भुकम्प पीडितको सहयोगार्थ युएईमा हुने साँस्कृतिक कार्यक्रममा राजेश हमाल

 

cover final (1)

युएई । यूएईको राजधानी अबुधाबीमा भूकम्प पीडित नेपालीहरुको सहयोगार्थ एक सांगीतिक कार्यक्रम हुने भएको छ ।

आगामी जुन १२ तारिख अबुधाबीको अल नादा स्कुलको अडिटोरियममा आयोजना हुने उक्त सांगीतिक कार्यक्रम भव्य, सभ्य र ऐतिहासिक बनाउन एनआरएनका अध्यक्ष कृष्ण भुसालको संयोजकत्वमा रहेको राहत तथा उद्धार समिति सक्रिय भएको छ ।

महानायक राजेश हमालको नेतृत्वमा, हाँस्यकलाकार दीपकराज गिरी, गायक तिलकबम मल्ल, इन्द्र जीसी, सम्झना लामिछाने कलाकारहरुको साथमा राजेश हमालकी नवविवाहिता पत्नी मधु भट्टराई पनि रहने छिन् । सोही कार्यक्रमका लागि अस्ट्रेलियाबाट पपगायिका प्रजिता गेलाल र कुवेतबाट बीबी मल्ल ठकुरी पनि आउने निश्चित भएको छ । नेपाली चलचित्र, नेपाली आधुनिक  तथा लोक साथै पपसंगीतका हस्ती कलाकारहरुको जोडदार प्रस्तुति रहने कार्यक्रममा टिकटमार्फत् जम्मा भएको सम्पूर्ण रकम प्रधानमन्त्री राहत कोषमा जम्मा हुने आयोेजकहरुले बताएका छन् ।

महाविपत्तिमा धेरैले सहयोगी हात अघि बढाइरहेको बेला कलाकारहरुले पनि कुनै पारिश्रमिक नलिई यस सांगीतिक अभियानलाई पूर्णरुपमा च्यारिटीमय बनाउने प्रयास भइरहेको अन्तर्राष्ट्रिय कलाकार समाज, यूएईका अध्यक्ष मोहराज शर्मा ‘मोहन’ले बताएका छन् । त्यसरी नै च्यारिटीको लागि भनेर अल नादा स्कुलले हलभाडा पनि निःशुल्क गरिदिएको छ ।

अलएनस्थित अन्नपूर्ण ट्राभल्सले सबै कलाकारहरुको भिसा पनि निःशुल्क उपलब्ध गराउने आयोजकहरुले बताएका कारण कार्यक्रमबाट उल्लेख्य रकम प्रधानमन्त्री राहत कोषमा जम्मा हुने आयोजकहरुको विश्वास छ ।

कार्यक्रमको सफलताको लागि यूएईमा क्रियाशील सबै नेपाली संस्था एक हुने बेला आएको बताएको नेपाल मगर संघ यूएईका अध्यक्ष भरत राना मगरले बताएका छन् ।  यो कुनै एक व्यक्ति या एक संस्थाको आयोजनामा नभई सबैको कार्यक्रम भएको प्रतिक्रिया दिँदै नेपाली जनसम्पर्क समितिका कृष्ण गौतमले भनेका छन्, ‘पीडित नेपालीहरुलाई सहयोग गर्ने उत्तम अवसर यूएईबासी नेपालीसमक्ष आएको छ ।’

भूकम्पको पीडामा संगीतको मलम लगाई सेवा गर्ने बेला आएको बाग्लुङ सेवा समाजका वरिष्ठ उपाध्यक्ष तारा मल्लले बताएका छन् । यूएईका सबै क्रियाशील संस्थाहरुको विपत्तिका बेला एकजुट हुने बेला भएको बताउँदै  एक जना आयोजकले भने, यहाँका क्रियाशील संस्थाहरुको परीक्षा नै यही कार्यक्रम हो । यो कुनै व्यापारिक फाइदाको लागि नभई विशुद्ध सामाजिक कार्यक्रम भएकोले सबैले सहकार्य गर्नु जरुरी छ ।’

आयोजक समितिले कार्यक्रमको सफलताको लागि यूएईमा रहेका सबै सक्रिय नेपाली संघसंस्थाहरुसँग सहकार्यका लागि अपिल गरेको छ । स्थानीय मञ्चमा जमिरहेका जे सागर र दीपिका ज्ञवालीले कार्यक्रममा रोचक तरिकाले उद्घोषण गर्ने बताइएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री