शनिबार, मंसिर १३ २०७७ | Sat, November 28, 2020
नेपालको समय: १५:५९ | UK Time: 10:14

बेलायती नेपाली समाजका सेवक

वीनेपाली
२०७१ पुष ८ गते २३:२९

Raghab 1
२९ वर्ष जेनेरल प्राक्टिस (जीपी)मा बिताएका डा. राघवप्रसाद धितालको स्वास्थ्य सेवामा मात्र होइन बेलायतमा नेपाली समाज स्थापनामा समेत समानान्तर योगदान छ । नेपाल र बेलायतबीचको सम्बन्ध बिस्तारका लागि उनले पुर्‍याएको योगदानको बेलायती महारानीले समेत कदर गरेकी छिन् । उनले पाएको प्रतिष्ठित ओबीई सम्मान यसको दशी हो । “म त एउटा डकर्मी मात्र हुँ” डा. धितालको यस्तो भनाइ सुन्दा कविशिरोमणि लेखनाथ पौड्यालको ‘फलेको वृक्षको हाँगो नझुकेको कहाँ छ र’ पंक्तिको सम्झना आउँछ ।
वि.सं. २००० मा गोरखाको खरिबोटमा धितालको जन्म भयो । परिवारको जेठो छोराका रुपमा । सरकारी नोकरी धिताल परिवारको पेशा थियो । उनले थाहा पाएसम्म जिजूबाजेदेखि सरकारी नोकरीमा थिए । कि खेति कि नोकरी विकल्प अरु थिएनन् त्योबेला । जागिरे खान्दानका कारण गोरखा जिल्लाभरमै विद्यालय नहुँदा पनि उनले पढ्न पाए । कस्तो भाग्यमानी धिताल परिवारले खर्च बेहोरेर गाउँमै पाठशाला खोलेका थिए । गोरखा बजारबाट मास्टरहरु आउँथे पढाउन । पिताजीको जागिर महोत्तरीमा थियो । डा. धितालले पनि तीनवर्ष जलेश्वरमा पढे । ‘हमारा राष्ट्र विहार, हमारा राष्ट्रपति राजेन्द्रबाबू’ । स्कुल नेपालमा भए पनि पाठ्यपुस्तक थियो भारतकै । वि.सं. २०१० मा तत्कालीन राजा त्रिभुवनको भ्रमण त्यस क्षेत्रमा भएपछि बल्ल पारसमणि प्रधानहरुले दार्जिलिङबाट छापेको नेपाली पुस्तक पढ्न पाएको डा. धिताल स्मरण गर्छन् ।
जलेश्वरको सम्झना अझै घुर्मैलो भएको छैन । मधेसमा बस्नेहरु भन्थे रे-पहाडमा मान्छे कसरी अडिन्छन् ? त्यस्तो भिरालोमा घर कसरी बनाउँछन् ? अहिले मधेसमा बस्नेहरु पहाडका कुनाकुना पुगेको देख्दा खुशी लाग्छ उनलाई । त्यसपछि उनले जुद्धोदय पब्लिक (जेपी) हाइस्कुलमा पढे र त्यहीँबाट गरे एसएलसी वि.सं. २०१५ मा । त्रिचन्द्र कलेजबाट बीएस्सी सकेपछि उनले कोलम्बो प्लानअन्तर्गत छात्रवृत्ति पाए बङ्लादेशमा एमबीबीएस गर्न । फर्केर उनले बाग्लुङ अस्पतालमा पाँच, हेटौँडा अस्पतालमा दुई र वीर अस्पतालमा तीनवर्ष सेवा गरे । “बाग्लुङ अस्पताल भर्खरै बन्दैथ्यो । टुकी बालेर बिरामी जाँच्नुपथ्र्यो” डा. धिताल फेरि पुराना सम्झनामा डुबे ‘नाउडाँडाबाट तीन दिन हिँडेर बाग्लुङ पुगिन्थ्यो’ ।
३५ वर्षअघि डा. धिताल युके छिरे । २ लाख ४३ हजार ८२० वर्ग किलोमिटरमा फैलिएको युकेभित्र त्यतिबेला उनकै अनुमानमा मुस्किलले पाँचहजार नेपाली थिए होलान् । बिरानो ठाउँमा नेपाली अनुहार देख्न नपाउँदा उनी अत्तालिए । आएको तेस्रो दिनमै नेपाली खोज्दै स्कटल्याण्ड (एडिनबरा) गए । “मलाई त नेपाली भेट्न नपाउँदा उकुसमुकुस भयो, आएको तेस्रो दिनमै एडिनबरा गएँ । त्यो सप्ताहन्तमा डा. केशरलाल श्रेष्ठ, डा. भरत त्रिपाठीकहाँ मासुभात खाएँ” पुरानो सम्झना आलो बनाउँदै उनले भने । “एडिनबराको पि्रन्स स्ट्रिटमा हिँड्दै थिएँ एउटा मान्छे नेपालीजस्तो लाग्यो नजिकै गएर तपाईको घर कहाँ हो भनेर सोधेँ । त्यो मान्छेले आत्तिँदै स्याङ्जा भन्यो” शुरुवाती दिनमा बेलायतमा नेपाली भेट्दाका क्षण सम्झिँदै धिताल भन्छन् । स्कटिसहरुले पनि गोरखाहरुका कारण नेपालीहरुलाई आत्मीयता दर्शाएको उनको स्मरणमा दुरुस्तै छ ।
सन् १९७० को दशकबाट बल्ल बेलायतमा नेपालीहरुको बसोबास शुरु भएको डा. धिताल बताउँछन् । त्यसताका गोरखा सैनिकहरु दुईवर्ष युके घुम्थे फर्कन्थे । ७०को दशकमा क्याटरिङमा लागेका नेपालीहरुले बेलायतको वर्क परमिट पाउन थाले । चिकित्सकहरु पनि आउन थाले । त्यसपछि बिस्तारै ‘एसाइलम सिकर’हरुले पनि मुद्दा जितेर बेलायत बस्न थाले । भूपू सैनिकहरुले बस्न पाए । अहिले आएर करिब एक लाखको संख्यामा जमे । यिनै नेपालीहरुलाई साँस्कृतिक रूपमा एकसुत्रमा उनेर राख्ने अभियानमा छन् डा. धिताल । युकेस्थित नेपाली संस्थाहरुको नेतृत्वमा रहेर होस् वा बाहिरै बसेर होस् । उनको चिन्ता नेपाली र बेलायती समाजबीच सामाजिक सद्भाव सुदृढ गर्नुमा छ । “नेपाल र बेलायतबीच यति पुरानो सम्बन्ध छ यसलाई नयाँ तरिकाले विकसित गर्नुपर्छ” डा. धिताल भन्छन् ।
मेडिकल ट्रेनिङमा भित्रिएका धिताल तालिम सकेर जनरल प्राक्टिस (जीपी) मा लागे । अब केही वर्ष मात्र जीपीमा बिताउने र अझ बढी समय नेपाली समाजको सेवामा लगाउने उनको आकांक्षा छ । नेपालीहरुको पचासौँ वर्ष पुरानो संस्था यतिमा रहँदा यतिलाई सम्पूर्ण नेपालीहरुको मियो बनाउने प्रयास उनको थियो । अहिले ब्रिटेन नेपाल सिभिक फोरममार्फत् दुई देशबीचको सम्बन्ध अझ गाढा बनाउन उनी दत्तचित्त छन् ।
बीसौँ वर्षौँ पहिले नै ब्रिटेन नेपाल सोसाइटीमा आफूले प्रतिनिधित्व गर्दा गोरखा सैनिकहरुलाई उनीहरुको काम अनुसारको तलव र पेन्सन दिनुपर्छ भनेर आफूले बोलेको डा. धिताल बताउँछन् । आफ्नो चाहना जातजाति, पार्टीभन्दा माथि उठेर सबै नेपालीहरुलाई एक गर्नु रहेको उनी सुनाउँछन् । अहिले नेपाली समाज बढ्दै गएपछि संघ/संस्थाहरु पनि थपिँदा छन् । तर उनलाई यसरी धेरै संस्था खुलेकोमा चित्त बुझेको छैन । उनी भन्छन् “हामी नेपालीहरु एक भएर नै अगाडि बढ्न सक्छौँ, नेपालीहरुको स्थिति यहाँ अझै बलियो भइसकेको छैन” । विभिन्न संस्थाहरुले आफ्नो संस्कृतिका बारेमा जानकारी गराउनु, चाडबाड मनाउनु राम्रो भए पनि अरु संस्थाले गरिरहेका काम दोहोर्‍याउनु उचित नभएको उनको निस्कर्ष छ ।

Raghab 2
पहिले जुनसुकै पार्टीको नेता बेलायत आए पनि नेपाली नेता ठानिन्थे । बेलायतमा पार्टी-पार्टी थिएन । ती नेताले सिंगो देशको प्रतिनिधित्व गर्थे । सबै नेपालीबीच बोल्ने, भेट्ने, आफ्नो धारणा राख्थे । अहिले त्यो क्रम पनि संकुचित बन्दै गएकोमा धिताल दुःखी छन् । बेलायतमा बस्ने सबै नेपालीहरुको सेन्टर बनाउन सन् १९९७ मा यतिमार्फत एकलाख पाउण्ड उठाएर घर किनिएको थियो । तर अहिले त संस्थाहरु आफू-आफू घर किन्न थालेका छन् । तैपनि डा. धिताल बेलायतमा बस्ने सबै नेपालीको साझा पर्व बनाउन र वसुधैव कुटुम्बकमको उद्देश्यमा लागिरहेकै छन् । बेलायतमा पढ्न आएका नेपाली विद्यार्थीहरुको अपेक्षा पूरा हुन नसकेकोमा उनी पिरोलिएका छन् । बेलायत सरकारलाई आफ्नो फाइदा मात्र नहेर्न दबाब दिनुपर्ने उनको धारणा छ ।
तीनदशक युकेका बिताएका डा. धिताललाई सोधियो ‘बेलायतमा नेपालीहरुको भविष्य कस्तो होला ?’ “दोस्रो/तेस्रो पुस्ताले सानै उमेरमा उन्नति गर्नसक्ने देख्छु । उनीहरुमा नेपालप्रति आस्था जगाउन सकियो भने देशलाई पनि फाइदा, उनीहरुलाई पनि फाइदा” थोरै शब्दमा गहकिलो जवाफ थियो यो । अनि सँस्कृति नि ? “भारतीयहरु जस्तो ठूलो संख्या नेपालीहरुको नभएकाले सँस्कृति जोगाउन चुनौतीपूर्ण छ तर अहिलेदेखि नै सोच बनाउने हो भने सजिलो हुन्छ । त्यसका लागि नै त हो सामुदायिक केन्द्र बनाउन खोजेको” उनले थपे ।
नेपाल र बेलायतको स्वास्थ्य क्षेत्रको नाडी राम्रैसित छामेका डा. धितालसँग खसखस लागेको अर्को प्रश्न पनि थियो, नेपालको स्वास्थ्य बेलायतको जस्तो बनाउन के गर्नुपर्ला ? “स्वास्थ्यलाई मात्र अलग राखेर हेर्न हुँदैन । शिक्षा, स्वास्थ्य र रोजगारलाई एउटै प्याकेजमा हेर्नुपर्छ । नेपालमा अब निजी क्षेत्र संगठित भएर यी क्षेत्रमा आत्मनिर्भर हुनुपर्छ । जापान/इटालीमा को प्रधानमन्त्री आउँछ, जान्छ केही मतलब हुन्न । नेपालमा पनि राजनीतिलाई कम गरेर लैजानुपर्छ” अपेक्षाविपरीत राजनीतिक उत्तर पो आयो ।
जननी जन्मभूमि स्वर्गादपी गरियसी भने झैँ जीवनका आगामी दिनहरु नेपालमै बिताउने योजनामा छन् डा. धिताल । “म नेपाली नागरिक हुँ । म फर्कन यहाँ आएको हुँ । म जहाँ जन्मेँ, जहाँ हुर्केँ, पढेँ त्यसप्रति मेरो जिम्मेवारी छ । यो देश सम्पन्न छ यहाँ मैले केही गर्नु छैन तर मेरो देशमा गएर मैले धेरै गर्नु छ” ।
मातृभूमिको ऋण पनि अचम्मकै हुँदोरहेछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक