शनिबार, मंसिर १३ २०७७ | Sat, November 28, 2020
नेपालको समय: १६:५३ | UK Time: 11:08

भरतको दोहोरो जिम्मेवारी

वीनेपाली
२०७२ वैशाख ६ गते २०:५७

काठमाडौँ। करिब चार वर्षअघि इस्ट टिमोरलाई हराएर नेपालले पहिलोपटक विश्वकप फुटबलको एसियाली छनोटको दोस्रो चरण पार गरेको थियो। पहिलो चरण पार गरेर दोस्रो चरणको ‘अवे खेल’ खेल्न जोर्डन गएको नेपाली टोली घरेलु टोलीसँग ९–० गोल खाएर घर फर्कियो। नमिठो हार भोगेको नेपाली टोलीको सर्वत्र निन्दामात्र भएन स्वयम् खेलाडी र पदाधिकारीसमेत हतोत्साहित देखिन्थे त्यतिबेला। तर नेपाली खेलाडीसँग जोर्डनलाई बदला लिने समय भने बाँकी थियो। नभन्दै नेपालले २०११ जुलाई २८ का दिन गृह मैदानमा बदला लिने क्रममा पहिलो हाफमा एक गोलले पछि परेको स्थितिलाई उल्टाउँदै दोस्रो हाफमा सानदार गोल फर्कायो। सन्तोष साहुखलको चलाखीपूर्ण पासमा भरत खवासले सुन्दर गोल गरेका थिए।

Bharat-Khawas

खेल अन्ततः १–१ को बराबरीमा टुङ्गियो। त्यो खेलमा नेपालले नमिठो हारको बदला लिएपछि पूरा दशरथ रङ्गशालाका खेल हेरेर बसेका नेपाली दशक खुसीले धेरै बेर मग्न भए। यसअघि ९ गोल खाएर निराश भएर घर फर्किएको नेपालले बलियो जोर्डनसँग कम गोलमात्र खान चाहन्थ्यो। त्यसैले, भरतले फर्काएको गोल आम अपेक्षा विपरीत थियो र सोही गोलले उनलाई फुटबलप्रेमीका सामु ‘हिरो’ बनायो। त्यहाँबाट उनी राष्ट्रिय टोलीको भरोसायोग्य नियमित सदस्य बने।

सन् २००८ मा पाकिस्तानविरुद्धको खेलमा राष्ट्रिय टोलीमा ‘डेब्यू’ गरेका भरतले सन् २०१३ मा घरमै भएको नर्दन मारियाना आइसल्यान्डसँगको खेलमा ह्याट्रिक गरेका थिए। साफ च्याम्पियनसिपअन्तर्गत सन् २०११ मा नयाँ दिल्लीमा भएको खेलमा भरतले गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए भने सन् २०१३ मा काठमाडौँमै भएको साफमा बङ्गलादेशविरुद्ध पनि उनले उत्कृष्ट गोल गरेका थिए। भरतको नाममा अहिले अन्तर्राष्ट्रिय गोलको सङ्ख्या आठ गोल पुगेको छ।

नेपाली फुटबल टोलीका सङ्कटमोचक भरतलाई अब थप अर्को महत्वपूर्ण जिम्मेवारी थपिएसँगै उनले नयाँ परिचय पाएका छन्। विसं २०६९ चैत ९ गतेदेखि नेपाली सेनाको सहायक सेनानीमा प्रवेश गरेका भरतले प्रशिक्षण अवधि सफल भएपछि गत आइतबारदेखि सो पद सम्हालेका छन्। उनलाई नेपाली सेनाकै सिपाही रहेका सहोदर दाजु र भाउजूले भक्तपुरको खरिपाटीमा आयोजित विशेष कार्यक्रममा शुभसाइतको दही खुवाएर सहायक सेनानीको फूली (दर्ज्यानी चिह्न) लगाइदिए। भरतले आफ्नो ‘पासिङ आउट’ मा मोरङमा रहेका मातापितालाई पनि असाध्यै सम्झिए जो कारणवश छोराको सफलताको प्रत्यक्षदर्शी हुन पाएनन्।

“सुखीको क्षणमा बुबाआमा आउनुभएको भए सुनमा सुगन्ध हुन्थ्यो, तर पनि दाजुभाउजूले त्यो रिक्तता पूर्ति गरिदिनुभयो, त्यसमै सन्तुष्ट छु” भरतले भने। प्रधानमन्त्री र प्रधानसेनापतिको उपस्थितिमा पदको जिम्मेवारी सम्हालेका भरतका लागि त्यो जीवनकै अविष्मरणीय क्षण हो। दाजु सेनामा भएको प्रभावले पनि होला भरतको सानैदेखिको सपना सेनामै जागिरे भएर देशको सेवा गर्नु थियो। त्यो सपना साकार भएकोतिर सङ्केत गर्दै भरतले भने – “विशेषतः मलाई अवसर दिएकामा नेपाली सेनालाई धन्यवाद दिन चाहन्छु।”

फुटबलको रमाइलो वातावरणमै हुर्किएका एन्फा एकेडेमी (अखिल नेपाल फुटबल सङ्घको फुटबल एकेडेमी) का उत्पादन भरतलाई सुरु–सुरुमा तालिमका क्रममा त्यहाँको फौजी जनजीवनमा घुलमिल हुन असहज नभएको भने हैन। भनेका बेला घर जाने बिदा नमिल्दा कहिलेकाहीँ उनलाई छटपटी पनि भएको थियो। तर सबैबाट राष्ट्रिय खेलाडीका रुपमा गर्ने पाउने सम्मान र मायाले ती सबै असजिला उनले बिर्सिए। “पहिले नै राष्ट्रिय खेलाडी हो भनेर चिनिएकाले तालिमका क्रममा सहकर्मी र वरिष्ठहरूबाट मैले जुन सम्मान, माया र सहयोग पाएँ त्यसले मेरा फौजी अप्ठ्यारा सबै भुलाइदियो।”

हरैँचा, मोरङका स्थायी बासिन्दा २४ वर्षीय भरतले राजधानीमा ‘करियर’ बनाउने क्रममा सङ्कटा क्लबको युवा टोलीमा २०६३ सालमा प्रवेश पाएका थिए र उनले ए डिभिजन लिगमा फ्रेन्डस्बाट खेले। तर २०६७ सालमा नेपाल पुलिस क्लबबाट खेलेपछि भने उनी भरत खवासका रुपमा स्थापित भए। नेपाल प्रहरीमा स्थायी रुपमा भर्ना हुने उद्देश्यले प्रहरी सहायक निरीक्षकको परीक्षा दिएका भरत सफल हुन भने सकेनन्।

“त्यतिबेला ए डिभिजन लिग भइरहेको थियो, यसकारण राम्ररी पढ्न पाइनँ, सायद भगवान्ले पनि मलाई सेनामा नै देख्न चाहनुभएकाले होला यसैमा समय मिल्यो र सफल भएँ” – भरत सेना हुन पाएकामा गर्व गर्दै भन्छन्। हाल नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका मुख्य खेलाडीको हैसियतले स्वाभाविक प्रदर्शन गरिरहेका भरतको करिब दुई वर्षे तालिमको अवधिमा भने खेल खस्किएको थियो। राष्ट्रिय टोलीबाट खेल्दा सधैँ खरो उत्रने भरत तालिम अवधिमा खेलमा असर परेको स्वीकार्दै भन्छन् – “एउटा खेलाडीले बलसँग नियमित रुपमा खेल्न नपाउँदा लय गुम्छ, अब तालिम सकेर फूली नै लगाएपछि क्लब र देश दुवैलाई योगदान दिनेछु।”

प्रहरी र सेनाका दुवै विभागीय टोलीबाट खेलेको अनुभव सङ्गालेका भरत सिभिल क्लब र विभागीय क्लबमा आकाश जमिनको फरक रहेको बताउँछन्। उनको अनुभवमा सिभिल क्लबमा हारजितलाई सहज रुपमा लिइन्छ तर विभागीय क्लबमा प्रतिष्ठाको लडाइँ हुने भएकाले बढी दबाब हुन्छ। “सङ्गठनमा तलदेखि माथिसम्म एकता र ‘टिम स्पिरिट’को भावना हुन्छ, त्यसैले हारजितले सबैलाई बराबर खुसी र पीडा दिन्छ, जुन सिभिल क्लबमा कमै देख्न पाइन्छ” – भरतले आफ्नै अनुभव सुनाउँदै भने।

सेनाको सदस्य भएपछि आफ्ना काँधमा राष्ट्रका दुई महत्वपूर्ण जिम्मेवारी रहेको महसुस उनले गरेका छन्। पहिले राष्ट्रिय खेलाडीको हैसियतले देशलाई जित दिलाउने गोलबारे सोच्ने भरतले अहिले देश बचाउने जिम्मेवारी पनि थपिएको महसुस गरेका छन्। सेनाकै मिलिटरी एकेडेमीबाट मानविकीमा स्नातक गरेका भरतले तालिममा घोडा सवार, हातहतियारसम्बन्धी ज्ञानलगायतका थुप्रै नयाँ ज्ञान लिएको बताउँदै भने – “यसमध्ये पनि राष्ट्रियताको भावना जगाएर काँडा नै उमार्ने तालिम सबभन्दा महत्वपूर्ण लाग्यो।”

भरतले सेनामा भर्ना हुनुअघिदेखि नै राष्ट्रिय खेलाडीको हैसियतले देशको प्रतिनिधित्व गरिसकेकाले राष्ट्रियताको भावनालाई अनुभूत गरिसकेका छन्। यसबारेको अनुभव बाँड्दै भरत भन्छन् “खेलअघि राष्ट्र गान बज्दा कहिले मैदानमा गएर देशका लागि खेलौँजस्तो भएर रगत तातेर आउँछ, सामुन्ने देशको झन्डा फहराइरहेको देख्दा त झनै गर्वको महसुस हुन्छ।”

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक