
बेलायती प्रधानमन्त्री बोरिस जोन्सनको सरकार पत्करमा लागेको आगोझैँ सल्केर सकिन्छ भन्ने धेरैले सोचेका थिए तर त्यो यति छिटो आगो सल्केला भन्नेचाहिँ कसैले पनि सोचेको थिएन । तर मतदाताहरूले चाहिँ केही कुरा पनि भुलेका रहेनछन् । त्यसैले त उनीहरूले प्रधानमन्त्री जोनसनलाई मतदानद्वारा दण्डित गरेका छन् । गत बिहीबार सम्पन्न स्थानीय निर्वाचनमा प्रम जोनसन र उहाँको कन्जर्भेटिभ पार्टीले लन्डनमा सधैँजसो जित्ने दुई प्रमुख काउन्सिलहरूसहित ४०० भन्दा बढी सिटमा हारेको छ ।
उहाँकै दलले समेत यस्तै किसिमको नतिजा आउने अनुमान गरेको थियो, त्यसैले होला, चुनावअघि नै कन्जर्भेटिभ पार्टीले यो निर्वाचनमा ८०० सिट गुमाउने भन्ने हल्ला उहाँकै पार्टीभित्र व्यापक रूपमा फैलाइएको थियो । धेरै ठाउँमा हार्नुपर्ने हो तर कम ठाउँमा मात्र हारियो भनेर यो नतिजालाई नै जितका रूपमा प्रस्तुत गर्ने काम भइरहेको छ ।
यस्तै, बेइमानी कुरा गरेर सन् २०२४ मा हुने आमचुनावसम्म जोन्सनलाई नै पार्टी प्रमुखका रूपमा राखिराख्ने तिकडम चलिरहेको छ । यस्तो बेइमानी काम बोरिस जोन्सनले मात्र गर्न सक्नुहुनेछ । यदि उहाँले त्यसो गर्नुभयो भने यसको अर्थ उहाँले बेलायतको राजनीतिलाई सुधार गर्नै नसकिने गरी भ्रष्ट पार्नु हुनेछ ।
बोरिस जोनसनलाई २०१९ जुलाईमा बेलायतको प्रधानमन्त्री चुनिएको थियो र सोही वर्षको डिसेम्बरमा भएको निर्वाचनमा जोन्सन र उहाँको पार्टी अत्यधिक मतले विजयी भएको थियो । सरकार बनेको लगभग तीन वर्षसम्म बेलायत ब्रेक्जिटको झमेलामा फस्यो । त्यसैगरी, कोरोना महामारीले सामाजिक जीवन अस्तव्यस्त मात्र पारेन, अर्थतन्त्रमा लागतको संकट र दोहोरो अंकको मुद्रास्फीतिको पूर्वानुमानको समेत सामना गरिरहेको छ । तर, राज्यका अत्यावश्यक कामलाई एकातिर पन्छाएर अहिले वेस्टमिनिस्टर स्क्यान्डल (लकडाउनका बेलामा आयोजना गरिएको मदिरा भोज) चलिरहेको छ । यस्तो स्क्यान्डल जसको प्रभाव बिस्तारै बिस्तारै भयानक प्रकोपको रूपमा देखा पर्दैछ ।
पहिला कुरा गरौँ- वालपेपर काण्डको । प्रधानमन्त्री जोन्सनले ११ डाउनिङ स्ट्रिटस्थित आफ्नो निवासका भित्ताहरूलाई सुनौला डिजाइनका वालपेपरले ढाक्नुभयो, जसको मूल्य एउटै रोलको १ हजार डलर (लगभग सवा लाख रूपैयाँ)भन्दा बढी पर्छ ।
अर्को संकट डोमिनिक कमिंग्सको हो । जोनसनका सबैभन्दा वरिष्ठ पूर्वसल्लाहकार र ब्रेक्जिट योजनाकार डोमिनिक कमिंग्सले ‘ह्विसल ब्लोअर’ बनेर गम्भीर आरोप लगाउनुभयो । उहाँले अध्ययनकक्षमा बसेर प्रधानमन्त्री पन्ध्रौँ शताब्दीको किताब ‘अ मोनुमेन्ट टु सेन्ट अगस्टिन’लाई सिरानमा राखेर सपना देख्छन् भन्ने आरोप लगाउनुभएको छ ।
यी दुवैभन्दा ठूलो संकटचाहिँ पार्टीगेट काण्ड छ । यो काण्ड बेलायतभरिका जनतालाई लकडाउनमा थुनेर प्रधानमन्त्री जोन्सन र उहाँका कर्मचारीहरूले गरेको पार्टीहरूको एक शृङ्खला हो । यसका बारेमा प्रधानमन्त्री जोन्सनले जानीजानी संसद्लाई भ्रममा राख्नुभयो, जुन एउटा अपराध हो ।
यहाँ महिनौँसम्म शृंखलाबद्ध रूपमा पार्टी चलिरहेको थियो ‘तासको पत्ताको घर’ जस्तै । वास्तविक र अझ डरलाग्दो कुरा त्यहाँ थरिथरिका पार्टी भए अब्बा (भूतकालको फेसनमा रमाउने) पार्टी, जन्म दिनको पार्टी र क्रिसमस पार्टी, जसमा ‘सेक्सिएस्ट अफ दि एयर’ (वर्षको सबैभन्दा कामुक व्यक्ति) भनिने पुरस्कार दिइयो । यस्ता पार्टीहरू त्यस्तो समयमा भएका थिए, जुनबेला धेरै बेलायतीहरूले आफ्नो जागिर र आफ्नो व्यवसाय गुमाइरहेका थिए । धेरै आफ्नो परिवारबाट अलग रहेर अस्पतालहरूमा एक्लै छट्पटाइरहेका थिए र मरिरहेका थिए ।
यी पार्टीहरूको अनुसन्धान गर्ने जिम्मेवारी दिइएको एक सरकारी कर्मचारी आफैँले पनि पार्टी आयोजना गरेको थाहा भएपछि उनलाई बर्खास्त गरियो । त्यसपछि नियुक्त सु ग्रेबाट जनवरीमा हामीले सूचना प्राप्त गरेका थियौँ । त्यसपछि लन्डन महानगर प्रहरीले आफैँले अनुसन्धान गर्यो र अहिले बोरिस जोन्सन, उहाँकी पत्नी र कोषका चान्सलरसहित ५० भन्दा बढी व्यक्तिहरूलाई जरिवाना गरिएको छ ।
कुनै पनि बेलायती प्रधानमन्त्रीले पदमा रहँदा कानुन तोडेबापत सजाय पाएका थिएनन् तर उनी अपवाद भए ।
अहिले जोन्सनका पक्षमा निराशाजनक चुनावी नतिजा आएका छन् । अब सांसदहरूले उनलाई अविश्वासको मत दिने कि नदिने भन्ने बारेमा निर्णय गर्न ग्रे रिपोर्टको प्रतीक्षा गर्नेछन् कि छैनन् रु उनीहरूले सुरुमै ‘नाइँ’ भन्ने सम्भावना बढी छ किनभने संसदीय दलमा अहिलेसम्म जोनसनको कुनै उत्तराधिकारी स्पष्टसँग देखिएका छैनन् । अर्थमन्त्री ऋषि सुनकलाई सबैभन्दा सम्भावित उम्मेदवार मानिन्थ्यो किनभने उहाँको छवि अहिलेसम्म सफा नै छ तर प्रम जोन्सनले उनलाई प्रायस् भान्सा पुछ्ने टालोझैँ मान्छन् ।
ऋषि सुनकलाई पनि भाग्यले साथ दिएको छैन जस्तो छ । ऋषिले संसद्को सदस्य बनेको लामो समयपछि अमेरिकाको ग्रीन कार्ड पाएको र लिएको तथ्य फेला परेको छ । यसका साथै ऋषिकी श्रीमती, जो एक अर्बपतिकी छोरी हुन्, विशेष करको विवादमा मुछिएको कुरा भर्खरै खुलासा भएको छ । सुनक पत्नीले इंगल्याण्डमा भएको उनको विश्वव्यापी आम्दानीमा कुनै कर नतिरेको कुरा बाहिर आएको छ । भर्खरै करको दर बढाएका सुनकसँग मतदाताहरू रुष्ट छन् र यो विषयले उनलाई नोक्सान पुर्याउने स्पष्ट छ ।
विदेशमन्त्री लिज ट्रसलाई अर्को एक सम्भावित दाबेदारका रूपमा हेरिएको छ, जो ट्यांकमा पोज दिएर मार्गरेट थ्याचरलाई प्रतिबिम्बित गर्ने कोसिस गर्नुहुन्छ तर जब उहाँको मुख खुल्छ सबै भताभुंग हुन्छ । लिज ट्रसको बेबकुफीका बारेमा फेब्रुअरीको एउटा घटना चर्चामा छ, यसमा रुसी विदेशमन्त्री सर्गेई लाभरोभले लिजलाई रोस्तोभ र भोरोनेजमाथि रुसी सार्वभौमसत्ता स्वीकार गर्नुहुन्छ कि भनेर प्रश्न गर्नुभएको थियो । लिजले त्यो कुरालाई अस्वीकार गर्नुभयो, जबकि रोस्तोभ र भोरोनेज रुसभित्रै पर्छन् ।
बोरिस जोनसनका यी उत्तराधिकारीको विकल्प फेला परे पनि पार्टीलाई मिलाउन त्यो पर्याप्त नहुन सक्छ । जोनसन चुनौतीको डरले खासै काम नलाग्ने र अवसरवादीहरूलाई बढावा दिनुहुन्छ । उहाँ गम्भीर विषयहरूमा छलफल गर्नै चाहनुहुन्न । हरेक गम्भीर मामिलालाई उडाउने प्रवृत्ति र व्यक्तिगत खराब आचरणले जोन्सनको छुट्टै छाप बनाएको छ ।
यसै वर्ष कन्जर्भेटिभ पार्टीका एक सांसदमाथि एउटी किशोरीलाई यौन दुर्व्यवहार गरेको आरोप लागेपछि तिनले राजीनामा दिएका थिए । त्यस्तै, अर्का एक सांसदमाथि यौन दुर्व्यवहार र लागुऔषध सेवन गरेको आरोप लागेपछि पार्टीबाट निलम्बन गरिएको थियो । दुवै दलका ५६ जना सांसदमध्ये ३ जना क्याबिनेट मन्त्री यस्ता छन्, जसका विरुद्ध यौन दुर्व्यवहारको मामिलामा अनुसन्धान भइरहेको छ ।
अहिले चलेका थुप्रै स्क्यान्डलहरूमध्ये एक कन्जर्भेटिभ पार्टीका सांसद निल पेरिसले पनि हाउस अफ कमन्समा २ पटक आफ्नो मोबाइलमा पोर्नोग्राफी हेरेको स्वीकार गरेपछि राजीनामा दिनुभएको छ । पहिलो पटक पोर्न साइट हेरेको सार्वजनिक भएपछि पेरिसले आफूले डोमिनेटर भनिने कृषिसम्बन्धी उपकरण खोजिरहेको बताउनुभएको थियो तर उहाँसँग पहिले नै डोमिनेटर छ र उहाँको निर्वाचन क्षेत्र पनि ग्रामीण इलाकामै पर्छ ।
यससम्बन्धी कानुन बनाउने सिलसिलामा उहाँले यसलाई इन्टरनेटमा खोज्दै गर्दा अचानक पोर्न साइट खुलेको र एक साधारण मानिस भएका कारण आफूले त्यो हेरेको बयान दिनुभयो । पेरिसको सबैभन्दा ठूलो अपराध यो थियो कि उहाँले अर्को पटकसमेत यही गल्ती दोहोर्याउनुभयो । अनि, बीबीसीलाई भन्नुभयो, ‘मैले भयानक गल्ती गरेँ, यो कुरा संसारलाई बताउन म यहाँ छु ।’
सांसद पेरिसले डोमिनेटर खोज्ने प्रयास गरिरहेका बेला एक ब्रिटिस ट्याब्लोइडले एउटा लेख प्रकाशन गर्यो , जसले उहाँकै पार्टीको अज्ञात स्रोतलाई उद्धृत गर्दै लेबर पार्टीका उपनेता एन्जेला रेनरले रणनीतिक विरोध स्वरूप हाउस अफ कमन्सभित्रै प्रधानमन्त्री जोन्सनलाई इंगित गर्दै आफ्नो भित्री वस्त्र देखाएको दाबी गर्यो । रेनरले भने एक टीभी अन्तर्वार्तामा सो दाबी असत्य भएको बताउनुभएको छ ।
‘यो सरकार कुनै पनि हालतमा आफ्नो गल्ती स्वीकार गर्ने पक्षमा नभएका कारण संसद्का मदिरालयमा पाइने सहुलियतको रक्सीलाई दोष दिइन्छ । तपाईं पुरुषत्वका बारेमा केही गर्न सक्नुहुन्न’, संसद्मा धेरै महिलाहरूका लागि अभियान गर्ने हाउस अफ लर्ड्सका कन्जर्भेटिभ सदस्य ब्यारोनेस जेन्किनले भन्नुभयो ।
जोन्सनका उत्तराधिकारीका अर्का एक दाबेदार रक्षामन्त्री बेन वालेसले भन्नुभयो, ‘तपाईँले रक्सीको विषयमा केही गर्नुपर्ने हुन्छ ।’ उनीहरू रक्सी र बारका बारेमा कुरा गर्छन्, मानौँ, उनीहरूमा चेतना र द्वेष दुवै छ । सांसदहरू बारहरूबाट जोगिऊन् भन्ने मेरो सल्लाह छु, उहाँले टाइम्स रेडियोलाई भन्नुभयो, ‘आफ्नो काम समाप्त गर्नुहोस् र समयमै घर जानुहोस् ।’
जोन्सन सायद अन्त्यको पर्खाइमा हुनुहुन्छ, नीतिका कुरा गरिरहनुभएको छ । मानौँ, यो जलिरहेको विधायिकाको सैलुन बारमा उहाँको अन्तिम लडाइँ हो-सामाजिक आवास बेचौँ र शरणार्थीहरूलाई रुवान्डा पठाऔँ ।
जोन्सन र हाम्रा अन्य प्रतिनिधिहरू केक, अश्लीलता र रक्सीको पासोमा नराम्ररी फसिसकेका छन् । ती सबै कुराहरूभन्दा पनि माथि यहाँ न नेतृत्व छ, न त निर्देशन । न यहाँ योजना नै छ ।
जोन्सन पदबाट बाहिरिएनन् भने हामीले यो निष्कर्षमा पुगे हुन्छ कि हामी यति धेरै अगाडि बढिसक्यौँ, जहाँबाट फर्कन धेरै गाह्रो हुनेछ ।
(न्यूयोर्क टाइम्समा प्रकाशित बेलायती विश्लेषक तानिया गोल्डको आलेखको भावानुवाद ।)
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा