म्युनिख चिया गफमा नेपालको विकासमाथि छलफल

10756890_10202860676146555_173924090_o

म्युनिख । चिया गफको पाँचौं श्रृङ्खला अन्तर्गत शनिवार म्युनिखस्थित आयन्ट हाउसमा ‘‘नेपालको विकासको लागि एनआरएनको सहकार्य’ माथि युवाहरुमाझ अन्तरक्रिया भएको छ । चिया गफ टोलीले कार्यक्रम गरेको हो ।

कार्यक्रममा नेपाली युवाहरूको प्रतिनिधित्व गर्दै इन्जिनियर राज्यदिप ढुंगाना, गैर आवासीय नेपाली संघका पूर्व अध्यक्ष जिवा लामिछाने, होटल व्यवसायी कुमार पन्त र प्रवासीका विभिन्न मुद्दामा काम गरिरहेकी विज्ञ डा. अनिमा महर्जनले आ–आफ्नो अनुभव सुनाए ।

‘चिया गफ युवाहरुको लागि छलफलको केन्द्र बनाउन आयोजना गरेका हौं’  चिया गफ टोलीकी स्मृति ढुंगानाले भनिन्, एनआरएनहरूसंग चिया गफ गरेर नेपालको विकासको लागि सकारात्मक सोच निकाल्न सकिने उद्देश्यले छलफल चलाएका हौ ।’

कार्यक्रममा गैर आवासीय नेपाली संघका पूर्व अध्यक्ष जिवा लामिछानेले राज्यले एनआरएनहरूबाट क्षमताभन्दा बढी आशा गर्नु र एनआरएनहरूले मिडियासँग उत्ताउलो भएर हैसियत भन्दा बढि बोलिंदिंदा अप्ठ्यारो परेको बताए । देश कायापलट गर्ने हैसियत आफूहरुमा भइनसकेको बताउंदै लामिछानेले  नेपालको विकासको लागि एनआरएनहरूले विदेशमा आर्जन गरिरहेको सिपको प्रयोग गर्न सकिने तर्क राखे । ‘नेपालमा सिप भएका युवाहरूलाई एनआरएनले सुरू गरेको बैंकमा अवसर प्रदान गरिरहेका छौं । यस संस्थाले लगानी गर्न चाहनेहरूलाई प्लेटफर्म दिएर पुलको काम गरिरहेको छ’,  लामिछानेले थपे,  ‘गैर आवासीय नेपालीको क्षमता प्रयोग गर्ने हो भने नेपालमा राम्रै विकासको सम्भावना छन् । यसलाई निरन्तरता दिन संयुक्त लगानीको सोचमा लागेका हौं ।’ नेपालमा मात्र होइन एनआरएनले विदेशमा लगानी गर्न सक्छन् भनेर जर्मनीमा होटल निर्माणका लागि लागिपरेको अवगत गराउंदै लामिछानेले बिजुलीविना विकास सम्भव नहुने हुँदा एनआरएनले हाइड्रोपावरमा लगानी गर्न जोड दिएको समेत बताए ।

प्रवासीका विभिन्न मुद्दामा काम गरिरहेकी वीज्ञ डा. अनिमा महर्जनले एनआरएनले नेपालको विकासमा सहकार्य गर्न सके धेरैलाई रोजगारी दिन सकिने बताइन् । ‘एनआरएनले न्युनतम लगानी र सिप सिकाउन जोड दिए रोजगारको ढोका खोल्न सकिन्थ्यो । नेपालमा अवसरको सृजना हुने हो भने विदेशिएका धेरै नेपालीहरू नेपाल फर्कन इच्छुक देखिन्छन्’, महर्जनले भनिन्,  ‘पछिल्लो समय एनआरएनहरूमा नेपालमा लगानी गर्नुपर्छ भन्ने सोच आएपनि एक्सनमा जान सकेका छैनन् । बल्ल संयुक्त लगानी कोष र हुन्डी भनेको फरक हुन भन्ने कुरा बिस्तारै एनआरएनहरूले बुझ्दैछन् ।आर्थिक विकासको लागि सबै क्षेत्रको महत्वपूर्ण भूमिका हुन्छ । एनआरएन त्यसको एउटा हिस्सामात्र हो ।’

होटल व्यवसायी कुमार पन्तले लगानी गर्दा मुनाफा हेरिने हुँदा नयाँ सोचमा नेपालमा काम गर्न चुनौती भएको अनुभव सुनाए । ‘भावनामा बगेर लगानी गर्दा घाटा हुने सम्भावना धेरै हुन्छन् । धेरै एनआरएनहरूको संयुत्त लगानी भएको हुँदा सबैले घाटा कम गर्न जोड दिने गर्छौ, पन्तले भने,  ‘एनआरएनहरूले १२ वर्षमा बिस्तारै विभिन्न क्षेत्रमा हात हालिरहेका छन् ।’ उनले नेपालको विकासको लागि सरकार लचिलो हुनुपर्नेमा जोड दिए । ‘संयुत्त लगानीमा एनआरएनहरूमात्र नभएर नेपालमा विभिन्न पेशा गरिरहनु भएका मानिसहरूलाई सहभागी गराउन लागिपरेका छौं’, पन्तले भने ।

इन्जिनियर राज्यदीप ढुंगानाले नेपालमा रहेका युवाहरूलाई एनआरएनले प्लेटफर्म दिनसके रोजगार सृजना हुनसक्ने बताए । ‘एनआरएनहरूको संयुत्त लगानीको अवधारणामा विदेशमा अध्ययन गरिरहेका युवाहरूलाई समेत सहभागी गराउने वातावरण सृजना गरिनुपर्छ । नेपालमा बसेर रोजगारी खोजी रहेका युवाहरूलाई न्युनतम अवसर दिनसके नेपालको विकासमा समेत सहयोग पुग्ने थियो’, ढुंगानाको तर्क थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री