बुधबार, असोज १४ २०७७ | Wed, September 30, 2020
नेपालको समय: ०७:३६ | UK Time: 02:51

सामाजिक न्यायको खोजीमा टंक वनेम

वीनेपाली
२०७२ जेठ २६ गते ९:४३
पुस्तक समीक्षा

पुस्तक समीक्षा

सपनामा सुनेर सम्झिएका (श्रुति) मन्त्रहरुको मनस्थितिमाझ लिम्बु समाजमा हुर्किएका कथाकार टंक वनेमले समाजका उत्पीडित र पीडकबीचको द्वन्द्वबारे अध्ययन गर्दै तयार पारेका कथाहरु संगालेर “श्लेष्मान्तकको साम्माङ्” कृति पस्किएका छन् । यस कृतिले पाठकलाई ‘करवीर मसान’ का मिथकदेखि ‘माउसको तीरले सोज्याएर क्लिक गर्ने वित्तिकै मनिटरको पर्दामा देखिएका अक्षरहरु’ सम्म रोमाञ्चक र मनोरञ्जनात्मक पाराले सयर गराउँदछ ।

बेलायती सेनामा उनले बोक्ने गरेको संगीनको टुप्पो साम्राज्य सागुँरिदै जाँदा जतिजति ठुट्टिएको छ त्यत्ति–त्यत्ति वनेमको कलम तिखारिँदै गएको पाइन्छ । कथाहरुको माध्यमबाट उनले लिम्बु समाजमा प्रचलित नेपाली शब्दहरुलाई झर्रोपाराले पस्किएका भावबाट सरलता झल्काउनुका साथै उच्च विचार प्रज्वलित गरेका छन् । उनले आफू हुर्के–बढेको नेपाली समाजको सामाजिक, न्यायप्रणाली र आर्थिक सञ्जालका विषयमा कथाको विम्ब कोरेर उजागर गरेका छन् । उता, कर्म थलो बनाएको बेलायतको जनजीवनलाई अपराधी भावनाकी महिला पात्रको स्वभावदेखि सज्जन पुरुषको ममताबाट अनुग्रहित बालमनोबिज्ञानसम्म ‘चेरीको रुख’ को प्रतिविम्ब कोरेर छर्लङ्ग पारेका छन् । उनको प्रस्तुति शैली यतिसम्म गहिरिएको छ कि पूर्वीय ज्योतिष शाष्त्रमा बताइने ‘राक्षस गण’ र ‘देव गण’ को मानवीय स्वाभावलाई बेलायती समाजको महिला र पुरुष पात्र खडा गरेर दर्शाउन सक्ने उनको अध्ययन र प्रस्तुति कलाले समाजका हरेक पक्षमा तुलनाल्मक विस्लेषण गर्ने उनको क्षमतालाई खुलस्त पारेको छ । नेपालको समाजका विषयलाई कथावस्तु बनाइएका परिस्थितिमा महिलालाई उत्पीडित वर्गका रुपमा दर्शाइएको प्रस्तुतिका तुलनामा बेलायती समाजका महिलालाई त्यो दया देखाउन यी कथाकार अगाडि सरेको पाइँदैन ।

GBelbase

बेल्वासे

Tanka 3

वनेम

मेरो नजरमा “श्लेष्मान्तकको साम्माङ्” भित्र समेटिएका कथाहरु मध्ये सवैभन्दा बढि मनोरञ्जनात्मक शैली झल्कने कथा ‘सुन्तले बारीको झुसिलकीरो’ हो । तर, यस भित्र दर्साइएको घट्नाक्रम र परिस्थितिबाट कथाकारले आफ्नो बालककालमा देखे–भोगेको नेपाली समाजको आर्थिक, नैतिक, सामाजिक वस्तुस्थिति र न्यायप्रणालीलाई ऐनामा आफ्नै अनुहार हेरेजस्तै गरी छर्लङ्ग पारेका छन् । उनले अन्य कथाका विषय–बस्तुहरुमा चयन गरेका समयचक्रको परिस्थिति भन्दा फरक उक्त कथाको समयचक्रका रुपमा यथार्थ घटनाक्रमलाई नै उजागर गरेको भान हुन्छ । यो कथा माओबादी विद्रोहले नेपालमा सशस्त्र संघर्ष चर्काउनु अघिको परिस्थितिका रुपमा झल्कन्छ, जबकी शब्दबाट केही नबोली भावबाट कथाकारले कालखण्डलाई ब्यक्त गरेका छन् ।

गाउँघरका बुढापाकाहरुको न्याय प्रदान गर्ने कला, शैली र परम्परालाई कथाकार वनेमले समर्थन गरेको पाइन्छ । सामाजिक न्यायको डोरीलाई धुत्र्याइ गर्न जान्ने पाकी महिलाहरुलाई पात्र बनाएर समेत तत्कालीन समाजलाई प्रगतिको पथमा डोरयाएको जस उनले नेपाली समाजका अग्रज र पुर्वजलाई दिनखोजेका छन् । उनका पात्रहरुमा सकारात्मक सोचले प्रशय पाएको छ र नकारात्मक सोचहरुलाई निरुत्साहित 
गर्दै तत्कालीन समाजका पात्रहरुमा ज्ञानको परिधिलाई पनि यथार्थ मुल्याङ्कन गरेको पाइन्छ । ज्ञानको परिधि भित्र रुमल्लिएर अध्यात्मबाद, अन्धविस्वास र तन्त्रमन्त्रले जकडेको समाज छर्लङ्ग देख्ने टंकले पात्रहरुमा शिक्षा, ज्ञान र प्रगतिको सम्भावनालाई प्रवल बनाउँदै विषयवस्तुलाई कलात्मक ढङ्गले अगाडि बढाउँदै लगेको पाइन्छ ।

कथाकारले कथाहरुको परिवेसमा नेपालदेखि बेलायत लगायतका देश–विदेश घुमाएर अन्त्यमा रुकुम, रोल्पा र बर्दियाको पस्चिम भेकमा पु¥याएर टुङ्ग्याएका छन्, जबकि अधिकांश कथाबस्तुमा नेपालको लिम्बु क्षेत्रको चलनचल्ती तथा परिवेशका रङहरु पोतिएका छन् । यौन संबन्धी शब्दहरु निकै नापतौल गरेर उच्छृङ्खलताको आरोप नलाग्ने गरी पस्किइएका छन् । कथाकारले परिस्थिति र बाध्यताहरुको यथार्थ ब्याख्या गर्नमा कुनै कञ्जुसाइ गरेको पाइँदैन ।  मौलिक रुपमा लेखिएका कथाहरुको स्तर उच्च भेटिन्छ भने श्रुतानुश्रुत कथाहरु विवरणात्मक र यथार्थपरक हुँदाहुँदै पनि मीठास अझै धेरै थपिएको भए हुन्थ्यो भन्ने भान पनि पाठकलाई हुनेसम्भावना देखिन्छ ।

एक अन्धो भान्छेको अनुभवलाई कल्पना गरेर शब्दमा उतारिएको सन्धर्वबाट पुस्तकको सुरुवात गरेर एक्काइस वटा कथाहरुको शिलशिला मिलाउने कथाकारको धुन समाजमा धेरैले महसुस गर्न नपाएका विषयलाई उजागर गर्ने सोचबाट अभिप्रेरित भएको आभास हुन्छ । अन्धो मान्छेको अनुभव अभिब्यक्त गर्दै कथाकार भन्छन् “मेरो ढिपी सुनेर मम्मीको आग्रहको ब्रेक लाग्दैनथ्यो” – यसबाट आमाको ममता र नारी स्वभावका विषयमा वनेम खुलस्त भएको पाइन्छ जहाँ ममता, दया र सन्तानको भलाइमा नै आमाको चिन्तन केन्द्रित हुने यथार्थ दर्शाइएको छ । समाजमा महिला र पुरुषको भूमिकालाई तुलनात्मक अध्ययन गर्न नचुकेका टंकले “ड्याडी ईश्वरको भक्तिप्रति साह्रै ढिपी गर्ने खालका मान्छे थिएनन्” भन्दै अध्यात्मबादमा समेत महिला र पुरुषबीचको फरक स्वभाव उजागर गर्न सफल छन् उनी । समग्रमा चेतना विकासको अवसर पुरुषलाई बढी भएका कारण पनि महिला भन्दा पुरुषले विश्वासको जग बसाल्न आधार खोज्ने बानी बसालेको यथार्थ पनि खुलस्त पारेका छन् ।

उनले अर्को कथामा मातृत्वको अर्को पाटो खोज्दै भनेका छन् –“माया र प्रतिशोध सँगसँगै हुर्केर झ्यागिँदो रहेछ ।” समाजमा विद्यमान विकृति र असंगति विनाको समाजको चाहनामा कथाकारले विद्रोहको भाव बोकेको झल्को पनि कथाहरुमा अभिब्यक्त भएका छन् । नेपालमा चलेको माओबादी सशस्त्र विद्रोहले त्यसमार्गमा उपलब्धि दिने भाव पनि उनको कलमबाट लुक्न सकेको छैन् । तर लेखन शैलीमा भने माओबादको समर्थन गरेको आरोप लाग्छ कि ! भनेर शब्दलाई निकै जोड घटाउ गरेको पनि पाइन्छ ।
उनले सुनेका यथार्थ विवरणलाई कथाको रुपमा उतार्दा मीठास थप्न अरु प्रयास गर्ने ठाउँहरु रहेको भने भेटिन्छन् । युद्धका दौरानमा विरामी परेर जङ्गलमा सात बर्ष विताएको यथार्थ घटनालाई कथाका रुपमा वर्णन गर्दा त्यसमा सौन्दर्यशाष्त्रको जलप दल्न सके ज्ञानबर्धक हुनका साथै मनोरञ्जनको खुराक पनि बन्न सक्ने सन्धर्वलाई भने कथाकारले दह्रोसंग समेट्ने प्रयास गरेका छन् । लेखन अघि सार्ने प्रयास र कलम तिखार्ने क्रम निरन्तर जारी रहने बिषय भएकाले पनि कथालाई मनोरञ्जनात्मक पार्न कथाकारको प्रयास जारी रहने अनुमान गर्न सकिन्छ ।

समाजमा सूचना र मनोरञ्जनका स्रोत तथा माध्यमहरु थपिँदै जाने क्रममा पुस्तकका माध्यमबाट सकारात्मक सन्देश छर्ने मुल प्रयासलाई साकार पार्न मनोरञ्जनात्मक शैली विकास गर्न दवाव रहेको सन्धर्वलाई टंक वनेमले मनन गर्न आवस्यक रहेको पनि प्रस्तुति शैलीका आधारमा सुझाव गर्ने ठाउँहरु यदाकदा भेटिन्छन् ।

कथाकार लिम्बु सस्कृति र संस्कारका ज्ञाता पनि भएका कारण लिम्बु सब्दहरुको प्रयोग कथाहरमा छताछुल्ल भएको पाइन्छ । “मृतकहरुको इपुङदेन बनाउँदा पनि स्त्री भए तीन तले र पुरुष भए चार तलाको चिहान बनाइन्छ ” भन्दै सस्कृति र संस्कारमा पनि पुरुष र महिला बीच ठूलो विभेद रहेको असन्तुष्टि वनेमले दृढ भएर अभिब्यक्त गरेका छन् । साथसाथै उनी मानव अस्तित्वको संरक्षणका लागि निकै मार्मिक विषयमा भन्छन् – “संरक्षण गर्नु भनेको प्रकृतिको सम्मान र जैविक विविधताको जगेना गर्नु हो ।”

माओवादीको छापामार युद्धशैलीबाट गाउँले जीवन शैली र जङ्गलमा सिकार खेल्ने प्रचलनमा परेको प्रभावलाई पनि वनेमले कथाको विषय वस्तु बनाएका छन् । युद्धको विषयलाई परिस्थितिको ब्याख्याका रुपमा प्रस्तुत गरे पनि संरक्षण गर्नु पर्ने जनावरहरु मार्ने सिकार प्रचलनका विरुद्धमा देखिएका छन् टंक वनेम । सिकार खेलन जाँदा गाउँलेको वियोगान्त कथा त्यसको ज्वलन्त उदाहरण हो । भवितब्य घटनाका कारण गाउँलेले दुःख पाउने सम्भावना रहेको अवस्थामा गाउँलेहरु एकजुट भएर कानूनी प्रकृयाको औपचारिक पदचाप भन्दा सामाजिक न्यायलाई प्रश्रय दिन कथाकार कटिवद्ध देखिएका छन् ।

पेट खाली हुँदाको भोक टार्न आइपर्ने मानिसको बाध्यतालाई कथाकारले यौन भोकसंग पनि तुलना गरेका छन् । सामाजिक नियम र संस्कृतिका बन्धनका कारण यौन इच्छालाई सहज पुर्ति गर्न नपाएर प्रकृतिको नियम विरुद्ध जान बाध्य भएकी पात्र ‘भोगीमाया’को पीडा उजागर गर्दै काथाकारले यस्ता परिस्थितिमा सहज समाधानको विकल्प खोज्ने चुनौती समाजका अगुवाहरु सामु थोपरेका छन् । यो चुनौतीलाई कथाकार वनेमले ब्यक्त गर्दै भन्छन् – “चाल्नीमा राखिएको एउटा गतिलो माछाले ज्याइँको रुपधारण गरेको रहेछ ।”
टंक वनेमले “आफूमा भएको शक्तिलाई मानव कल्याणको लागि प्रयोग गर्न सकिएन भने त्यो शक्तिको दुरुपयोग मानिनेछ” भन्दै कर्तब्यप्रति पाठकलाई सजग गराएका छन् । तुलनात्मक अध्ययन गर्ने आदातबाट भाग्न नसकेर सहरी र ग्रामिण जीवन बीचको विभेद र फाइदा बेफाइदा केलाउँदै वातावरण संरक्षणमा सहरियाहरु अल्छी भएको दोष दिन्छन् उनी । शहरको प्रदुषणबाट ग्रामिण जीवन पनि प्रभावित हुनेहुँदा शहरियाहरु जिम्मेवार रहेको चेतना बाड्ने जमर्को गर्नमा पनि उनी पछि परेका छैनन् । तर, उनी निराशावादी छैनन् र त भन्छन्– “जान्यो भने सहर सुखको करेसाबारी हो र जानेन भने दुःखको परदेश हो ।”

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक