यूकेमा मनाइयो संघीय समाजवादी पार्टीको स्थापना दिवस

Sanghaya-samaj-UK4

लन्डन । यूकेस्थित नेपाली संघीय समाजले गत २३ नोभेम्बरमा संघीय समाजवादी पार्टी, नेपालको तेस्रो स्थापना दिवस मनाएको छ ।

दुई चरणमा सञ्चालित उक्त कार्यक्रमको प्रारम्भमा लन्डन शाखा समितिको प्रथम महाधिवेशन गरियो । उक्त अधिवेशनको अध्यक्षता शाखा अध्यक्ष रत्न थापामगरले गरेका थिए । राजेन्द्र राईको स्वागत मन्तव्यबाट शुरु भएको अधिवेशनलाई पार्टी 
केन्द्रीय समिति नेपालका सदस्य भगवान चाम्लिङले शुभ कामना मन्तव्य दिएका 
थिए । सचिव मिलन राईले शाखा समितिको प्रगति प्रतिवेदन प्रस्तुत गरे ।

अधिवेशनका लागि निर्वाचन मण्डल नियुक्त गरिएका सल्लाहकार कमल गुरुङ र युके समिति सचिव विश्वासहांङ खेवाहांङले चन्द्र गुरुङको नेतृत्वमा १४ सदस्यीय समिति घोषणा गरे । समितिको उपाध्यक्ष द्धयमा पूर्ण कुमार फालेछ्वा लिम्बु र राजेन्द्र राई, सचिव लोपसाङ लामा, कोषाध्यक्ष टेकबहादुर गुरुङ र सदस्यहरुमा सुवास श्रीसमगर, अम्बरबहादुर थापामगर, नरभक्त राई, शिवकुमार राई, कृष्ण पुन, दशरथ राई, लोक छन्त्याल, सिनु राई र निलम राई निर्वाचित भएका छन् । नवनिर्वाचित समितिलाई केन्द्रीय सदस्य चाम्लिङले शपथ गराएका थिए ।

यसैबीच, विगत ३० वर्षदेखि यूकेमा रहदै आएका स्टेट व्यवसायी कुवेर होडा एमाले परित्याग गरि संघीय समाजवादी पार्टीमा प्रवेश गरेका छन् । सबैलाई समानता होस् भन्ने मुद्दा बोक्ने पार्टी भएकाले आफू समाजवादीमा प्रवेश गरेको र एक जातिय सोच राख्ने एमाले परित्याग गरेको होडाले बताए । त्यस्तै एमाओवादी समर्थित लोपसाङले पहिचान सहितको संघीयताका लागि एमाओवादीलाई विश्वास गर्न नसकेका कारण समाजवादीमा प्रवेश गरेको जनाए । उनीहरु दुवैलाई यूके केन्द्रीय समिति अध्यक्ष धर्म तामाङले पार्टी सदस्यताको परिचयपत्र, झण्डा र खादा प्रदान गरेर पार्टी प्रवेश गराए । पार्टी प्रवेश गर्ने अन्यमा बोम प्रसाद राई, टेकबहादुर गुरुङ, अम्बरबहादुर थापा, जनक राई र ज्ञानबहादुर राई छन् ।

उता, लन्डन समिति शाखाको अधिवेशन लगत्तै सोही स्थानमा वैकल्पिक शक्तिको रुपमा स्थापित पार्टीको विगत र वर्तमानको समीक्षा गर्दै यूके केन्द्रीय समितिले पार्टीको तेस्रो स्थापना दिवस समारोह सम्पन्न गर्यो । वरिष्ठ उपाध्यक्ष जंग सुनुवारको स्वागत मन्तव्यबाट शुरु समारोहमा अर्का उपाध्यक्ष राजेन्द्र खिम्दिङले चांडै आसफोर्ड र रोजमर शाखाको अधिवेशन गर्ने योजना सुनाउंदै नवनिर्वाचित लन्डन समितिलाई बधाई दिए ।

समारोहमा संघीय समाज यूकेका सल्लाहकार तथा पूर्व गाविस अध्यक्ष भक्त गुरुङले संघीय प्रदेशको प्रस्तावित ७ प्रदेशको ढांचासंगै आदिवासी जनजाति, मधेसी तथा सिमान्तकृतहरुलाई शक्तिहीन नोकर बनाउने षड्यन्त्र भइरहेको दावी गर्दै त्यस विरुद्ध आन्दोलन शुरु भई सकेकाले त्यसका लागि यूकेबाट पनि केही पहल गर्नुपर्ने धारणा राखे । उनले १४ प्रदेश हुनुपर्नेमा जोड दिए । उक्त अवसरमा सल्लाहकारहरु कृष्ण राई, कमल गुरुङ, डा. कविताराम श्रेष्ठ र नेपाल आदिवासी जनजाति महासंघ यूकेका महासचिव नरेशमणी काङमाङ, रिटायर्ड क्याप्टेन टिका राई, अभिभावकको तर्फबाट वीरबहादुर गुरुङ, पत्रकार देवेन्द्र खेरेस्, महिलाको तर्फबाट कोषाध्यक्ष विमला राईले पनि मन्तब्य राखेका थिए ।

पार्टी केन्द्रीय समिति नेपालका सदस्य भगवान चाम्लिङ प्रमुख अतिथि रहेको उक्त समारोहको सभापतित्व यूके केन्द्रीय समिति अध्यक्ष धर्म तामाङले गरेका थिए भने मध्यस्थताको भूमिका महासचिव विश्वासहांङ खेवाहांङले गरेका थिए । गत २० सेप्टेम्बरमा सम्पन्न नेपाली संघीय समाज यूकेको प्रथम महाधिवेशन लगत्तै २ वटा पार्टी प्रशिक्षण, एक नयां क्षेत्रिय समिति गठन र लण्डन शाखाको अधिवेशन सम्पन्न भएको छ । समाजको बेलायतमा ७ शाखा छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री