृत गर्दै मन्त्री डा रिजालले भने, सामाजिक विविधतामा अत्यन्त धनी स्रोत र साधनको ठूलो भण्डार रहेको नेपाल जस्तो देश र क्षमतावान् नेपाली जनताको मुलुकले आफ्ना जनताको चाहना पूरा गर्न र जनताका प्राथमिकता शान्ति र संविधान प्राप्तिको उद्देश्य प्राप्त गर्न सकोस् ।”

नेपाली जनताको शान्ति र संविधानको चाहना पूरा गर्न भारतको सदैव सहयोग रहने प्रतिबद्धता प्रधानमन्त्री मोदीले आफ्ना समकक्षी कोइरालासमक्ष व्यक्त गर्नुभएको बताइएको छ । भारतीय प्रधानमन्त्रीले टीकापुरको घटनाप्रति पनि दुःख व्यक्त गरेका छन् ।

दुई देशका उच्चतम कार्यकारी नेतृत्वबीच आज भएको टेलिफोन वार्ता र त्यसबारेमा केही सञ्चारमाध्यममा आएका समाचारप्रति सरकारको गम्भीर ध्यानाकर्षण भएको बताउँदै सरकारका प्रवक्ता डा रिजालले आधार बेगर समाचार सम्प्रेषण नगर्न आग्रह गरे ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री