बिहीबार, चैत २७ २०७६ | Thu, April 09, 2020
नेपालको समय: ०९:४७ | UK Time: 05:02

कतारी हिरासतमा ९ दिन बिताउंदा…

वीनेपाली
२०७१ असोज १२ गते १:४८

 

krishna upadhyaya 1

लन्डन । मानवअधिकार कार्यकर्ता कृष्णप्रसाद उपाध्याय (५१) एक जना सञ्चारकर्मी गुणदेव घिमिरेका साथ कतारमा पक्राउ परेपछि विश्वभर एकाएक चर्चाको केन्द्रमा रहे । कतारमा कार्यरत नेपाली श्रमिकबारे अध्ययन एवं वृत्तचित्त बनाउने क्रममा उनीहरुको गिरफ्तारीले राष्ट्रिय अन्तर्राष्ट्रिय मिडिया अनि सामाजिक सञ्जालमा यति विघ्न चर्चा भयो, त्यो देखेर उपाध्याय आफैं आश्चर्य चकित छन् ।

सन् १९८५ देखि मानवअधिकार क्षेत्रमा क्रियाशिल उपाध्यायले नेपालमा एमनेष्टी, इन्सेक जस्ता मानवअधिकारवादी संस्थामा लामो अनुभव बटुले । अंग्रेजी अखवार दि काठमाण्डौं पोष्टको संवाददाता समेत भए करिब डेढ वर्ष । एन्टी स्लेभरी इन्टरनेशनल नामक लन्डनस्थित संस्थामा काम गर्न सन् २००२ मा बेलायत आएपछि झण्डै १२ वर्ष त्यहां बिताए दक्षिण एसिया कार्यक्रम संयोजकको जिम्मेवारी लिएर । यसबीचमा उनले लेबनान, दुवई र बहराइनमा नेपाली श्रमिकबारे अनुसन्धान गरिसकेका थिए ।

लन्डनको जागिर छाडेर करिब तीन महिना अघिमात्र नर्वेस्थित ग्लोवल नेटवर्क फर राइट्स एण्ड डेभलप्मेन्ट (जिएनआरडी) मा आवद्ध भएपछि पनि उपाध्यायलाई आफ्नै अनुभवको काम गर्ने जांगर चल्यो । जिएनआरडी संस्थामार्फत कतारमा नेपाली श्रमिकको अवस्थाबारे अनुसन्धान गर्ने योजना बनाएर प्रस्ताव राखे, अफिसले पारित समेत गर्यो । अफिसबाट अनुमति भएपछि उपाध्यायले लन्डनमा रहेका क्यामेराम्यान गुणदेव घिमिरेलाई भिडियो खिच्न तीन दिनका लागि कतार लाने निर्णय गरे । अगष्ट २७ को दिन, उपाध्याय नर्वे र घिमिरे लन्डनबाट कतारका लागि उडे । कतारमा योजना मुताविक नै आफ्नो काम सकेर फर्कने क्रममा प्रहरीबाट ति दुई जना 
कसरी समातिए, हिरासतमा कस्तो व्यवहार गरियो, बन्द र झ्यालविहीन कोठाभित्र ९ दिन थुनिंदा मनमा के कस्ता आशंका उब्जिए ? त्यहां कार्यरत नेपाली श्रमिकको अवस्था कस्तो छ ?

उपाध्यायकै शब्दमा उनको हिरासत अनुभव यस्तो छ ः

२७ अगष्टमा म नर्वे र गुणदेवजी लन्डनबाट दोहा एयरपोर्ट ओर्लियौं । मैले बुकिङ डटकमबाट दोहास्थित होटल ग्रयाण्डमा बस्ने व्यवस्था मिलाएको थिएं, गइयो । हाम्रो सोच दोहास्थित नेपाली दूतावास गएर केही श्रमिकसंग भेट्ने, कुरा गर्ने थियो । तर, दूतावासमा चाहिं भद्रगोल, छिचोलि नसक्नु मानिसहरुको भीड । जनशक्ति कम भएर दूतावासका कर्मचारी निरिह जस्ता देखिन्थे ।

हामीले बिहीबार २८ अगष्टबाट आफ्नै हिसावले भिडियो खिच्न थाल्यौं, जताततै नेपाली भेटिने । अगष्ट २९ शुक्रवार नेपाली श्रमिकहरु बढि जमघट हुने ठाउं तरवार गेट (नेपालीले नै नाम राखेका रहेछन्) गयौं । त्यहांको चहलपहल आइफोनले खिचियो । भिडियो खिच्ने क्रममा सातवर्ष देखि कतारमा बसेका एकजना भाइ पनि भेट हुनुभयो । उहां आफ्नो संघर्षका दिन, म्यानपावरको ठगी, नेपालीहरुको कारुणिक अवस्था आदिबारे बोल्न राजी भएपछि हामी होटलमै गयौं र अन्तर्वार्ता लियौं । झण्डै एक घण्टा अन्तर्वार्ता भयो होला । तर, भाइलाई अप्ठेरो पर्ने भएर हामीले परिचय नदिने निर्णय गरेका थियौं । शुक्रवारकै दिन हामी तीन जना ७०, ७० रियाल तिरेर एउटा तीज कार्यक्रम खिच्न गयौं किनकि कतारमा राम्रो कुरा पनि छ भन्ने देखाउनु थियो हामीलाई ।

यसपछि हेल्थ एण्ड सेफ्टी र एकोमोडेशन हाइजिनबारे अनुसन्धान गर्नु पर्ने भएर हामी ट्याक्सीमा औद्योगिक क्षेत्र सिनाही गयौं । नेपाली बसेको एउटा कोठामा पुगियो जहां सात जना जति बस्ने रहेछन्, सानो कोठाकै एउटा कुनामा भान्सा । कोठाभरि उडुस थिए, ट्वाइलेट दुर्गन्धित । सबै छायांकन गरियो ।

रंगशाला निर्माणमा नेपाली श्रमिकहरुको अवस्थाबारे त धेरै बाहिर आइसकेको थियो, त्यसैले हामीले एउटा निर्माणाधिन संग्रहालयको अवस्था पनि कस्तो रहेछ बुझौं भनेर शनिवार त्यहां गइयो । जोखिम नलिई वास्तविक रिपोर्ट आउन सक्ने थिएन । संग्रहालय गएर आवश्यक दृश्य 
खिच्यौं । त्यसै सांझ दूतावास कर्मचारीसंग खाना खाने, गफ गर्ने कार्यक्रम थियो उता गइयो । कर्मचारीसंग डिनर खाने बेलासम्म होटलमा सादा पोशाकका प्रहरी घुमिरहेको संकेत पायौं । होटल फर्केर हामीले एउटा जुक्ति लगायौं कि खिचिसकेको भिडियो अन्त कतै अपलोड गर्ने जसले गर्दा प्रहरीले मेट्न लगाएपनि हामीसंग 
सुरक्षित रहोस्, शनिवार राती अवेरसम्म अपलोड गर्यौं ।

फर्कने दिन आइतबार एउटा चालु संग्रहालय घुम्न जाने भनेर निस्किएका थियौं, दुई वटा गाडीले हाम्रो पिछा गर्यो । हामी भित्र घुम्दा उनीहरु अलिक परबाट निगरानी गरिरहेका देखिन्थे, हामी खान बस्दा उनीहरु पल्लो छेउमा हुन्थे । हामी होटल फर्कियौं । त्यसैदिन हामी फर्कने कार्यक्रम थियो । चेकआउट गरिसकेपछि लवीमा बसेर मैले नर्वेमा प्राध्यापनमा लागेको पुरानो साथीलाई टेक्स्ट म्यासेज गरेर हामीलाई सादा पोशाकका प्रहरीले पिछा गरिरहेको खवर गरें । म्यासेजमा उसलाई मैले म भोलि बिहानसम्म नर्वे फर्किन भने खोजी गर्नु भनेको थिएं । गुणदेवजीलाई पनि अप्ठेरोमा आत्तिनु हुन्न भनेर सम्झांए, हामीले यदि प्रहरीले समाते केही कुरा नढांटौं भनेर सल्लाह गरेका थियौं । होटलभित्रै थाइ खाना खाइयो । ७ बजे होटलबाट एयरपोर्ट निस्कने बित्तिकै दुई वटा गाडीले पिछा गर्यो । हामी एयरपोर्ट काउन्टरमा बोर्डिंग पास लिन लाग्यौं । गुणदेवजी ब्रिटिश एयरवेज र म केएलएम काउन्टरमा थिएं । गुणदेवजीको लगेज भित्रै गइसकेको रहेछ, मेरो चाहिं बांकी थियो । त्यही बेला अध्यागमन प्रहरीले हामीलाई समातिहाले । अध्यागमनमा त शंका लागे जसलाई पनि सोध्न, समात्न मिल्ने भयो । त्यही ठाउं पारेर हामीलाई पनि समातियो । हामीसंग भएका पासपोर्ट, मोवाइल, क्यामेरा, ल्यापटप सबै अध्यागमन प्रहरीले जफत गर्यो । मेरो इमेलको पासवर्ड समेत लगे । सबै सामानको मुचुल्का उठाइसकेपछि हामीलाई करिब ११ बजेतिर हाइ सेक्युरिटी भएको ‘डिटेन्सन सेन्टर’ लगे प्रहरीले ।

गुणदेवजीलाई एकातिर, मलाई अर्कोतिर राख्यो । उनीहरुकै कपडा लगाइदियो । कोठामा झ्याल छैन्, तेज बत्तिमात्र बलेको छ । भित्तो एकदम नरम, मानिसहरु ठोक्किएर मर्न खोजे पनि नमिल्ने खालको । सेक्युरिटी एकदम कडा, आफ्नो चिज केही लान दिएको थिएन । पढ्ने वा फोनमा बोल्ने कुरै भएन, अति पट्यार लाग्दो क्षण । बेला बेला ट्वाइलेन्ट जान दिन्थ्यो । खाना कोठैमा ल्याइदिन्थ्यो तर मलाई दुई दिन त खान मनै लागेन, मुख सुक्थ्यो पानीमात्र पिउंथे । खाना नखांदा त्यहींको सुडानी गार्डले त्यस्तो गर्नु हुन्न खा भनेर सम्झाउंथ्यो तर मलाई मन नलाग्ने । भित्र बस्दा दिनरात के हो केही पत्तो हुन्थेन, उकुसमुकुसले नै मान्छे धेरै नबांच्ने जस्तो । म आफूले आफैंलाई सम्हालिरहेको थिएं, ध्यान नसिके पनि जेनतेन गर्थें । ठूलो अपराध गरेको त केही होइन, कसो नछोड्ला भन्ने आश मनमा लिएर बसिरहें ।

प्रहरीले तीन दिनसम्म लामो सोधपुछ गरिरहे मलाई । नेपाली मजदुरकै अनुसन्धान किन गर्नुपर्यो ? अरु देश नगएर कतार नै किन आइस् ? कतारलाई नराम्रो देखाउने उद्देश्य होइन तेरो ? तेरो अनुसन्धानको प्रश्नावलीमा सबै किन नकारात्मक प्रश्नमात्र छन् ? जस्ता प्रश्न गथ्र्यो । मैले चाहिं श्रम कानुन परिवर्तन गर्ने कतारको राम्रो प्रस्ताव पनि त उल्लेख गरेको छु भन्थें ।

उनीहरुले इमेल पासवर्ड लगेका, सायद मेरो मानवअधिकार क्षेत्रको लामो अनुभव थाहा भएर होला, हिरासतमा दुव्र्यवहार भने कहिल्यै गरेनन् । प्रहरी मिठो बोल्थे, बेला बेला जिस्किने पनि । ५ दिनजति भएको हुंदो हो, प्रहरीले तिमीहरु छुट्छौ भन्ने संकेत गरेपछि बेचैन मन अलिक हल्का भयो । त्यसैदिन देखि मलाई सोधपुछ गर्न छाडेर स्टेटमेन्ट बनाउन थाले । यही दिन प्रहरीले पहिलोचोटी अभ्यासका लागि बाहिर निस्कन अनुमति दिए । मैले फिटनेश सेन्टर भन्दा बरु बाहिर नै घुम्छु, कम्तीमा हावा खान त पाइन्छ भनेर बीस मिनेट जति डुल्थें । तर कम्पाउण्ड सबै बारले घेरिएको थियो, खुल्ला आकास मुनि भए पो स्वच्छ हावा लिनु ।

मलाई मेरो भन्दा पनि गुणदेवजीको बढि चिन्ता भइरहेको थियो, उहांको स साना वालवच्चा । मैले ल्याएको मान्छेलाई किन सास्ती दिन्छौ छोड पनि भनेको तर मानेनन् । सातौं दिन गुणदेवजीलाई भेट्न दिनु भनेर आग्रह गरें र भेट्न दिए । त्यसैदिन ब्रिटिश एम्बेसीबाट डेपुटी कन्सुलर एकजना महिला मलाई भेट्न आइन् । ब्रिटिश एम्बेसीले पत्र लेखेको तीन दिनमा भेट्न अनुमति दिएको रहेछ, जुन छिटो हो भन्थे मानिसहरु । कन्सुलरसंग करिब तीस पैतिंस मिनेट वातचित भयो । प्रहरीले त छिटो वातचित सक्न घण्टी बजाइरहेका थिए, तर हाम्रो कुरा लामै भयो । मैले उनलाई आज शुक्रवार बिहान होइन भनेर सोधेको बेला उनले शनिवार सांझ भनेपछि मेरो होस् ठीक रहेनछ भन्ने बुझेर उनी त भावुक पो भइन् ।

आठौं दिनमा मलाई अर्को टिभी कोठामा सारिदियो, गुणदेवजीलाई पनि सारेछ । पहिले भन्दा अलिक अत्यास कम लाग्न थाल्यो । तीस मिनेट जति टिभी हेरेपछि वाक्क लाग्थ्यो ।

प्रहरीले बेला बेला आएर तिमीहरुको समस्या ठूलो होइन्, तर समय लम्बियो भनेर सान्त्वना दिइरहेका हुन्थे । हामीलाई नवौं दिन सरकारी वकिलको कार्यालय 
(प्रोसिक्यूसन सर्भिस्) लाने बताए प्रहरीले । हामीमाथि टुरिष्ट भिसाको गलत प्रयोग र गैर कानुनी कागजात बोकेको भनेर प्रहरीले मुद्दा लगाएको रहेछ । प्रोसिक्यूसन सर्भिस गएपछि तिमीहरुलाई माफी दियौं हामीले भनेपछि प्रहरीले हत्कडी फुकाइदिए, पेपरमा साइन गराए । प्रहरीले हामीबाट लगेका लुगाफाटो, पासपोर्ट फिर्ता दिए तर मोवाइल, क्यामेरा र अन्य कागजात दिएनन् । रिहा भएपछि हामी पहिले बसेकै होटलमा गयौं । रिहा भइसकेपछि पनि देश छाड्ने कागजात प्रक्रिया सक्न धेरै दिन लाग्यो । हामीलाई कहिले फर्कन पाइएला भनेर अत्यास लागिरहेको थियो । आज काम हुन्छ छैन्, भोलि हुन्छ छैन् । लम्बिंदा लम्बिंदै १९ दिन लाग्यो देश छाड्न ।

पुलिसले हाम्रा सबै क्यामेरा, ल्यापटप, मोवाइल र अन्य कागजात जफत गरेपनि हामीले पहिल्यै ति सामाग्री अन्तै अपलोड गरेकाले अब केही समयपछि म एउटा दरिलो रिपोर्ट बनाएर विश्वव्यापी सार्वजनिक गर्ने योजनामा छु । अहिले मानसिक रुपमा ठीकै छु । अलि अघि सम्म त धेरै बोल्न सक्थिन । अब 
दशैंपछि नर्वे गएर पूर्ववत काममै फर्कने सोच छ ।

अन्त्यमा हामीहरुको रिहाइका लागि आवाज उठाउने समस्त मिडिया, सञ्चारकर्मी साथीहरु, आफन्तजन, शुभेच्छुक र अन्य सबैलाई कृतज्ञता व्यक्त गर्न चाहन्छु ।

करिब चार लाख ८० हजार नेपाली कतारमा कार्यरत रहेछन्, विश्वकप हुने बेला सम्म त झण्डै ६ लाख पुग्ने अनुमान छ । निर्माण र घरेलु काममा संलग्न नेपाली श्रमिकको अवस्था ज्यादै दयनीय छ । कामदार दिनदिनै मरेका छन् । कतार सरकार हरेक केसमा कार्डियाक अरेष्ट (हार्ट अट्याक) बाट मरेको चिकित्सकीय प्रतिवेदन बनाउने रहेछ । भ्रष्टचारीको जालोमा परेका, आफन्तबाटै फंसाइएका, मालिकले चरम शारिरीक तथा मानसिक यातना दिएका कामदारहरुको अवस्था देखेर हामी भावविव्हल भयौं । मलाई कतार भन्दापनि नेपाल सरकारसंग बढि गुनासो छ । किनभने नेपाली श्रमिकहरुको मानवअधिकारबारे नेपाल सरकारले कतार सरकारसंग नेगोसियट नै गर्न सक्दैन । उसले शुरुमै सर्त राखे श्रमिकहरुले त्यति कष्ट झेल्नु पर्थेन होला । उसलाई रेमिटेन्स आइरहेको छ भन्ने मात्र छ । कतार जानुअघि प्रशिक्षण 
छैन्, सेवा सुविधाको सर्त छैन्, भाषा र निगरानी केही छैन् । कम्तीमा यी आधारभूत कुरा भए कामदारको अवस्था त्यति कारुणिक हुन्थेन ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक