
काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गर्नुभएको छ ।
सिंहदरवारस्थित आफ्नै कार्यकक्षमा आयोजित पत्रकार भेटघाटमा उहाँले राजनीतिक दलभित्र उम्मेदवारको टिकटका लागि तीव्र प्रतिस्पर्धा भएका बेलामा आफूले युवा पुस्तालाई अवसर प्रदान गरी नेतृत्वमा पुर्याउन सहयोग गर्ने हेतुले यस पटक उम्मेदवारी नदिने निर्णय गरेको बताउनुभयो ।
सभामुख सापकोटाले भन्नुभयो, “आगामी निर्वाचनमा मेरो जीत सुनिश्चित नै थियो, युवालाई नेतृत्वमा ल्याउन ब्रह्मले देखेर यो त्यागको निर्णय गरेको हुँ । हार्छु भनेर नउठ्ने घोषणा गरेको होइन । देश र जनताको हितका लागि अधिकतम समर्पित रहनेछु । अन्तिम घडीसम्म राजनीतिमै सक्रिय रहनेछु ।”
निरन्तर १५ वर्षसम्म जनप्रतिनिधिको भूमिकामा पुर्याउने मतदाता र जनताप्रति आभार व्यक्त गर्दै उहाँले आगामी दिनमा पनि जनताको समस्या र मुलुकको विकासका लागि सक्रियताका साथ काम गर्ने विश्वास दिलाउनुभयो । सभामुख सापकोटाले भन्नुभयो, “मेरो यो निर्णय निरन्तरतामा क्रम भङ्गता हो, आशा छ मेरो यो कदमले राजनीतिक रुपान्तरणका लागि नयाँ रक्त सञ्चार गर्नेछ ।”
सिन्धुपाल्चोकबाट २०६४, २०७० र २०७४ सालमा लगातार संसद् सदस्यमा निर्वाचित सभामुख सापकोटासँग यसअघि सूचना तथा सञ्चार र वन तथा भू– संरक्षणमन्त्रीको जिम्मेवारी सम्हालेको अनुभव छ । विसं २०७६ माघ १२ गते उहाँ सर्वसम्मतरुपमा सभामुखमा निर्वाचित हुनुभएको थियो ।
संसदीय भूमिकामा नरहे पनि देश, जनता र अग्रगमनको पक्षमा निरन्तर क्रियाशील भइरहने उल्लेख गर्दै सो अवसरमा उहाँले अग्रगामी राजनीतिक अभियानमार्फत आम नेपाली नागरिकको समुन्नतिका लागि बुद्धि र विवेकले भ्याएसम्म काम गर्ने अठोट व्यक्त गर्नुभयो ।
सभामुख सापकोटाले भन्नुभयो, “राज्य र जनताले आवश्यक ठानेमा जुनसुकै जिम्मेवारी बहन गर्न तयार छु । राजनीतिक एवं सामाजिक मञ्चमार्फत सबै नेपालीको स्वाभिमान र आत्मविश्वास उचो बनाउन मेरो सक्रियतामा कुनै कमी आउन दिने छैन । मानव जातिको उन्नतिका लागि परिश्रम गर्नु मेरो जीवनको आदर्श हो ।”
प्राविधिक शिक्षा विस्तारमा सहकार्य हुन्छ : बेलायती मन्त्री मल्होत्रा
तमु धीं को आयोजनामा आज बेलायतमा २४ औं गोर्खा कप, ५६ टिमबीच प्रतिस्पर्धा हुने
दोस्रो गण्डकी लोक तारा २०८३ मा स्याङ्जाकी बत्तीकुमारी थापा प्रथम
बेलायतीमन्त्री मल्होत्रा र लुम्बिनीका मुख्यमन्त्री आचार्यबीच भेटवार्ता
पूर्वब्रिटिस गोर्खाका चिन्ता र गुनासालाई यथाशीघ्र सम्बोधन गर्न बेलायती मन्त्रीसँग परराष्ट्रमन्त्री खनालको आग्रह
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
किरात सुनुवार सेवा समाज यूकेले मनायो उभौली पर्व
सिमी भ्यालीमा डढेलोको कहर, हजारौँ विस्थापित हुने जोखिम