बिहीबार, असोज १५ २०७७ | Thu, October 01, 2020
नेपालको समय: ००:२० | UK Time: 19:35

रातो झण्डा, आन्दोलन र काठमाण्डौको अनुहार

वीनेपाली
२०७१ साउन २८ गते १९:०६
कथा
Tanka-Wanem
काठमाण्डौको माओवादी आन्दोलनमा भाग लिएर फुन्यासो,फुर्बा र उनका साथीहरु आफ्नै दुर्गम गाउँतिर लागेका थिए। जहाँ टाउको दुख्दा खाने सिटामोल दबाई समेत किन्न पाइदैन्थ्यो। खैर! सहरको चोक चोकमा खोलिएको साइवर क्याफे र ठूलठूला सपिङ कम्प्लेक्स हेरेर रमाइलो गरेे। बिरामी बोक्ने एम्बुलेन्सको साइरन सुने। सुन्दर महलहरु र चौबाटोमा कुद्ने यातायातका साधन साथै सहरवासीको ठाँटबाँटमा आफुहरुलाई अपहेलित भएको अनुभूति गरे। जे भए पनि आन्दोलनको नाममा उनीहरुले मज्जाले सहर घुमे। हामी किन गरिब भएका हौं? हामी गरिब हुनुको कारण के हो? राम्ररी बुझने मौका पाए। माओवादीले यत्रो जनआन्दोलनको निहुँ बनाएर सहरमा नडाकेको भए फुन्यासो,फुर्बा र उनका साथीहरुले सहर देख्न पाउने थिएनन्। फुन्यासोे १० जनाको हुल बाँधेर माओबादीको आन्दोलन सफल बनाउँन काठमाण्डौ सहर आएका थिए। फुन्यासो,फुर्बा र उनका साथीहरु मुस्ताङ पुग्दा आन्दोलनमा हारे पनि थुप्रै अनुभवहरु बटुलेर गएका थिए। गाउँका मान्छेहरुलाई भेला गरेर काठमाण्डौ सहरको अनुहार र आन्दोलनबारे आ–आफ्नो अनुभव सुनाए। फुन्यासो र फुर्बालाई सबै कुरा राम्रो लाग्योरे! तर राजधानीको विभिन्न चोकमा लत्रिएको टेलिफोनको तार र सहरको सडकमा थुपारिएको फोहोर उठाउँन पर्दा भने ज्यादै रिस उठेछ। मिङ्मालाई पनि उस्तै रिस उठेछ। उनको प्रतिक्रिया यस्तो थियो। त्यस्तो सुन्दर सहर बनाएर बस्न जान्ने मान्छेहरु आफ्नो फोहोर मैला उठाउँन नसक्ने अल्छी हुँदा रहेछन।
                  काठमाण्डौबाट मुस्ताङ पुगेको भोली पल्ट थेबाले गाउँका सबै गाउँलेहरुलाई भेला हुन आदेश दिए। गाउँका गाउँलेहरु भेला भए पछि थेबाले भने “हामी सहरबाट धेरै टाढाछौं माइलेत सहर देखेको छैना लौ सहरमा के के भयो सुनाई देउ” भने पछि १० जना आन्दोलनमा भाग लिएर फर्केका आन्दोलनकारी जवानहरुले पालै पालो आ–आफ्नो अनुभव सुनाउँन थाले। फुन्यासो समुहका नाइके भएको हुनाले उसैले काठमाण्डौमा भएको आन्दोलनवारे आफ्नो अनुभव सुनाउँन अघि सर्‍यो।
                         उनी भन्न थाले,आन्दोलन शुरु हुनु दुई दिन अघि काठमाण्डौ सहर पुगेर पार्टीको सम्पर्क कार्यालयमा नाम दर्ता गरे पछि मज्जाले काठमाण्डौ सहर घुम्यौं। सहर राम्रो राइछ,कति धेरै स्कुल,कति धेरै अस्पताल,कति धेरै घरहरु,सबैले ल्होसारमा लगाउँने सुकिला मुकिला लुगा लगाउँदा रहेछन। एउटा स्कुल र अस्पताल हामीलाई दिए कति राम्रो हुने थियो। सहरवासीले किन हो हामीलाई राम्ररी हेर्दा रहेनछन्। हाम्रो हिँडाई बोलाई र लगाएको लुगाको गन्धले पनि पर……..परै भाग्ने रहेछन। सहरवासी र हामीमा धेरै फरक पाएँ। उनीहरुले हामी जस्तो बाक्लो दुध नखाँदो रहेछ। तर खाना भने खाल खालको खादाँ रहेछन्। मलाई त सहरका मान्छेहरु खर्कबाट उधौँली लागेको चौँरी गाईहरु हतार हतार ओरालो दगुरे जस्तै लाग्यो। सबैलाई धेरै हतार हुँदो रहेछ। हाम्रा भाई बहिनीहरु भेडा च्याङग्रा र चौँरी गाई चराउँन गए
जस्तो सहरका साना साना नानीहरु गोठला जानु पर्दैन रहेछ। उनीहरु त झोलाभरि किताबको भारी बोकेर स्कुल जानु पर्दो रहेछ। न्यास्योले अरु के के भन्न खोज्दै थिए।
                       थेवाले लौ न्यासो तिम्रो पालो पुग्यो भने पछि मिङ्माले आफ्नो अनुभव सुनाउँन थाल्यो। पुगेको दिन मलाई सुत्न गाह्रो भयो। सहरको भुसुना(लामखुट्टे)ले टोकेर हैरान बनायो। ग्याल्जेनले भैरुम्पातीको धुप नवालेको भए रातभरि भुसुना धपाउनु पर्दथ्यो। मलाई त सहरवासीको घर मात्र मन पर्‍यो। पानी पनि पहिरे खोलाको जस्तो धमिलो हुँदो रहेछ। त्यो धमिलो पानी पिउँदा छेरपाटे लागेर झन्नै खुस्केको मो त। अवो मो सहर जान्नँ। तर रातो झण्डा बोकेर कराउँन भने मज्जा आयो। अलिक दिन कराउँने विचार थियो। हाम्रो नेताले अव नकराउँनु भनी हाल्यो।
                       थेवाले मिङ्माको पनि पालो पुग्यो भने पछि दोर्जे अघि सर्‍यो। सहर त राम्रो रहेछ। हावा जहाज पनि कति नजीकै उड्दो रहेछ। गिद्ध जस्तो जहाज हेर्न न्यास्सो मानेको थिएन। बल्लैले माने पछि कति धेरै जहाज हेर्न पाइयो। तर सहर गन्हायो, मलाई त यतै राम्रो लागेकोछ। भोटीको बच्चाले मन तानेर होला मेरो मन सहरमा थिएन। सहरमा धेरै मान्छे बस्दा रहेछन्। थेबाले वीचैमा सोधे पार्टीले अरु धेरै कुरा सिकाउँने भनेको थियो। के के सिकेर आयौ त? दोर्जेले भन्यो के सिक्नु नि देशको माया गर्नु पर्छ रे। कतातिर हो हाम्रो देशको साँधमा कस्ले हो कुन्नि? साँधको ढुङ्गा गायव गरेको छ अरे। अव सबै मिलेर देशको माया गर्नु पर्छ रे। माकुरे(माकुने)भन्ने ठूलो मन्त्रिले राम्रो काम गरेन रे। त्यसैले उसलाई कुर्सीबाट खसाउँनु पर्छरे। थेवाले दोर्जेको पनि पालो पुगेको सङ्केत गरे।
                             पासाङ् अलि लजाउँदै अघि बढ्यो। थेवाले भन्यो ल पाशाङ के देखिस भान। पाशाङले हातको औँला पड्काउदै भन्न थाल्यो। हाम्रो लुगा राम्रो मान्दैन राइछ। सहरका धेरै मान्छेहरुले हामीलाई सोध्यो,भाई कहाँबाट आको कति पैसा दिएर आयौ? कुड्की,बिखमा र यार्सागुम्बा बोक्ने भाईहरु पनि रातो झण्डा बोक्न लागेछौ अरे। हामीलाई पार्टीले आन्दोलनमा बोलाएर आएको भन्दा पनि नपर्‍याउँने। त्यो हातमा तोक्मा जस्तो डण्डा  बोक्ने मान्छेले त हामीलाई खेदै गरेको। त्यस्तो सहरमा पनि के जानु। मलाई त चौँरी गोठमा बस्नै रमाइलो लाग्यो। थेवाले अव ग्यालजेनलाई बोल्ने सङ्केत गर्‍यो उस्ले १० कक्षा पास गरेको थियो। थेवाले भन्यो ग्यालजेन तिमी ता पढेको मान्छे हो। के देख्यौ त सबै गाउँलेहरुलाई भान।
              ग्यालजेनले आफ्नो अनुभव सुनाउँन थाल्यो। माओवादी पार्टी भनेको हामी जस्तै गरिवको पार्टी हो। अनित हामीलाई बोलायो। अरुले यसरी बोलाएको छैन्। काठमाण्डु पहिले पनि पुगेको हो। काठमाण्डु सहर राम्रो लाग्छ तर त्यहाँ हामी जस्तो विचार भएका मान्छेहरु बस्दैनन्। उनीहरुलाई धेरै पैसा चाहिन्छ। धेरै पैसा कमाउँने मान्छेहरुको विचार अर्कै हुन्छ। गरिव गुर्वा र नेपालको माया गर्ने माओवादीको विचार राम्रोछ। तर त्यहाँ ठूलठूला थेवाहरु बस्ने गरेकाछन। माओवादीको कुरै सुन्ने होइन। हामी थेवाका लागि लडाइँ नगरी सबै मिलेर थेवा चुन्न एक मत हुन्छौं तर काठमाण्डुका मान्छेहरु त सबै थेवा हुन खोज्दा रहेछन। कहाँबाट सबै थेवा हुन पाइन्छ र? यसपल्टको आन्दोलनले हामी जस्ता धेरै गरिब जनताहरुलाई धेरै कुरा सिकायो। हामी किन गरिबछौं। किन बाटो बन्दैन? किन विजुली बत्ती बल्दैन। यो सबै काठमाण्डौले मात्र आफ्नो भागमा थुपारेको हुनाले हामी यस्तो भएका हौं। काठमाण्डौसंग सबैछ। हामीसंग केही पनि छैन्। उसंग ठूलठूला हावाई जहाजछ। सर्वोच्च अदालतछ। राजा महाराजाहरुको दरबार पनि त्यहीछ। मठमन्दिर,धेरै पढेका,धेरै पैसा भएका नेता,भ्रष्टचारी,लोभी र ढाँट्ने मान्छेहरु पनि त्यही बस्छन्। यति मात्र होइन त्यती धेरै देउ देउताहरुले मिलाउँन नसकेका नेताहरु पनि त्यही बसेका छन। ठूलठूला स्कुल र कलेजहरु पनि त्यही छन्। तर हामीलाई एउटा स्कुल र अस्पताल पनि दिँदैन्। लोभी काठमाण्डुले यसो नगरेको भए माओवादीले यस्तो लडाइँ गर्नु पर्दैन थियो होला।
                               ग्यालजेन एक प्रकारले माओवादी भाषण नै छाट्दै थिए। तर थेवाले ग्यालजेनको कुरा त्यती मन पराए जस्तो थिएन। फुटी र काङ्मीले सबैलाई तातो तातो भोटे चिया बाँड्दै थिए। चैत वैशाख भए पनि सिर्‍याटोको तमाशा होला होला जस्तो हुँदै थियो। काठमाण्डौको अनुभव सुन्ने मान्छेहरु पातलिन्दै गएका थिए। जूनकीरी जस्ता यार्सागुम्बा पुतलीहरु उडी रहेको देखिन्थ्यो। अन्त्यमा थेवाले भने,रातो झण्डा बोकेर काठमाण्डुको  समाचार लिएर आयौ। काठमाण्डुका मान्छेहरुले हामीलाई कसरी हेर्दा रहेछन थाहा भयो। अर्को हप्ता सहरमा देखेका राम्रा राम्रा कुराहरु जम्मा गरेर आउँनु। ति राम्रा कुराहरु जम्मा गरेर हामीले पनि हाम्रो गाउँ समाज अझ राम्रो बनाउँनु पर्छ। थेवाले दुवै हात उठाएर सभाविसर्जन भएको सङ्केत गरे। हिमालको चुचुरोमा रातो घाम टल्की रहेको थियो। फुन्यास्सो र उनका साथीहरु गीत गाउँदै आ–आफ्नो घर लागे। थेवाको कानमा टाढा कतैबाट आएको मधुरो गीत गुन्जी रहेको थियो।
येमाङासु ये लाथासुची
लासु लाची लासु लायी
ल यङ सो ओ ल यङ्सो छे
यङ्सो छे यङ्सो छे
तवी छेन्चेन ग्यासो
तवी छेन्चेन ग्यासो
ल ङिवु देम्बा याचीना स्यूये
ल तवु देम्बा याचीना स्यूये।
            काठमाण्डौको अनुहार हेरेर फर्के पछि ग्यालजेनको मन समुन्द्रको आँधी बेह्री बनी रहेको थियो। काठमाण्डौले भोगेको सुविधा मुस्ताङ र दार्चुलाले कहिले भोग्छ होला? उनी आफै तर्क गर्थे। फेरी काठमाण्डौको हल्ला यहाँ आइ पुग्यो भने स्यार्पु लेकमा गोठ बस्नुको मज्जा नै कस्तो रमाइलो होलार? ग्यालेजेन राम्ररी निदाई सकेका थिएनन्। आधा रातको सन्नाटामा एकास्सी काङ्भे कुकुर हडबडाएर काइँकाइँ गर्न थाल्यो। उ लरतरो त्यसरी आत्तिने कुकुर थिएन। ग्यालजेन उठेर बाहिर निस्कि सक्दा ग्याल्जेनको बाबु दावा अगुल्टो बोकेर तीन काँध्ला उफ्रि सकेका रहेछन्। ग्याल्जेनको आमा दावाफुटी पनि उठेर तरङमरङ गर्दै थिइन्।
           ग्यालजेनले तीन काँध्ला मुनीको पल्लो कुनामा अगुल्टोको मधुरो झल्काहरु तिरमिराएको देख्यो। उ पनि उत्तैतिर हान्नियो। मानौ कसैले हानेको काँड भएर उ उत्तैतिर बत्ति रहेकोछ। ग्यालजेनको बाबु दावाले काङ्भेको टाउको सुमसुम्याई रहेका थिए। काङ्भेलाई निगाले बाघले घिसारेछ। काङ्भे अझै सम्म कुइँकुइँ गरेर डरले थर्रथरी कामी रहेको थियो। बाबु छोराले काङ्भेलाई आँगनमा बोकेर ल्याए। दावाले भन्यो। ग्यालजेन औतारीलामालाई बोलाएर ल्या ल्या। अगुल्टो हल्लाउदै हिँडेको ग्यालजेन रित्तै फर्क्यो। औतारीलामा त गुफा बस्न गएका रहेछन्। बाबु छोरा भएर निगाले बाघले टोकेको घाउमा जटामासी र अन्य जडीबुटी पिँधेर लगाइ दिए। दावाफुटी भन्दै थिइन्। निमाले हिज गोठबाट काङभेलाई नल्याएको भए यस्तो दुर्घटना हुँदैन्थ्यो। दावाले उवाको खोलेमा महि घोलेर काङ्भेको अघिल्तिर राखी दियो। तर काङ्भेले वास्ता गरेन। ग्यालजेन भन्दै थियो,काङ्भेलाई घिर्सार्ने त बाघ नै हुनु पर्छ। दावाले काङ्भेलाई घिर्सार्ने तस्करको पैताला हेरेर तसली गरे। यो तस्कर निगाले नै हो,बाघ होइन। दावाफुटीले निकैवेर नियालेर भनिन्। काङ्भेलाई उपचार गर्न सकिने भए बाँच्ने थियो कि? दावाफुटीको झनो आशाप्रति सबै मौन थिए। मानौ उनीहरुको आशय पनि त्यही नै हो।
                    मिरमिर उज्यालो हुन लागेको थियो। ग्यालजेन चोँरी गोठमा जानको लागि आफ्नो खाजा सामल मिलाउँन लाग्यो। भुटी खाने मकै,उवा र फापरको पिठो,पोहोर साल हिउँदमा पुरिएको चौँरी गाईको सिकुटी,केही भोटे मुला र आलु साथै माओवादी आन्दोलनमा जाँदा ल्याएको दुई चार पोका चाउ चाउ आदि। हिमालको टुप्पोमा बिहानको पहिलो घाम झल्मलाउँदा ग्यालजेन गाउँ छाडेर निकै माथि पुगेको थियो। गुराँसका पोथ्रा पोथ्रीहरुमा रंग बिरंगका गुराँसका फूलहरु ढक्कमक्क फुलेका थिए। ग्यालजेनले छर्लङग खुलेको आकाशलाई नियालेर निकैबेर हेर्‍यो र पैताला बढाइ रहर्‍यो। आहा! काठमाण्डौ भन्दा यो शिखरको लेक कस्तो सुन्दरछ। छेउको पोथ्राबाट एउटा मुनाल चरो भुर्रर उडेर बेग मार्‍यो। ग्यालजेनको आँखाले भ्याइञ्जेल सम्म हेरी पठायो।
            गोठमा पुग्दा ग्यालजेनको भाई पेम्बा गोठको अघिल्तिरको ढुङ्गामा बसेर एकतारे टुङ्ना बजाउँदै गुनगुनाई रहेका थिए। भरखरै गाउँबाट शिखर चढेका चौँरीहरु हिमालको काखमा न्यास्रो मानि रहेको देखिन्थ्यो। ग्यालजेनलाई काङ्भेको समाचार सुनाउँ कि नसुनाउँ भयो। काङ्भेलाई पेम्बाले नै हुर्काएको थियो। सानो छँदा उनीहरु संगै सुत्ने गर्दथे। पेम्बाले सधैँ आफ्नो भागको अलिकति मासु उभारेर काङ्भेलाई दिन्थ्यो। ग्यालजेनले यति मात्र भने काङ्भे बिरामीछ। ग्यालजेनको कुरा सुनेर पेम्बा बच्चा खोसिएको मृग जस्तै ओरालै ओरालो दगुर्‍यो। ग्यालजेनले म भन्दा धेरै पढेर काठमाण्डौको अनुहार फेर्नु पर्दछ है भन्न पनि भ्याएन्।
                        ग्यालजेन त्यही ढुङ्गामा थचक्क बस्यो। जहाँ पेम्बा टुङ्ना बजाउँदै बसेको थियो। उसले रातो झण्डा,आन्दोलन र काठमाण्डौको अनुहारवारे निकैबेर गमेर सोँच्यो। किन आन्दोलन हुन्छ? फेरी आफ्नो भाई पेम्बा र परिवारले अति माया गरेको काङ्भेलाई सम्झयो। काठमाण्डौको अनुहारमा परिवर्तन हुन सकेको भए काङ्भे मर्दैनथ्यो होला। फेरी आफैलाई आश्वासन दियो। नेपाली जनताले मान्छेको रुपमा बाँच्न पाएका छैनन् म काङ्भे कुकुरकोवारेमा सोँची रहेकोछु। काठमाण्डौको अनुहारले म बसेको यो लेकलाई आफ्नो अनुहार सम्झेको भए स्वर्ग बनाउँन सकिन्थ्यो होला।
                         लामु नामको चौँरी गाई गोठनेर आएर फुँ फुँ गर्न लागिन्। अनि पो ग्यालजेन झसङ्ग भयो। वेलुकिको दुध दुहुने वेला भएछ। दक्षिण पश्चिम पट्टि धौलागिरी हिमालको शिखरमा सूर्यास्तको मधुरो रंग पोतिएको थियो। सिर्‍याटोको चिसो सरसराहट शरीर भरि दौडिन थाले पछि हिमालको टुप्पोमा रंगिएको सूर्यको रातो टिका पनि झ्याप्पै निभ्यो। त्यो सिद्धि लेकमा न जूनकिरीहरु उड्थे न कीरा फटेङ्ग्राहरुको हल्ला सुनिन्थ्यो। कतै टाढा एउटा धोद्रो स्वरको चरो कराउँथ्यो। उसको मन चलचित्रको पर्दामा सिन फेरिए झैं फेरिन थाल्यो। मुस्ताङ मा.वि.का सहपाठीहरु कहाँ पुगे होलान्? वा के के गर्दै होलान्? हुन सक्छ उनीहरु काठमाण्डौको अनुहार फेर्न आन्दोलन गर्दै होलान्। लहमु त दार्जिलिङको केटासंग विवाह गरेर गइछ। याल्मु र डोल्मा भोट पुगेछन्। ग्यालजेनलाई निन्द्रा लागेन। पेम्बाको टुङ्ना बोकेर त्यही ढुङ्गामा गएर थचक्क बस्यो।
                              आकाशमा हजारौं ताराहरु टिमटिमाई रहेका थिए। दक्षिण पूर्वको क्षितिजमा सेतो वादलको थुप्रोहरु अग्लि रहे र्झै देखिन्थ्यो। हुन सक्छ त्यो अन्नपूर्ण हिमालको चुचुरो होला। ग्यालजेनले मनमनै काठमाण्डौको अनुहार र स्वर्ग प्राप्तिको एकान्त रातलाई दाँज्यो। जन्मेर बाँच्नुको लक्ष्य र सफलता चुम्ने शिखरका बाटाहरु खोज्यो। तर कतै भेटेन ति टिमटिमाउँदो बरातमा आफुले चाहेको काठमाण्डौ अनुहार। काठमाण्डौको अनुहार र यो एकान्त रातको आफ्नो अनुहारमा आकाश पतालको भिन्नता थियो। अचानक गुनगुनाउँन पुग्यो “ॐ मणि पद्ये हुँ” …..फेरी आफै गुनगुनायो आन्दोलन बिना कहीँ पनि परिवर्तन भएको इतिहास लेखिएको छैन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक