आइतबार, मंसिर १४ २०७७ | Sun, November 29, 2020
नेपालको समय: ०४:४४ | UK Time: 22:59

बेलायतमा नेपाली साहित्यका सेवक

वीनेपाली
२०७१ पुष २९ गते १८:१३

Harising Thapa
भन्छन् नहुनेहरुलाई थाहा हुन्छ कुनै पनि वस्तुको महत्व । जस्तो गरिबलाई थाहा हुन्छ पैसाको महत्व । बेघरले जान्दछ घरको महत्व । सोहीपरि नेपाली भाषाको मूलथलो नेपालमा अंग्रेजी सिक्ने, लेख्ने होड चलिरहेको बेला बेलायतमा बर्षौँ बसेका, दिनरात गोरासित ठोक्किरहनुपर्ने केही नेपालीहरु भने नेपाली भाषा, साहित्यको प्यासी बनेका छन् । नेपाली भाषाको मूलथलोबाट करिब साढे चारहजार माइल टाढा बसेका हरिसिंह थापा यिनै प्यासीमध्येका एक हुन् ।
वि.सं. २००३ मा ओखलढुङ्गा जिल्लाको नर्मदेश्वर गाविस सत्लुङमा थापा जन्मे । पुरानो गोरख पल्टनका दानबहादुर थापाका दुईभाइ छोरामध्ये कान्छा हरिसिंहको बाल्यकाल आमनेपाली झैँ खेतिकिसानीमै बित्यो । पल्टने बाउले साँवा अक्षर चिनाए । अरु पढूँ भने गाउँमा स्कूल थिएन । जिमूवाल भएकाले खेतिपातीबाहेक गाउँघरको तिरोभरो उठाउनु बाउबाजेको कार्यभार थियो । त्यसैमा भरथेग गर्नहोला बाउले उनलाई रिटायर्ड भइसकेका बैदार कालीप्रसाद उपाध्यायसित श्रेस्ता पढाउन धपाए । त्यहीँ उनले चिठी लेख्न, तमसुक कोर्न, सामान्य हरहिसाब सिके । १०/११ वर्षको उमेरमा त उनी गाउँघरमा कपाली तमसुक लेख्नसक्ने, तिरो उठाएको हिसाब राख्नसक्ने भैसकेका थिए ।
१०/१५ वर्षको हुँदा उनले नेपाल (काठमाडौँ) आउन पाए । रोशी खोलाको बाटो हुँदै तीनदिन पाइताला खियाएपछि बनेपा पुगिन्थ्यो । त्यसपछि बल्ल मोटर चढ्न पाइन्थ्यो । लामीडाँडामा हवाइजहाज चलेपनि त्यहां पुग्न एकदिन हिँड्नुपथ्र्याे । अहिले धूले बाटो सही गाढी चढेर आफ्नो गाउँ पुग्न पाउनु सपनाभन्दा पनि पर्तिरको उपलब्धि ठान्छन् थापा । साथीहरु काठमाडौँमै भएकाले जागिर पाउन उनलाई हत्तु भएन । केही खित्रिङमित्रिङ काम गरेपछि उनी नेपाल प्रहरीमा भर्ती भए । बढूवा भएर हवल्दार भए । अबको पालो थियो असई बन्ने । त्यसका लागि छ महिने कोर्स पनि गरे । त्यतिबेला स्वर्गीय राजा वीरेन्द्रको शुभराज्यभिषेकको समय थियो । स्वयम्भू छोटी थानामा इञ्चार्ज रहेका थापा शुभराज्यभिषेकमा आएका पाहुनाहरुको स्कर्ट टोलीमा परे ।
त्यसैबेला लण्डनमा बसोबास गरिरहेका भिनाजु नाता पर्ने कृष्णबहादुर थापासित भेट भयो । असई बन्ने सपनालाई स्वयम्भू भगवानको पाउमा मिल्काएर लण्डन जाने बाटो रोजे उनले । सन् १९७६ मा वर्क पर्मिट पाएर बेलायत भित्रिए । मार्च १० तारिखको दिन थियो त्यो जो अहिलेसम्म उने भुलेका छैनन् । एक/एक वर्षमा वर्क पर्मिट थप्दै तीनवर्ष बसे । तीनवर्ष एकै ठाउँमा काम गरेकाले चौथो वर्षमा उनले बेलायतको स्थायी बसोबासको अधिकार पाए । इलिङ तन्दूरीमा काम गर्दै गरेका थापाले त्यही वर्ष आफू काम गरिरहेको कम्पनीमा शेयर हाल्ने मौका पनि पाए । महन्त श्रेष्ठ र विष्णु कार्कीसित मिलेर एकतिहाई शेयर लिए । सन् १९८० मा उनै तीनभाइ मिलेर साउथ इलिङमा मोन्टिज रेष्टुरेष्ट शुरु गरे, ‘नेपाली कुजिन’ भनेर युकेमा खोलिएको पहिलो रेष्टुरेन्ट थियो त्यो ।
“नेपाली कुजिन भनेर युकेमा नाम राख्ने हामी नै पहिलो हौँ, नेपाल र नेपालीलाई चिनाउन त्यस्तो नाम राखेका हौँ । ‘नेपाललाई कसले चिन्छ र ?’ भनेर पनि भन्थे तर हामी ‘नेपाललाई चिन्दैन र त हामीले चिनाउनुपर्छ’ भनेर तर्क गर्थ्यौं । नेपाललाई प्रोमोट गर्न र हामी नेपाली कमजोर छैनौँ भनेर सिद्ध गर्न नेपाली नाम राख्यौँ” थापा ३० वर्ष पुरानो अतीतमा फर्किए ।

Harising thapa 1
थापा बेलायत छिर्दा नेपालीहरुको संख्या मुस्किलले ५०/६० थियो रे । कहिलेकाहीँ नेपाली दूताबासले गरेको कार्यक्रममा टाउको गन्दा ३०/४० जम्मा हुन्थ्यो रे । केही विद्यार्थी, मुठ्ठीभर चिकित्सक र थोरै क्याटरिङ पेशामा लागेका नेपालीहरु थिए बेलायतमा । “नेपाली भेट्दा त परमात्मा भेटेजस्तो हुन्थ्यो । कुनै दिन सारी लगाएकी महिला भेटियो भने त आज त कस्तो साइत पर्‍यो जस्तो लाग्थ्यो” साढे तीनदशक अघि बेलायतमा नेपालीको अस्तित्व सम्झँदै थापा भन्छन् । जातिप्रेमको लतमा परेका थापा जहाँसुकै नेपालीजस्तो देख्यो कि सोधिहाल्थे ‘आर यु नेप्लिज’, चाहे त्यो बर्मिज होस् कि मलेसियन ।
एक दिन थापा दम्पति साउथल घुम्दै थिए । भारतीय, पाकिस्तानी सामान पाउने बजारका रुपमा परिचित साउथलमा नेपालीजस्ता देखिने अर्को दम्पति पनि देखे । थापाको बानी उस्तै । सोधिहाले, ‘हजुरहरु नेपाली हुनुहुन्छ ?’ । सायद उनको यो सोधाइ नेपाली दम्पतिलाई अनावश्यक लागेछ क्यारे । रुखो जवाफ फर्काए, ‘हो, किन र ?’ झनन्न रिस उठेपनि त्यसलाई आफैंभित्र निभाउंदै उनले ‘हैन, क्यै छैन त्यतिकै’ भन्दै बाटो तताए ।
अर्कोदिन लण्डनमा घुम्दाघुम्दै दुई नेपाली युवा भेटे । कुरा हुंदै गयो । आत्मीयता बढ्दै गयो । थापाले उनीहरुलाई ‘चिया खाऔं’ भनेर अफर गरे । उनको अफर सुन्नासाथ उनीहरु टक्टकिए,’भयो, चिया नखाऔं ।’ आफूले राम्रो मनले गरेको प्रस्तावलाई नकारात्मक रुपमा लिइएको देखेर थापा छक्क परे । थापाले थप कुरा सोधे । उनीहरुलाई यसअघि कसैले चिया खान लगेर भएभरको पैसा तिराएको रहेछ । सबै कुरा सुनेपछि उनले भने ‘यो पटक सबै पैसा मै तिर्छु तपाईहरुलाई म खुवाउँछु ।’
बेलायतको नेपालीहरुको पुरानो संस्था ‘यति’मा सन् १९७७ देखि लगातार २५ वर्ष बसेर थापाले बेलायतमा बसेका नेपालीहरुको सेवा गरे । यतिमा साधारण सदस्य, सोसल सेक्रेटरी, कोषाध्यक्ष, उपाध्यक्ष, वरिष्ठ उपाध्यक्षसम्मको यात्रा तय गरे । “अहिलेजस्तो जातिपिच्छे, गाउँपिच्छे संस्था थिएनन्, थोरै मानिसहरु थिए । पदमा बस्ने मानिस नपाउँदा ‘लौ न यसपटक तपाई बसिदिनु पर्‍यो’ भन्दा म ‘बरु जस्तो सहयोग पनि गर्छु तर पदमा चाहिँ नबसौँ’ भन्थे” त्यतिबेलाको यतिको कहानी थापाको मुखबाट सुन्दा दन्त्यकथा सुनाएजस्तो लाग्छ ।
सन् १९९५ मा नेपाली साहित्य विकास परिषद् खुलेपछि थापाको सुषुप्त साहित्यिक प्रतिभा फक्रने मौका पायो । मञ्जुश्रीले काठमाडौँ उपत्यकामा जमेको पानी खड्गले काटी चोभारबाट निकास खुलाइदिएजस्तो । बाल्यकालमै साहित्यमा रुचि भए पनि थापाले अवसर पाएका थिएनन् । विभिन्न साहित्यिक समारोहमा गीत, कविता, गजलहरु सुनाउँदै थापाले अहिलेसम्म चारवटा कृृति पाठकको हातमा पार्दिएका छन् । जसमा गुराँस फूलेन र मधुरस कवितासंग्रह, सुन्तली सामाजिक उपन्यास र मन उड्यो गीति एल्बम छन् । परदेशमा लामो समय बरालिएकोले होला थापाको कृतिमा गहिरो देशप्रेम भेटिन्छ । देशभित्रका विकृति, विसंगतिमाथि थापाले बर्साएको कोर्रा अहिले पनि उत्तिकै सान्दर्भिक छ ः
उत्तर र दक्षिणको पेलमपेल
कुर्सिको मोहले ठेलमठेल
लोक न जन गणतन्त्र बोल
नयाँ नेपाल झन् भद्रगोल
(फरक देखिएन पृष्ठ ७६, गुराँस फुलेन कवितासंग्रह, २०६६)
नेपाली साहित्य परिषद्मा लगातार तीन कार्यकाल अध्यक्षको भारी बोकेका थापा विदेशमा बसे पनि नेपाली भाषा, साहित्य र संस्कृतिको प्रचारप्रसार र प्रबर्द्धनमा भगिरथ प्रयत्नशील छन् । ‘विदेशमा बसे पनि हाम्रो भाषा साहित्य र संस्कृति भुल्नु हुँदैन’ भन्ने थापा सिर्जनामा पनि यसरी वकालत गर्छन् ः
‘संस्कृति र साहित्यमा जसले गर्छ हेला
अन्धकार भयो जीवन देश सम्झेको बेला’
(मानिसको नियत, पृष्ठ ५१, गुराँस फुलेन कवितासंग्रह, २०६६)
“विदेशमा बसेपछि स्वदेशको न्यास्रो लाग्नेरहेछ, मातृभूमि छोडेर आएपछि, बिरानो ठाउँमा हण्डर र ठक्कर खाएपछि लाग्ने रहेछ-देशभन्दा ठूलो केही रहेनछ” थापा भन्छन् । सुनभन्दा समय महंगो भएको बेलायतको ठाउँमा पनि चारवर्षसम्म (सन् १९९६-२०००) नेपाली केटाकेटीलाई नेपाली भाषा कक्षामा लैजाने, दुई घण्टासम्म पर्खने र घर घर पुर्‍याउने स्वयमसेवक थिए थापा । “यहाँ जन्मेका बच्चाहरुलाई अन्तरआत्मैदेखि नेपाल भन्ने भावना आओस्” थापाको रहर छ ।
बेलायतमा व्यवसाय गर्ने अग्रज नेपालीहरुमध्येका एक थापा अरु नेपालीलाई पनि आफ्नै व्यवसायका लागि हौस्याउँछन् । “समस्या जसरी आउँछन् त्यसैगरी टर्छन् । मिहिनेत गरेपछि भगवानले पनि हेर्छन् । अरुकहाँ नोकरी गरेको र आफ्नैका लागि गरेको त अवश्यै फरक पर्छ । आफ्नो काममा सन्तोष पनि हुन्छ । सन्तुष्टि नै सफलता होइन र ?” थापा भन्छन् ।
सन् २००६ देखि व्यावसायबाट विश्राम लिएका थापा त्यसयता साहित्यिक सन्तान उत्पादनमा ब्यस्त छन् । साहित्यकारहरुलाई आफ्नो सिर्जना सन्तानभन्दा प्यारो लाग्छ रे । यसैवर्ष मात्र उनले चारधाम यात्राको डायरी उत्तराखण्ड चारधाम र कविता संग्रह करेसाको फूल सार्वजनिक गरेका छन् । साहित्य र समाजसेवामा सक्रिय थापा अझै प्रवासको भाषा साहित्यको टेको बलियो बनाउने ध्याउन्नमा छन् । माटोको माया सबैभन्दा गहिरो हुन्छ शायद :
लण्डन घुमेँ
पेरिस पनि घुमेँ
न्युयोर्क र अरु पनि
घुम्ने ठाउँहरु
थुप्रै थुप्रै घुमेँ
तर
मेरो देशको जस्तो
माया बोक्ने
शीतल छाँया
कतै पाइनँ
(परिचय, पृष्ठ ६८, गुराँस फुलेन कविता संग्रह, २०६६)

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक