शुक्रबार, कार्तिक ७ २०७७ | Fri, October 23, 2020
नेपालको समय: १६:५१ | UK Time: 12:06

जनयुद्ध र जनअान्दोलनको उद्देश्य के थियो ?

वीनेपाली
२०७१ माघ ५ गते २२:३३

puspa thapa

नेपाल २०६२/०६३ देखि सङक्रमण कालबाट गुज्रिएको छ। करिब १० बर्ष लामो यो संक्रमण कालमा देशमा धेरै अराजकता बढेर गइरहेको छ । देशको भविष्य कुन दिशामा जाने हो भन्ने सबै देशभक्त र राष्ट्रप्रेमी नेपाली जनतालाई चिन्ताको बिषय बनेको छ। पंचायतकाल र प्रजातन्त्रको समयमा बनेका धेरै आधारभूत पूर्वाधारहरु भत्किंदैछन्। दिनप्रतिदिन नेपालबाट हजारौंको ताँतीमा नेपाली युवा जनशक्ति विदेशिंदैछ। देशको निर्माण गर्ने जनशक्ति देशले विदेश पठाउँदा नेपाल उनीहरुले पठाएको रेमिटेन्सको भरमा देशको ग्रश राजस्व चल्ने गरेको छ। कुनै दिन खाडी देशमा पनि आर्थिक मन्दी आयो भने नेपालका युवाहरुको वैदेशिक रोजगारीको गन्तब्य कहाँ हुने छ भन्ने आजसम्म हाम्रो सोचभन्दा बाहिर भएको अवस्था छ।

२/२ पटकसम्म पनि देशको मुल कानुन बनाउन भएको संबिधानसभाको निर्वाचनमा नेपाली जनताले तिरेको करको अर्बौ रुपैयाँ खर्च भैसक्दा पनि नेपाली जनताले संबिधान नपाउनु नेपाली जनतालाई यो संक्रमणकाल कति सम्म लम्बिने हो भन्ने थाहा छैन। समय समयमा भएको बन्द, हड्ताल र आन्दोलनले नेपालको अर्थतन्त्रमा ठूलो असर परिरहेको छ। भ्रष्टाचार, कालो बजारी,  तस्करी र बजारमाफिया तन्त्रबाट अराजकता र अस्थिरता बनाउँदै गुण्डागिरीले डनबादलाई जन्माएको छ।

सरकारी तन्त्रहरुमा राजनीतिक भागबण्डाबाट नियुक्ति हुने परम्पराले स्वच्छ,स्वतन्त्र र निस्पक्ष भन्ने कुरा अब कागतमा मात्र सिमित भएको छ। अदालत न्यायको मन्दिरमा सम्म राजनीतिक व्यक्तिको नियुक्ति गर्दा पार्टीको झन्डा बोक्ने व्यक्तिले मात्र नियुक्ति पाउने चलन बढेको छ। जसको सिधा असर देशको न्याय क्षेत्रमा परेको छ। देशको राष्ट्रिय सुरक्षा क्षेत्रमा इमान्दारिताभन्दा पनि राजनीतिक चलखेल र आर्थिक लेनदेन बढ्नाले अपराधी गतिविधिमा ह्रास आउनुको अलाबा बढोत्तरी भईरहेको विभिन्न सर्बेक्षणहरुले देखाएका छन्।सरकारको मेरुदन्ड मानिने सरकारी प्रशासनमा तल्लोस्तरदेखि नै राजनीतिक पार्टीहरुका युनियनहरुले गर्दा प्रशासन पूरा राजनीतिक भागबन्डा र पार्टीको सुनाइमा मात्र चल्ने भएकोले भ्रष्टाचार मौलाउदै रहेको प्रष्ट देखिन्छ। देशको सबभन्दा संवेदनशील निकाय नेपाली सेनामा पनि राजनीतिक हस्ताक्षेपमा परिरहेको समय समयमा सुन्नमा आउछ । स्वास्थ र शिक्षा क्षेत्रमा बढ्दो राजनीतिक प्रभावको कारणले सरकारी अस्पत्ताल निकै खस्किंदो अबस्थामा छ भने सरकारी सामुदायिक स्कुलहरुको अवस्था धेरै चिन्ताजनक भइसकेको छ।विश्वविद्यालयहरु राजनीतिक पार्टीहरुको राजनीतिक गर्ने थलोको रुपमा परिणत भइसकेका छन्।

नेपाली आम नागरिकसित सीधा दैनिक जीवनमा असर पर्ने अति आवश्यक दैनिक उपभोगका उपभोग्य सरसमानहरुको कारोबार गर्ने बजारमा सरकारको कुनै उपस्थिति नभएको देखिन्छ। बजार ब्यबस्थापन, अनुगमन,मूल्य निर्धारण,सेवा सुविधा र सरकारी करको सम्म कुनै ब्यबस्था नहुँदा कालोबजारी तस्करी र बजार माफिया तन्त्रको साथमा भ्रष्टचारीको धेरै विकास भएको छ। यातायात र समान ढुवानी क्षेत्रमा समेत युनियनको प्रभाव बढी भएकोले सरकारको उपस्थिति नगन्य छ। सवारी दुर्घटनाले हरेक नागरिक यात्रालाई मृत्युको मुखको संकेत गर्ने गर्दछन्। प्रत्येक वर्ष २२ सय भन्दा धेरै निर्दोष नेपालीहरुले आफ्नो गन्तब्यमा नपुग्दै सबारी दुर्घटनामा ज्यान गुमाउने र हजारौं निर्दोषहरु शारीरिक बेसाहारा बन्ने तथ्य हामी सबैलाई थाहै छ। सिन्डिकेटको अधारमा सवारी तथा समान ढुवानीको भाडा निर्धारण गरिएको छ। सरकारी राजश्व पनि छलकपट गरिने गरिन्छ। सरकारी राजश्व छल्ने त अहिले नेपालमा सबै ब्यापार बिजनेस र हरकोही पेशामा सर्वत्र छन्। सरकारलाई तिर्ने करलाई राजनीतिक पार्टी वा पार्टीका नेतालाई चन्दा दियो भने सम्बन्ध पनि राम्रो हुने अनि सरकारलाई कर पनि तिर्नु नपर्ने दुवै फाईदा हुने भएकोले यहिले यो धेरै चल्ती चलानमा भएको विभन्न पत्रपत्रिकामा पढन पाइन्छ।

देशमा अझै पनि ३३ प्रतिसत नेपालीहरु गरिबीको रेखाभन्दा तल आफ्नो जिविकोपार्जन गरिरहेका छन्। कर्णालीका जनतालाई खाने केही छैन भने बिरामी हुँदा एउटा टेब्लेट औषधी पाउनु छैन । पहाडका जनतालाई भोकमरीमा खाने अन्न छैन। औषधि त परै जाओस्। अस्पत्तालसम्म पुग्न त २/४ दिन नै लाग्छ। इलाज नपाएर बाटैमा बिरामी मर्ने अवस्था आउँछ। हिमालको काखमा बस्नेहरुको साथमा न खाने न ओड्ने न रातमा सुत्ने ठाउ नै छ। तराईमा बस्ने नेपालीहरुले हरेक साल हिउँदमा सितलहरमा परेर हजारौं निर्दोष नेपालीहरुले ज्यान गुमाउँछन्। ४० प्रतिसत मात्र विद्द्तीकरण भएको नेपालमा दिनमा ११ घण्टा बिजुलीको लाईन हुँदैन। २४ घण्टामा आधा दिन अन्धकार हुन्छ। उद्योग धन्दाहरु बिजुलीको अापूर्ति नहुँदा बन्द भइरहेका छन्। देशको अर्थतन्त्र धराशायी भएको छ। देशलाई अहिले रेमिटेन्सले मात्र धानेको छ।

दश वर्षे जनयुद्ध, १९ दिने जनआन्दोलन र विभिन्न समयमा नेपालमा भएका विभिन्न आन्दोलनको परिणाम माथि उल्लेखित विषयमा उन्मुख हुनुपर्ने थियो। अधिकार नेपाली जनतामा निहित हुने गरी नेपाली जनताको हितको लागि नेपाली राजनीतिक पार्टीहरु लाग्नु पर्ने हो तर पनि नेपाली जनताका आधारभुत अधिकार र पूर्वाधारको निर्माणको लागि एकै स्वरमा लग्नु पर्नेमा लडाई र झगडाबाट महत्वपूर्ण समय गुजारी रहँदा नेपाली जनता धेरै निराश भएका छन्। दश वर्षे जनयुद्धमा सबभन्दा धेरै कहाँका मान्छेले ज्यान गुमाए भन्ने मुल्यांकन त समयले गर्ला तर नेपाललाई अलगअलग जातमा विभाजन गर्नु र धर्मको नाममा राजनीति गर्नु कतिसम्म सत्यताको राजनीति होला। संसारमा अहिले धर्मको नाममा युद्ध चलिरहेको समयमा नेपालमा धर्मप्रति विवाद हुनु कति न्याय पूर्ण होला । विचारनिण छ। दश वर्षे जनयुद्ध वर्ग संघर्ष थियो । धनि र गरिबको बिचको खाडलको लडाई थियो । राज्यमा पहुँच नभएका निमुखाहरुलाई अधिकार,गाँस,बास र कपासको लडाई थियो । निरंकुशता, साम्राज्य बाद, अतिबाद, विस्तारवादको विरोध गर्ने भनिएको थियो । भारतीय विस्तारवादको विरोध गर्ने भनेको थियो । जमिन्दार र सर्वहारा बिचको सम्बन्धबिच्छेद गरेर नयाँ नेपालको निर्माणको गर्ने आशा देखाएर युवा जनशक्तिलाई आफ्नै देशका युवा जनशक्तिको विरुद्ध युद्ध लडे । तर त्यसो हुन सकेन । परिणाम विपरीत ध्रुवमा केन्द्रित हुन पुग्यो। यसको कारण नेपाली जनतालाई धोका भयो र सीधा रुपमा राजनीतिक बैमानी भएको देखिन्छ। दश वर्षको जनयुद्धमा खर्बौ नेपाली रुपैयाँको धनमालको नोक्सान भयो । देश विकासमा खर्चिने अमुल्य समयको बर्बादी भयो भने हजारौ निर्दोष नेपाली आमाका छोरा छोरीले ज्यान गुमाए । हजारौं निर्दोष नेपालीहरु गरी खा न मरी जा भएर बेसाहारा भएर सडक सडक कटौरी लिएर घस्रिँदैछन्।

सदियौंदेखि आपसी सद्भाव सहयोग र भाईचाराको रुपमा स्थापित नेपाली समाज एक अर्कोमा सधैं परिपूरक भएर अनेकतामा एकताको प्रतिकको प्रतिबिम्ब बनेको थियो। जात भातमा तल्लिन नभएर सबैमा आपसी मेलमिलाप सहिष्णुता एकताको एक सुत्रमा स्थापित भएर मर्दा पर्दा र सुख दुखका अनुभवहरु आपसमा साझेदारी गर्दै रहेको नेपाली समाज अब जातजातिको लडाई लड्दैछ। नेपालको एकीकरण गर्दा नेपाल राज्यको निर्माण गर्नु पर्ने थियो । नेपालका सबै जात जातिको समान सहभागिता र संलग्नता भएको नेपालको ईतिहासमा पढन पाइन्छ। इतिहासको आधारमा पनि कुनै जातिको धेरै अधिकार र कुनैको कम अधिकार भन्ने कहिँ देखिंदैन। नेपाल भगवान बुद्धको पबित्र जन्मभूमि हो भने किरात धर्मको उद्गम पबित्र स्थान पनि नेपाल नै हो। हिन्दु धर्मका विभन्न धर्म गुरुहरु, ऋषिमुनि, महापुरुषहरु, रामायण युगकी महारानी सीता र राजा जनक पनि नेपाली पबित्र भूमिमा जन्म लिएका थिए। हिन्दु धर्मका ५२ शक्ति पीठमा २ वटा शक्तिहरु पनि नेपालमै छन। इस्लाम धर्म नेपालको भाईचारा र आपसी सद्भावको परिचयको रुपमा सधैं रह्यो।

अहिलेको वर्तमान नेपालको राजनीति अवस्था हेर्दा जात जाति बिचको लडाई एक जातिले अर्को जातिमा गरेको कटाक्ष अनि जात जातिको नाम विभाजन भएको समाजले आफ्नो पहिचानको नाम माग गरेको जातिय राज्य प्रदेशले नेपालको राष्ट्रय एकता ,अखण्डता र सार्वभौमता नै कम्जोर भएर गएको अवस्था छ। हिमाल र पहाडमा पहिचानको नाममा नेपाललाई तराई बिनाको खुट्टा नभएको लंगडा प्रदेश बनाउँदैछन्। नेपाल सरकारले देशद्रोह गर्ने व्यक्तिहरुसित नतमस्तक छ भने बिद्रोही एवम प्रतिपक्षले स्वतन्त्र अभिव्यक्तिको नाममा बिखन्डनकारीलाई सहयोग पुर्याइरहेका छन्। के दश वर्षे जनयुद्ध ,१९ दिन लामो जनआन्दोलन र विभिन्न समयमा विभिन्न समूह वर्गहरुले गरेको आम हड्ताल र आन्दोलनको मर्म,भावना,मूल्य र मन्याताको आधार नै पहिचानको नाममा विभिन्न जात जातिको नाममा राज्य प्रदेश बनाउने र समग्र मधेशलाई एक प्रदेश बनाउने थियो  ?

दश वर्षे जनयुद्ध ,१९ दिन लामो जनआन्दोलन र विभिन्न समयमा विभिन्न समूह वर्गहरुले गरेको आम हड्ताल र आन्दोलनको मर्म,भावना,मूल्य र मन्याताको आधार नै जनता बाट निर्वाचित जनताका प्रतिनिधिहरुले नेपाली जनताको संबिधान लेखुन् भन्ने थियो। पहिचानको नाममा न त जात जातिको नाममा राज्य प्रदेश बनाउने भनिएको थियो। न त समग्र मधेश एक प्रदेशको नारा नै लगाईएको थियो। नत धर्म निरपेक्ष गणतन्त्र नै थियो। यी सबै समयको अन्तरालमा नेपालको राजनीतिकमा नेपालको राष्ट्रियताको कमजोरीलाई उपयोग गर्दै बाहिरी अदृष्य शक्तिहरुबाट थपिएका उपज मात्र हुन्। नेपालको राष्ट्रिय एकता, अखण्डता अनि सार्वभौमिकतालाई मजबुत बनाउन नेपालको लोकतन्त्रलाई बलियो र स्थायित्व बनाउन सम्पूर्ण नेपाली नागरिकहरुको सहभागिता  र संलग्नताको महत्वपूर्ण भूमिका हुन्छ।
लेखक एनआरएनए जर्मनीका प्रमुख संरक्षक र निवर्तमान अध्यक्ष हुन् । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक