आइतबार, असोज ११ २०७७ | Sun, September 27, 2020
नेपालको समय: १८:०३ | UK Time: 13:18

समुद्रमा तीज रमाइलो

वीनेपाली
२०७१ भदौ ५ गते ८:२८

Teej  cruise
लन्डन । वाध्यताले विदेशिएका नेपाली जुन कुनामा रहेपनि आफ्नो कला संस्कृति भुल्न सक्दैनन् भन्ने पछिल्लो उदाहरण बन्यो पानी जहाजभित्र तीज कार्यक्रम । क्रुज होलिडे केवल रमाइलोमा मात्र बिताउनुको साटो यात्रा अवधिमा केही रचनात्मक कार्यक्रम गर्न उचित ठानेर बेलायतवासी नेपालीले पानी जहाजमै तीज मनाए ।

बेलायतको साउथह्याम्पटनबाट नर्वे घुमेर फर्किंदा ५१ जना नेपालीले पानी जहाजमा तीज कार्यक्रमको मज्जा लुटे । तीज मनाइरहंदा जहाज नर्वेजियन समुद्रमै तैरिइरहेको थियो ।

फाइभ स्टार सर्भिस् दिलाउने बालमोरल क्रुजको हल बुक गरि आयोजित तीज कार्यक्रममा नेपाली दिदीबहिनी रातो सारी र गरगहनामा सजिएर झण्डै तीन घण्टा नाचगान गरेको यात्रामा सहभागी चार्टर्ड एकाउन्टेन्ट एलएन पाण्डेले जनाए । पानी जहाज यात्रामा तीज कार्यक्रम समेत हेर्न पाउंदा रमाइलो लाग्यो, पाण्डेले भने ।
तीज हेर्न विदेशी नागरिक समेत उपस्थित भए, कतिले नाचे पनि ।

तीज कार्यक्रममा स्नेहा श्रेष्ठ र अस्मिता पाण्डेले डिजेको भूमिका निर्वाह गरे भने हल बुक सुरेन्द्र श्रेष्ठले गरेका थिए । साउण्ड सिस्टम त्यहीं, व्यवसायिक फोटोग्राफर पनि जहाजमै । कार्यक्रमले झन् माइलेज पायो । पानी जहाजमा यात्रारत १६ सय सबैले चासो दिएर तीजबारे जिज्ञासा राखेको पाण्डेले स्मरण गरे ।

आठ दिनको यात्रामा नेपाली यात्रुले देशको समसामयिक परिस्थितिबारे पनि गफगाफ गरे । प्राकृतिक विपत्तिले सारा देश रोइरहेकामा उनीहरुको मन पनि भक्कानिरह्यो । कतिपयले यस्तो विपतमा सघाउने मनस्थिति पनि बनाएका छन् ।

अघिल्लो वर्ष चाहिं नेपाली साहित्य विकास परिषद, यूकेले जहाजभित्रै कवि गोष्ठी गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक