बिहीबार, असोज १५ २०७७ | Thu, October 01, 2020
नेपालको समय: ००:५७ | UK Time: 20:12

लेखनमा जम्दैछन् लाहुरे स्रष्टाहरु

वीनेपाली
२०७१ पुष ८ गते २०:५४
Lahure sahityakar

बायाँबाट क्रमश नरेश काङमाङ, दयाकृष्ण राई, विश्वास तिगेला, लालसुन्दर राई र टंक वनेम

लाहुरे भन्नासाथ काँधमा राइफल, कम्मरमा गोला, बारुद बोकेर युद्ध मैदानमा शत्रुसित घम्साघम्सी गरिरहेको चित्र नेपाली समाजले देख्छ । वीर, बहादुर यस्तै संज्ञा देशी विदेशी लेखकहरुले सैन्य सेवामा रहेका नेपालीहरुलाई दिएका छन् । समाजमा माहौल यस्तो बनाइएको छ कि लेखापढाको विपरितार्थक शब्द नै लाहुरे हो । ‘आफू त पल्टने हजुर थाहा छैन’ भन्दै तर्कने केही लाहुरेले यस्ता तर्कलाई बल दिन्छन् । ठीक विपरीत केही लाहुरेहरु चाहिँ त्यस्ता सोचलाई गलत सिद्ध गर्दै धमाधम लेखनमा जुटेका छन् ।
मित्रसेनदेखि आजका पुस्तासम्म
कलम चलाउने आरम्भकालका लाहुरेको नाम लिनुपर्दा गायक मास्टर मित्रसेनको नाम अग्रपंक्तिमा आउँछ । पहिलो विश्वयुद्धमा भाग लिएर घर फर्केपछि पूर्णरुपमा लेखन, गायन र अभिनयमा होमिएका मास्टर मित्रसेनले कथा, कविता, गजल, नाटक, गीत, संगीत सबै क्षेत्रमा हात हालेका थिए । उनी ग्रामोफोनमा नेपाली गीत रेकर्ड गराउने पहिलो व्यक्ति पनि थिए । साहित्यकार टंक वनेम भन्छन्, ‘नेपाली भाषामा मात्र होइन सँस्कृतमा पनि मास्टर मित्रसेनको उत्तिकै योगदान देखिन्छ ।’
मित्रसेनकै छिमलका अर्का लाहुरे सर्जक हुन् शेरसिंह रानामगर । मित्रसेनकै छिमेकी उनको ‘मेरो लन्दन राजतिलक यात्रा’ पहिलो विश्वयुद्धअघि नै  (सन् १९१२ मा) छापिएको थियो । बेलायती राजपरिवारको निम्ता मान्न बेलायत आएका उनको यो कृति यात्रा संस्मरण थियो । ‘बरालको आँशु’ कविता संग्रह प्रकाशन गरेका मेजर बहादुर सिंह बरालमगर पनि मित्रसेनका समकालिन हुन् । फस्ट गोरखा राइफल्सका बरालमगरले थुप्रै कविता र गीत लेखेका थिए । त्यसपछिका सर्जकमा धनाहाङ सुब्बा आदिको नाम आउाछ । त्यसपछिको लामो समय शुन्य रह्यो । सन् अस्सीको दशकमा भगवान चाम्लिङ, प्रेम रिबुसाल राई, रक्ष राई, टंक वनेम, दयाकृष्ण राई, केदार संकेत जस्ता लेखकहरुको पल्टनघरमा आगमन भयो । अनि फेरि बौरियो लेखन कार्य ।
पल्टनको निरंकुश वातावरण, अहिले जस्तो छपाइमा प्रविधि र मिडियाको अभाव कारण त्यो समयमा लेखनमा शुन्यता देखिएको साहित्यकार टंक वनेमको ठम्याइ छ । वनेम भन्छन्, ‘अस्सीको दशकअघि अहिलेजस्तो मिडिया थिएन । ‘पर्वते’ एक मात्र पत्रिका र बीएफबीएस एक मात्र रेडियो थियो । अरु सञ्चारमाध्यम थिएनन् ।’
अर्का साहित्यकार दयाकृष्ण राईको बुझाइमा त्यतिबेलाका स्रष्टाहरुले फाटफुट लेखे पनि पुस्तक निकाल्न प्राविधिकरुपले सहज थिएन । ‘आकाशको तारा टिप्नु जस्तै थियो पुस्तक प्रकाशन’ राई भन्छन् । राईकै भनाइमा सहमति जनाउँदै लेखनको वातावरण नहुनु र प्रकाशनको सुविधा नहुनुलाई नै मुख्य कारण ठान्छन् अर्का साहित्यकार हेम थापा सेँठ पनि ।
सन् १९८६ मा पेन्सन जाँदा लालसुन्दर राईसित ४०० वटा कविताको पाण्डुलिपि थियो । एउटा लेखकलाई सन्तान र कृतिको माया सराबर हुन्छ भन्छन् । तैपनि उनले पुस्तक निकाल्न सकेनन् । कारण दर्शाउँदै उनी भन्छन्, “राम्रा लेखकको मात्र पुस्तक छापिन्छ भन्ने थियो । जो हामीजस्ता नवलेखकका लागि आकाशको फलजस्तो थियो । फेरि अहिलेजस्तो आफैँ प्रकाशक बनेर पुस्तक छपाउने चलन थिएन । पुस्तक छाप्नुअघि प्रकाशक खोज्नुपर्ने फलामे ढोका थियो ।”
सन् नब्बेको दशकको अन्त्यसम्ममा पल्टनभित्रै विभिन्न साहित्यिक संस्था बने । अनि साहित्यिक कार्यक्रमहरु हुन थाले । लेखनका विभिन्न धारका बारेमा अन्तर्क्रिया र विमर्श शुरु भए । दुईवर्ष अघिमात्र सेनाबाट निवृत्त साहित्यकार काङमाङ नरेश राई भन्छन्, ‘अहिले लेख्नलाई पल्टनभित्र धेरै स्वतन्त्रता छ ।’
यसै वर्ष सेवाबाट अवकास लिएका साहित्यकार विश्वासदीप तिगेलाको भनाइमा अहिले पूर्वेली पल्टनमा लेखनका लागि धेरै सजिलो छ । अफिसरहरु पनि साहित्यिक कार्यक्रमहरुमा आउने गर्छन् । तर पश्चिमेली पल्टनमा अहिले पनि सहज वातावरण छैन । जसको कारण हुनसक्छ पश्चिम भेगका स्रष्टाहरुको पातलो उपस्थिति ।
पल्टनघरबाट साहित्य सिर्जना गरेर लाहुरेको नयाँ छवि निर्माण गर्ने स्रष्टाहरुमा भगवान चाम्लिङ, प्रेम रिबुसाल राई, रक्ष राई, टंक वनेम, दयाकृष्ण राई, केदार संकेत, गणेश राई, मुलीवीर राई, काङमाङ नरेश, विश्वासदीप तिगेला, मिजास तेम्बे, अब्जसे कान्छा, दधिबन्धु घर्तीमगर, विजय हितान, हेम सेँठ, दुतबहादुर पुन (चिम्खोले काइला), आनन्द रानहोँछा, जगत नवोदित, लाल राना, मुकेश राई, रमेश यतिम, भोजराज बराल, नरेश नाति, हेमकुमार राई, रामकृष्ण सुनुवार, नवराज राई, ईश्वर चाम्लिङ, क्याप्टेन वीरबहादुर थापा,किरन थेबे लिम्बु, विश्वकाजी राई, सुरेन्द्र इंगनाम, सन्देश नेम्वांग, भरतमणि चोङवाङ, हर्कबहादुर गुरुङ आदिको नाम आउँछ ।

lahure shrasta ka kriti 1

लाहुरे स्रष्टाका केही प्रतिनिधि रचनाहरु

पल्टनघरको ‘राणा शासन’
परिवर्तन भन्ने कुरा सजिलै प्राप्त हुँदैन । अहिले लाहुरेले पनि लेख्न सक्छन् भन्ने छवि बनाउन लाहुरे स्रष्टाले थुप्रै पापड बेल्नु परेको छ । लेखनको नशा लागेका स्रष्टाहरुले आफ्नो करियरलाई नै जोखिममा राखेर समाजको ‘माइन्ड सेट’ परिवर्तन गर्न खोजेको देखिन्छ ।
विद्यार्थीकालदेखि लेखनमा लागेका दयाकृष्ण राई अनुभव केलाउँदै भन्छन्, “हामी जुनबेलामा भर्ती भयौँ त्यसबेला लेख्नेहरुलाई उपेक्षा गरिन्थ्यो । हेलाँ गरिन्थ्यो । ‘ए कवि यता आइज’ भनेर सम्बोधन गरिन्थ्यो । केही बोल्यो भने ‘ए यस्ले के बोल्यो शब्दकोष हेर् हेर्’ भनेर गिल्ला गरिन्थ्यो ।” पल्टनघरको लेखनलाई राणा शासनसित तुलना गर्दै उनी भन्छन्, “बाउबाजेको पालामा राणा शासनमा लुकेर लेखेको भनेर भन्थे । त्यस्तै थियो हामी पल्टन घरमा जाँदा लेख्नु भनेको ।”
टंक वनेमको अनुभवमा पल्टनमा लेख्नेहरुलाई प्रोत्साहन पटक्कै थिएन । “लेख्नेहरुलाई ‘बागी’ ठानिन्थ्यो । हाँसको बथानमा बकुल्लो जस्तो हुन्थ्यो । कमाण्डरको प्यारो हुने र बढुवा हुने ठाउँ हुन्नथ्यो ।”
हरेक सप्ताहन्तमा साथी आनन्द रानहोँछासित बाथटवमा बसेर लेख्ने काङमाङ नरेश राईको अनुभवमा गुरुजीहरुको सोचाई ‘तँ लेख्न आको कि लडाइँ लड्न आको’ भन्ने हुन्थ्यो । “तँ नलेख भनेर भनेको त उदाहरण छैन तर लेख्नेहरुलाई काफी भेदभाव गरिन्थ्यो ।”
अलि पुराना लाहुरे लालसुन्दर राईलाई भने कमाण्डरले नै कविता लेख्दा ‘बदमास हुनुहुँदैन’ भनेर सम्झाएको तीतो अनुभव छ । १५ वर्षको उमेर व्वाइमा भर्ती भएका राईलाई ‘पर्वते’ पत्रिकाका लागि कविता लेखेको थाहा पाएपछि उनका तत्कालीन कमाण्डर सुनुवार थरका क्याप्टेनले त्यसरी सम्झाएका थिए । त्यसको प्रभावले उनले व्वाइजमा बसुञ्जेल तीनवर्ष केही लेखेनन् । पछि सिग्नलमा सरुवा भएपछि मात्र उनले फेरि लेख्न थाले ।
लेख्नेहरुको बढुवा हुँदैनथ्यो । तालिममा ८० जनामा १६औा नम्बरमा परेर पनि बढुवा नभएका दयाकृष्ण राई त्यसको उदाहरण हुन् । “प्लाटुन कमाण्डरले सैन्य ज्ञानमा पोख्त छ भनेर नलेखिदिँदा आफूभन्दा पछिका साथीहरु बढुवा भए म जहाँको तहीँ रहेँ” राईले भने । काङमाङको भनाइमा “लेख्नेहरु सार्जेन्टभन्दा माथि गएको रेकर्ड छैन ।”
अर्का लाहुरे साहित्यकार विश्वासदीप तिगेलासित लेखेकै कारण वृत्ति विकासमा तगारो लागेको अनुभव छ । “नलेखेको भए क्याप्टेन/स्याप्टेन भइन्थ्यो होला” उनले भने । सेवाकै दौरानमा पुस्तक लेखेका कारण दुईपटक बयान दिनुपरेको र साहित्यिक पत्रिका निकालेको कसुरमा पटकपटक बयान दिनुपरेको उनी बताउँछन् । “बढुवाको बेला बोर्ड बस्दा क्याप्टेनहरु नै साहित्यमा लाग्नेहरुको विरुद्धमा लाग्थे” उनी भन्छन् ।

लेखनमा विविधता र गुणस्तर
लाहुरे सर्जकहरुको बृद्धिसँगै अहिले लेखनमा विविधता र बहुआयामिकता पनि थपिएको छ । कुनै समय कवितामा केन्द्रीत लेखन अहिले उपन्यास, कथा, निबन्ध, संस्मरण, हाइकु, गीत, गजल सबै विधामा केन्द्रीत छ । गाउँघर छोडेर पल्टनघरमा बस्दा आउने गाउँघरको याद (नोस्टाल्झिया) मात्र होइन अहिले युद्ध कविता, नवचेतनाग्रह जस्ता नयाँ विचारधारा पनि आउन थालेको छ । वनेमको विश्लेषणमा अहिले लाहुरे स्रष्टाहरु “पल्टनघरको सानो घेरामा मात्र सीमित नरही डायस्पोरिक साहित्यको मूलधारलाई नै चुनौती दिइरहेका छन् ।”
पहिले रहरैरहरमा लेखिने साहित्यभित्र अहिले गुणस्तर पनि कायम हुँदै गइरहेको देखिन्छ । संख्यात्मकमा भन्दा गुणस्तरमा ध्यान दिन लाहुरे स्रष्टाहरु नै लागिपरेका छन् । दयाकृष्ण राई भन्छन्, “संख्यात्मकभन्दा गुणस्तरमा ध्यान दिऔँ भन्ने हाम्रो पनि दृष्टिकोण हो । त्यसका लागि अध्ययन, साधना हुनुपर्‍यो । तर अहिले विस्तारै स्तर बढ्दै गएको देखिन्छ ।”
स्तरीय लेखनलाई मूल प्रहार बनाए पनि स्तरीय लेखकहरु औँलामा गन्न सकिने संख्यामा रहेको स्वयम् सर्जकहरु स्वीकार्छन् । गुणस्तरभन्दा रहरले लाहुरे लेखकहरु अघि बढिरहेको उनीहरुको मूल्याङ्कन छ । काङमाङ नरेश भन्छन्, “संख्यात्मक विकासले नै गुणात्मक वृद्धि गर्ने हो । गुणस्तरीय लेखकको संख्या औँलामा अटाउने मात्र छ । तर गुणस्तरीय लेखनका लागि माहौल बन्दैछ ।”

Lahure shrasta ka kriti

लाहुरे स्रष्टाका केही प्रतिनिधि रचनाहरु

एकहातले दिने बजार
लेनदेनमा एक हातले दिने अर्को हातले लिने भनिन्छ । तर लाहुरे स्रष्टाको अनुभवमा लेखनमा लगानी एक हातले दिने मात्र भइरहेको छ । अर्को हातले उठाउने वातावरण कहिले हुने हो उनीहरुलाई नै भन्न गाह्रो छ ।
हालसम्म तीन वटा कृति निकालेका वनेमको भोगाइमा आर्थिक उपार्जनका लागि हालसम्म लेखिएको छैन । “कति साथीहरुले उपार्जन गर्नुभयो होला तर मेरो अनुभव त्यस्तो छैन । त्यस्तो हुनुको कारण सशक्त लेखन नभएर पनि हुन सक्छ । हामीले लेखेको आशय पाठकले नबुझेर पनि हुनसक्छ ।”
हालसम्म चार कृति निकालिसकेका दयाकृष्ण राईको अनुभव पनि वनेमकै जस्तो छ । “कतिले बजार ब्यवस्थापक राखेर पुस्तक निकालेको पनि छन् । तर मेरो अनुभवमा चाहिा आफ्नै पैसाले पुस्तक निकाल्यो अनि (पुस सेल) हातहाती बिक्री गर्‍यो । प्रकाशन गृहले नाम किन्छन् तर त्यसबाट रोयल्टी पाएको छैन” राई भन्छन् ।
हालसम्म दुई कृति निकालेका हेम सेँठ लाहुरेहरु नेपालमै बसेको भए बजारबाट लगानी फिर्ता आउन सक्थ्यो भन्छन् । नेपालबाहिर बसेपछि छापिएका पुस्तक ल्याउन पनि असजिलो धेरै ल्याउन सके त लगानी हातहाती बिक्री गरेर उठाउन सकिन्थ्यो भन्ने विश्वास उनको छ ।
एकल/संयुक्त लेखन/सम्पादनमा विभिन्न कृति बजारमा ल्याएका काङमाङ नरेशको शब्दमा नेपालीहरु एक त कम पढ्छन् पढ्नेहरु पनि किनेर होइन मागेर पढ्छन् । त्यसैले धेरैको लगानी फिर्ता भएको छैन । “मेरो पहिलो कविता संग्रह निकालेर मैले एक पैसा हात पारिनँ । त्यसपछिका कृतिहरु हातहाती बिक्री गरेर खर्च उठाएँ । अन्तिम कृति चाहिँ पुस सेल  (हातहाती बिक्री) गरेर लगानीको दोब्बर पैसा उठाएँ । ”

अनिश्चित निरन्तरता
बेलायतले सैन्यसेवामा गरेको कटौतीले एकातिर पल्टनघरको लेखनको निरन्तरलाई मेरुदण्डमै प्रहार गरेको छ भने अर्कोतर्फ भर्ती हुनलाई लिइने शारीरिक र दिमागी कठोर परीक्षाले घुच्चुकमै हानेको छ । संख्या निचोरिँदा र शैक्षिक छनौटमा कडाइ गरिँदा गाउँघरका किशोरहरुको सम्भावना निमिट्यान्न भएको छ भने शहरका अंग्रेजी बोर्डिङ पढेकाहरुको दबदबा बढेको छ ।
यस्तो परिदृश्यका कारणले होला सन् २००३ देखि पल्टन घरमा नयाँ लेखकको पाइलो नपरेको साहित्यकारहरु बताउँछन् । ‘शहरिया पृष्ठभूमिका किशोरहरु धेरै लाहुरे भएका कारण होला विगत ६/७ वर्ष यता नयाँ सर्जक देख्न पाइएको छैन’ काङमाङ भन्छन् । साहित्यकार तिगेलाका शब्दमा पहिले नयाँ भर्ती हुनेहरुलाई लेखनमा प्रोत्साहन गर्न विभिन्न कार्यक्रमहरु हुन्थे ती अहिले बन्द भएका छन् । तर उनी अहिले नै लेखनमा कमी आइहाल्यो भनेर भनिहाल्न अति हतारो हुने उनी ठान्छन् ।

‘पर्वते’को योगदान

Parbate
अहिलेजस्तो प्रकाशन प्रविधिको सुलभता नभएको बेलामा पल्टने स्रष्टाहरुको एक मात्र चौतारी हुन्थ्यो पल्टनबाट निस्कने पर्वते पत्रिका । सन् १९४९ जनवरी ७ देखि सिंगापुरबाट पर्वते पत्रिका निस्कन शुरु गरेको हो । साप्ताहिक रुपमा प्रकाशन हुने गरेको पर्वतेमा प्रकाशित रचना नै लाहुरेहरुको उत्साहलाई निरन्तरता दिने माध्यम हुन्थ्यो । त्यसैबाट एक अर्काले लेखनको जानकारी प्रेरणा पनि पाउँथे । सन् १९९१ मा ब्रिगेड हङकङ सरेपछि पर्वतेलाई पाक्षिक बनाइयो । हाल विश्वका १८३ स्थानमा उपलब्ध हुने बताइएको सो पत्रिकाको सर्कुलेन करिब २ हजारको हाराहारीमा रहेको बताइन्छ ।
उता अहिले विभिन्न स्रष्टा र सिर्जनालाई स्थान दिने बीएफबीस गोर्खा रेडियोको कार्यक्रम फर्म्याट पहिले भने त्यस्तो नभएको पुराना लाहुरेहरुको भनाइ छ । पल्टनघर भित्रका लेखकका भन्दा अरुतिरैका लेखकका विभिन्न पुस्तक र पत्रिकामा छापिएका सामग्री वाचन गर्ने गरिएको कुनै समय रेडियोमै काम गर्ने लालसुन्दर राईको अनुभव छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक