पहिलो पटक उमाविमा प्राविधिक विषयको पाठ्यक्रम

काठमाडौँ, २ भदौ । उच्चमाध्यमिक शिक्षा परिषद्ले पहिलो पटक कक्षा ११ र १२ का लागि प्राविधिक धारका पाँच विषयका पाठ्यक्रम तयार गरेको छ ।

कक्षा ९ र १० का प्राविधिक विषय लिइ प्रवेशिका परीक्षा उत्तीर्ण भई उच्च शिक्षा अध्ययनको अन्योलमा रहेका विद्यार्थीका लागि ढिलै भएपनि सो पाठ्यक्रमको तर्जुमाले राहत दिनेछ । गत दुई वर्ष अघिदेखि प्रवेशिका परीक्षामा सो धारबाट हालसम्म करिब सात हजार विद्यार्थी उत्पादन भइसकेका छन् ।

परिषद्ले वनस्पती विज्ञान, जीव विज्ञान, विद्युतीय, सिभिल र कम्युटर इञ्जिनियरिङसम्बन्धी पाँच विषयमा पाठ्यक्रमको प्रारुप तयार गरेको हो । सम्बन्धित विषयका विज्ञहरु क्रमशः प्रा डा नरेन्द्रमान शाक्य, प्रा डा शशीधरराम भण्डारी, प्रा सङ्गीतलाल नकर्मी, डा विनायकराज भण्डारी र प्रा डा दैनिकबहादुर नेपालीको नेतृत्वमा रहेका टोलीले सो प्रारुप तयार गरेको हो । सो प्रारुपमा शिक्षाविद् प्रा डा मनप्रसाद वाग्ले, प्रा डा वासुदेव काफ्ले र डा टङ्कनाथ शर्माको टोलीले परामर्श दिएको थियो ।

ती प्रतिपाठ्यक्रम कुल एक हजार २०० पूर्णाङ्कका छन् । सो पाठ्यक्रम कार्यान्वयनमा आएपछि कक्षा ११ र १२ तहमा प्राविधिक जनशक्ति तयार हुनेछन् । ती जनशक्ति घर जग्गा नाप्ने, भूकम्पप्रतिरोधक साधन जडान गर्न सक्ने, विद्युतीय काम तथा मर्मत गर्न सक्ने, पर्खालको पुनःनिर्माण गर्न सक्ने हुनेछन् । यो धारको शिक्षाले मुलुकमा शैक्षिक बेरोजगारको अन्त्य गराउन तथा खाडी मुलुकमा काममा गएमा पनि सीपयुक्त जिम्मेवारीमा बढी पारिश्रमिक पाउन सक्नेछन् ।

परिषद्का उपाध्यक्ष प्रा चैतन्य शर्माले सो पाठ्यक्रममा विद्यार्थीसँग परीक्षणसमेत गरिएकाले चाँडै पारित गरिने बताए ।

शिक्षा ऐन संशोधनमा ढिलाइ हुँदा कक्षा ९ देखि १२ सम्म माध्यमिक शिक्षाको एकीकृत पाठ्यक्रम र परीक्षा बोर्डको गठनमा अन्योल आएका बेलामा संसदीय समिति र शिक्षा मन्त्रालयको निर्देशनका आधारमा परिषद्ले पाठ्यक्रमको खाका कोरेको हो । कक्षा ९ र १० मा प्राविधिक विषय (एनेक्स) कार्यक्रम सञ्चालन गर्ने ९९ सामुदायिक विद्यालय छन् ।

प्रस्तावित पाठ्यक्रमबारे आज शिक्षामन्त्री, पूर्व शिक्षामन्त्री, पूर्व शिक्षा सचिव, उच्च अधिकारी, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्, कृषि अनुसन्धान परिषद्, वाणिज्य तथा आपूर्ति मन्त्रालयलगायत अधिकारी र सरोकारवालासहितसँग छलफल गरिएको छ ।

शिक्षामन्त्री चित्रलेखा यादवले आगामी सन् २०२२ मा नेपाललाई विकासशील मुलुकमा स्तरोन्नति गराउने सरकारको लक्ष्यलाई सफल बनाउन गुणस्तरीय र सबैका लागि शिक्षा पूरा गराउने अभियानमा नयाँ पाठ्यक्रम उदाहरणीय हुने बताए । उनले भने, “मुलुक निर्माणका लागि शिक्षा र बालबालिकामा लगानी बढाउनुपर्छ, ।”

व्यवस्थापिका–संसद्को महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण समितिका सभापति रञ्जुकुमारी झाले नेपालीले २० वर्षदेखि अपेक्षा गरिरहेको प्राविधिक विषयमा उच्च शिक्षा पढ्न पाउने ढोका खोल्नु अत्यावश्यक भएको बताउँदै यसलाई कम्तीमा प्रत्येक निर्वाचन क्षेत्रमा लैजानुपर्ने बताए ।

पूर्व शिक्षामन्त्रीहरु प्रदीप नेपाल र दीनानाथ शर्मा, सभासद्हरु डा गणेशमान गुरुङ र उमेश श्रेष्ठ तथा पूर्व सचिवहरु किशोर थापा, जनार्दन नेपाल र महाश्रम शर्माले ढिलै भएपनि पाठ्यक्रम बन्नुलाई सकारात्मक ठान्दै प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्का कार्यक्रमसँग पनि तालमेल गरेर अघि बढ्न सुझाव दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री