लन्डन । चाडपर्वको आगमन शुरु भइसकेको छ । र, यो माहोलमा बेलायत शहरतिर नेपाली कलाकारहरु यत्रतत्र छन् । तीजदेखि शुरु भएको कलाकारहरुको बेलायत आगमन दशैं पूर्व सन्ध्यासम्म खुबै बाक्लिएको छ ।
तीजका बेला लोकगायक पशुपति शर्मा र जमुना सनम गुल्मेलीको निम्तोमा यहां आएपछि कलाकारहरुको यूके आगमन शुरु भएको हो यस वर्ष । यतिखेर गायक प्रमोद खरेल, गायिका सिन्धु मल्ल, हांस्य कलाकारहरु सन्तोष पन्त र सिताराम कट्टेल (धुर्मुस्) शो गर्न बेलायतमा छन् । डिएसआइ इन्टरटेनमेन्टको निम्तोमा बेलायत आएका उनीहरुले पहिलो शो अल्डरसटमा भ्याए, अनि आसफोर्डपछि आज शुक्रबार बेजिङस्टोक र भोलि ह्यारो लिजर सेन्टरमा छ कार्यक्रम ।
उता, डान्स इण्डिया डान्सकी विजेता नेपाली किशोरी तेरिया मगर पनि बेलायत आउंदै छिन् आगामी साता । तेरियाले आगामी १३ सेप्टेम्बरमा रिभरमेड लिजर सेन्टर रेडिङ र १४ मा ह्यारो लिजर सेन्टर लन्डनमा हुने दशैं मेघा इभेन्टमा नृत्य देखाउने कार्यक्रम छ । एक शोमा उनले ५ वटा जति नृत्य प्रस्तुत गर्ने आयोजकले जनाएका छन् । तेरियालाई गायकहरु हेमन्त राना र मिलन लामाले समेत साथ दिनेछन् ।
आयोजकमध्ये एक एभरेष्ट मनी एक्सप्रेसका मुछेत्र गुरुङले इण्डियामा डान्स प्रतियोगिता जितेर तेरियाले नेपाल र नेपालीलाई विश्वभर चिनाए वापत सम्मान दिन शो गरिएको प्रष्ट्याए । तेरिया सहभागी दुई शोबाट आउने मुनाफामध्ये दश प्रतिशत कास्की धम्पुसस्थित उदय मा.वि. र सुनकोशी बाढी पीडितको सहयोगार्थ खर्चने प्रतिवद्धता आयोजकको छ । कार्यक्रम मुछेत्र गुरुङ, कमल गुरुङ, गणेश गुरुङ, नवीन गुरुङ र मिलन गुरुङले संयुक्त रुपमा आयोजना गर्न लागेका हुन् ।
चाडवाडका बेला कलाकार किन विदेश ओइरिन्छन् ? हाल बेलायतमा रहेका गायक प्रमोद खरेलको जवाफ छ, विदेशमा कमाइ राम्रो हुन्छ, नयां नयां शहर घुम्न र आफ्ना फ्यानसंग प्रत्यक्ष साक्षात्कार गर्न पाइन्छ । अधिकांश कलाकारहरुको उद्देश्य यो भन्दा एकप्रतिशत पनि भिन्न छैन् । हालै मात्र २९ दिनमा पैंतीस गीत रेकर्ड गर्न सफल प्रमोदलाई नेपालमै गज्जबको कमाइ छ । मिडियाले बेला बेला सबैभन्दा बढि कन्सर्ट गर्ने र कमाउने गायक भनेर लेखेका पनि छन् । प्रमोदकै गीत अचेल रेडियो, टिभीतिर सर्वाधिक बज्छन् ।
तर, नेपाल र विदेशमा नियमित कन्सर्ट गरिएन भने टिकिरहन असम्भव देख्छन् प्रमोद । अहिले आरबीटी विक्री प्रचलनले केही राहत दिएपनि नेपालमा सिडी बेचेर बांच्ने चलन अब एकादेशको कथा भइसकेकाले विदेश गइरहनुपरेको वाध्यता उनले सुनाए । प्रमोद यूके कन्सर्ट सकेर सिधै दक्षिण कोरिया जांदैछन् भने मिलन लामा अमेरिका उड्ने कार्यक्रम छ ।
यही आइतबार र सोमबार स्थानीय गायिका सितु खरेलले गर्न लागेको सितु सांझमा भाग लिन संगीतकार न्ह्यू बज्राचार्य बेलायत आइसकेका छन् । नेपालका अपाङ्गता भएका बालबालिकाको सहयोगार्थ ७ तारिख प्रिन्सेस हल, अल्डरसट र ८ मा ग्रीनफोर्ड टाउन हलमा हुने उक्त कन्सर्ट बिबिसी सञ्चारकर्मी सुमन खरेलले सञ्चालन गर्नेछन् ।
धर्मेन्द्र सेवान, राजु लामाले गत २९ अगष्टमा कोरोनेट थिएटरमा एउटा कन्सर्ट गरे । यतै रहेका प्रशान्त तामाङ र मनोज गजुरेललाई लिएर हिमाल सांझ गर्ने तयारी समेत छ । धेरै कार्यक्रम हुंदा यसको गुणस्तरियता र दर्शक सहभागिताबारे भने प्रश्न उठ्दै आएको छ ।
कलाकारहरुको यो ओहोरदोहोर बल्ल शुरु भएको छ, तिहारसम्म अरु कयौं कलाकार बेलायतमा भेटिए नौलो नमाने हुन्छ ।
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
बुद्ध जयन्ती मनाउन खेन्पो शेर्पा आइपुगे लन्डन
युरोपवासी सापकोटा भरतपुर महानगरको अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धकमा नियुक्त
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
बेलायतवासी युद्ध साहित्यकार काङमाङ नरेश राईलाई ‘प्रज्ञा अन्तर्देशीय पुरस्कार-२०८२’ प्रदान गरिने
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला