लण्डन । २१ वर्षको कलिलो उमेरमै गत सोमबार दिवङ्गत हुन पुगेका नेपाली युवा आशिष मिश्रको आज साउथ इष्ट लण्डनकाे हिदरग्रीन सिमेट्रीको क्रिमेटोरियममा हिन्दु परम्परा अनुसार दाहसँस्कार गरियो ।
लण्डनको उलवीचमा बस्दै आएका मिश्र सोमबार बिहान अोच्छयानमै बेहोस भेटिएका थिए । उनलाई उपचारका लागि अस्पताल लैजाँदा लैजाँदै मृत घोषित गरिएको थियो ।
हृदयाघातबाट उनको मृत्यु भएको अनुमान गरिएको छ ।
यसअघि साउथ इष्ट लण्डनमै ३४ वर्षीय अनिल थापाको हृदयाघातबाट निधन भएको थियो ।
स्थानीय ग्रीनीच युनिभर्सिटीमा अध्ययनरत मिश्रको अन्तेष्ठीका क्रममा समवेदना प्रकट गर्न यहाँस्थित विभिन्न संघ संस्थाका प्रतिनिधि, समाजसेवी, परिवारजन तथा शुभेच्छुकहरु क्रिमेटोरियममा पुगेका थिए । पण्डित विनोद पन्थीले अन्त्येष्ठी विधि संचालन गरेका थिए भने मिश्रका फूपाजु रामजी तिवारीले परिवारका तर्फबाट उपस्थित सबैमा धन्यवाद व्यक्त गरेका थिए ।
लाउँला खाउँला केही गरुँला भन्ने उमेरमै आकस्मिक रुपमा जीवन गुमाएका आशिषका बुवा आमा र परिवारको पीडाको चित्कारले सहभागीहरु सबैका आँखा रसाएका थिए । आशिषकी बहिनी निक्कीले भावविव्हल अवस्थामा आफ्नो दाजुको संस्मरण पढेर सुनाउँदा कमैले मन थाम्न सकेका थिए । त्यसपछि परिवारजनबाटै दाग बत्ती दिएर उनलाई अन्तिम बिदाई गरिएको थियो ।
नेपालमा चितवन स्थाई बसोबास रहेको मिश्रको परिवार विगत केही वर्षदेखि बेलायतमा बस्दै आएको छ ।
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
तनहुँ समाज हङकङले गर्यो मिर्गौला तथा क्यान्सर पीडितलाई आर्थिक सहयोग
राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिमा सोविता गौतम, महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]