लण्डन । खोक्नु, हाइ काड्नु, डकार्नु आममानिसको दिनचर्यामा अति सामान्य कुरा हुन् । दिनमा अनेकौँ पटक दोहोरिने यस्ता कार्य गणना त के सम्झनासम्म गर्न लायक ठानिँदैन । तर कहिलेकाहीँ यस्ता सामान्य बेहोराले पनि जघन्य दुर्घटना गराउँदो रहेछ । हो, यस्तै परिबन्दमा फसेका छन् वेल्समा बसोबासरत् हरिसिंह गुरुङ ।
अति सम्वेदनशील अवस्थामा भएको बखत हाच्छिऊँ आउँदाको परिणतिले ४५ वर्षीय पूर्व गोरखा सैनिक गुरुङलाई अहिले ज्यान मुद्दामा तानेको छ ।
गत जुलाई २० तारिखका दिन वेल्सस्थित मोनमाउथसायरको ए४० राजमार्गमा गुरुङ मोटर कुदाउँदै थिए । अचानक उनलाई हाच्छिऊँ आयो । जसले पेटमा सहनै नसकिने गरी कोपर्यो । त्यही कारण उनले गाडीको सन्तुलन गुमाउन पुगे । जसका कारण सोही समय सोही सडकमा अर्को गाडीमा यात्रारत वृद्ध दम्पत्ति डेभिड मार्शल र मेरीको गाडीसित उनको गाडी ठोक्कियो । त्यही दुर्घटनाका कारण दम्पत्तिको निधन भयो । गुरुङ भने बालबाल बचे ।
अहिले सो घटनामा जोखिमपूर्ण गाडी चलाई ज्यान लिएको र जथाभावी गाडी चलाएको आरोप उनीमाथि लागेको छ । जसलाई उनले अस्वीकार गरेका छन् । सो मुद्दाको न्यू पोर्ट क्राउन कोर्टमा सुनुवाइ शुरु भएको स्थानीय साउथ वेल्स अर्गस पत्रिकाले जनाएको छ ।
सुनुवाईमा बुधबार प्रस्तुत हुँदै गुरुङले भने, “मलाई थाहा छ जतिखेर हाच्छिऊँ आउन शुरु भयो त्यतिबेला म दोस्रो लेनमा थिइनँ । म राम्रोसित सम्झन्छु मेरो दायाँ हात स्टेरिङमा थियो र म गाडीलाई नियन्त्रणमा लिइरहेको थिएँ । मेरो देव्रे हात मेरो पेटमा थियो जसले म मेरो पेटको पीडा नियन्त्रणमा लिन कोसिस गरिरहेको थिएँ ।”
यस्तो खालको हाच्छिऊँबाट आफू यसअघि कहिले पनि पीडित नभएको उनले बताए । “मांसपेशीमा भएको दुखाइका कारण श्वास फेर्न र रक्तसञ्चारमा गाह्रो पारिरहेको थियो । यो असाध्यै पीडादायी थियो” अदालतमा उपस्थित हुँदा उनले भने ।
कार्डिफ विश्वविद्यालयका प्रोफेसर रोनाल्ड एक्लिसको अनुमान छ कि गुरुङले त्यतिबेला चारपटक हाच्छिऊँ गर्दा चलाइरहेको गाडी कम्तीमा १२ सेकेण्ड नियन्त्रण गुमाएको हुनुपर्छ ।
२२ वर्ष गोरखा सैन्यमा बिताएको कम्पनी सार्जेन्ट मेजर गुरुङ अहिले वेल्सको ब्रेकनमा बस्छन् । सेवामा छँदा उनले अफगानिस्तान, इराक, बोस्निया हर्जगोविना, कोसोभोमा सेवा गरेका थिए ।
अदालतमा बयानका क्रममा उनले सो घटनाले आफूलाई अति दुखीत बनाएको बताए । त्यसदिन जे भयो त्यसले आपूmलाई द्रवित बनाएको उनले प्रष्ट्याए । दुर्घटनामा दिवंगत दम्पत्तिका आत्माको शान्तिका लागि उनले प्रार्थना गरे र जीवनभर प्रार्थना गरिरहने बताए ।
हाच्छिऊँले गर्नसक्ने असरका बारेमा विज्ञको राय दिन अदालतमा उपस्थित कार्डिफ विश्वविद्यालयका प्रोफेसर एक्लिसले एक पटकको हाच्छिऊँ तीन सेकेण्ड लामो हुने र एक सेकेण्ड आँखा बन्द हुने बताए । विश्वविद्यालयको कमन कोल्ड सेन्टरका निर्देशक समेत रहेका एक्लिसले अति गम्भीर अवस्थामा हाच्छिऊँ जोखिमपूर्ण हुने धारणा व्यक्त गरे । “धेरैजसो यसले कुनै समस्या ल्याउँदैन तर यदि गम्भीर अवस्थामा भेट्टायो भने खतरनाक परिणति निम्त्याउन सक्छ” उनले भने ।
अदालतमा सो मुद्दामा सुनुवाइ जारी छ ।
बेलायती र क्यानडाका नागरिकका लागि चीनले निःशुल्क भिसा नीति लागू गर्ने
सम्झनयोग्य कृति : सम्झनाको चोमोलुङ्मा
यस्तो छ मार्चमा हुने एनआरएनएको विश्व सम्मेलन र महाधिवेशन तालिका
‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा मगरलाई
पोखरा अन्तरराष्ट्रिय म्याराथनको उपाधि केन्याका जुलियसलाई
नेपाली विद्यार्थीको शव स्वदेश पठाउन बेलायतमा उठ्यो साढे १० हजार पाउन्ड
नेपालका राष्ट्रपति पौडेलसमक्ष गोर्खा विग्रेडको वार्षिक प्रतिवेदन प्रस्तुत
रामेछाप बस दुर्घटना : मृतकको संख्या १२ पुग्यो [अपडेट]
अमेरिकामा नेपालीसहित तीन मुलुकका आप्रवासीको टिपिएस अन्त्यको बाटो खुल्यो
नेपालको राजधानी काठमाडौँको वायु प्रदूषण अझै अस्वस्थ