बिहीबार, असोज १५ २०७७ | Thu, October 01, 2020
नेपालको समय: ०६:२१ | UK Time: 01:36

गोल्ड मेडल थाप्न थाल चोर्नुपर्‍यो

वीनेपाली
२०७१ भदौ २४ गते १९:१३

OLYMPUS DIGITAL CAMERA
…ढुङ्गाको काप फोरेर पनि उम्रन्छ पीपल.. भन्ने कवितांश कवि लेखनाथ पौड्यालले बोलमाया गुरुङकै लागि लेखिदिएजस्तो लाग्छ । करिब ४० वर्षअघि घरको ‘सपोर्ट’ बिनै रुढीवादी समाजको पर्दा च्यात्दै नृत्यमा नेपाल टप गर्ने उनको जीवन दन्त्यकथा जस्तै लाग्छ ।
त्यसो त उनलाई पनि थाहा छैन कतिबेर कसरी नृत्यको रस बस्यो भनेर । सुवेदार उदवर गुरुङकी कान्छी छोरी उनले चारवर्षको उमेरदेखि पोखरामा बस्न पाइन् । कन्या हाइस्कुलमा पढ्न पाएकी उनलाई यति याद छ आफू ५/१० वर्षको हुादा टोलटोलमा राजाको जन्मोत्सव मनाइन्थ्यो । त्यसमा स्कुलबाट उत्कृष्ट नृत्य लैजाँदा उनी पर्ने गर्थिन् । र, त्यतिबेलादेखि नै उनले नाचेको परिवारले मन नपराएको पनि उनलाई हेक्का छ । भन्ने गर्थे रे, ‘छोरी मान्छे नाच्न हुन्न । कुलको नाक काटिन्छ ।’
काठमाडौँबाट विदा मनाउन होला राजारानी पोखरा गइरहन्थे । मनोरञ्जनका लागि उनीहरुलाई कन्या स्कुलको नाच नभइ नहुने । बोलमाया बिना अपूरो हुन्थ्यो कन्या स्कुलको नाच । “अहिले कसरी चर्चित हुने भन्ने छ तर त्यतिखेर चर्चित हुनु पनि इज्जतै गुमाउनु जस्तो थियो”, हाल युकेमा बसोबासरत् उनले भनिन् । बाउआमाको पिटाइ सहादै भए पनि उनले नृत्यलाई छोडिनन् ।
कक्षा ८ पढ्दा २०२७ सालमा उनले जिल्ला, अञ्चल र राष्ट्रियस्तरमै नृत्य प्रतियोगितामा पहिलो स्थान जमाइन् । राष्ट्रिय प्रतियोगितामा भाग लिन जान उनलाई घरबाट अनुमति दिइएन, बाटो खर्च पनि दिइएन । जहाँ इच्छा त्यहाँ उपाय । उनी पनि के कम घरबाट आठवटा काँसको थाल चोरिन् र बेचेर बाटो खर्च बनाइन् । उनी भन्छिन्, “गोल्ड मेडल जितेर आउँदा पनि घरबाट स्याबासी पाइएन ।”
स्वर्गीय राजा महेन्द्र, वीरेन्द्र, उनीहरुका आमा रत्न र उनीहरुका पाहुना उनका नृत्यका दर्शक हुन्थे । २०२६ सालतिर होला तत्कालीन राजकुमार वीरेन्द्रको निम्तामा नेपाल आएका १२ देशका राजकुमारहरुलाई नृत्य देखाउँदा बेलायतका राजकुमार चाल्र्स पनि दर्शकदीर्धामा भएको उनलाई सम्झना छ । त्यो बेला वीरेन्द्रले ‘ताल पर्‍यो निउरो निउरो’ भन्ने गीत गाएको उनी बिर्सदिनन् । २०२७ सालमा राजा वीरेन्द्रकी आमा रत्नलाई पेटमा चोट लागेको बेला नारायणहिटी दरबारबाटै बोलावट भएर नाच्न गएको स्मरण गर्दै उनी भन्छिन्, “कलाकारको सानोमा सानो र माथि माथिसम्म पहुँच हुँदोरै’छ ।”
नृत्यमा नेपाल टप भएपछि उनलाई कलाकारितामै लाग्न मन थियो । फिल्महरुबाट अफर नआएको पनि होइन । तर परिवार भइदियो काँडेतार । तत्कालिन शाही नेपाल वायुसेवा निगम (आरएनएसी) बाट एअर होस्टेस बन्न अनुरोध पनि आएको थियो रे । प्लेन चढ्न डर लाग्ने भएकाले उनले त्यो पनि लत्याइन् । बाउआमालाई थामथुम पारेर केही समय उनले प्रज्ञा प्रतिष्ठानमा अस्थायी जागिर खाइन् । तर त्यहाँ पनि ‘राम्रो होइन हाम्रो मान्छे’लाई राखिएपछि उनी विरक्तिइन् । बाउआमाको जोड हुर्केकी छोरीको विहे गराउनमा छँदै थियो । उनलाई पनि लाग्यो बरु विहे गरेपछि पो कलाकारितामा स्वतन्त्र भएर लाग्न पाइन्छ कि ?
तावाबाट उम्केको माछो भूङ्ग्रोमा । लाहुरे श्रीमान् पनि परे कलाकारिता मन नपराउने । विवाह भएपछि उनलाई निम्तो आयो यूरोप भ्रमणमा जाने । विश्वका ९६ देशका कलाकारले आफ्नो प्रतिभा देखाउने कार्यक्रममा उनले पनि भाग लिनु थियो । श्रीमान् राजी थिएनन् । उनले श्रीमानलाई सम्झाइन् र सन् १९७३ मा जर्मन, फ्रान्स, बेल्जियम, स्पेन, युगोस्लाभिया (तत्कालीन), युकेमा नृत्य देखाउँदै तीन महिना बिताइन् । एभरेस्ट कल्चर ग्रुपले समन्वय गरेको सो टोलीमा २८ नेपाली कलाकार थिए ।
बेल्जियमको दरबारमा नृत्य देखाएपछि रानीले सोधिन् रे-कहाँ सिक्यौ यति राम्रो नृत्य ? हुन पनि उनले अहिलेसम्म कहीँ नृत्य सिकेकी छैनन् । जो जति जानेकी छिन् त्यसलाई भगवान र प्रकृतिको देन भन्छिन् । “अहिलेजस्तो स्कुलमा नृत्य शिक्षकहरु हुँदैन थिए, गणेश शेरचन (पूर्व मन्त्री) हरुले स्कुलमा कहिलेकाहीँ ताल सिकाउनुहुन्थ्यो । राष्ट्रिय प्रतियोगितामा भाग लिन जाँदा चेतन कार्कीले केही निर्देशन दिनुभएको थियो । वास्तवमा मेरो गुरु कोही छैन ।” उनले भनिन् ।
खासमा उनको सपना थियो नृत्य पाठशाला खोल्ने । श्रीमानले मन नपराएपछि त्यो सपना त्यत्तिकै तुहियो । तर उनी श्रीमान र घर (माइती) लाई मात्र दोष दिने पक्षमा छैनन् । उनीहरुभन्दा पनि त्यतिबेलाको समाजलाई दोषी देख्छिन् उनी । एकपटक गण्डकी अञ्चलका तत्कालीन अञ्चलाधीश गमबहादुर गुरुङले गाउँफर्क अभियानका क्रममा नृत्य देखाउन उनलाई स्याङ्जा लगेका थिए । कार्यक्रममा उनको नाम बोलाउन लागिएको थियो । उनी आफ्नो पालो पर्खँदै ब्याक स्टेजमा थिइन् ठीक त्यहीबेला पछाडिबाट बाउआमाले तानेर गाडीमा राखी पोखरा ल्याएको उनी कहिल्यै भुल्दिनन् । “कुटाइ खाने, पिटाइले खुट्टा सुन्निने त कति भयो कति” उनले थपिन्, “अहिलेजस्तो समाज भए म धेरै माथि जानसक्थेँ” अझ उनलाई लाग्छ, “मजस्ता र मभन्दा प्रतिभाशाली कति कलाकार त्यत्तिकै मरे होलान् म पो आँट गरेर गोल्ड मेडलिस्टसम्म भएँ ।”
राजारानीले कतिलाई तिम्रो चाहना के छ भनेर सोधेको, पढाएको पनि नसुनिएको/नपढिएको होइन । त्यसैले उनलाई सोधियो, ‘तपाईलाई चाहिँ राजपरिवारले तिम्रो के इच्छा छ भनेर सोधेनन् ?’ “खासमा हामी स्वतन्त्र कलाकार हुन सकेनौँ । सिडियो, आर्मी, पुलिसका चिफहरुले आफ्नो फूली बढाउन मात्र हामीलाई प्रयोग गरे । हामीलाई केही थाहा थिएन । नाच देखाउन पाए पुग्यो ।”
आफ्नो सोचाइको जीवन अधकल्चो भएपनि उनी अहिले अरु कलाकारलाई प्रोत्साहन दिन लागिपरेकी छिन् । पोखराको हिमाली साँस्कृतिक परिवार, पोखरेली युवा सास्कृति संघ, झलकमान गन्धर्व ट्रष्ट, सेती गंगा सत्यसाई केन्द्र, साइ विद्याश्रम, नदीपुरमा आवद्ध रहेर उनले कलाकारहरुलाई उत्प्रेरणा दिइरहेकी छिन् ।
अहिलेको पुस्तालाई आफ्नो कला खुलेर राख्न, मिडियाहरु धेरै भएकोले चर्चित हुने मौका पाएकोमा भाग्यमानी ठान्ने उनी कलाकारहरु अनुशासित चाहिँ आफ्नै पालामा भएको ठान्छिन् । “अहिले छिटो नाम र दाम कमाउने भन्ने छ अनि राजनीति पनि” उनले भनिन् ।
पहिले आफ्नो प्रतिभाको कदर नभए पनि अहिले नयाँपुस्ताले आफूलाई कतिपय कार्यक्रममा प्रमुख अतिथि बनाएर बोलाउँदा पुरानो दिन सम्झेर बोल्दाबोल्दै भक्कानिँदै रोएको सुनाउन पनि उनले छुटाइनन् । एकै क्षेत्र भए पनि गायक, संगीतकार अमर हुने तर नृत्यकार गुमनाम हुनुको कारण खोल्दै उनले भनिन्, “नृत्यकारको जीवन लामो छैन गालामा रगत होउञ्जेल मात्र हो उमेर गएपछि कसैले स्टेजमा बोलाउँदैन ।”

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक