हाङपाङ समाज युकेले विद्यालयलाई जुटायो १५ लाख सहयोग

सहयोग हस्तान्तरणमा समाजका वरिष्ठ उपाध्यक्ष यमबहादुर आङबुहाङ र महासचिव टेकबहादुर खपाङ्गीमगर र विद्यालयका प्रधानअध्यापक हर्कशेर आङबुहाङ

सहयोग हस्तान्तरणमा समाजका वरिष्ठ उपाध्यक्ष यमबहादुर आङबुहाङ र महासचिव टेकबहादुर खपाङ्गीमगर र विद्यालयका प्रधानअध्यापक हर्कशेर आङबुहाङ

लण्डन । ताप्लेजुङ जिल्लास्थित हाङपाङ गाविसबाट युकेमा आई बसोबासरतहरुको संस्था हाङपाङ समाज युकेले विद्यालय भवन निर्माणका लागि १५ लाख रुपियाँ सहयोग जुटाएको छ ।
ताप्लेजुङ जिल्लाकै पुरानोमध्ये एक हाङपाङ स्कुल भनेर चिनिने सरस्वती उच्च माध्यमिक विद्यालयको भवन आर्थिक अभावमा पूरा हुन सकेको थिएन ।
समाजका सदस्यहरुबाट संकलित सहयोग बुधबार लण्डनको साइन्स म्यूजियममा समाजका वरिष्ठ उपाध्यक्ष यमबहादुर आङबुहाङले विद्यालयका प्रधानाध्यापक हर्कशेर आङबुहाङलाई हस्तान्तरण गरे ।
करिब ७ लाख रुपियाँ अपुग भएको भन्दै गाउँबासीसित गुहार माग्न युके आएका विद्यालयका प्रधानाध्यापक दोब्बरभन्दा बढी सहयोग संकलन भएपछि निक्कै हर्षित देखिन्थे । सहयोग बुझेपछि प्रधानाध्यापक आङबुहाङले आफूले आशा गरेभन्दा बढी सहयोग युकेमा रहेका गाउँलेहरुबाट पाएको बताए । विदेशमा पनि गाउालेहरुको एकता र सहयोगको भावना यति मजबुत रहेछ भन्ने आफ्नै आँखाले देख्दा आफू प्रफूल्ल भएको उनको भनाइ थियो ।
गाउा फर्केपछि गाउँभरका अन्य सबै विद्यालयका शिक्षकहरुलाई निम्ता गरी युकेमा रहेका गाउँलेहरुको एकताका बारेमा जानकारी गराउने पनि उनले प्रतिवद्धता व्यक्त गरे । प्राप्त सहयोगलाई पारदर्शी ढंगले सदुपयोग गर्ने अठोट उनले व्यक्त गरे ।
सहयोग हस्तान्तरण गर्दै समाजका वरिष्ठ उपाध्यक्ष आङबुहाङले उठेको सहयोग सदुपयोग गर्न र त्यसबाट बचेको रकमले यसअघि विद्यालयकै लागि गोरखा वेलफेयर ट्रष्टले निर्माण गरिदिएको हल मर्मत गर्न पनि सुझाव दिएका थिए ।
२००६ सालमा स्थापित सो विद्यालयको आठकोठे भवन निर्माणका लागि सरकारले करिब ४३ लाख उपलब्ध गराएको थियो तर निर्माणका क्रममा कच्चापदार्थहरु महंगीले आकाशिएपछि सबै रकम खर्च हुँदासमेत भवन निर्माण पूरा भएको थिएन । अधकल्चो भवन देउसी भैलो खेलेर, शिक्षकहरुले तलव काटेर चन्दा दिँदा, गाविसबाट बजेट छुट्याउँदा र जिल्ला शिक्षा कार्यालयबाट अनुदान दिइँदा पनि पूरा हुन सकेको थिएन ।
सहयोग हस्तान्तरणमा समाजका महासचिव टेकबहादुर खपाङ्गी र सदस्य लोकेन्द्र याक्सो पनि सम्मिलित थिए ।
यसैबीच सो विद्यालयकै लागि आङबुहाङ परिवार युकेले पनि ६९३ पाउण्ड सहयोग स‌ङ्कलन गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री