शुक्रबार, कार्तिक ७ २०७७ | Fri, October 23, 2020
नेपालको समय: १७:२१ | UK Time: 12:36

एउटी बुहारीको दैनिकी

वीनेपाली
२०७१ माघ २३ गते २२:४०

lila bhatarai

०५४ मा विवाह गरेर चूडामणि भट्टराईको घर भित्रिएपछि सुलुबुङ- २ की ३६ वर्षीया लीला भट्टराईको जीवन दिनहुँ एउटा चक्रमा घुमिरहेको छ ।

सधैँ बिहान ४ बजे उठ्ने लीला पहिला घर बढार्छिन् । त्यसपछि गाग्री-लोटा माझ्छिन् अनि गाग्री बोकेर धारामा जान्छिन् । पालैपालो तीन गाग्री पानी ओसार्छिन् । यति गरिसक्दा पाँच बजेको हुन्छ । नानीहरू नब्युँझिँदै हतारहतार चिया बनाएर सासू, ससुरा र श्रीमान्लाई खुवाउँछिन् । नानीहरूका लागि चिउरा केलाउँदै आफू पनि पिँढीमा बसेर चिया पिउँछिन् । चिया पिइसक्दा-नसक्दै नानीहरूको खाजा तयार हुन्छ । चिया खाएको भाँडा सफा गरिसक्दा बिहानको ६ बजेको हुन्छ । ६ बजे सधैँजसो नानीहरू उठ्छन् । उनीहरूलाई दिसापिसाब गराएर खाजा खुवाउँछिन् । यति गरिसक्दा उनलाई बारीमा फलेको तरकारी टिप्न जान हतार भइसकेको हुन्छ । तरकारी टिप्दाटिप्दै लीलाको मनमा हलचल सुरु हुन्छ । समयमै सासू-ससुरालाई खुवाउन सकिएन भने आफूले खप्की खानुपर्छ । उनी अँगेनोमा दाल बसाएर नानीहरूलाई गृहकार्य गराउँदै तरकारी केलाउँछिन् । दाल उम्लिएपछि त्यही अँगेनोमा भात बसाउँछिन् र अर्कोमा तरकारी ओइरिन्छन् । खाना तयार हुँदा बिहानको करिब ८ बजेको हुन्छ । खाना तयार गर्दा-नगर्दै उनले नजिकैको गोठमा श्रीमान्लाई सहयोग गर्न पुग्नुपर्छ । उनी भन्छिन्, ‘भ्याएसम्म गोठमा उहाँलाई एक्लै पार्दिनँ ।’ सात माउ गाई पालेकी भट्टराईले भकारा सोर्ने, खोले पकाएर दिने काममा श्रीमान्लाई सहयोग गर्छिन् । नौ बजे घरमा आएर नानीलाई खाना खुवाउँछिन् । विद्यालय पोसाक लगाएर उनीहरूलाई स्कुल पठाउँछिन् । सासू, ससुरा र श्रीमान्लाई खाना दिँदा बिहानको १० बजेको हुन्छ । साढे १० बजेतिर उनको खाना खाने पालो आउँछ । खाना खाइसकेपछि धन्दा गर्न थाल्छिन् लीला । धन्दा सकेर भान्सा सफा गर्दा बिहानको साढे ११ बजिसकेको हुन्छ । सानो नानी नुहाउने, सासू, ससुरा, श्रीमान् र नानीहरूका कपडा धुने काम गर्छिन् करिब दुई घन्टासम्म । यति गर्दा दिउँसोको करिब साढे १२ बजे हुन्छ ।
भट्टराई परिवारले २० रोपनी जग्गामा चियाखेती गरेका छन् । चियाबारीमा खेताला लगाउनुपर्छ । लीला भन्छिन्, ‘दिउँसो १ बजे खेतालालाई चिया पुर्‍याउन जान्छु, फर्कंदा गाईलाई घाँस लिएर आउँछु ।’ यति गर्दा झन्डै दिउँसोको तीन बजेको हुन्छ । सानो नानीको हेरचाह गरेर सासूससुरालाई खाजा खुवाएपछि फेरि एकपटक गोठमा पुग्नुपर्छ । गाईलाई खोले, गोठको सरसफाइमा श्रीमान्लाई सघाउँदासघाउँदै बेलुकीको पाँच बज्छ । पाँच बजेपछि फेरि भातभान्सामा लाग्नुपर्छ । अँगेनामा आगो बालेर दालभात बसाउँछिन् । गाग्री च्यापेर पानी भरेपछि ढुक्क हुन्छ- आजलाई पानी ओसार्ने काम सकियो । नानीहरू स्कुलबाट फर्कन्छन् । फकाइफुल्याई गर्‍यो । साढे ६ बजेसम्ममा बेलुकाको खाना तयार हुन्छ । नानीहरूलाई खुवाउँदा सात बज्छ । सासू, ससुरा र श्रीमान्लाई खान दियो, नानीहरूका जुठाभाँडा सफा गरिसक्दा खाना चिसो होला भन्ने डर हुन्छ । हतारहतार खायो, यति गर्दा रातको साढे ८ बज्छ । त्यसपछि भान्साको सरसफाइ र जुठाभाँडा सफा गरिसक्दा बेलुकाको साढे ९ बजिसक्छ । अनि सासूससुराको ओछ्यान मिले-नमिलेको हेर्नुपर्छ । उनीहरूलाई रातिका लागि तातोपानीको बन्दोबस्त गरिदिनुपर्छ । पूजाआजाका लागि पात गाँस्ने, बाती कात्ने काम नभएका दिन १० बजेतिर उनी सुत्ने तरखर गर्छिन् । किनकि बिहान चार बजे नउठी हुन्न । इलामका ग्रामीण क्षेत्रका सबैजसो बुहारीको दैनिकी हो यो । बुहारीहरू बिहान चार बजेदेखि बेलुका १० बजेसम्म काममा व्यस्त हुन्छन् ।

आर्थिक रूपमा परिवारलाई समृद्ध बनाउन, छोराछोरीलाई राम्रो पढाउन दैनिक १८ घन्टा काम गर्छन् । तर, उनीहरूसँग घरखर्च गर्ने पैसा हुँदैन । लीला भन्छिन्, ‘पैसा कि श्रीमान्सँग कि सासूससुरासँग माग्नुपर्छ ।’ माइत जान मन लागेको बेला, छोराछेरीलाई केही किनिदिऊँ भन्ने लाग्दा दुई सय रुपैयाँको कुखुराको चल्ला बेच्नुपर्‍यो भने पनि बुहारीले आफैँ निर्णय गर्न सक्दैनन् । ‘बुहारीको कामको मूल्याङ्कन कहिल्यै हुँदैन,’ महिला कल्याण समाज इलामकी अध्यक्ष पुष्पा खाकी भन्छिन्, ‘बुहारीको श्रमको मूल्याङ्कन नभएसम्म महिलाको आर्थिक हैसियत कहिल्यै उक्सिँदैन । महिलाको अवस्थामा सुधार ल्याउन आफ्नै बुहारीले १८ घन्टा गरेको श्रमको मूल्याङ्कन गरेर त्यसलाई आर्थिक मान्यता दिनुपर्छ ।’

पहाडी भेगका लाखौँ बुहारीको दिन घरको काम, सासूससुराको हेरचाह, नानीहरूको रेखदेख, चुलोचौको, घाँसदाउरा र मेलापातमा बित्ने भए तापनि त्यसको आर्थिक मूल्याङ्कन हुँदैन । अधिवक्ता शर्मिला कट्टेल भन्छिन्, ‘बुहारीहरूले गरेको कामको घन्टैपिच्छेको मूल्याङ्कन गरिनुपर्छ । यति गर्न सके महिलाको आर्थिक, सामाजिक र राजनीतिक रूपमा समेत विकास हुन्छ ।’ महिला जागरण सङ्घ इलामकी अध्यक्ष विष्णु दाहाल भन्छिन्, ‘म ७१ वर्षकी भएँ, महिला अधिकारको क्षेत्रमा काम गर्छु । मेरै घरमा छोराहरूले बुबाले आर्जेको सम्पत्तिमा आमाको पनि योगदान थियो होला भन्दैनन् । बुहारीहरूले १८ घन्टा काम गर्छन् । तर, दिनमा आठ घन्टा काम गर्ने पुरुषले १८ घन्टा काम गर्ने महिलालाई सताउँछन् । महिलाको कामलाई पुरुषको तुलनामा दोब्बर मूल्याङ्कन गर्ने प्रणाली नभई महिला अघि आउनै सक्दैनन् ।’

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक