तलब काटेर राहत, राहत बाँड्दा लाग्यो रिन

ramachhap rahat

४५ वर्ष नाघेका शनिश्चरे झापाका तिलक गजुरेलले जीवनका दुई दशक नेपालमा शिक्षण गरे । राजधानीदेखि वीरगन्ज हुँदै आफ्नो गृह जिल्ला झापामा २०६५ सालमा बसाइँ सर्दै आउँदा उनले दुई छोरा, एक छोरी र थेग्नै नसकिने रिन मात्र कमाएका थिए । त्यही रिन तिर्न पनि अबुधाबीको एक कम्पनीमा सेक्युरिटी अफिसरका रुपमा काम गरेको करिब चार वर्ष लाग्यो । यो अवधिमा उनले आफ्नो रिन तिरिसके ।

यूएईमा रहेका करिब ३ लाख नेपालीहरुको भीडमा गजुरेल प्रतिनिधि पात्र हुन् । २०४६ सालको प्रजातान्त्रिक आन्दोलनमा सहभागी गजुरेलले तत्कालीन नेपाल विद्यार्थी संघको जिल्ला सचिवको जिम्मेवारी सम्हालिसकेका छन् । प्रजातन्त्र पुनस्र्थापनाको त्यो आन्दोलनमा सहभागी गजुरेललेे झापामै जेलनेल पनि भोगिसकेका छन् । सोही आन्दोलनका सहयात्रीहरु सभासद्देखि मन्त्रीसम्म भइसकेका छन् तर, गजुरेल यूएईमा श्रम गरिरहेका छन् ।
उनै गजुरेलका सहकर्मी जो अहिले राष्ट्रिय जीवनका विभिन्न लाभमूलक पदमा विराजमान छन्, उनीहरु गत वैशाख १२ र त्यसपछि आएका पराकम्पनको पीडामा मल्हम लगाउन के कति क्रियाशील छन् । त्यो नेपाली जनता अझ भूकम्प प्रभावित जनतालाई धेरै जानकारी छ तर यूएईमा गजुरेल पनि चुप लागेर बसेका छैनन् ।
‘लौ देशमा संकट पर्याे, सहयोग यस्तै बेलामा गर्ने हो’ भनी अघि सर्दा गजुरेलले यूएईकै केही सहकर्मीहरुबाट जवाफ पाए, ‘विदेशबाट करोडौंको सहयोग आको छ, नेताहरुको गोजी भर्न किन दिने ?’ उसले यति दियो, त्यसले त्यति दियो भनेर बहाना नबनाई आफ्नो देशप्रतिको कर्तव्य सम्झेर गजुरेलले यूएईबाट सहयोग जुटाउन सुरु गरे ।
तर, सहकर्मीहरुबाट अपेक्षित सहयोग नजुटेपछि गजुरेलले एक महिनाको तलब बराबर करिब ५६ हजार प्रदान गर्ने निर्णय गरे । करोडौंको सहयोग जुटिरहेको परिप्रेक्ष्यमा ५६ हजारको सहयोगको कुनै अर्थ नरहला तर एक सामान्य नेपाली जस्को अहिलेसम्म न घर, न घडेरी त कुनै बैंक ब्यालेन्स छ, त्यस्तो परिस्थितिमा एक महिनाको तलब राहतका नाममा दिनु पक्कै सामान्य होइन ।
गजुरेलले राहत बाँड्न आफै नेपाल जान नखोजेका होइनन् तर आफू राहत जुटाउन लागे भने छोरा र गाउँमै रहेका एक प्रणामी युवा समूहलाई राहत वितरणको जिम्मा दिए । बिएस्सी पढिरहेका गजुरेलका छोरा निरज भूकम्पपछि फुर्सदमै थिए । निरज र उनका साथी सुपराज बान्तवा राईको टोलीले रामेछाप जिल्लाकोको स्थलगत भ्रमणपछि भुजी गाविसमा राहत बाँडने निर्णय गर्यो । भुजी गाउँमा कसैले राहत नपुर्याएको, दलित बस्ती रहेको, ९० प्रतिशत घरहरु भत्किएको र अधिकांश क्रिस्चियन धर्मावलम्बी भूकम्प पीडित रहेको प्रारम्भिक रिपोर्टका आधारमा धार्मिक सहिष्णुताको सन्देश जाने भएका कारण भुजी गाविसमा राहत बाँडिएको गजुरेलले जानकारी दिए ।
उनको अभियानलाई हल्यान्डमा कार्यरत उनका पूर्व सहकर्मी प्रकाश गिरी र हल्यान्ड नागरिक रम्स रोतीले पनि साथ दिए । कुवेतमा रहेका सुमित चिमरिया, यूएईबार्ट रविन खनाल, आरपी सहयात्री लगायत खाडी राष्ट्रका सहकर्मीहरुले सकेको सहयोग गरे । हल्यान्डबाट नेपाली ४७ हजार जुट्यो । नासा जोन एकेडेमीको सहकार्यमा स्थानीय स्तरमा राहतका लागि रकम संकलन भयो । विदेशमा हुने नेपालीहरुबाट पनि फाट्टफुट्ट सहयोग जुट्यो र संकलन भयो करिब १ लाख ५० हजार । सोही पैसाले १ सय बोरा चामल, १२० थान त्रिपाल र अन्य राहत सामग्री किनेर टोली रामेछाप लग्यो । केही नगद त केही उधारो गरी राहत सामग्री झापामा जम्मा त भयो । रामेछापसम्म पुर्याउन गाडीभाडा पनि उधारोमै मिल्यो १८ हजार । यूएईबाट तिलकले रिन लागे पनि राहत चाहिँ वितरण गर्न उक्साइरहे । जसोतसो राहत पीडितहरुसमक्ष बाँडियो । राहत सम्पन्न भए पनि रिन तिर्न बाँकी रहेको निरजले बताएका छन् ।
झापाको विर्तामोड, शनिश्चरे एरियाबाट समेत संकलित रकम रामेछापको भुजी गाविससम्म पुर्याउँदा गाडीभाडा १८ हजार र चामलको २० हजार रुपैयाँ तिर्न बाँकी रहेको निरजले बताएका छन् । राहत स्वरुप १ लाख ५० हजार रुपैयाँ जम्मा भए पनि वितरण गर्दा १ लाख ९० हजार खर्च भएको निरजले बताए । निरजका अनुसार करिब ४० हजार रिन लागेको छ । त्यो रकम कसरी तिर्ने अन्योलमा रहेका निरजले भने, ‘राहत बाँड्दा रिन लागे पनि आत्तिएका छैनौं ।’
यूएईबाट तिलक भन्छन्, ‘सहयोगी मनहरुको साथ पाइएका कारण राहत बाँड्दा रिन लागे पनि हाम्रो अभियान जारी छ ।’

tilak gajurel

तिलक गजुरेल

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री