एनआरएन यूकेको चुनाव: स्कटल्याण्डवासी नेपालीसित अन्तर्क्रियाको अवसर

लण्डन । दुई वर्षअघिसम्म पनि गैर आवासीय नेपाली संघ (एनआरएनए) यूकेको निर्वाचनमा नेपालीहरुको बाक्लो बसोबास रहेको लण्डन र यससँग जोडिएका इङल्याण्डका केही स्थानहरुमा मात्र सीमित हुने गर्थ्यो । खासगरी फार्नब्रो, अल्डरसट र रेडिङसम्म मात्र एनआरएनएको चुनाव केन्द्रीत हुन्थ्यो तर दुई यता बेलायतका चारवटै राज्यमा एनआरएनए युकेको चुनावी माहौल अनुभूत हुन थालेको छ ।
एनआरएनए युकेलाई चारवटै राज्यमा विस्तार गरी गन निर्वाचनबाट बुथ नै राखेर निर्वाचन हुन थालेपछि अहिले उम्मेदवारहरु इङल्याण्डको सीमा नाघेर अरु राज्यमा पनि मत माग्न र त्यहाँ रहेका नेपालीहरुसित अन्तर्क्रिया गर्न पुग्न थालेका छन् ।
यसपटकको निर्वाचनका क्रममा स्कटल्याण्डबासी नेपालीहरुले त्यो मौका पाएका छन् । अन्य राज्यको तुलनामा अलि धेरै मतदाता भएको र सो राज्य समितिमा पनि निर्वाचन हुने भएकाले त्यस्तो हुन पुगेको आँकलन गर्न सकिन्छ ।
सोहीक्रममा एनआरएनए युकेको आसन्न निर्वाचनमा अध्यक्ष पदका तीनजनै उम्मेदवारहरु स्कटल्याण्ड पुगिसकेका छन् । अध्यक्षका उम्मेदवार प्रेम गाहा मगर र दीपक श्रेष्ठ यसैसाता स्कटल्याण्ड पुगेका छन् भने अध्यक्ष पदका अर्का उम्मेदवार रोजिना प्रधान राई गत साता नै स्कटल्याण्ड पुगेकी थिइन्।
निर्वाचन प्रसार प्रसारको क्रममा स्कटल्याण्ड पुगेका अध्यक्षका उम्मेदवारहरुले एबर्डिन, ग्लास्गो र एडिनबरा जस्ता नेपालीहरुको बाहुल्य रहेको स्थानमा चुनावी कार्यक्रम गरेका छन् ।
गाहा मगरले स्कटल्याण्डका फाइफ, एडिनबर्घ, एबर्डिन र ग्लासगो गरी चार स्थानमा बेग्ला बेग्लै कार्यक्रमको आयोजना गरे । उनले आफू अध्यक्षमा निर्वाचित भएमा महिला, बालबालिका र युवाहरुलाई एनआरएनको मूल प्रवाहमा ल्याउने प्रतिबद्धता व्यक्त गरे । संस्थाको विकेन्द्रीकरणको नीतिलाई ठोस रुपमा अगाडि बढाउने बताउँदै स्कटल्याण्डसहित सबै राज्य समन्वय परिषदहरुलाई थप स्वायत्त बनाउने प्रतिबद्धता पनि उनले व्यक्त गरे ।
त्यसैगरी उपाध्यक्ष पदका उम्मेदवार नारायण कँडेलले गैरआवासीय नेपाली संघमा आन्तरिक सुशासनमा सुधार, गैर आवासीय नेपालीहरुको नागरिकता निरन्तरताको अधिकारको सुनिश्चितता, नेपालमा रहेको  सम्पत्तिको सुरक्षा र बेलायतमा रहेका नेपालीहरुको स्वार्थ रक्षाको एजेण्डासहित आफूहरु निर्वाचनमा होमिएको बताए ।
कार्यक्रममा स्कटल्याण्डमा रहेका नेपाली समुदायसम्बद्ध १४ वटै संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता थियो भने एनआरएनएका सदस्यहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।
कार्यक्रमहरुमा उपाध्यक्षका उम्मेदवार मोहन कार्की,  युवा संयोजक पदका उम्मेदवार तीर्थबहादुर मल्ल (अनिल), सदस्य पदका उपेन्द्र पौडेललगायत प्रेम गाहा मगर टिमका अधिकांश पदका उम्मेदवारहरुको सहभागिता रहेको थियो ।
सोही अवसरमा स्कटल्याण्ड राज्य समन्वय परिषदका अध्यक्ष पदका उम्मेदवार काशीराम भण्डारीले स्कटल्याण्डवासी नेपालीहरुको सेवा गर्ने उद्देश्यसहित अध्यक्ष पदको उम्मेदवार बनेको भन्दै सहयोग गर्न आग्रह गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री