सुझाव सङ्कलन गर्ने क्रममा प्रहरी र मधेसवादी दलबीच झडप

झापाको धुलाबारीमा संविधानको मस्यौदा सुझाव संकलन कार्य सुरु भएपछि राप्रपा नेपालका कार्यकर्ता नारा जुलुससहित कार्यक्रमस्थलमा । तस्बिरःचन्द्रकला भण्डारी, रासस

झापाको धुलाबारीमा संविधानको मस्यौदा सुझाव संकलन कार्य सुरु भएपछि राप्रपा नेपालका कार्यकर्ता नारा जुलुससहित कार्यक्रमस्थलमा । तस्बिरःचन्द्रकला भण्डारी, रासस

सप्तरी, ४ साउन । संविधानसभाको मस्यौदामाथि सुझाव सङ्कलन गर्ने क्रममा सोमबार सप्तरीको विभिन्न ठाउँमा प्रहरी र मधेसवादी दलबीच झडप भएको छ ।

प्रहरीसँगको झडपमा परी करिब डेढ दर्जन कायकर्ता घाइते भएका छन् भने ठाउँठाउँमा संविधानसभाको मस्यौदा जलाइएको छ । सप्तरी क्षेत्र नंं २ मा पर्ने भारदहस्थित मधेसवादी दलका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ ।

प्रदर्शनकारीले पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको भारदह सडक अवरुद्ध गर्ने क्रममा झडप हुंदा एक दर्जन प्रदर्शनकारी घाइते भएका छन् ।

झडपमा परेर सङ्घीय समाजवादी फोरमका क्षेत्रीय अध्यक्ष वीरेन्द्र माझी, जोगेन्द्र यादव, सद्भावना पार्टी गजेन्द्रवादीका केन्द्रीय अध्यक्ष विकास तिवारीसहित एक दर्जन नेता तथा कार्यकर्ता घाइते भएको बताएको छ । सो झडपमा परी एक प्रहरीसमेत घाइते भएको प्रहरीले बताएको छ ।

झडपपछि आन्दोलनकारीले अहिले पनि पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेका छन् भने बजार, पसलसमेत बन्द गराएका छन् । बजार पसल र यातायात बन्द भएपछि सो क्षेत्रको अवस्था झन तनाबग्रस्त रहेको बताएको छ ।

त्यस्तै आज राजविराजस्थित जिल्ला विकास समितिको सभाकक्षमा सभासद् उमेशकुमार यादव, रञ्जु ठाकुर, सकलदेव सुतिहार, मिथिला चौधरीलगायतको उपस्थितिमा आयोजित संविधानसभाको मस्यौदामाथि सुझाव सङ्कलन गर्ने क्रममा सङ्घीय समाजवादी फोरम, सद्भावना पार्टी, तराई मधेस लोकतान्त्रिकसहितका पार्टीका नेता तथा कार्यकर्ताले जिल्ला विकास समिति सप्तरीको परिसरमा नाराबाजी गरेका छन् ।

यस्तै जिविसमा नाराबाजी गर्ने क्रममा प्रहरीसँग झडप हुंदासङ्घीय समाजवादी फोरमका केन्द्रीय सदस्य शैलेन्द्रप्रसाद साह, जिल्ला अध्यक्ष दिनेश यादव, उमेशकुमार यादव, नवनित झा सद्भावनाका दिनेशकुमार यादव, मुकेश झालगायत आधा दर्जन नेता तथा कार्यकर्तासमेत घाइते भएका छन् ।

घाइते सबैको उपचार राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा भइरहेको छ ।

यसैबीच संविधानमा हिन्दू राष्ट्र काय हुनुपर्ने माग गर्दै सप्तरीको कञ्चरुप नगरपालिकामा हस्ताक्षरित एक हजार ११७ जनाको सुझाव सङ्कलित मस्यौदा क्षेत्र नं १ का सभासद् मानपुर चौधरी र सत्यनारायण मण्डललाई बुझाएको हिन्दू राष्ट्रिय अभियानकर्ता सोमनाथ घिमिरेले बताए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री