शनिबार, कार्तिक ८ २०७७ | Sat, October 24, 2020
नेपालको समय: १७:५५ | UK Time: 13:10

जति धनी, उति मिलनसार

वीनेपाली
२०७१ साउन २१ गते ९:१६

559042_598085276869089_1622281262_n

बुढापाका बेला बेला सुनाउंछन्, ‘भाग्य भए डोकोमा पनि दुध अडिन्छ ।’ उनीहरुको बुझाइ हो, भाग्यमानीलाई जसरी पनि सफलता मिल्छ । तर, भाग्यले मात्र सफलता चुमिने सपना देख्दैनन् कुल आचार्य (४१) । किचन पोर्टर देखि मिलिनियरसम्म बनेका उनी भन्छन्, ‘इमान्दारिता, लगनशीलता र कडा परिश्रम नै सफलताका कडी रहेछन् ।’

सन् १९९९ मा यूके आए उनी । त्यतिबेला टेस्कोतिर सामान मिलाउने र भाडा माझ्ने काम नै हो नेपालीले गर्ने भन्ने आम मान्यता व्याप्त थियो । तर, उनी सेफ बन्न चाहन्थे । कामको खोजीमा भौतारिरहंदा उनले रुची नामको एउटा रेष्टुरेन्टमा किचन पोर्टरको काम पाए । त्यहां ६ साता काम गरेपछि उनी बम्बइ बाइसाइकल रेष्टुरेन्ट छिरे । यस रेष्टुरेन्टमा फुल टाइम काम शुरु गरेको तीन महिनामै इण्डियन खाना बनाउन सक्षम भए उनी । तन्दुरी सेफ हुंदै सेफको जिम्मेवारी सम्हालेपछि ग्राहकको स्यावासी र मिडिया पब्लिसिटीमात्र होइन, सन् २००४ डिसेम्बरमा ‘वेष्ट रोल अफ दि इयर’ उपाधि पाए आचार्यले । यस उपाधिले उनलाई थप उत्साहित तुल्यायो । उक्त रेष्टुरेन्टमा एकपछि अर्को गर्दै सफलता मिल्नुमा केही कारण छन् । बेलायती नागरिक जुलियन थिए बम्बइ बाइसाइकलका सञ्चालक । उनीसंग एकसय भन्दा बढि नेपाली काम गर्थे । तर, ति सञ्चालकसंग अरुको भन्दा राम्रो सम्वन्ध रह्यो आचार्यको । सन् २००३ तिरको कुरा हो, इमिग्रेसनले एक्कासी छापा मारेर धेरै कामदार पक्रिएपछि काम गर्ने सहकर्मी सिमित हुंदा आचार्य एक्लैले सारा जिम्मेवारी कांधमा लिइदिए । उनको यो लगाव देखेपछि जुलियनले उनलाई घरैमा बोलाएर ५०० पाउण्ड बोनस दिन खोजे । तर, आचार्यले बोनस लिन मानेनन् किनकि उनलाई लाग्यो, अप्ठेरो परेको अवस्थामा मैले खुशी राजीले सहयोग गर्दा पनि बोनस लिएं भने कमर्शियल देखिन सक्छ । बरु उनले बोसलाई त्यतिबेलै भनिदिए, ‘सर, नो थ्याक्ङ्स्, आइ विल आक्स् इन फ्यूचर इफ निडेड ।’ हप्ताको दुई सय १५ पाउण्ड कमाउने आचार्यले ५ सय पाउण्ड बोनस नलिंदा त जुलियनको मन झन पग्लिएछ, उनी त्यसपछि त बम्बइ बाइसाइकलको एउटा विश्वासिलो खम्बा जस्तै भए । यही अवधिमा आचार्यले क्लिनिङ कामको कन्ट्रयाक्ट र नर्सिङ होममा पार्ट टाइम सेफ भएर पनि काम गरिरहेका थिए ।

समय बित्दै गयो । रेष्टुरेन्टमा ६ वर्षको अनुभव र मिडियाको निरन्तर सहयोगले उनलाई आफैं केही गरौं भन्ने लागेछ । सन् २००५ डिसेम्बरमा बम्बइ बाइसाइकल छोडेर आफ्नो बेग्लै रिसिपीमा स्वस्थकर खाना पस्कने उद्देश्यले होली काउ नामक टेक वे शुरु गरे सन् २००६ देखि । एक जना चालक, दुई जना फ्रण्ट र तीनजना किचनमा बसेर शुरु भएको थियो पहिलो होली काउ ब्रान्च, ब्याटर्सी पार्क रोडमा । सेफ आचार्य आफैं थिए । इण्डियन र नेपाली खानाको फ्युजनमा सञ्चालित उनको टेक वे शुरु देखि नै चल्यो । त्यसपछि सन् २०१० सम्म वर्षैपिच्छे एक एक वटा र सन् २००९ मा एकैवर्ष दुई वटा टे वे खोलेपछि हाल उनका सातवटा ब्रान्च छन् यूकेका विभिन्न शहरमा । ८० प्रतिशत नेपाली काम गर्छन् होली काउमा । एकसय ७२ जना पे रोलमा छन् । वार्षिक टर्न ओभर ५ मिलियन पाउण्ड छ ।
‘इमान्दार र कडा परिश्रम गर्ने भाइ बहिनीकै कारण टेक वे चलेको हो । म बिजी भएपनि उनीहरु आफैंले सबै सम्हाल्छन्, चिन्ता छैन्’, आचार्य आफ्ना कामदारमाथि जस दिंदै थिए । होली काउ अवार्डभन्दा गुणस्तरिय सेवामा विश्वास गर्ने आचार्यको कथन छ । ‘विजनेश चलिरहेकाले अवार्ड पाउन अहिलेसम्म निवेदन हालेको छैन्’ उनी प्रष्ट्याउंदै थिए । अहिले सामाजिक काममा भुल्नु परेकाले लन्डनमा फाइन डाइन रेष्टुरेन्ट समेत विस्तार गर्ने योजना बढ्न नसकेको उनले खुलाए ।
अहिले उनी सामाजिक काममा बढि अग्रसर भएर व्यवसायतिर उति समय दिन सकिरहेका छैनन्, तैपनि मिलेसम्म रेष्टुरेन्ट जाने गर्छन्, कुनै दिन स्टाफ कमी भए आफैं खाना पकाउन कस्सिन्छन् । उनलाई काम सानो, ठूलो लाग्दैन । उनले रेष्टुरेन्ट व्यवसायमा हात हालेपछि करिब २५ जनाको वर्क परमिट मिलाइदिइ सकेका छन् ।

पर्वत धाइरिङ ९ मा जन्मिएका हुन् आचार्य । उनका बुबा ज्योतिष पण्डित धर्मनाथ उपाध्याय समाजसेवी थिए । वि.स. १८ सालमा गुरु कुल पद्धतिबाट कृष्ण भवन प्राथमिक विद्यालय शुरु गर्ने श्रेय उनका बुवालाई नै जान्छ । आफूले उच्च शिक्षाको उचित अवसर नपाएको तिक्तता मनमा रहिरहेको थियो । बाल्यकालमा छिमेकी जिल्ला म्याग्दी गएर अध्ययन गर्न बाध्य आचार्यले ०४५ सालमा पिताजी गुमाएपछि पिताजीले जग हालेको प्राविलाई उच्च माविमा लैजान १४ लाख रुपैयां एकै चोटी दिएर अहिले त्यो स्कुल कृष्ण भवन धर्म उच्च माविका रुपमा सञ्चालित छ । आचार्यको त्यो योगदानका कारण अध्ययनकै लागि अब दुई घण्टा पैदल हिंडेर छिमेकी लेखफांट गाविस, म्याग्दी वा बाग्लुङ जानुपर्ने वाध्यता हटेकाले स्थानीय उनीप्रति सधैं नतमस्तक छन् । आचार्यले नै पिताजीको नाममा विद्यालयमा एक लाख एघार हजार एकसय एघार रुपैंया अक्षय कोषको कुल धर्म जयन्ती पुरस्कार स्थापना गरिदिए । त्यही उच्च माविमा इ लाइब्रेरी बनाउन पनि उनले सहयोग घोषणा गरिसकेका
छन् ।
त्यस्तै फर्से धाइरिङ माविमा तीन लाख २२ हजार दुई सय २२ को मुना स्मृति पुरस्कार समेत स्थापना गरेका छन् आचार्यले । उक्त पुरस्कार स्थापनाको प्रसंग खोतल्ने हो भने अलिक मार्मिक छ । आचार्यको कलिलै उमेर १२ वर्षमा बिहे भएको रहेछ, त्यसको एकवर्षपछि नै पत्नी बितेपछि उनले उनै श्रीमतिको नाममा उक्त पुरस्कार स्थापना गरेका  हुन् । उनको सहयोगी भावना जति वर्णन गरे पनि अपुग लाग्छ । आचार्यले साढे ६ लाखमा भूमे ठाकुर मन्दिर निर्माण गरिदिएका छन् धाइरिङमै । गाउंतिर विद्यालय, बाटो, स्वस्थ चौकी, मठमन्दिरमा धेरथोर आर्थिक सहयोग त हिसाबै छैन् । सुस्ता देखि काठमाण्डौं माइती नेपाल, पर्वत कुश्मामा संस्कृत पाठशालाका देखि देवघाटसम्म पुगेर गरेको आर्थिक सहयोग पनि उस्तै छ । बेलायतमा मर्दा पर्दा र सातापिच्छे हुने प्रत्येक च्यारिटीमा एकसय देखि ५ सय पाउण्ड सम्म दिने चन्दादातामा उनको नाम अग्रपंक्तिमा छ । मागेपछि नाइ भन्न नसक्ने उनको स्वभावैले धेरै व्यक्ति र संघसंस्था उनीबाट बढि नै अपेक्षा गर्छन् ।
आचार्य र समाजसेवा एक अर्काका पर्याय हुन् । एनआरएनए यूके निवर्तमान अध्यक्ष आचार्यले संस्था प्रवेश गर्नुअघि नै एक दिन अध्यक्ष सम्म पुगेर नेपाल र नेपाली समुदायको हितमा काम  गर्ने अठोट लिएका थिए । आखिर उनी सदस्य, उपाध्यक्ष हुंदै अध्यक्ष बन्न सफल भए ।
संस्थामा तीन कार्यकाल अवधिमा उनका केही प्रशंसायोग्य काम भए । सदस्य चुनिए लगत्तै उनको संयोजकत्वमा तीन महिनाभित्र काठमाण्डौ त्रिभुवन एयरपोर्टमा ४० वटा ट्रली पुगे । उपाध्यक्ष हुंदा वेलफेयरका २२ विभिन्न काम गर्दा उनी अध्यक्षका लागि योग्य सावित भइसकेका थिए । कल्याणकारी कामको प्रस्तुतिले नै बहुमतबाट अध्यक्ष पद आयो उनको  कांधमा ।

एनआरएनए यूके अध्यक्षका हैसियतमा उनले पहिलो ओलम्पियन स्वर्गीय भुपेन्द्र सिलवाललाई लन्डन झिकाए । लन्डन आएपछि सिलवालले ‘खाल्डोमा थिएं, सगरमाथाको चुचुरोमा पुगें’ भनेको शब्दले कुलको मन सधैं भावुक भइरहन्छ । स्वदेश तथा प्रवासमा कार्यरत नेपाली पत्रकारहरुको क्षमता अभिवृद्धि एवं प्रोत्साहनका लागि पत्रकार अक्षय कोष स्थापना गर्न उनको अथक योगदान रह्यो जसका लागि एक च्यारिटीबाट १५ लाख रुपैंया संकलन भएको थियो । बेलायतबाट नेपालमा लगानी भित्र्याउने सवालमा पनि आचार्यको भूमिका अग्रणी छ । गैर आवासीय नेपालीहरुको संयुक्त लगानीमा बन्ने ५ अर्व रुपैंया बजेटको जलविद्युत योजना होस् वा काठमाण्डौं हेटौंडा सुरुङ मार्ग (टनेल), तिनमा उनी प्रत्यक्ष संलग्न भए । जुम्लामा बर्थिङ सेन्टरका लागि पैंतीस लाख सहयोग पठाउने क्रेडिट पनि आचार्यलाई नै जान्छ । उनी अध्यक्ष भएपछि बेलायतस्थित नेपाली संघसंस्थाबीच सुमधुर सम्वन्ध र सहकार्य बढेको महशुस कतिपयले गरेका छन् । ‘यस्ता सहकार्यले एनआरएन साझा संस्था हो भन्ने सन्देश दिन्छ’, उनलाई विश्वास छ ।
पहिलोपटक महिलाहरुको प्रोत्साहन र सम्मानका लागि महिला दिवस मनाउने कार्यको थालनी पनि उनी अध्यक्ष छंदै भएको थियो । हंसिलो स्वभाव, मिठो बोल्ने, अरुलाई कहिल्यै हानी र घमण्ड प्रदर्शन नगर्ने उनको स्वभावबाट प्रभावित नेपालीको संख्या उल्लेख्य छ । ‘म जान्ने’ को सट्टा ‘म सिक्दै छु’ भन्ने मान्यताले संस्थामा उनी ‘पपुलर’ भएको धेरैको बुझाइ छ । तीन छोरी, श्रीमतिका साथ लन्डन, हेनवेलमा बस्छन् आचार्य ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक