लण्डन । स्कटल्याण्डमा सम्पन्न छैटौँ कमनवेल्थ तेक्वान्दो प्रतियोगितामा १३ वर्षीया सिएना लिम्बु लिङदेनले स्वर्णपदक जित्न सफल भएकी छिन् ।
एडिनबराको मेडोब्यांक स्टेडियममा गत शनिबार र आइतबार भएको सो प्रतियोगितामा उनले इंग्ल्याण्डको प्रतिनिधित्व गर्दै स्वर्ण पदक हात पारेकी हुन् ।
महिला जुनियर ४७ केजी समूहमा सहभागी उनले सात जना प्रतिस्पर्धी खेलाडीलाई पछार्दै स्वर्ण पदकको सपना साकार पारिन् । उनको समूहमा अष्ट्रेलिया, भारत र इंग्ल्याण्डका खेलाडीहरु थिए ।
आफ्नै मुलुककी प्रतिस्पर्धीलाई फाइनलमा हराएर स्वर्णपदक जितेपछि उनले वीनेपालीसित भनिन्, “खेल्दाखेरि जित्छु जस्तै लागेको थियो ।” उनले थपिन्, “इंग्लिश च्याम्पियन बन्न सकेकोमा धेरै खुशी लागेको छ ।”
प्रतियोगितामा कमनवेल्थ मुलुकका ४४४ खेलाडीले भाग लिएका थिए । इंग्ल्याण्डले ३१ स्वर्णसहित प्रतियोगितामा पहिलो स्थान लिएको थियो भने क्यानाडा आठ स्वर्णसहित दोस्रो र अष्ट्रेलिया ३ स्वर्णसहित तेस्रो भएका थिए ।
बाबा देउमान लिङदेन र आमा उषा तुम्बाहाम्फेकी जेठी छोरी सिएनाले पाँच वर्षको उमेरदेखि तेक्वान्दो सिक्न थालेकी हुन् । उनी अहिले गुरुमु क्लवमा अावद्ध छिन् । उषा भन्छिन्, “त्यतिखेर हामी वेम्ब्लीमा बस्थ्यौँ । आत्मरक्षाका लागि भएपनि छोरीलाई तेक्वान्दो सिकाउनुपर्छ भनेर मनिशंकर दाइले भन्नुभएको थियो र मैले छोरीलाई तेक्वान्दोमा भर्ना गरिदिएको थिएँ ।”
हप्तामा पाँच दिन तेक्वान्दोको कठोर अभ्यास गर्ने सिएनाले परिश्रमको मीठो फल चाख्न पाइरहेकी छिन् । यसै वर्षको जुलाईमा अजरबैजानको बाकुमा भएको फस्ट वल्र्ड तेक्वान्दो क्याडेट च्याम्पियनसिपमा सिएनाले इंग्ल्याण्डलाई रजत पदक दिलाएकी थिइन् जुन इंग्ल्याण्डले त्यस प्रतियोगितामा जितेको एक मात्र पदक थियो । एकपछि अर्को सफलताले उत्साहित उनी अहिले अर्को साल हुने युरोपियन च्याम्पियनसिपको तयारीमा छिन् ।
छोरीको सफलताले आमाबाबालाई एकातिर हर्षविभोर बनाएको छ भने धपेडीले चिन्तित पनि । विद्यालयमा इयर नाइनकी छात्रा सिएनाको ब्यस्तता देख्दा उषालाई डर छ कतै पढाइमा असर पो पर्ने हो कि ? उसो त सिएनाको पढाइ नराम्रो छैन । अवार्ड थाप्ने बानी परिसकेकी उनलाई पढाइमा पनि अवार्ड मिलिरहेकै छ ।
हरेक सप्ताहन्तमा लण्डनबाट म्यानचेष्टर पुगेर तेक्वान्दो अभ्यास गर्ने सिएनालाई सोधियो – खेलकुदमा लागेर कतै पढाइमा असर पो पुगेको छ कि ? “केही असर नपारेको होइन तर अहिलेसम्म घर र स्कुलमा मिहिनेत गरेर ‘कभर’ गरिरहेकी छु” उनले भनिन् ।
आमाबाबाको रहर छ सिएनालाई खेलकुदमा भन्दा पढाइमा सफल देख्ने । अभिभावकको इच्छा सिएनाले पनि बुझिसकेकी छिन् । भविष्यमा दन्त चिकित्सक बन्ने उनको सपना छ । तर तेक्वान्दोलाई चटक्कै छाडिहाल्ने पनि होइन । पढाइमा बढी ध्यान दिने तर तेक्वान्दो अभ्यासलाई पनि नरोक्ने । ‘ओलम्पिकमा ब्रिटेनलाई पदक दिलाउने रहर छ’ उनको अर्को सपना छ ।
पाँचथर गोपेटारका देउमान ब्रुनाइका राजपरिवारकहाँ काम गर्ने सिलसिलामा सन् १९८७ देखि युकेमा छन् । मोरङ कुलझोडाकी उषा सन् २००१ मा युके आइन् र त्यही साल सिएनाको जन्म भयो ।
तीन वर्षको उमेरमै उनले सिएनालाई पौडीमा भर्ना गरिदिन् । पौडीमा पनि उनको विलक्षण प्रतिभा देखेर प्रशिक्षकले हप्ताको तीन दिन अभ्यासमा पठाइदिन अनुरोध गरेका थिए रे । तर पौडी, तेक्वान्दो र पढाइ तीनतिर लाग्न असम्भव देखेर पौडीमा नपठाएको उषा बताउँछिन् ।
हाल लण्डनको इष्टहाममा बसोबास गरिरहेकी उषा आफूलाई पूर्ण गृहिणी भन्न रुचाउँछिन् । छोरीहरुको पालनपोषण र शिक्षादीक्षाका लागि कुनै काम नगरी आफूलाई समर्पित गरेकी उनी छोरीको सफलताबाट दङ्ग छिन् ।
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
तनहुँ समाज हङकङले गर्यो मिर्गौला तथा क्यान्सर पीडितलाई आर्थिक सहयोग
राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिमा सोविता गौतम, महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने