लन्डनमा भानुको सम्झना

लन्डन । बेलायतका नेपाली स्रष्टाहरुले नेपाली भाषा उत्थानमा आदिकवि भानुभक्त आचार्यको योगदान अतुलनीय रहेको स्मरण गरेका छन् ।

उनीहरुले संस्कृतको बोलवाला भएको जमानामा भानुभक्तले नेपाली भाषाको उत्थान गरी यसलाई व्यापक बनाउन अतुलनीय योगदान दिएको उल्लेख गरे । भाषिक र साँस्कृतिक एकीकरणमा आदिकविको भूमिका पनि स्रष्टाहरुले सम्झिए ।
ती स्रष्टाहरु आदिकवि भानुभक्त आचार्य शतवार्षिकी समारोह समिति बेलायतले लन्डनस्थित नेपाली दूतावासमा आयोजना गरेको द्विशतवार्षिकी भानु जयन्ती समारोहमा बोल्दै थिए ।
समसामयिक राजनीति र कुटनीतिका प्रसंगले चर्चा पाइरहने दूतावास त्यस अवसरमा भने साहित्यिक र भानुमय बन्यो । स्रष्टाहरुले कविता, गीत र गजल सुनाए । सोमनाथ मेमोरियल ट्रष्टका अध्यक्ष डा. सोहन घिमिरेले बाँसुरीको मीठो धुनमा रामायण श्लोक प्रस्तुत गरे । कलाकार सनमकुमार वैराग र साहित्यकार कोमलप्रसाद मल्ल श्रेष्ठले भानुभक्त सम्बन्धि एउटा प्रस्तुतिमा आदिकविको ऐतिहासिक पक्ष उजागर गरे । गायिका शर्मिला बर्देवाले रामायणका श्लोक सुमधुर स्वरमा गाइन् । नेपालबाट आएका साहित्यकार रामचन्द्र आचार्यले भानु वंशावली सम्बन्धि रोचक जानकारी दिए । पण्डित निलहरि घिमिरेले गायत्री मन्त्र उच्चारण गरे । समारोह समितिका उपाध्यक्ष हरिसिंह थापाले रामायणका श्लोक लय मिलाएर सुनाए । सहभागीले भानुको सम्झना गर्दै तस्विरमा माल्यार्पण समेत गरे ।
पहिलो चरणमा प्रमुख अतिथि कार्यवाहक राजदूत तेजबहादुर क्षेत्रीले नेपाली भाषा र साहित्य राष्ट्रको प्राण भएको उल्लेख गर्दै भानु जयन्तीले संसारभर छरिएर रहेका नेपालीमाझ भावनात्मक सन्देश छर्न सकोस् भन्ने कामना गरे ।
कार्यक्रमका अतिथिहरु ब्रिटेन नेपाल सिभिक फोरमका अध्यक्ष समाजसेवी डा. राघवप्रसाद धिताल (ओविइ), नेपाली साहित्य विकास परिषद् बेलायतका अध्यक्ष खगेन्द्र नेपाली, गैर आवासीय नेपाली संघ बेलायतका वरिष्ठ उपाध्यक्ष सूर्य नेम्वाङ, महासचिव राजकुमार त्रिपाठीले भाषाको विकास नै राष्ट्रको विकास भएको बताए ।
अन्तर्राष्ट्रिय नेपाली वाङ्मय प्रतिष्ठान बेलायतका अध्यक्ष विकलचन्द्र आचार्य, विश्व नेपाली साहित्य महासंघका अध्यक्ष विश्वासदीप तिगेला, नेपाली प्रतिभा प्रतिष्ठानका कोषाध्यक्ष देवेन्द्र खेरेस, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेलायतका सुमलकुमार गुरुङले भानुको भाषिक महिमा मात्र गाएनन्, डायष्पोरामा नेपाली भाषाको विकास गर्दै नेपालीहरु संसारको जुनसुकै कुनामा रहे पनि आफ्नैपनमा रमाउने सँस्कार आदिकविबाटै सिकेको गुनगान समेत गाए । गोविन्द बेल्वासे, गोपीकृष्ण प्रसाईं, गोपी सापकोटा, सोलिसिटर राजु थापा, दुर्गाप्रसाद पोखरेल, खगेन्द्र पाठक, ज्ञानेन्द्र राउत लगायतले पनि भानुलाई सम्झिए ।
कार्यक्रमको दोश्रो चरणमा स्रष्टाहरुले कविता, गीत र गजल सुनाए । रचना वाचन गर्नेमा दुर्गाप्रसाद पोखरेल, गोपी सापकोटा, किरण टी लिम्बु, विमला गौतम, देवेन्द्र खेरेस, समिप हाङवाङ जर्जर, सावि श्रेष्ठ, विजय हितानमगर, विनोद रोक्का, नरेश काङमाङ, निर्मला राई परिवेश, मन्जु भण्डारी, सन्तोष खनाल, खगेन्द्र पाठक, रेशम अर्याल, विश्वासदीप तिगेला, वाचस्पति रेग्मी, विमला थापा, मोतिराज भण्डारी, गोकुल भण्डारी, फडिन्द्र भट्टराई, दलबहादुर बुढाथोकी, प्रतिभा बोहरा, घनबहादुर थापा, कोमलप्रसाद मल्ल श्रेष्ठ, शशी थापा सुव्वा, लिला गुरुङ, सुरेशजंग शाह, डा. सुधा श्रेष्ठ, सुमलकुमार गुरुङ थिए ।
नेपाली साहित्य विकास परिषद बेलायतका वरिष्ठ सहअध्यक्ष कोमलप्रसाद श्रेष्ठ मल्लले सहयोगदाता र सहभागी सबैप्रति धन्यवाद व्यक्त गरेका थिए । समारोहका सभापति एवं समारोह समितिका अध्यक्ष साहित्यकार सुरेशजंग शाहले नेपाल सरकारले भानु जयन्ती मनाउन आफूलाई गहन जिम्मेवारी दिएकामा आभार व्यक्त गरे ।
सहभागी सबै अतिथि र माइक समाएपछि मन्तव्य नटुंग्याउने असंख्य वक्ताहरुले गर्दा कार्यक्रम पट्ट्यारलाग्दो भएको कतिपय सहभागीको गुनासो थियो ।

bhanu bhakta

प्रतिक्रिया

सम्बन्धित सामाग्री